प्रधानमन्त्री ओलीले हटाउँछु भनेकै वर्षौँ हुँदा पनि कर्णालीवासीलाई छाडेन तुइनको भरले [फोटोफिचर]
जनप्रतिनिधि पनि जीउ सिरिङ्ग हुने गरी हिंड्छन्, सकेनन् तुइन हटाउने पहल गर्न
जनकबहादुर शाही,
प्रकाशित २०८१ पुष २३ मंगलबार
917
Shares
हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई तुइनमुक्त पार्ने भनेको वर्षौँ भइसकेको छ । उनले पटक पटक बालुवाटारमा प्रधानमन्त्रीको कुर्सीको स्वाद लिइरहेका छन् तर पीडितका आशाको दियो पटक पटक निभिरहेको छ ।
हरेक वर्ष पात्रो फेरिन्छ तर पीडितको बेथा फेरिँदैन । ओलीले घोषणा गरेपछि नै थुप्रैले तुइनका कारण ज्यानसमेत गुमाइसकेका छन् । मर्नु बाँच्नु र बाँचेपछि जीउनका लागि संघर्ष गर्नु नेपालीको दैनिकी नै हो । त्यसैले त नदी वारपार गर्न तुइन चढ्नु पर्ने बाध्यता हुम्लाका स्थानीयलाई सामान्य जस्तै भएको छ ।
'अबको दुई वर्षभित्र नेपालका सबै तुइन विस्थापन गरिनेछ र ती स्थानमा झोलुंगे पुल निर्माण हुनेछ ।' २०७२ असोज २५ गते केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा भएको पहिलो निर्णय हो । तर अहिले हाम्रो देशको प्रधानमन्त्री पनि ओली नै छन् । उनी चौथो कार्यकाल प्रधानमन्त्रीको कुर्सीमा छन् । तर हुम्लामा नदी वारपार गर्न तुइन चढ्नु पर्ने बाध्यता अझै हटेको छैन ।
१० वर्षमा हुम्लाका ७ वटा तुइनमध्ये ३ वटा तुइनमात्र विस्थापन भएका छन् । हुम्लामा रहेका कुल ७ वटा तुइनमध्ये ४ वटा अझै विस्थापित हुन सकेनन् । अब कहिलेसम्म हुम्लामा रहेका सबै तुइन विस्थापन गरी ती स्थानमा झोलुंगे पुल निर्माण भई हुम्लाका नागरिकले निर्धक्कका साथ झुलुङ्गेपुल वारपार गर्न कहिले पाउने हुन् यसको जवाफ तीनै तहका सरकारले दिन सकेका छैनन् ।
दैनिक कामकाजका लागि पनि नदी वारपार गर्न ज्यानको बाजी लगाएर तुइनकै भर पर्नुपर्ने समस्या झेल्नु परिरहेको छ । अझै पनि हुम्ला बासीलाई कर्णाली नदीका विभिन्न ठाउँमा स्थानीय बासिन्दाले बनाएका काठेपुल कर्णालीले बगाएपछि तुइनबाटै वारपार गर्नु पर्छ हुम्लामा ।
कर्णाली नदीमा खार्पुनाथदेखि कवाडीसम्म कम्तीमा ३ किलोमिटरको दूरीमा एउटा पनि पुल नहुनुले सबै स्थानीय तुइनबाटै ओहोरदोहोर गर्न बाध्य छन् । 'तुइनमा मान्छे नभई घाँस, दाउरा पनि तुईनबाटै तार्नुपर्छ र हामीलाई त खेतको काममा जाँदा होस या गाउपालिका केन्द्रमा जान पनि तुइन बाटै आवत जावत गर्नुपर्छ', खार्पुनाथ गाउँपालिका २ की दलित महिला सदस्य हिरकली दमाई भन्छिन् ।
पुल बनेपछि खार्पुनाथको बाक्चेगौडा र याङचु कुना, सर्केगाडको थायाबाट तुइन विस्थापित भए पनि खार्नापुथको लालीबगर, सर्केगाडको ल्याप्चे तथा रिप र चंखेलीको लोती खोलामा पुल नहुँदा अझै नदी तर्न तुइन बाहेक अरु विकल्प नभएको सर्केगाड गाउँपालिका–२ रिपगाउँका गुरु कार्कीले बताए ।
रिपका बासिन्दा गाडी चड्न पनि तुइनकै भरमा नदी वारपार गर्दछन् । उनीहरू घाँस, दाउराको भारीलाई पनि तुइनबटै तार्छन् । सधैँ पिठ्युँमै भारी बोकेर ओहोरदोहोर गर्दै आएको रिपगाउँका स्थानीय बासिन्दा वीरजित परियार भन्छन्, 'भारी बोकेरै यताउता गर्छौँ ।'
चंखेलीमा गाउँपालिका स्थानीय जनता मात्र होइन तुइनको भरमा कर्णाली तरेर गाउँपालिकाका सबै जनप्रतिनिधिहरूसमेत कार्यालय आवतजावत गर्दै आएका छन् । अध्यक्षसँगै लोती नदीपारीका तीन वटा वडाका बासिन्दा मात्र होइन, छिमेकी जिल्ला मुगुबाट आउने जोसुकैले पनि तुइनमै लोती नदी वारपार गर्नुपर्ने बाध्यता छ ।
गाउँपालिका कार्यालय आवतजावत गर्न तुइनकै भर रहेको र लोती नदीमाथि तुइनमा यताउता गर्दा डर लागेर आङ सिरिङ हुने चंखेली २ का वडा अध्यक्ष बृषबहादुर सिंह । बिरामी र बालबालिकालाई दैनिक बिहान–बेलुका तुइनमा आवतजावत गर्दा समस्या हुने, पालिका केन्द्र मात्र होइन सदरमुकाम सिमकोट जान पनि तुइन तर्नु बाहेक अरु विकल्प नभएको उनले बताए ।
गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले तीन वडा वडा नं. १, २ र ३ का बासिन्दाका मात्र नभएर यो बाटो भएर आउने सबै बटुवाको गुनासो आफूले दैनिक सुन्नु परेको बताए । आफू पनि लोती कर्णालीमा तुइन तरेरै गाउँपालिका कार्यालय जाने गरेको बताए । ‘म पनि तुइन तरेरै कार्यालय जान्छु । गाह्रो छ, पुल बनाउन कोसिस गरिरहेको छु’, उनले भने ।
यहाँका तीनै वडाका अध्यक्ष, सदस्यहरू पनि तुइनमै आवतजावत गर्दै आएको उनले बताए । 'नदीमा बनाएको काठेपुल बगाएपछि डेड वर्षदेखि तुइनमै आवतजावत गर्दै आएका छौँ । अहिले तुइन भएको स्थानमा बेलिब्रिज निर्माणका लागि ठेक्का प्रक्रिया भइसकेकाले अबको १ वर्षभित्र पुल बन्ने आशामा छु', अध्यक्ष शाही भन्छन् ।
यस्तै सर्केगार्ड गाउँपालिका– २ को रिपगाउँ जानका लागि अन्य विकल्प नभएपछि रिपको साँगुरीमा ब्यक्तिले निर्माण गरेको तुइन चढेर कर्णाली नदी वारपार गर्नुपर्छ । सरकारले २०७२ सालमै तुइन विस्थापित गर्ने घोषणा गरे पनि हुम्ला जिल्लामा सो घोषणा लागू हुन नसकेको स्थानीय गोपाल महताराले बताए ।
उनले यस्ता तुइन विस्थापित गरेर झोलुङ्गे पुल निर्माण गर्न सरकारसँग आग्रह गरे । हुम्लामा अहिले चङ्खेली गाउँपालिकाको लोती कर्णाली, सर्केगार्ड गाउँपालिकाको दुल्ली कुना, ल्याप्चे, रिपको साँगुरी र खार्पुनाथ गाउँपालिकाको लालीबगरमा कर्णाली नदी वारपार गर्न तुइन तर्नु पर्ने बाध्यता छ ।