आज व्यवस्थाप्रति मात्रै विरोधका स्वरहरू मात्र नआएर प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यसम्पादन र कार्यशैलीप्रति पनि जताततै टीकाटिप्पणी, गालीगलौज,आरोपै आरोपहरू अलि बढी नै सुनिन थालेका छन् ।
सायद प्रधानमन्त्रीबाट चौथो कार्यकालको नौ महिना बितिसक्दा पनि नागरिकले अनुभूति गर्न लायक काम नदेखेको हुनाले यो गाइँगुइँ र विरोध आउन थालेको देखिन्छ । केही दिनअघि एकजना भाइले प्रधानमन्त्री अर्घाखाँचीको पाणिनी गएको सन्दर्भमा पाणिनी जस्तो पवित्र भूमि पनि अपवित्र बनेछ नि दाजु भन्दा मनमा चसक्क बिझ्यो । आज प्रधानमन्त्रीप्रति भाइ मात्र होइन बडे दाइहरू पनि असन्तुष्ट र आक्रोशित देखिँदै छन् ।
प्रधानमन्त्रीप्रति यति साह्रै अपमान किन बढ्दैछ ? नेपाली नागरिकहरूमा ओलीको नेतृत्वप्रतिको असन्तुष्ट र आक्रोशले अब सीमाना नै नाघ्न लागेको देखिन्छ । तर प्रधानमन्त्री ओली र उनका चौघेराले यो आक्रोशलाई सुन्दै नसुने जस्तो देखिन्छ । ओलीले पनि म बिना देश चल्न सक्दैन भनी हुङ्कार र दम्भ प्रकट गर्दै हिडिँरहेका छन् ।
उनी आफू बिना एमालेको कल्पना सम्भव छैन भन्दै अझै बीस वर्ष आफू सक्रिय हुने बताइरहेका छन् । प्रधानमन्त्री ओलीले नागरिकहरूलाई सन्तुष्ट हुने ठाउँहरू यी हुन् र विश्वास गर्नुस् भनेर भन्न सक्ने तथ्यगत आधारहरू पनि केही देखिँदैनन् । उनको दैनिकी पुरानै कार्यकालमा जस्तै बकम्फुस र उखाने गफमा सीमित छन् ।
ओली केवल विरोधीलाई तथानाम गाली गर्न र सपना बाँड्न भने खप्पिस छन् । जननेता मदन भण्डारीले राजनीतिमा थकाइ भन्ने शब्दावली हुँदैन भनेका थिए तर अहिले प्रधानमन्त्री ओलीले त्यसको विपरीत राजनीतिमा इमान, लाज, शर्म, इज्जत र नैतिकता हुने रहेनछ भन्ने कुरालाई स्थान दिइरहेका छन् भन्ने आरोप लागेको छ । प्रधानमन्त्री ओली पटकपटक परीक्षणबाट असफल पात्र भएको हुनाले पनि नागरिकमा ओलीप्रति सम्मान, विश्वास, आशा र भरोसा गुम्दै गएको हो ।
आज कसैले देशकै अभिभावक प्रधानमन्त्रीसित कतै फोटो खिचाएर पोस्ट गर्यो भने पनि झोले भन्ने ट्याग लागिहाल्छ । नेपालको लोकतन्त्रलाई त्रयतन्त्र बनाइएको कारण नागरिकको नजरमा प्रधानमन्त्रीको पदसमेत अत्यन्तै अपमानित हुन पुगेको देखिन्छ ।
समाजका प्रतिष्ठित व्यक्तित्वहरूलाई कुनै औपचारिक कार्यक्रममा प्रधानमन्त्रीसँग सँगै परिने त होइन भनेर डराउनु पर्ने अवस्था रहेको छ । केही क्षण प्रधानमन्त्रीसित सँगैबस्दा वा प्रधानमन्त्रीको प्रशंसा गर्दा कतिपय कलाकारहरूको व्यवसाय र कलाकारिता नै सङ्कटमा पर्न गएको पनि देखिन्छ ।
मूलधारका मिडियादेखि सामाजिक सन्जालसम्म प्रधानमन्त्रीले बोलेका वा भनेका कुराबाट सकारात्मक सन्देश आउला भन्दा केवल गाली र आक्रोश मात्र आइरहेका हुन्छन् । प्रधानमन्त्री ओलीले नै कुनै विषयमा स्टाटस पोस्ट गरे भने उनको कमेन्ट बक्समा अधिकांश कमेन्टहरू पढ्नै र सुन्नै नसकिने अपाच्य र अश्लील गालीले भरिएका हुन्छन् ।
प्रधानमन्त्रीको जन्मोत्सवमा समेत सुस्वास्थ्य र दीर्घायुको शुभकामना दिइनु पर्नेमा उच्चारण गर्नै नसकिने तरिकाले अत्यन्तै तुच्छ र अश्लील शब्दहरूको प्रयोग गरेर मृत्युको समेत कामना गरेर श्रद्धाञ्जली दिइएको थियो ।
सामाजिक सञ्जालमा होस् वा सञ्चारमा होस् नागरिकका यस्ता असन्तुष्ट र आक्रोशहरूलाई सुन्दै नसुनी एकोहोरो जबर्जस्त मिच्दै हिड्ने प्रवृत्तिले ओलीको गन्तव्य र व्यक्तित्वमा एकपछि अर्को दाग थपिँदै गएको देखिन्छ ।
आजको नेपाली समाजमा राजनीतिक नेतृत्वहरूप्रति यति धेरै वितृष्णा र आक्रोश पैदा भएको अवस्थामा प्रधानमन्त्री केपी ओलीले आफू बिना देशै र दलै चल्दैन भनेझैँ गरी जबर्जस्त गर्दा नागरिकको धैर्यताको बाँध नफुट्ला भन्न सकिन्न ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले यस विषयमा अत्यन्तै गम्भीर भएर गहिरिएर सोची अब नयाँ पुस्तालाई आफ्नो नेतृत्व हस्तान्तरण गरी नेपालको वर्तमान राजनीतिक अस्थिरतालाई अब अन्त्य गर्नुपर्छ ।
ओलीले म बिना एमाले चल्दैन कि भनेर दम्भ र घमण्ड नगर्दा हुन्छ । एमालेमा दोस्रो र तेस्रो तहका युवाहरू ओलीका अगाडि बोल्न नसके पनि नेतृत्व सम्हाल्न चाहिँ आतुरका साथ पर्खिरहेका देखिन्छन् ।
प्रधानमन्त्री केपी ओलीलाई एमालेले बा भने पनि उनी उमेरकै दृष्टिकोणले हजुरबुबा उमेरको जेष्ठ नागरिकको समूहमा पर्छन् । ओली अहिले अनेक किसिमका रोगसित लडेर बाँचिरहेका छन्। सायद ओली सरकार बाहिर बसे भने रोगले थप च्याप्छ होला पनि ।
ओलीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा दिएको योगदान सवालमा केही मत र विमतहरू पनि छन्।आज हजुरबुबा उमेरको प्रधानमन्त्री जस्तो जेष्ठ नागरिकले आम नागरिकको सम्मान पाएर सम्मानित जीवन व्यतित गरिरहनु पर्नेमा अपमान र गालीका वर्षा खाइरहनु पक्कै पनि राम्रो कुरा होइन ।
प्रधानमन्त्री जस्तो सम्मानित व्यक्ति जो कोहीको छिछि र दूरदूर भएर बसिरहनु हुँदैन । आज नेपाली नागरिकहरू मुख्य दलहरू र ती दलहरूका नेतृत्वप्रति असन्तुष्ट र आक्रोशित भइरहेको बेलामा प्रधानमन्त्रीले नागरिकलाई भरोसा र विश्वास दिलाउनु पर्नेमा बेला न बेला आफ्ना कार्यकर्ता सडकमा उतारी उत्तेजित बनाई दुई समूहका बीचमा लडाउन लागेको पनि देखिन्छ ।
सरकारको नेतृत्व गरेको दलले नै आफ्ना कार्यकर्ता सडकमा उतार्नु कत्ति पनि सकारात्मक सन्देश होइन । करोडौँ खर्चेर लाखौँ नागरिकलाई सडक वा सभामा उतारेर तात्विक परिणाम केही पनि आउँदैन । सरकारको नेतृत्व सम्हालेको दलले नागरिकका काम गरेर लोकप्रिय हुने होइन र ?
नेकपा एमालेले सरकारको नेतृत्व गरेर जागरण अभियानका नाममा गर्ने भन्ने करोडौँ खर्चलाई कुनै दुर्गम गाउँमा शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा लगानी नै गर्ने हो भने अहिलेका नागरिकहरूको आक्रोश केही मत्थर हुँदैन र ? यसबाट प्रधानमन्त्रीको प्रशंसा र गुणगान पनि त हुन्थ्यो नि,हैर र ? ।
भोको पेटलाई काम दिने कि सडकमा उतार्ने ? आज देशको मुख्य समस्या भनेको बेरोजगारी बनिरहेको छ। बेरोजगारहरूलाई सरकारले रोजगार दिने कि विरोधीहरूले दन्काउन खोजेको आगोमा पेट्रोल थपेर थप आन्दोलनलाई चर्काउने ? प्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्ति सिंहदरबार भित्र बसेर सबै पक्षलाई समेटी निकास निकाल्नु पर्नेमा बकम्फुस र उखाने गफ गर्दै हिँड्ने कुराले समस्याको समाधान हुने भन्दा पनि समस्या झन बल्झदै जाने देखिन्छ ।
प्रधानमन्त्री भनेको एउटा दलको मात्र व्यक्ति होइन,सम्पूर्ण नागरिकको अभिभावक हो । प्रधानमन्त्री भनेको त पूर्वराजाको र राजावादीको पनि अभिभावक हो । प्रधानमन्त्रीले सबैका कुरा सुन्नुपर्छ । प्रधानमन्त्रीले केवल गफ गरेर समय बर्बाद गर्ने होइन, काम गरेर देखाउने हो अनि नागरिकलाई विश्वास दिलाउने हो ।
प्रधानमन्त्रीलाई ती मेरा र उसका भनेर बोल्ने अधिकार नै छैन । सडकमा देखिएका वा नदेखिएका सबै मानिसको आवाज र आक्रोशलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने क्षमता र हैसियत राख्नुपर्छ । प्रधानमन्त्री आम नागरिकको एउटा जिम्मेवार, विश्वास र भरोसा योग्य, जनउत्तरदायी संस्था नै हो ।
आज केपी ओलीले यी सबै किसिमका जिम्मेवारी र कर्तव्यहरू पूरा गर्नबाट चुकिरहेका छन् भन्ने आरोप र टीकाटिप्पणी हुन शुरुआत भएको छ । प्रधानमन्त्री ओलीको यो कार्यकाल पहिलो र अनुभवविहीन पनि नभएकोले गर्लान् भनेर नागरिकले पर्खने अवस्था पनि छैन ।
अहिलेको सरकार संसदको करिब दुईतिहाईको समर्थनमा बनेको छ भने पनि प्रधानमन्त्री ओलीप्रति नागरिकलाई पटक्कै भरोसा र विश्वास नै छैन।ओली आफ्नै अहंकार र दम्भका कारणले बारम्बार अक्षम प्रमाणित पात्र भैसकेका हुन्।अहिले पनि जुन तरिकाले उनी प्रधानमन्त्री बनेका हुन्,त्यो पनि सही बाटो र बलियो धरातलबाट भएका होइनन् ।
देश कसरी बनाउने भन्ने भन्दा पनि कुर्सी कसरी जोगाउने र बचाउने भन्नेमा नै उनको अधिकांश समय व्यतीत गरिरहनु परेको छ अनि कसरी सम्भव हुन्छ- विकास र समृद्धिका कुरा।यो सरकार निर्माण हुँदा नै दिनभरि स्वर्ग र नर्कको कसम खाएर अनि रात परेपछि धोका र बेइमान दिएरै बनेको हो भन्ने कुरा लुकेको छैन।संसदमा रहेका पहिलो र दोस्रो ठूला शक्तिहरू रातारात कुनै व्यापारीको घरमा गठबन्धित हुनु अत्यन्तै शंकास्पद होइन भनेर भन्ने ठाउँ छैन ।
यो कार्यकालमा प्रधानमन्त्री ओलीले उज्यालोको नायक बनेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशकलाई चार महिना कार्यकाल रहँदै हटाएर, रास्वपा सभापति रवि लामिछानेलाई न्यायिक प्रक्रियामा छानबिन गर्दा प्रतिशोधपूर्ण व्यवहार देखाएर र काठमाडौँ महानगरपालिकाका मेयरसित पौठेजोरी खोजेर थप आलोचित, अपमानित र विवादित हुन पुगेका छन् ।
नेपाल राष्ट्र बैंकको नियुक्तिका सम्बन्धमा पनि करोडौँको बार्गेनिङ भइरहेको छ भन्ने कुराले पनि यो सरकार थप विवादित बनेको छ। नेपाली कांग्रेस र एमालेले राजनीतिक स्थिरता र संविधान संशोधनको एजेन्डा अगाडि सारेर सरकार परिवर्तन गरेको भनेका थिए तर नौ महिना बितिसक्दा पनि त्यो नागरिकले अनुभूत गर्न सकेका छैनन् । देशको सामाजिक संरचना र आर्थिक अवस्था थप जटिल र दयनीय बन्दै गएको देखिन्छ । सरकार अर्थतन्त्रलाई चलायनमान गराउनतिर नलागी केवल रेमिट्यान्सको हिसाब गरेर बसेको देखिन्छ।
आज देशमा उही पुरानै सरकार भत्काउने खेल शुरु हुन थालेको छ । अहिले प्रधानमन्त्री ओली र देउवा बीचको सम्बन्ध चिसिँदै गयो भनेपछि एकापसमा भेट भयो भन्ने पनि सुनिन्छ । कांग्रेसका नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले त खुलेरै सरकारले नागरिकलाई परिवर्तनको अनुभूति दिन नसकेको स्वीकार गरिसकेका छन् ।
महामन्त्री गगन थापा प्रधानमन्त्री ओली सरकारका उच्चस्तरीय संयन्त्रित सदस्य भए पनि प्रधानमन्त्रीको गलत क्रियाकलापविरुद्ध बोलिरहेकै छन् । गभर्नर नियुक्तिको प्रसंगमा उनले बिचौलीको पहुँच प्रधानमन्त्रीको बेडसम्म नै भनेर उनी रातारात चर्चित भए । यसले तरंग पनि ल्यायो । यसलाई सस्तो लोकप्रियता भनिए पनि गभर्नरको लागि उमेर बढाएर आफू अनुकूललाई बनाउने ओलीको योजना असफल भयो । यो मुद्दा अदालतमा विचाराधीन छ ।
त्यसअघि उनी यो डाँडो र त्यो डाँडोमा बसेर यति लाख र उति लाख कमाउन सकिन्छ भनेर ओलीगफ जस्तै गरी अनपत्यार कुरा गर्दै हिँडेका छन् भन्ने आरोप व्यहोर्न बाध्य थिए र अहिले पनि प्रसंगलाई स्पष्ट पार्दैछन् । ।
तर कांग्रेसकै कुरा नपत्याइएका बेलामा त्यही दलका महामन्त्री पनि आगोको मुस्लोमा छन् । त्यसैले पनि नेपाली नागरिकले कहिलेसम्म पर्खने र पत्याइदिइरहनु पर्ने हो र ? भन्ने प्रश्न आइरहन्छ ।
अर्कातर्फ गगनले कहिले प्रचण्ड, कहिले ओली, कहिले भाउजू र कहिले दाइका पछाडि लागेर नै आफ्नो राजनीतिक उचाई र पहिचान गुमाइरहेका त छैनन् भन्ने चिन्ता खड्किन्छ ।
पूर्व प्रधानमन्त्री प्रचण्ड पनि देउवाको गुणगान गाउँदै सरकार भत्काउने खेलमा लागेको सङ्केत देखिन्छ । अब यस्तो अवस्थामा ओलीको विकल्प देउवा वा प्रचण्ड हुन सक्दैनन् भनेर नवपुस्ताले किन सोच्न सक्दैन ? ढिला भयो त ? यी तीन शीर्ष नेताबाट अहिलेको नेपालको वर्तमान राजनीतिक समस्याको समाधान निस्किन सक्दैन।अब नयाँ पुस्ताले नेतृत्व जिम्मा लिएर अहिलेको असन्तुष्टि र आक्रोशलाई जतिसक्दो छिटो सम्हाल्नु पर्ने देखिन्छ।
अब ओली, देउवा र प्रचण्डले हामी बिना देश चल्दैन भन्नुको कुनै अर्थ र औचित्य नै छैन । नागरिकले ३५ वर्ष धैर्य गरे । अहिले पुराना वा नयाँ शक्ति जे सुकै नाम दिएर सडकमा आएका छन् ती सबै धैर्यताको बाँध फुटेका नागरिकहरू हुन् ।
देश भ्रष्टाचार र काण्डैकाण्डको दलदलमा फसेको छ । यी तीन शीर्ष नेताले कुनै पनि हालतमा निकास निकाल्ने सम्भावनै छैन । यस्तो अवस्थामा कांग्रेस, एमाले र माओवादी भित्र रहेका नवपुस्ताहरू रमितै हेरेर बस्ने कि नेतृत्व लिन कस्सिने ?
अति भए खति हुन्छ भन्छन् । देशलाई यस्तो अवस्थामा लैजाँदा पनि अति नै भएन र ? यद्यपि यहाँ देउवा, ओली र प्रचण्डलाई बुढा नै भए भनेर उमेरको दृष्टिकोणले अपमान गर्न खोजेको होइन । देश चलाउन नसक्ने असमर्थता र अक्षमताप्रति मात्र टिप्पणी गरिएको हो ।
नेपाली राजनीति वर्षौँदेखि यी तीन नेताको नियन्त्रणमा रहिरह्यो र नागरिकले यिनीहरूकै कारण व्यवस्था परिवर्तन भएको अनुभव र अनुभूति गर्न सकेनन् ।आज यिनैका कारण व्यवस्था संकटमा परेर एकथरी भत्काउने र अर्कोथरी जोगाउने आन्दोलनमा उत्रिनु पर्ने अवस्था आएको छ ।
के नेपाललाई सधै अस्थिर र आन्दोलनको पर्याय बनाइरहने हो र ? पुरानाले छोड्नै नखोज्ने र नयाँले बोल्नै नसक्ने अवस्थाले देश अत्यन्तै जटिल मोडमा पुगेको देखिन्छ त । शीर्ष नेतात्रय!जीवनको उत्तरार्ध पुगेको अवस्थामा अझै अपमानित भएर नबाँच्नुस् । नेपाल र नेपालीको रमिता हेर्नकै लागि भनेझैँ गरी रामराम नै भन्ने अवस्थामा नपुर्याउनुस् । वर्तमान प्रधानमन्त्री लगायतका तीनै जना शीर्ष नेतालाई ससम्मान भन्छु - अब राजनीतिबाट बाहिरिएर आराम गर्नुस् र अभिभावकीय भूमिका निर्वाह गर्नुस् ।