एमालेलाई अविभाजित पार्टी रहन नदिन र नेपाललाई समृद्ध हुन नदिन विदेशी उद्देश्यको मतियार बनेको टिप्पणी
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ११ आइतबार
718
Shares
काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई विदेशी उद्देश्यको मतियार बनेर तत्कालीन एमाले विभाजन गर्न भूमिका खेलेको आरोप लगाएका छन्। आइतबार नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो आरोप लगाएका हुन्।
प्रचण्डलाई लक्षित गर्दै ओलीले एमालेलाई अविभाजित पार्टी रहन नदिन र नेपाललाई समृद्ध हुन नदिन विदेशी उद्देश्यको मतियार बनेको टिप्पणी गरे। उनले क्रान्तिको नाममा विदेशबाट हतियार ल्याएर नेपाली जनताको टाउको र छातीमा पड्काएको आरोपसमेत लगाए। ओलीले माओवादीले युद्धकालमा फालेका बमहरू अझै पनि पड्किएर नागरिकले ज्यान गुमाइरहेको बताए।
प्रधानमन्त्री ओलीले विध्वंस मच्चाएका तत्वहरू वास्तवमा कम्युनिष्ट र वामपन्थी नभएको तर्क गर्दै भने, "देशमा क्रान्ति भनेर बाहिरबाट हतियार ल्याउने, बाहिरका हतियार, बाहिरका खरखजना, बाहिरकै तालिम, नेपाली जनताको टाउको र छातीमा पड्काएर छोडे। उतै बम बनाउन सिके, यता ल्याएर पड्काए। गुडिरहेको बसमा पड्काए। बुढाबुढी, बालबालिका भएका ठाउँमा पड्काए। तर गाह्रो पर्दा बेवारिसे छोडेर हिँडे।"
उनले आफूहरूले कम्युनिष्ट भनेर पार्टी एकता गरेपछि लगभग दुई तिहाइमा पुगेको नेकपालाई विभाजनको अपराध गरेर एमालेको देश बनाउने अभियानलाई रोक्न खोजिएकोसमेत बताए। ओलीले एमाले अविभाजित रहेको भए देश अझै धेरै अघि बढ्ने दाबी गरे।