संसद अवरुद्ध हुँदा विधेयकहरू अड्किए - सभामुख घिमिरे [भिडियो]
संसद नै चल्न नसकेको अवस्थामा सङ्घीय निजामती सेवासम्बन्धी ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन अड्किएर बसेको छ
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
619
Shares
ललितपुर । सभामुख देवराज घिमिरेले संसद सुचारु हुन नसक्दा महत्वपूर्ण विधेयकहरू अड्किएको बताएका छन्। उनले कानून निर्माणको प्रक्रियामा बाधा पुगेकोमा चिन्ता व्यक्त गरे।
डिप्लोमा इन्जिनियर्स एसोसिएसन, नेपाल (डीन) को ४५औँ वार्षिकोत्सव तथा विश्व वातावरण दिवसको अवसरमा शुक्रबार ललितपुरमा आयोजित "जलवायु परिवर्तन, प्लास्टिक र विश्वव्यापी वातावरण" विषयक कार्यशालामा बोल्दै सभामुख घिमिरेले यस्तो बताएका हुन्।
उनले विभिन्न विधेयकहरूलाई कानूनको रूप दिन आफूहरू तल्लीन रहेको बताउँदै संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएकोमा असन्तुष्टि व्यक्त गरे। सभामुख घिमिरेले संसद चल्न नसक्दा सङ्घीय निजामती सेवा ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन लगायतका महत्वपूर्ण विधेयकहरू अड्किएर बसेको जिकिर गरे।
"गाउँघरतिर एउटा उखान छ, म पछार्न न पछार्ने थिए तर मलाई खुट्टै टेक्न दिएन," उनले भने, "थुप्रै विधेयकहरूलाई कानुनको रूप दिनको लागि हामी तल्लीन छौँ, त्यो गर्न सकिन्छ र गर्छौ पनि। तर, संसद नै चल्न नसक्ने परिस्थिति निर्माण भएको छ। संसद नै चल्न नसकेको अवस्थामा सङ्घीय निजामती सेवासम्बन्धी ऐन, विद्यालय शिक्षासम्बन्धी ऐन अड्किएर बसेको छ, थुप्रै कुराहरू अड्किएका छन्।"
उनले संसद्मा विधेयकहरू अड्किने परिवेश र परिस्थिति अन्त्यका लागि सबैले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। सभामुख घिमिरेले कानून बनाउने, कानून कार्यान्वयन गर्ने संस्थालाई नियमन गर्ने र सरकारलाई प्रभावकारी बनाउने सर्वोच्च निकायलाई नियमित सञ्चालन गर्ने विधिको बारेमा सोच्न जरुरी रहेको धारणा राखे।
सभामुख घिमिरेले कार्बन उत्सर्जन गर्ने कामहरूलाई तत्कालै नियन्त्रण गर्न नलागे भविष्यको मात्रै नभएर आजकै जीवनसमेत गम्भीर बन्ने उल्लेख गरे।