बलात्कार लगत्तै हत्याको छ वर्षपछि निर्मला प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १८ आइतबार
880
Shares
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले १४ वर्षको उमेरमा बलात्कारपछि हत्या भएकी कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन् ।
आज सीआईबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
“निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु”, गृहमन्त्री लेखकले भने, “नेपाल प्रहरीभित्र पनि सीआईबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।”
सीमित स्रोतसाधनकाबीच प्रहरीमा सीआईबीबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुशी व्यक्त गर्दै मन्त्री लेखकले सीआईबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे ।
मुलुकमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए ।
“प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ”, उनले भने, “प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतकोभन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ ।”
प्रहरीभित्र सीआईबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उनले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्तिलगायतका विकास गरिनेमा जोड दिए ।
त्यस अवसरमा सीआईबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सीआईबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायत विषयमा चर्चा गरेका थिए ।
बोगटीले निर्मला पन्त हत्या प्रकरणका साथै अन्य घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराए । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सीआईबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सीआईबीका कार्यरत प्रहरी अधिकारीको उपस्थिति थियो ।
निर्मला पन्तको २०७६ सालमा बलात्कारपछि हत्या भएको थियो । नयाँ प्रविधिबाट अनुसन्धान गर्न नसिकेको नेपालको सुरक्षा निकायले घटनाको ६ वर्षपछि फेरि नयाँ शिराबाट अनुसन्धान थाल्ने भएको हो ।
अहिलेसम्म प्रहरीले बयानकै आधारमा अपराधीलाई पक्राउ गरी मुद्दा चलाएर सजाय दिने क्रम कायम छ ।