आगजनी गरिएको ४३ दिनपछि बल्ल ओली आफ्नो घर हेर्न बालकोटमा [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ कार्तिक ५ बुधबार
1.4k
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो घर जलेको ४३ दिनपछि बल्ल घर हेर्न पुगेका छन् । जेन–जी आन्दोलनका क्रममा उनको घरमा आगजनी गरिएको थियो ।
ओली भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवासको अवलोकनका लागि ४३ दिनपछि पुगेका हुन् ।
उनी सरकारको नेतृत्व गरिरहेकै बेलामा उनको घर जलेको थियो । तर आफ्नो घर पुग्न उनलाई यति लामो समय लाग्यो । प्रधानमन्त्री भएका बेलमा उनलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेर प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट मकवानपुरमा लगेको थियो ।
स्थिति साम्य भएपछि मात्र उपत्यकामा फर्केका उनी भक्तपुरको गुन्डुमा डेराको घरमा बस्दै आएका छन् ।
आफ्नो घर हेर्न जानसमेत डेढ महिना लगाएका ओलीले हालको अन्तरिम सरकारलाई गाली गर्न भने छाडेका छैनन् । उनको नेतृत्वको सरकारले जेन–जीहरुमाथि गोली बर्साउँदा एकैदिन १९ जनाको ज्यान गएको थियो भने हालसम्म ७६ जनाले मृत्युवरण गरिसकेका छन् ।
उनले त्यसमा कुनै क्षमा नमागे पनि हालको सरकारमाथि सत्तोसराप गर्दै संसद विघटन गर्न नहुने र आफू फेरि प्रधानमन्त्री हुन पाउनु पर्ने बताउँदै आएका छन् ।
उनले हालका गृहमन्त्री ओमप्रकाश अर्यालले आफूसँग गम्भीर दुश्मनी लिइरहेको आरोपसमेत लगाएका छन् । आफुनो ध्वस्त बनाइएको बालकोटस्थित निजी निवासको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।
उनले सरकारले आन्दोलनको क्रममा अपराधिक कार्यमा संलग्नहरूलाई कारबाही नगरेर मुलुकमा अर्को आन्दोलनको बीजारोपण गरिरहेको आरोप लगाए। सरकारले आन्दोलनका पीडितहरूलाई न्याय दिलाउनुको सट्टा दुस्मनी साँधिरहेको उनको भनाइ छ। सरकारको ध्यान भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्नुमा नरहेको उनको जिकिर छ।
अध्यक्ष ओलीले भने, “आन्दोलनको क्रममा लुटपाट गर्नेहरू वरपरकै थिए। सरकारले पक्राउ गर्ने कुरै छैन। यस्तो अपराधिक क्रियाकलापमा संलग्नहरू विदेशका नभई यहीं वरपरका थिए। अहिले पक्राउ गर्न सरकार तयार छैन। झन् पक्राउ परेकाहरूलाई पनि छोडिरहेको छ। उनीहरू कालान्तरसम्म पक्राउ होलान्।”
उनले सरकारको मनसाय गृहमन्त्रीले हिजो टेलिभिजनमा दिएको अन्तरवार्ताबाट देखिएको भन्दै दुःख परेकामाथि गृहमन्त्रीको दुस्मनी रहेको र त्यसमा पनि आफूसँग गृहमन्त्रीको गम्भीर दुश्मनी रहेको आरोप लगाए। उनले जेन–जी आन्दोलनकारीबाट आफैंमाथि दबाब बढाएर केहीलाई पक्राउ गर्न सरकार उद्दत रहेको गम्भीर आशङ्का व्यक्त गरे।
ओलीले जेन–जी पुस्ताका अगुवाहरूमार्फत आफैंमाथि दबाब बढाएर आफूसहितका नेताहरूलाई पक्राउ गर्ने मनसाय सरकारमा रहेको आशङ्का व्यक्त गरे।