ओलीको 'एकलकाटे प्रवृत्ति' विरुद्ध पोखरेललाई अघि बढायौँ : उपाध्यक्ष ज्ञवाली [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ मंसिर २२ सोमबार
784
Shares
काठमाडौँ। नेकपा (एमाले)का उपाध्यक्ष युवराज ज्ञवालीले पार्टीको ११औँ महाधिवेशनमा आफूहरूले सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गराउन नेतृत्व परिवर्तन गर्न चाहेको बताएका छन्।
सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उपाध्यक्ष ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा एकलकाटे प्रवृत्ति देखाएको र 'नेतृत्व प्रदान' भन्ने गलत मान्यतालाई अघि बढाएकाले आफूहरूले त्यसको विकल्पमा ईश्वर पोखरेललाई नयाँ नेतृत्वको रूपमा अघि बढाउन बाध्य भएको जिकिर गरे।
उपाध्यक्ष ज्ञवालीका अनुसार, सामूहिक नेतृत्व विना लोकतन्त्र सफल, सुदृढ र टिकाउ हुन सक्दैन, त्यसैले कलेक्टिभ लिडरसिप आजको अनिवार्य आवश्यकता हो। पार्टीको दस्तावेजमा सामूहिक नेतृत्व प्रणाली लेखिए पनि व्यवहारमा लागू नभएकाले त्यसलाई स्थापित गर्न आफूहरू नयाँ नेतृत्वमा जान चाहेको उनले बताए।
ज्ञवालीले पार्टीको सैद्धान्तिक विचलनमाथि प्रश्न उठाउँदै 'नीति प्रदान कि नेतृत्व प्रदान' भन्ने गम्भीर प्रश्न उठाए। उनले दस्तावेजमा नीति प्रदान भनिए पनि व्यवहारमा नेता प्रदान भन्ने कुरालाई स्थापित गर्न खोजिएकोमा आफ्नो असहमति रहेको जनाए। उनले "नीति प्रदान हो, नीति अन्तर्गत नेता रहनुपर्छ" भन्ने मान्यतालाई पुनः स्थापित गर्न खोजिएको आफ्नो भनाइ रहेको बताए।
उनले अध्यक्ष ओलीले आलोचनालाई सुन्न नचाहने ‘गैर माक्र्सवाद चिन्तन’ देखाएकोले त्यसको विपक्षमा उभिनुपर्ने अवस्था आएको बताए। उनले “डेमोक्रेसीमा आलोचना भन्ने कुरा अनिवार्य कुरा हो। माक्र्सवाद आफैँमा आलोचनात्मक सिद्धान्त हो” भन्दै कमजोरी छैन भन्ने मान्यताको विपक्षमा उभिएर आलोचना र आत्माआलोचनासहितको कम्युनिष्ट पार्टी अगाडि बढाउन चाहेको बताएका छन्।
उपाध्यक्ष ज्ञवालीले ईश्वर पोखरेलको नेतृत्वमा सामूहिक ढङ्गले पार्टीलाई अघि बढाउने र लोकतन्त्रको सुदृढीकरणमा नेतृत्वदायी भूमिका खेल्न चाहेको बताए।