arrow

हामी चुनावबाट भाग्दैनौँ तर सर्वोच्चले पुरानै नजिर कायम गरोस्: रघुवीर महासेठ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ पुष २० आइतबार
raghubir-mahashestha-03-13.jpg

काठमाडौँ । नेकपा (एमाले) का नवनिर्वाचित उपमहासचिव रघुवीर महासेठले वर्तमान सरकार आफैँ निर्वाचन बिथोल्ने प्रक्रियामा लागेको आरोप लगाएका छन्। आइतबार जनकपुरमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा बोल्दै उनले देशको सुरक्षा अवस्था र हतियार व्यवस्थापनमा सरकारको लाचारीले निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठाएको बताए।

उपमहासचिव महासेठले हालैको 'जेन–जी' आन्दोलनका क्रममा भदौ २३ र २४ गते सुरक्षा निकायबाट लुटिएका हजारौँ हतियार र भागेका कैदीबन्दीहरू अझैसम्म नियन्त्रणमा नआउनुलाई सरकारको असफलताका रूपमा चित्रण गरे।

असुरक्षित वातावरणमा चुनावको चुनौती उनले भने, “लुटिएका हतियारमध्ये ५० प्रतिशत पनि फिर्ता भएको छैन, भागेका अधिकांश कैदीहरू बाहिरै छन्। यस्तो स्थितिमा चुनाव कसरी निष्पक्ष हुन सक्छ? बाहिर रहेका ती हतियार र अपराधीहरू चुनाव बिथोल्न कसको विरुद्ध प्रयोग हुन्छन्, यो गम्भीर र सोचनीय विषय हो।” उनले हतियार र कैदीबन्दी फिर्ता नहुनुले सरकार चुनाव गराउने पक्षमा नरहेको पुष्टि हुने दाबी गरे।

संसद् पुनःस्थापना र सर्वोच्चको नजिर प्रतिनिधिसभा विघटनसम्बन्धी विवादमा महासेठले सर्वोच्च अदालतले विगतको नजिरलाई पछ्याउनुपर्ने जिकिर गरे। उनले भने, “हामी चुनावबाट भाग्दैनौँ, चुनाव भएमा एमाले पूर्ण तयारीका साथ सहभागी हुन्छ। तर, संविधानको रक्षाका लागि सर्वोच्च अदालतले संसद् पुनःस्थापनाको पुरानै नजिर कायम गरोस् भन्ने हाम्रो माग छ।”

काङ्ग्रेससँग सहकार्यको सम्भावना संविधानको रक्षा, सङ्घीयता, लोकतन्त्र र गणतन्त्रलाई जोगाउन एमाले लचिलो बन्न तयार रहेको सङ्केत गर्दै महासेठले आवश्यक परेमा नेपाली काङ्ग्रेससँग सहकार्य गरेर अघि बढ्ने समेत बताए। उनले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि प्रमुख दलहरूबीच सहमति र संविधानको पालना अनिवार्य रहेकोमा जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ