arrow

नेपालले निष्काशन गरेका नागरिक लिन चीनबाट आउदै दुई विमान

एक सय २२ चिनियाँलाई निष्काशन गरिँदै

logo
प्रकाशित २०७६ पुष २३ बुधबार
china-haker-nepal.jpg

काठमाडौं। पर्यटक भिसामा नेपाल आएर अवैध गतिविधिमा संलग्न १२२ चिनियाँ नागरिकलाई बुधबार निष्काशन गरिँदै छ। अध्यागमन विभागका अनुसार बुधबार साँझ उनीहरुलाई चीन डिपोर्ट गर्न लागिएको हो। बुधबार साँझ चीनबाट दुई विमान आएर उनीहरुलाई लैजाने विभागले जनाएको छ। प्राप्त जानकारीअनुसार एउटामा ४२ र अर्को विमानमा ८० जना जानेछन्।

नेपालमा बसेर गैरकानूनी क्रियाकलाप गरेको भन्दै प्रहरीले यही पुस ७ गते काठमाडौँको मनमैजु, महाराजगञ्ज र बूढानीलकण्ठ क्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको थियो। यसअघि पुस २० गते अभद्र व्यवहारअन्तर्गत मुद्दामा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको इजलासले जनही रु एक हजार जरिवानाको फैसला सुनाएको थियो । अभद्र व्यवहारमा अधिकतम रु १० हजारसम्म जरिवाना हुने कानूनी प्रावधान छ।

त्यसलगत्तै प्रहरीले उनीहरुलाई अध्यागमन विभागमा बुझाएको थियो। अध्यागमन विभागले प्रवेशाज्ञा बाँकी रहेकाको हकमा रु एक हजार र प्रवेशाज्ञा सकिएर पनि अवैधरुपमा बस्दै आएकालाई रु दुई हजार जरिवाना तिराउने निर्णय गरेको थियो। चिनियाँ नागरिकलाई निःशुल्क प्रवेशाज्ञामा पाँच महिनासम्म म्याद रहन्छ । त्यसपछि उनीहरुले प्रवेशाज्ञा थपेर बस्न सक्छन्।

“उनीहरुको रुजु गर्नेदेखि जरिवाना तिराउने काम सबै मङ्गलबार नै सकिएको छ, बुधबार साँझ उनीहरुलाई फिर्ता पठाइन्छ”, विभागका अध्यागमन अधिकृत वैकुण्ठराज रेग्मीले भने। उनीहरुको सबै पैसा दूतावासले बुझाएको जनाइएको छ। उनीहरुलाई अध्यागमन ऐन २०४९ को नियमावली २०५१ र अध्यागमन कार्यविधि २०६५ मा टेकेर सो निर्णय गरिएको हो । ऐनमा कसुरको प्रकृतिअनुसार रु ५० हजारसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ।

विभागका अनुसार ३४ जनाको भने प्रवेशाज्ञा सकिएको फेला परेको छ। नेपालस्थित चिनियाँ राजदूतावासले उनीहरुको सबै प्रवेशाज्ञा (भिसा) रद्द गरेको छ। उनीहरुलाई बुधबार ट्राभल डकुमेन्ट बनाएर स्वदेश फिर्ता गरिँदै छ। चिनियाँ नागरिकले पर्यटक भिसामा आएर अवैधरुपमा सङ्गठित काम गरेका थिए। उक्त काम गरेको स्वयं उनीहरुले स्वीकार गरेका काठमाडौँका प्रजिअ दाहालले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ