arrow

माधव बाजेले शिवपुरीमा किन गाडे मणी ?

वैराग्य : मानिसको सबैभन्दा नजिक काल

logo
स्वधर्म,
प्रकाशित २०७६ फागुन २२ बिहिबार
shivapuris.JPG

काठमाडौं। शिवपुरी बाबा १०० वर्षको उमेरमा विक्रम संवत् १९८२ मा कैलाश मानसरोवर हुदै नेपाल आएका थिए । आफ्नो जीवनको अन्तिम भाग नेपाल मै बसेर बिताउने निर्णय गरेका उनले यहि समाधी लिएका थिए ।

३७ बर्ष उपत्यकामा बिताएका बाबाले किराँतेश्वर, गोकर्णेश्वर, शिवपुरी डाँडा हुदै करिब ११ बर्ष आफ्नो अन्तिम समय पशुपतिस्थित श्री प्रभु शिवपुरी बाबा आश्रम समाधीस्थलमा बिताए। शिवपुरी बाबा भन्थे नेपाल तपोभूमि भएकोले यहाँ तपस्वीहरू तपस्याका लागि आउछन्। यहाँका वनमा तपस्वीहरू अदृश्य रूपले तपस्यामा तल्लीन भइरहेका छन् ।

बाबालाई काठमाडौं आएको भोलिपल्ट माधव तिमिल्सिना (माधव बाजे) का बुवा सूर्यनाथ शर्माले भेटेछन् । सो समय सूर्यनाथ दिनैपिच्छे पशुपति जाने गर्दथे। उनको संयोगबश बाबसँग भेट भएको उनका उत्तराधिकारीहरु अहिले पनि सम्झिन्छन्। उनी मांसाहरी थिए तर भेट भएसँगै भोलिपल्टबाटै उनी आध्यात्मिक मार्गमा अघि बढे। मांसाहार प्रथा परिवारमा बन्द भयो । बाबाको सेवामा लागे। सूर्यनाथको निधनपछि माधव बाजेले बाबाको आजीवन सेवा गरे ।  
 
माधव बाजेका अनुसार बाबाले शिवपुरीलाई ऐश्वर्यले पूर्ण पवित्र स्थान बताएका छन् । स्वधर्मपालन गर्ने साधकले त्यहाँगएर एक वर्ष साधना गर्दा सबै दैवी सम्पत्ति जम्मा गर्न सक्दछ। शिवपुरी बाबाका वरपर जङ्गली जनावरहरू घरपालुवा बिरालोजस्तै निर्धक्कसँग घमिरहन्थे। कहिलेकाहीं बाघ, भालुजस्ता हिंसकहरू पनि उनका अघिल्तिर आएर बस्दथे । उनले मिश्री दिएपछि खाएर फर्किजान्थे ।

माधव बाजेले शिवपुरीमा भएको एउटा घटना उल्लेख गरेका छन्। एकदिन रात परिसकेको थियो। शिवपुरी बाबासँग माधव बाजे धुनीको छेउमा बसेर कुराकानी गर्दै थिएँ । अकस्मात् एउटा झलमल ज्योति कुटीको ढोका अगाडि आएर अड्यो। शिवपुरी बाबाले माधव बाजेलाई भने “हेर, त्यो मणि हो । त्यसलाई सर्पले छाडेर गएको हो । यस्ता अनेक वस्तुहरू छन्, जसलाई मनुष्यले सिद्धबाट मात्र प्राप्त गर्न सक्तछन । यसबाट इच्छामाफिकको सांसारिक सुखभोग र सम्पत्ति पनि मिल्दछ तर मोक्षको मार्ग भने यस्ता वस्तुले खोल्दैन । मोक्षको इच्छा गर्ने व्यक्तिलाई यस्ता पदार्थ बोझ बनिरहन्छन्। त्यसैले यस्तो विषयमा राग राख्नु हुन्न । तिमीलाई सुखभोगको ईच्छा छ भने लिन सक्छौ नत्र त्यसलाई कतै गाडेर आऊ।"  शिवपुरी बाबाको आज्ञा भएपछि माधव बाजेले त्यसलाई गाडेर पुन बाबा भएको ठाँउमा आए ।

महाभारतमा युधिष्ठिरलाई यक्षले आश्चर्य के हो ? भनी गरेको प्रश्न गरेका थिए । त्यसको जवाफमा युधिष्ठिरले भने ''अहन्यहनि भूतानि गच्छन्ति यममन्दिरम्। शेषाः स्थिरत्वमिच्छन्ति किमाश्चर्यमतःपरम् ।'' अर्थात दिनदिनै प्राणीहरू यमराजको घरमा जाने देख्दादेख्दै पनि बाँचेका प्राणीहरू सधैं बाँचिरहने इच्छा गर्दछन् । योभन्दा आश्चर्य के हुन सक्छ ? बाबाले सधै यस्तै प्रकारको वैराग्य जागृत हुनुपर्छ भनेर सुझाव दिन्थे । बाहिरी रूपको वैराग्यले केही काम लाग्दैन। यस अंकमा शीवपुरी बाबसँग वैराग्य सम्बन्धि गरिएका प्रसंगहरु समेटिएको छ ।

प्रश्नः प्रभु ! वैराग्यका बारेमा केही सुन्न पाउँछौं कि ?
उत्तरः मलाई कुनै पनि बेला मर्नुपर्छ, त्यसैले मलाई अहिले नै ईश्वर दर्शन गर्नुपर्छ भन्ने भावना राख्नु नै वैराग्य जगाउनु हो तर विवेकसहितका वैराग्य उत्तम हुन्छ । बुद्धले पनि बुद्धत्त्व प्राप्त गरिसकेपछि यही कुरा बताउनु भएको छ । अहिल्यै हुन सक्ने र गर्न सकिने कामकर्तव्य पछि गर्छु भनी साँचेर पनि नराख्नू । किनकि मानिसको सबैभन्दा नजिक काल नै बसेको छ। वैराग्यको मतलब घर छाड्नु होइन तर ईश्वरमा अटुट प्रेम र विश्वास बढाउनु हो।

आजै ईश्वर प्राप्त गर्छु भन्ने दृढता लिनुपर्छ । यस्तो दृढ निश्चय गरेर तत्परता देखाउनुभयो भने आजै सूर्यास्त हुँदा नहुँदा ईश्वर-दर्शन पाउन सक्नुहुन्छ । यो दृढता धेरै जन्मको तप र भक्तिबाट मात्र आउँछ।

प्रश्नः बाबा, हामीलाई राम्राराम्रा ठाउँहरू हेर्ने र चाखलाग्दा पुस्तकहरू पढ्ने इच्छा लागिरहन्छ नि ?
उत्तर: पढ्दा रमाइलो लाग्ने साहित्यको अध्ययन, राम्रा तस्बिर (रूख, बिरूवा, पहाड आदि) प्रतिको प्रेम पनि सबै अलमल्याउने खालका मात्र हुन् । राम्रो ठाउँमा गएर मात्र पनि मन ठीक हुन्न । रामाराम्रा ठाउँहरूमा गएर मात्र पनि भगवानको बढी चिन्तन र भजन हुन सक्तैन । मन राम्रोमा नै अलमल गरिरहन्छ। एक चीज देखेपछि अर्को चीज पनि हेर्न मन लाग्छ नै । गहिरिएर स्वधर्मपालन गर्न खोज्ने व्यक्तिलाई यी वस्तुहरूले एकदमै अल्मल्याउँछन् । यस्ता वस्तुहरूबाट केही समय आनन्द प्राप्त होला तर त्यो फलदायी हुन्न । मानिस आनन्दमै मस्त हुन्छ, जसले गर्दा ऊ आफूलाई पनि परमात्मालाई पनि भूल्छ । यस्तोमा परमात्मा-चिन्तन कसरी होला त ? त्यसैले जहाँ गए पनि, जे हेरे पनि परमात्माको स्मरण भने हटाउनु हुन्न भन्ने भावना लिइ परमात्माको स्मरण गरिरहनुपर्छ ।

प्रश्न: बाबा, हाम्रा मन एवं बुद्धिका कमजोरीहरूबाट उत्पन्न दुखहरू स्वधर्मपालन गरेपछि केही मत्थर पार्न सकिन्छ त ?
उत्तर: प्रारब्धअनुसार प्राप्त दुःखबाट सबै दुःखित हुनै पर्छ। त्यसैअनुसारको फलभोग गर्नै पर्छ । प्रारब्ध भनेकै हाम्रा बितेका जीवनका राम्रा नराम्रा कामहरूका नतिजाको संगालो हो । सत्कर्म गर्नाले प्रारब्ध केही पर हटाउन सकिन्छ तर मेटाउनै भने सकिन्न।

रामले बालीलाई लुकेर मार्नुभयो तर पछि कृष्णअवतारमा व्याधाले लुकेर हानेको बाणले आफै मर्नुपर्यो । जसरी तपाईंहरू नयाँ घरमा जान अहिले बसिरहेको घर छाड्नुहुन्छ, त्यसै गरी समय छंदै शरीरबाट मुक्ति पाएपछि आत्मा बस्ने ठाउँ पक्का गर्नेतिर लाग्नुस् ।

एकातिर राम्रो सिनेमा देखाइँदैछ, अर्कातिर कुनै व्यक्तिले उसको बाबुको लास चितामा जलाउँदै छ भने त्यो व्यक्ति सिनेमा राम्रो छ भनेर हेरिरहला त ? त्यसरी नै वैराग्यले पूर्ण व्यक्ति ईश्वरतर्फ लागिसकेको छ भने उसले संसारको व्यवहार रूपी सिनेमा कसरी हेरिरहला!

प्रश्नः बाबा, हामी संसारमा हामीले चिताएको सबै कुरा पूर्ति होस भन्ने सोच्तछौं तर कहिले पनि पूर्ति गर्न सक्तैनौं । किन होला?
उत्तर: संसारले हामीले मागेको सबै वस्तु दिनै सक्तैन । हामीहरू यही जीवनमा सबै कुरा पूर्ति होस् भन्न चाहन्छौ । यहाँका वस्तुहरू कुनै पनि दिगो छैनन् र आनन्ददायी पनि छैनन् । मायाले हामीलाई यसरी अठ्याएको छ कि हामी हाँसो चाहन्छौं तर बढी आँसु नै पाउँछौं । सुखभन्दा बढी दुःख नै पाइन्छ, जसरी कुकुरको पुच्छर बाह्र बर्ष ढुङ्ग्रोमा राखे पनि सोझो हुनेवाला छैन, त्यस्तै संसारबाट पनि  हामीलाई केही मिल्नेवाला छैन।

संसारले हामीलाई लात हान्छ, जसले गर्दा हाम्रो दाँतबाट रगत बग्न थाल्छ। त्यस बखतमा हामी केही समयसम्म विरक्त पनि हुन्छौं । केही समयपछि नै त्यो विरक्तता हामीबाट हटेर जान्छ र हामी फेरि संसारमै लुटपुट गर्न थाल्छौं । यो क्रम आजको जुनीमा मात्र होइन, हिजोको जुनीमा पनि थियो र भोलिको जुनीमा पनि भइरहन्छ। त्यसैले संसारमा रहेर परमात्मा-दर्शन गर्नुहोस् र जीवनमरणको चक्करबाट पार हुनुस् ।

(शिवपुरी बाबासँग गरिएका कुराकानी, संकलक बिष्णुप्रसाद तिमिल्सिनाको स्वधर्म पुस्तकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ