arrow

भूराजनीतिको भुमरीमा टर्की 

logo
हाम्राकुरा विशेष,
प्रकाशित २०७६ फागुन २५ आइतबार
turkey-geopolitical.jpg

काठमाडौं। टर्की अहिले निकै महत्वपूर्ण घडीमा आइपुगेको छ। अमेरिकाका सहयोगी मुलुकको संगठन नाटोको एक सदस्य समेत रहेको टर्कीले पछिल्लो केही समययता भने भू–राजनैतिक समस्याको सामना गर्दै आएको छ। यो अवधिमा उसले अमेरिका, यूरोपदेखि रुससम्मको भू–राजनैतिक तनावको सामना गरिसकेको छ। 

आप्रवासी मुद्दा
यसै क्रममा पछिल्लो समय टर्कीबारे आप्रवासीको समस्या देखिएको छ। टर्कीले यूरोप प्रवेश गर्न कुरिरहेका आप्रवासीलाई ढोका खोलिदिएसँगै विवाद सृजना भएको हो। टर्कीले आफूले अत्यधिक मात्रामा आप्रवासीलाई रोक्न नसक्ने बताउँदै सीमा खोलिएको हो। यो कदमले यूरोपेली मुलुकले आलोचना गर्दै आएका छन्।

टर्कीले आप्रवासी रोक्न यूरोपले दिएको रकम अपुग भएको बताउँदै आएको छ। आप्रवासीको संख्या अत्यधिक मात्रामा बढेसँगै टर्कीले उक्त रकमले धान्न नसक्ने भएपछि यूरोपको सीमा खोलिदिएको हो। यूरोपेली मुलुकले भने टर्कीले यो रकमको प्रयोग अन्य प्रयोजनका लागि खर्च गर्ने गरेको आरोप लगाउँदै आएका छन्।

टर्कीमा पाकिस्तान, अफगानिस्तान र सिरियाबाट आएका उल्लेख्य आप्रवासी छन्। आप्रवासीहरुलाई रोक्न उसले यसअघि यूरोपसँग सम्झौता पनि गरेको थियो। तर, यो सम्झौता अनुसारको रकम अपुग भएको भन्दै टर्कीले थप रकम मागिरहेको छ।

टर्कीले आफ्नो सीमा खोलिदिएसँगै यूरोपमा यसको संकट देखिएको छ। टर्कीले गत साता आफ्नो सीमा खोलिदिएपछि ग्रीसले करिब ३५ हजार आप्रवासीलाई रोकेको छ। यससँगै विशेषगरी ग्रीस टर्कीको सीमाक्षेत्रमा आप्रवासीको विषयलाई लिएर विवाद चुलिएको छ। ग्रीसले जबर्जस्ती आप्रवासीलाई टर्कीले ग्रीसतर्फ पठाएको आरोप लगाएको छ। टर्कीले भने त्यसको अस्वीकार गर्दै आएको छ। यो क्रममा झडप हुँदा चार जनाको ज्यान गएको थियो। टर्कीले भने यसलाई ग्रीसले हत्या गरेको दाबी गरेको छ।

बिहीबार ग्रीसको सीमा क्षेत्रको भ्रमण गरेका टर्कीका आन्तरिक मन्त्री सुलेमान सोलुले आफ्नो भूमिमा आप्रवासी प्रवेश गर्न नदिन थप १ हजार विशेष सुरक्षाकर्मी परिचालन गरिएको घोषणा गरेका थिए। उनले बुधबार ग्रीसविरुद्ध यूरोपेली मानव अधिकार अदालतमा मुद्दा दायर गर्ने तयारी भइरहेको बताएका थिए। ग्रीसले भने अहिले आफ्नो मुलुकमा नै आप्रवासीको संख्या अत्यधिक रहेको भन्दै थप आप्रवासीलाई शरण नदिने बताएको छ। उसले अहिले मुलुकमा अवैधरुपमा प्रवेश गरेका आप्रवासीलाई आफ्नै मुलुक फर्काइने बताएको छ।

ग्रीसको लेसबोसमा अहिले नै २० हजारले शरणार्थी आवेदन दिइसकेका छन्। जसमध्ये अधिकांशको अवस्था निकै दयनीय छ। ग्रीस र ईयूले टर्कीलाई ईयूमा आप्रवासी पठाउन भूमिका खेलेको भन्दै आलोचना गर्दै आएका छन्। टर्कीमा अहिले ३६ लाख सिरियाली शरणार्थी छन्। पछिल्लो समय उत्तरपश्चिमी सिरियामा जारी युद्धको कारण अझै सिरियाली शरणार्थीको संख्या मुलुकमा बढ्दो छ।

सिरिया युद्ध
टर्कीको लागि अर्को महत्वपूर्ण विषय सिरिया युद्ध हो। यो युद्धमा उसको पनि भूमिका छ। यस्तोमा उसले यसको लागि पनि उल्लेख्य रकम खर्च गर्ने गरेको छ। यो खर्च धान्न सक्ने अवस्थामा अहिले टर्की छैन। उसको अर्थतन्त्र कमजोर बन्दै गएसँगै उसले आफ्नो खर्च उठाउन यो कदम चालेको बताइएको छ। अमेरिकाले सिरियाबाट आफ्ना सेना फिर्ताको निर्णय गरेसँगै टर्की थप समस्यामा परेको छ। सिरियाको रुस समर्थित सेनाबाट हुने गरेको आक्रमणमा टर्कीका सेना मारिँदै आएका छन्। 

अहिले सिरियाको अधिकांश भाग सरकारको नियन्त्रणमा आइसकेको  छ। तर, अझै पनि इडलिबमा टर्की समर्थित सेनाले पनि सरकारविरुद्ध आक्रमण गरिरहेको छ। यो क्षेत्रमा पनि आफ्नो नियन्त्रणका लागि सिरियाले बेलाबेलामा आक्रमण गर्ने गरेको छ। यो आक्रमणमा परी धेरै टर्कीका सेनाले ज्यान गुमाइसकेका छन्। गत साता मात्र ३३ जना टर्कीका सेनाको उक्त आक्रमणमा परी ज्यान गएको थियो।

यो क्षेत्रमा युद्ध शुरु भएयता यहाँबाट टर्की जाने आप्रवासीको संख्यामा पनि व्यापक मात्रामा बढिरहेको छ। युद्ध शुरु भएपछि यहाँका करिब १० लाख मानिस विस्थापित भइसकेका छन्। यसबारे कुरा गर्न टर्कीका राष्ट्रपतिले पनि रुसको भ्रमण गरेका छन्। यो भ्रमणले दुई मुलुकको समझदारीमा सिरियाको युद्धको समाधान हुनसक्ने अपेक्षा छ। लामो समयदेखि युद्धको चपेटामा रहेको सिरिया अझै पनि युद्धविरामको लागि संघर्ष गरिरहेको छ। 

रुससँगको सम्बन्ध
इतिहास हेर्ने हो भने त टर्कीको रुससँगको सम्बन्ध राम्रो छैन। तर, पछिल्लो केही समययता यी दुई मुलुकको सम्बन्ध औसत देखिएको छ। टर्कीले अमेरिकी हतियारको सट्टामा रुसी हतियारको प्रयोग गर्ने निर्णय गरेसँगै दुई मुलुकको सम्बन्धमा सुधार आइरहेको देखिएको हो।

त्यसो त अमेरिकासँगको सम्बन्ध कमजोर बनेसँगै रुस र टर्कीको सम्बन्धमा केही सुधार देखिएको हो। टर्कीले बरु नाटोको सदस्यता त्याग्न तयार रहेको तर रुसबाट हतियार किन्ने प्रक्रियालाई नरोक्ने भन्दै अमेरिकालाई गत वर्ष चुनौती दिएको थियो।

अमेरिकासँग टर्कीको विवादको कारण अर्थतन्त्रले पनि ठूलो क्षतिको सामना गर्नुपरेको थियो। तर, राष्ट्रपति रिसेप तैयप एर्दोगानले अर्थतन्त्रलाई अमेरिकाको असहयोगले कुनै असर नगर्ने भन्दै आफ्नो अडान कायम राखे। त्यससँगै टर्की र रुसले सिरिया युद्धमा पनि हल निकाल्ने प्रयास गरेका थिए भने अमेरिकाले भू–राजनैतिक प्रभाव पनि सिरियामा कमजोर बनेको थियो।

अहिले टर्कीका सेनालाई रुस समर्थित सिरियाली सेनाले आक्रमण गरेसँगै अमेरिकाले नाटोको सदस्य रहेको नाताले टर्कीलाई आवश्यक हतियार सहयोग गर्न तयार रहेको बताउँदै एक तीरले दुई शिकारको प्रयास गरेको छ। एक त टर्कीले यो सहयोग स्वीकार गरेको खण्डमा अमेरिकाले रुसबाट आउने हतियार रोक्नुपर्ने शर्त राख्नेछ। अर्को महत्वपूर्ण कुरा टर्कीको मामिलामा उसले पुनः उक्त क्षेत्रमा आफ्नो भू–राजनैतिक प्रभाव विस्तारको मौका पाउनेछ। 

टर्की किन महत्वपूर्ण छ ?
रुसदेखि यूरोप र अमेरिकासम्म टर्कीलाई मनाउन र सम्झाउनमा लाग्नुले अहिले टर्की एक भू–राजनैतिक हिसाबमा निकै महत्वपूर्ण मुलुक हो भन्ने देखाउँछ। यूरोएसियन मुलुक टर्की यूरोप र अमेरिकाको लागि निकै महत्वपूर्ण स्थानमा छ। टर्की यूरोप र एसिया जोड्ने मात्र नभई अफ्रिकासम्मको सञ्जालको लागि पनि निकै महत्वपूर्ण मुलुक हो। भौगिलिक हिसाबमा निकै महत्वपूर्ण स्थानमा रहेको कारण पनि टर्कीको महत्व छ। यसको सहयोगमा उसले यूरोप र एसिया तथा अफ्रिकाका मुलुकसँग राम्रो प्रभाव राख्ने हैसियत राख्छ।

यो फाइदालाई नै मध्यनजर गर्दै अमेरिकाले टर्कीलाई साथमा लिएर रुसलगायतका मुलुकलाई चुनौती दिने योजना अघि सारेको थियो। तर, सिरिया युद्धमा बीचमा नै टर्की समिर्थत सेनालाई छाडेर हिँडेपछि दुई मुलुकको सम्बन्ध चिसिएको हो। रुसले पनि टर्कीसँगको सम्बन्ध विस्तारमा केही महत्वपूर्ण फाइदा देखेको छ। सोही फाइदाको लागि भन्दै उसले टर्कीसँग हात बढाएको हो।

त्यतिमात्र होइन। समग्र यूरोपको लागि टर्की एक ढोका हो। उसले यूरोप प्रवेशको लागि अनुमति दिएको खण्डमा यसले ठूलो जोखिम निम्त्याउँछ भन्ने कुरा यूरोपका मुलुकले राम्रोसँग बुझेका छन्। त्यसैले अहिले टर्कीले पनि यसलाई हतियार बनाएर यूरोपलाई तर्साउन शुरु गरेको हो। आगामी दिनमा उसले आफ्नो भौगोलिक अवस्थलाई कसरी प्रयोग गर्न सक्छ, त्यो भने भविष्यले देखाउला।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ