परशुरामको श्राप बन्यो कर्णको मृत्युको कारण, श्रीकृष्णसँग पोखे गुनासो

प्रकाशित मिति : २०७७ बैशाख ११ बिहिबार

काठमाडौं । कुन्ती पुत्र कर्ण पराक्रमी योद्धा थिए । तर उनले युद्ध कलाको ज्ञान झूठो बोलेर प्राप्त गरेका थिए। जसको परिणाम उनले युद्धमा आफ्नो मृत्युको रुपमा भोग्नु पर्‍यो । जन्मेसँगै आफ्नी आमा कुन्तीले कर्णलाई त्यागेकी थिइन् । उनलाई एक सूतले आफ्नो पुत्रको रूपमा अपनाएका थिए ।

यसैकारण कर्ण सूतपुत्रको रूपमा चिनिन्थे । कर्ण परशुरामसँग शिक्षा लिन चाहान्थे तर परशुराम ब्राह्मणहरुलाई मात्र शिक्षा दिन्थे । यो कुरा बुझेर कर्णले परशुरामसँग आफु ब्राह्मण भएको झूठ बोले र उनिबाट कयौ दिव्य अस्त्र-शस्त्रहरुको ज्ञान लिए । साथै ब्रह्मास्त्रको पनि शिक्षा प्राप्त गरे ।

जब परशुरामलाई कर्ण सूतपुत्र भएको सत्य थाहा भयो तब उनी क्रोधित भए । परशुरामले कर्णलाई युद्धको सबैभन्दा महत्वपूर्ण समयमा उनले आफ्नो सारा ज्ञान बिर्सिएर जाने र कुनै पनि अस्त्र शस्त्र चलाउन सक्ने छैनस भनि श्राप दिए ।  कुरुक्षेत्रको युद्धमा यहि श्राप कर्णको मृत्युको कारण बन्यो।

तब मृत्युको शैय्यामा रहेका कर्णले भगवान श्रीकृष्णसँग गुनासो गरे । कर्णले श्रीकृष्णलाई सोधे, ' हे भगवान मलाई जन्मिनेबित्तिकै आमाले त्यागिदिइन् । एक अवैध बच्चा भएर जन्मिनुमा मेरो के गल्ती थियो ? द्रोणाचार्यले मलाई शिक्षा दिन अस्वीकार गरे किनकी उनी मलाई क्षेत्रीय मान्दैनथे । यसमा मेरो के गल्ती थियो ?'

कर्ण गुनासो गर्दै भन्छन्, 'परशुरामले मलाई शिक्षाको साथै श्राप पनि दिए कि आवश्यक परेको ठाउँमा म आफ्नो विद्या बिर्सिन्छु भनेर। मैले चलाएको तीरको बीचमा गाई गल्तीले आयो र मर्‍यो । मलाई किन गौहत्याको पाप लाग्यो ? मलाई द्रौपदीको स्वयंवरमा पनि अपमानित गरियो । यहाँसम्मकि मेरी आमाले पनि मलाई अन्य छोराहरुको चिन्ताले मात्र छोराको रुपमा स्वीकार गरिन् । मलाई अहिलेसम्म जति मिल्यो सबै दुर्योधनको दयाले मिल्यो । अब म दुर्योधनप्रति बफादार हुनु कसरी गल्ती भयो ?'

तब भगवान कृष्ण सम्झाउनुहुन्छ, 'हे कर्ण संसारमा कसैको जीवन पनि चुनौतीरहित हुँदैन । केही कमजोरी युधिष्ठिरमा थिए र केही कमी दुर्योधनमा थिए । सत्य के हो र उचित के हो भन्ने कुरा हामी आफ्नो आत्माबाट निर्धारण गर्छौं । यसले कुनै फरक पर्दैन कि हामीमाथि कति अन्याय भयो, यसले कुनै फरक पर्दैन कि हाम्रो कति अधिकार हनन भयो, यसले कुनै अर्थ राख्दैन कि हाम्रो कति अपमान भयो । वास्तविक अर्थ त केवल एउटा कुराले राख्छ कि हामीले त्यसको कसरी सामना गर्छौं भनेर ।'

त्यसैले कुनै पनि मानिसको जीवन चुनौतीरहित छैन । सबैको जीवनमा केही न केही कमजोरी अवश्य हुन्छ । हामी सत्यलाई, सतमार्गलाई लिएर अघि बढ्नुपर्नेछ । त्यहि कर्मले हाम्रो भविष्य निर्धारण गर्नेछ । साथै सबै व्यक्तिको जीवन आफैमा बिशेष हुन्छ चाहे त्यो कालो-गोरो, गरीब-धनी, अछूत (चांडल) वा ब्राह्मण नै किन नहोस ।

यो पनि पढ्नुहोस ।

नयाँ