arrow

श्रीमद्भगवद्गीता दोस्रो अध्यायः साङ्ख्ययोग

अध्याय दुईको वाँकी भागः श्लोक ३१ देखि श्लोक ७२ सम्म

logo
राजु नेपाल,
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
bhawagat1.jpg

श्रीमद्भगवद्गीता अध्याय दुईको तेस्रो भाग अर्थात एकतीसौं श्लोकदेखि अठ्तीसौं श्लोकसम्म भगवान् श्रीकृष्ण क्षेत्रिय धर्म अर्थात् अर्जुनले पालना गर्नुपर्ने धर्मको बारेमा सविस्तार बताउनुहुन्छ । ‘धर्म’ शब्द श्रीमद्भगवद्गीताको पहिलो शब्द हो, अर्थात् धर्म शब्दबाट नै श्रीमद्भगवद्गीता सुरू हुन्छ । धर्म शब्दलाई श्रीमद्भगवद्गीताको पुरै अठारै अध्यायको सारको रुपमा बुझ्न सकिन्छ । त्यहि धर्म शब्द बुझाउनका लागि भगवानले अरु धेरै कुरा अर्जुनलाई र अर्जुनलाई माध्यम बनाई पुरै संसारलाई सम्झाउनु भएको हो । 

अर्जुनलाई सम्झाउने क्रममा भगवान् श्रीकृष्ण युद्ध गर्नु भनेको क्षेत्रिय धर्म हो भन्नुहुन्छ । भगवान् यतिसम्म भन्नुहुन्छ कि, यस्तो खालको युद्ध त क्षेत्रियहरुका लागि स्वर्गको ढोका हो । जब क्षेत्रियहरुले युद्ध गरेर आफ्नो कर्तव्य पुरा गर्छन् उनीहरुका लागि स्वर्गको ढोका खुल्छ । त्यसैले युद्ध भनेको क्षेत्रियहरुका लागि कर्तव्य हो। 

आफूलाई तोकिएको कर्तव्य जो सुकैले जुनसुकै हालतमा पालना गर्नुपर्छ । जसले आफ्नो कर्तव्य पुरा गर्दैन उसको कीर्ति गुम्छ, उसको अपयश हुन्छ । नीतिले आठ प्रकारका अवस्थालाई मृत्यु भनेको छ । स्वास रोकिनु मात्रै मृत्यु होइन । स्वास रोकेर हुने मृत्यु सहज मृत्यु हो । जसको स्वास चलिरहेको हुन्छ र मृत्यु बराबरको अवस्था श्रृजना हुन्छ, त्यो अत्यन्त कठोर र पीडादायी हुन पुग्छ । त्यस्ता आठ प्रकारका मृत्यु बराबरको स्थितिहरु मध्ये अपयश पनि एउटा हो । 

जब धर्म र कर्तव्यको पालना नभएपछि त्यसको नकारात्मक चर्चा चल्न थाल्छ त्यो पनि एक किसिमको मृत्यु हो, त्यो झन भयानक मृत्यु हो । त्यतिमात्रै होइन, उहाँ एउटै र स्पष्ट शब्दमा भन्नुहुन्छ– 

हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् ।
तस्मादुत्तिष्ठ कौन्तेय युद्धाय कृतनिश्चयः ।।

यदि तिमीले यो युद्ध जित्यौ भने पृथ्वीको राज्य गर्न पाउँछौ, यदि हार्‍यौ भने पनि तिमी सिधा स्वर्ग जान्छौ किनकी रणभूमिमा युद्धको क्रममा मारिने योद्धा जत्तिको धर्मात्मा अरु कोही हुनै सक्दैन । त्यसैले तिमीले यी नाशवान् इन्द्रियहरुको मोहमा पर्नु हुँदैन । सुख दुःख, विजय, पराजय, लाभ, हानी यी सबै कुराको मतलब नगरि तिमीले युद्ध गर्नुपर्छ । यहाँ भगवानले अगाडि भएको अर्जुन क्षेत्रिय भएका कारण क्षेत्रिय धर्म सम्झाउनुभयो । यसरी अरु जात वा कर्मका मानिसले पनि आफूलाई तोकिएको कर्म गर्नुपर्ने शिक्षा नै दोस्रो अध्यायको यो तेस्रो भागको हो । 

त्यहाँ भगवान्का अगाडि अर्जुन क्षेत्रिय थिए, तसर्थ क्षेत्रिय धर्मको कुरा भयो । तर यसको आशय, ब्राम्हण, वैश्य र शुद्रलाई पनि आफ्नो–आफ्नो धर्म पालन गर भन्नु हो । 

अर्जुनले पहिलो अध्यायमा विषाद स्वरुप निकालेका सम्पूर्ण कुराहरुको जवाफ भगवानले यो भागमा दिनुभएको छ । अर्जुन जुनजुन कुराहरुलाई गलत भन्दै थिए, भगवान् ती सबै कुराहरुलाई उदाहरणसहित सही भन्नुहुन्छ । यो नै ज्ञान हो । यो नै सत्य हो र जीवन बाँच्ने आधार हो । 

पहिलो अध्यायमा अर्जुनका विषादहरुमा पहिलो, युद्ध गर्नुमा कल्याण छैन । भगवान् भन्नुहुन्छ, क्षेत्रिय धर्ममा युद्ध गर्नु भन्दा कल्याणकारक अरु केही छैन । 

अर्जुनको दोस्रो विषाद, युद्ध गरेर हामी कसरी सुखी रहने ? भगवान् भन्नुहुन्छ – जो क्षेत्रियलाई यस्तो युद्धको अवसर मिल्छ ऊ नै वास्तवमा सुखी हो । 

अर्जुनको तेस्रो विषाद, युद्धको परिणामबाट नरकको प्राप्ति हुन्छ, भगवान् भन्नुहुन्छ– युद्ध गर्दा स्वर्ग प्राप्त हुन्छ । जिते पृथ्वीको राज र मरे सिधै स्वर्ग । 

अर्जुनको चौँथो विषाद, युद्ध गर्दा पाप लाग्छ, भगवान् भन्नुहुन्छ– युद्ध नगर्दा पाप लाग्छ । युद्ध नगर्दा आफ्नो धर्मबाट च्युत हुनाले पाप लाग्छ ।

अर्जुनको पाचौं विषाद, युद्धको परिणामले धर्मको नाश हुन्छ । भगवान् भन्नुहुन्छ– युद्ध परिणामले हैन युद्ध नगर्दा धर्मको नाश हुन्छ । 

जब सुयोग्य गुरूको साथ हुन्छ तब हरेक प्रश्नको उत्तर आउँछ । जब अर्जुन जति ज्ञानी मानिसको सोचाई त त्यति गलत रहेछ भने हामी हाम्रा सोचमा कति गलत छौं होला । यहि हो विषादको फाइदा । यही हो सुयोग्य गुरूको साथको फाइदा । के हामीले कहिल्यै सोचेका छौं हाम्रा कोही गुरू छन् कि छैनन भनेर ? समाजका हरेक घटना, हरेक व्यक्ति हाम्रा लागि गुरू हुनसक्छन् । के हामी हाम्रा गुरूले भनेका कुरा सुन्न तयार छौं ? के हामीले हाम्रा गुरूले भनेका कुरा जस्ताको त्यस्तै ग्रहण गर्छौं ? 

आजका दिनमा हामी कोही त्यति भाग्यमानी छैनौँ जस्का श्रीकृष्ण जस्ता गुरू छन्, तैपनि हाम्रो अगाडि श्रीमद्भगवद्गीता छ, हाम्रो गुरू छ । 

श्रीमद्भगवद्गीताको दोस्रो अध्यायको चौँथो भाग अर्थात् उनान्चालीसौं श्लोकदेखि त्रीपन्नौं श्लोकसम्म अर्जुनलाई सम्झाउने क्रममा भगवान् श्रीकृष्ण कर्मबारे विस्तारमा बताउनुहुन्छ । अर्जुनलाई सिलसिलाबद्ध रुपमा उपदेश दिनेक्रममा भगवान् श्रीकृष्णले पहिले कर्तव्यको कुरा बताउनुभयो, त्यसपछि धर्मको कुरा गर्नुभयो, अब कर्मको कुरा बताउनुहुन्छ । 

कर्मको कुरा बताउँदा उहाँ के भन्नुहुन्छ भने कर्म नगर्नुभन्दा नजानेरै भए पनि, जान्ने उत्सुकतासहित कर्म गर्नुपर्छ र कर्म गर्नमा कहिल्यै हानी छैन । कर्ममा जो लाग्दैनन् तिनीहरु अहंकारी हुन्, तिनीहरु अज्ञानी हुन् । आफूलाई तोकिएको कर्म नगर्नेहरु पापी हुन् । तर कर्म गर्दा इन्द्रियभोगको अभिलाषा भने त्याग्नुपर्छ । जो मान्छे इन्द्रिय भोगमा लागेका छन्, तिनीहरु भगवानको भक्तिमा लाग्न सक्दैनन । यस्ता इन्द्रिय भोगमा लाग्ने मानिसहरुको बुद्धि धेरैतिर बिभाजित हुन्छ र बिभाजित मानसिकता भएको मानिसको कर्म कहिले पनि भगवानमा समर्पित हुँदैन । जब मानिस भोगको जञ्जालमा फस्छ ऊ परमात्मासँग साक्षात्कार गर्ने बाटोमा अगाडि बढ्न सक्दैन । त्यहाँबाट उसको अधोगति सुरू हुन्छ । 
  
श्रीमद्भगवद्गीताको उपदेश भन्ने बित्तिकै हाम्रो मन र मष्तिकमा आउने श्लोक,

कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन । 
मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोऽस्त्वकर्मणि ।।

हो । दोस्रो अध्यायको सतचालीसौं यो श्लोकको माध्यमबाट भगवान् श्रीकृष्ण अर्जुन र मानवजातिलाई कर्मको सम्पूर्ण शिक्षा दिनुहुन्छ । 

यस श्लोकमा भगवान् चार कुरा भन्नुहुन्छ– 
पहिलो हे अर्जुन ! तिमीमा कर्म गर्ने अधिकार छ । 
दोस्रो कर्मफल तिम्रो अधीनमा छैन । 
तेस्रो कर्मफलजस्तो आउँछ त्यसको कारण कहिल्यै आफूलाई नमान ।  
चौँथो यति हुँदाहुँदै पनि तिमी कहिल्यै कर्म गर्नबाट विमुख पनि नहोऊ । 

श्रीमद्भगवद्गीतामा भएको खास र स्पष्ट कुरा यो हो । तर यस श्लोकको विभिन्न ठाउँमा गलत ब्याख्या भइरहेको छ । ‘कर्म गर, फलको आशा नगर– श्रीमद्भगवद्गीता’ भनेर धेरै ठाउँमा लेखेको पनि देखिन्छ । यो सर्वथा गलत हो । श्रीमद्भगवद्गीतामा कतै पनि कर्म गर फलको आशा नगर भनेर लेखिएको छैन र त्यस्तो तात्पर्य पनि कतै छैन । कर्मफलको चिन्ता नगर भन्ने अभिप्राय अपभ्रंश हुँदै ‘कर्म गर फलको आशा नगर’ भन्नेमा पुगेको बुझ्न सकिन्छ जुन सरासर गलत हो । 

मानिसले कर्म गर्दा केही प्राप्त गर्ने इच्छा राखेर गर्नुहुँदैन । हामी कुनै पनि कर्मको कारण होइनौ हामी माध्यममात्रै हौं । त्यसैले आफूलाई तोकिएको कर्म नहडबडाई गर्नुपर्छ । साथै कर्म गरिसकेपछि प्राप्त हुने कर्मफल कस्तो होला भन्ने विषयमा धेरै चिन्ता लिएर बस्नु हुँदैन । कर्मफल जस्तो हुन्छ त्यसलाई भगवानको प्रसाद मानेर स्वीकार गर्नुपर्छ । आफ्नो इच्छाअनुरुपको कर्मफल आयो भने खुसी हुने र इच्छा अनुरुपको कर्मफल आएन भने दुखी हुने गर्नुहुन्न । यही स्थिति नै समभावको स्थिति हो । कर्म गर्दा जहिले पनि समभावमा रहेर कर्म गर्नुपर्छ । 

सफलता–असफलता के हुन्छ भन्ने कुरालाई छोड्नुपर्छ, त्याग्नुपर्छ । भविष्यमा प्राप्त हुने वा नहुने फललाई भविष्यकै हातमा छोडिदिउँ । भविष्यमा कस्तो फल आउला भनेर वर्तमानमा चिन्ता गर्ने व्यक्ति अज्ञानी हो । ऊ कर्मभन्दा पनि कर्मफलको आशामा चिन्तित भइरहन्छ । ऊ दुःखि हुन्छ, अस्थिर हुन्छ । त्यसैले अर्जुन, अहिले तिमीलाई भविष्यको बारेमा थाहा पाउनु जरूरी छैन । यदि तिमीलाई भविष्यका बारेमा जानकारी गराउनु थियो भने भगवानले तिम्रो जन्मसँगै भविष्य पनि बताएर पठाउँथे । तसर्थ भविष्यका बारेमा चिन्ता गर्न छाड र आफूलाई तोकिएको कर्तव्य गर । 

अहिले पनि हामी मध्ये कतिपय वर्तमानमा बाँच्न छाडेर भविष्यको धेरै चिन्तामा लाग्न थालेका छौं । अझ कतिपय त ज्योतिषीको सल्लाह बिना कुनै काम नै गर्दैनौं । यसो गर्न छाडेर पूर्ण निष्ठाका साथ आफ्नो कर्म मात्रै गरे अरु सबै जिम्मा परमेश्वरले लिनेमा कुनै दुबिधा हुन्न । फल प्राप्तिको इच्छाले कुनै कर्म गर्‍यो भने मानिस कर्मबन्धनमा बाँधिन्छ र कर्मबन्धनमा बाँधिनु भनेको फेरि पापधर्मको खाडलमा खस्नु हो । 

अर्जुनलाई यति भनिसकेपछि भगवान् श्रीकृष्ण योगका बारेमा कुरा गर्नुहुन्छ । पुरै श्रीमद्भगवद्गीता योगशास्त्र हो । योगका बारेमा यस ग्रन्थमा जतिको चर्चा अन्यत्र पाइन्न । त्यो पनि भगवान्को आफ्नो वाणीको माध्यमद्वारा ।

योगका बारेमा पछिल्ला अध्यायहरुमा विस्तृतमा चर्चा गर्ने भगवानले सबैले बुझ्ने र सरल भाषामा यस अध्यायको अठचालीसौं श्लोकमा ‘समत्वं योग उच्चते’ भनेर अनाशक्त वा समभावमा रहेर गरिने कर्म नै योग हो भनेर भन्नुहुन्छ । यति बुझिसकेपछि अब हामीलाई योग भनेको शरीरका बिभिन्न अंगहरु खुम्च्याउने र स्वासप्रस्वास तलमाथि गर्ने प्रकृया मात्र हैन भन्ने कुरा जान्न कठिन भएन । शरीरका विभिन्न अंगहरु खुम्च्याउने र स्वासप्रस्वास तलमाथि गर्ने कार्य ब्यायाम हुन्, प्राणायाम हुन्, योगका अंग हुन् । तर पुरै योग कठिन र अर्कै विषय हो । 

एकातिर भगवान् समभावमा रहेर कर्म गर्नु योग हो भन्नु हुन्छ भने अर्कोतिर शास्त्रद्वारा प्रदत्त कर्तब्यको निर्बाह नै कर्म हो भन्नुहुन्छ । यी दुबै तत्व जोडेर पचासौं श्लोकमा कर्मको स्वरुप बताउँदै भगवान् ती कर्म कुशल हुनुपर्छ भन्नुहुन्छ । कर्म कुशल हुनका लागि चाहिने गुण भगवानले सत्चालिसौं श्लोकका चार पाउमा बताइसक्नुभयो । अब भगवान् त्यसलाई अझ जोड दिंदै र योगको ब्याख्या गर्दै भन्नुहुन्छ, ‘योगः कर्मसु कौशलम्’ अर्थात् सम्पूर्ण कर्मको कुशलता नै योग हो । जसले कुशल ढंगले आफ्नो कर्म गर्छ त्यो नै योग हो भन्ने भगवानको भनाई छ । 

पचासौं श्लोकमा भगवान् भन्नुहुन्छ– योगका बारेमा धेरै जान्न जरूरी छैन, आफूले गर्ने कर्मलाई कुशल ढंगले सञ्चालन गर्नु नै योग हो । उहाँले योगलाई कर्मसँग जोडिदिनुभएको छ । भगवान् श्रीकृष्ण अर्जुनलाई फेरि भन्नुुन्छ– यदि कसैको बुद्धिलाई मोहले ढाकेको छ भने त्यो मोहलाई हटाउनुपर्छ । मोह त्याग गर्नु पर्छ । जब मानिसले मोह त्याग्छ उसले आफ्नो कर्म राम्रोसँग गर्नसक्छ र त्यो नै योग हो । तसर्थ म योग गर्छु भन्ने मानिसले उसले के गरिरहेको छ भन्ने बुझ्नु जरुरी छ । के हामी साँच्चिकै योग गर्छौं ? के हामी साच्चिकै योगका गुरु वा शिष्य हौं ? एकपटक आफैंलाई सोधौं । 

श्रीमद्भगवद्गीताको दोस्रो अध्यायको अन्तिम वा पाचाँं भाग अर्थात् चवन्नौ श्लोकदेखि बहत्तरौं श्लोकसम्म भगवान् अर्जुनलाई स्थिर र धीर पुरूष जसलाई स्थितप्रज्ञ भनेर पनि भनिन्छ, त्यस्ता पुरूषहरुका बारेमा भगवानले उनीहरुका लक्षणसहित बताउनुहुन्छ । जब समभावका कुरा आए, तब समभावको स्थितिमा जान त्यस्ता पुरुषहरुले मात्र सक्छन्, जो स्थितप्रज्ञ छन् । अब अर्जुन सोध्छन्, त्यस्ता मानिस कस्ता हुन्छन् जसलाई काम, क्रोध, लोभ र मोहले छुँदैन ? अर्जुनको जिज्ञासा मेटाउने क्रममा भगवान् भन्नुहुन्छ– मानसिक चिन्तनबाट माथि उठेको र दिव्य चेतनामा पुगेका मानिस नै स्थितप्रज्ञ हुन् । यिनीहरु आत्मालाई पछ्याउछन् । यिनीहरुको चेतना दिव्य हुन्छ । यिनीहरु दुःखी र खुसी हुँदैनन, यिनीहरु क्रुर हुँदैनन् । यिनीहरुमा डर हुँदैन, मोह हुँदैन र आशक्ति भन्ने कुरा हुँदैन । 

माथिका सबै कुरा प्रष्ट पार्दै भगवानले फेरि भन्नुहुन्छ– इन्द्रियको कारण सबै दुःख वा सुख हुन्छ । इन्द्रियले मानिसको विवेक हरण गर्छन् । विवेक भनेको गर्न हुने र गर्न नहुने काम छुट्याउन सक्ने शक्ति हो । इन्द्रिय भोगको चिन्ताबाट मान्छेमा आशक्ति पैदा हुन्छ । आशक्ति भनेको आफूसँग नभएको र आफ्नो अधिकार नभएको वस्तुप्रतिको प्रेम हो । त्यसलाई पाउने चाहाना हो । आशक्ति पुरा नभएपछि काम जाग्छ । काम वासनाको अर्को रुप हो जुन शास्त्रको विपरित हुन्छ । काम पछि क्रोध, क्रोधपछि पुरै मोह जाग्छ र मोह पछि मान्छे पुरै भ्रमित हुन्छ । भ्रमित मानिस भौंतारिन्छ । भ्रमित भएपछि उसको स्मरणशक्ति हुँदैन । स्मरणशक्ति थियो भने पनि त्यो नाश हुन्छ । जसको स्मरणशक्ति हुँदैन त्यो मान्छेको बुद्धि नाश हुन्छ र ऊ कर्मबाट भाग्छ । जब मानिस कर्मबाट भाग्दछ उसलाई के ठिक र बेठिक थाहा हुन्न र पाप कर्म गर्न थाल्दछ । यो एउटा चक्र हो जुन् जहाँबाट सुरू हुन्छ त्यहीं गएर टुंगिन्छ । तर यी सबैबाट जो टाढा छ, ऊ नै स्थितप्रज्ञ हो, त्यो नै मुनी हो, त्यो नै ज्ञानी हो । 

भगवान् जोड्नुहुन्छ– अहिले तिमीलाई त्यस्तै भइरहेको छ अर्जुन । त्यसैले तिमी अहिले आफ्नो मन अस्थिर बनाउने इन्द्रियहरुलाई नियन्त्रण गर । तिमी जहिले पनि आफ्नो कर्ममा तल्लीन रहिरनुपर्छ । तिमी सधैँ धीर बन । जसरी जति धेरै नदी मिसिए पनि समुद्रले आफ्नो स्वभाव बदल्दैन त्यसैगरी तिम्रो दिमागमा जे सुकै आए पनि त्यसलाई तिमीले केही मतलब नगर । समुद्रमा धेरै नदीहरु मिसिन्छन् तर समुद्रले न आफ्नो आकार बदल्छ न स्वभाव र न स्वाद । मनमा अनेक कुरा खेल्छन्, तर त्यसलाई नियन्त्रण गर । तिमीले अहिलेसम्म जुन क्षेत्रिय धर्मको पालन गरिरेहका छौँ, त्यही रुपमा रहिरहनुपर्छ । जस्तो छौ त्यही पालना गर र सबैभन्दा ठूलो कुरा मोह त्याग । इन्द्रिय तृप्तिका लागि हुने सबै कुरा त्यागेको मान्छे, दिव्य चेतनामा आएको मान्छे, दुःख सुखको मतलब नगर्ने मान्छे स्थितप्रज्ञ हो, तिमी पनि त्यस्तै बन । 

यस्ता धीर पुरुषको बर्णन गर्दै भगवान् भन्नुहुन्छ– त्यस्तो मान्छेले ध्यान र कर्मलाई प्राथमिकता दिएका हुन्छन् । उसलाई दिन र रातको मतलब हुँदैन, उसलाई पीडा र आनन्दको वास्ता हुँदैन, ऊ प्रगति र अवनतिबारे सोच्दा पनि सोच्दैन । त्यस्तो पुरुषमा समग्र अहंकार शुन्य हुन्छ । जब अरु सबै इन्द्रिय तृप्तिका लागि कर्म गर्ने मानिसका लागि जागृत हुने समय हुन्छ यस्ता मानिसहरुका लागि अन्धकार हुन्छ र उनीहरुको अन्धकार यी मानिसका लागि जागृत हुने अबस्था हुन्छ । 

या निशा सर्वभूतानां तस्यां जागर्ति संयमी ।
यस्यां जाग्रति भूतानि सा निशा पश्यतो मुनेः ।।

यहाँ भगवानले दिन र रातको कुरा गर्नुभएको छैन बरु जागृत अवस्था र अन्धकार वा सुसुप्तको अवस्थाको कुरा गर्नु भएको छ । यी दुवै मानव मस्तिष्कका अवस्थाहरु हुन् । तसर्थ जब इन्द्रियले आफ्नो स्वार्थ छाड्छ तब स्थितप्रज्ञ ज्ञानमा अवस्थित हुन्छ । 

श्रीमद्भगवद्गीताको दोस्रो अध्यायको सार आफ्नो सही कर्मको ज्ञान र त्यसमा अडिग रहनु, कर्म, धर्म र योगका बीचको सम्बन्ध र धीर पुरूषहरुको लक्षण हो । समग्रमा श्रीमद्भगवद्गीताको सार पनि यही नै हो जसका बारेमा भगवानले यसपछि उल्लेख हुने सोह्र अध्यायका माध्यमबाट अर्जुनलाई सम्झाउनुहुन्छ । 

एक छिन सोचौं, के हामी योग गर्छौं ? के हामीलाई हाम्रो जागृत अवस्था र सुसुप्त अवस्थाको ज्ञान छ ? के हामी आफ्नो कर्म गर्दैछौं कि अरुको निन्दा चर्चा ? के हामी आफ्नो कर्म गर्दै स्थितप्रज्ञ हुन सक्दैनौ ? के हामी योगी हुन सक्दैनौ ? यी कुराहरु सोच्दै अब बाँकी सोह्र अध्यायमा त्यसका उपायहरु खोज्ने प्रयास गरौं । 

(लामो समय बैंकिंग क्षेत्रमा विताएका राजु नेपाल (@rajunepal) सोखिन लेखक हुन् । उनका असंख्य लेख र श्रीमद्भगवद्गीताको व्याख्या सहित विभिन्न बिधामा चारवटा पुस्तक बजारमा छन् । अत्यन्त कठिन विषय सरल ढंगले प्रस्तुत गर्न सक्ने उनको अध्यात्मको गहिरो स्वअध्ययन छ ।  त्यसैको उपज यो श्रीमद्भगवद्गीताको सरल व्याख्या हो ।)  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ