arrow

सन्तको दृढता : परस्त्री सँगै सुत्दा पनि विचलित भएनन् अष्टावक्र

छोरी दिन वदान्य ऋषिले यसरी लिए अष्टावक्रको परिक्षा

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ वैशाख ३१ बुधबार
astabakra2.jpg

गौरीघाट । राजा जनकलाई मनमा शान्ति भएको थिएन उनी आत्मज्ञानी गुरुका खोजीमा थिए । अष्टावक्र ऋषिलाई उनी भेट गर्दछन् अनि आफ्नो चेला बनाउन आग्रह गर्दछन् । ऋषि पनि जनकको अनुरोध स्वीकार गर्नुअघि उनको मनोभावना बुझ्दछन् अनि मात्र आत्मज्ञान दिन उपयुक्त पात्र सम्झेर उपदेश दिन थाल्दछन्  । 

ऋषि भन्दछन्, 'मुक्तिमिच्छति चेत्तात विषयान् विषवत्त्यज ।' जसको भाव हो, 'हे राजा,  तिमी मुक्तिको ईच्छा गर्दछौ भने विषय वासना (शब्द, स्पर्श, रुप, रस आदि) लाई विष बराबर सम्झेर त्याग गर ।' यसरी अष्टावक्र जनकका गुरु भएका थिए । 

यीनै अष्टावक्रका बारेमा महाभारतमा एउटा प्रसंग पढ्न पाइन्छ । एकपटक ऋषिलाई बिबाह गर्ने मन भएछ र वदान्य ऋषि कहां गएर उनको छोरी सुप्रभा आफूलाई कन्यादान दिन आग्रह गरेछन् । ऋषिले पनि उनको आग्रह स्वीकार गर्दै स्त्री रुप धारिणी उत्तर दिशाको दर्शन, पूजा गरेर आएपछिमात्र कन्या दिने प्रतिज्ञा गर्दछन् । अष्टावक्र पनि कहां, कसरी जाने आदि जानकारी माग्दछन् र ऋषिले भने अनुसार यात्रामा प्रस्थान गर्दछन् । 

यात्राको क्रममा उनी बाहुदा नदिमा स्नान गर्दै, कुवेरको राजधानी अलकापुरी पुगे । त्यहां उनले कुवेरलाई भेट गरे । कुवेरले ऋषिको पूजा गरे । कुवेरको दरवारमा बसेर उनले नाचगान पनि हेरे । कुवेरलाई उनले आफूलाई स्वागत गरेकोमा धन्यवाद दिएर यात्रा चालू गरेर कैलाश पुगे कैलाशमा उनले अनेक पिशाच, भूत, प्रेत आदिले शिवजीको सेवागरेको, नृत्य गरेको देख्दछन् । उनले कैलाशको तीन पटक परिक्रमा गरे अनि अगाडि बढ्दै गए । उनी मेघले शोभायमान भएको जस्तो अर्को स्वच्छ, नीलो, समथल तथा अनेक प्रकारका रुखले पूर्ण नगर भित्र पस्दछन् । त्यहां उनले एउटा रमणीय आश्रम पनि देखे ।

आश्रमको मूल ढोकामा पुगेर उनले आफू अतिथि भएर आएको कुरा सुनाए । उनको आवाज सुनेर मन लोभ्याउने सुन्दरी कन्याहरु आए । त्यसवेलामा उनको मन खुव बिचलित भयो तर संयमी भएकाले यस्ता दृश्यहरुले उनलाई केही प्रभाव पार्न सकेन । कन्याहरुको आग्रह अनुसार उनी भित्र पसे । त्यहां उनले जीर्ण शरीर भएकी एक स्त्रीलाई देखे । यथोचित अभिवादन भएपछि उनले भने, 'जुन स्त्री ज्ञानवती र मन तथा इन्द्रियलाई शान्त राख्न सक्तछन्, उनीमात्र बस्नु, अरु जानु' भने । सबै फर्केर गए । बृद्धा स्त्रीमात्र त्यहीं बसिरहिन् । 

भोजन पछि राती सुत्ने बेलामा अष्टावक्र एउटा खाटमा तथा बृद्धा अर्को खाटमा सुते । अष्टावक्रको परीक्षाको लागि ती बृद्धाले केही समय वितेपछि आफूलाई जाडो भएको बहाना पारेर अष्टावक्रको खाटमा सुत्न आइन् । अष्टावक्रले पनि स्वागत गरे । बृद्धाले अष्टावक्रलाई आफु कामातुर भएको बहानाले अंगालो हालिन् तर अष्टावक्रको शरीर सुकेको काठको जस्तो पाइन् । अष्टावक्रले उनलाई आफू यस्ता विषयबाट टाढै भएको र कन्या केटीको मात्र पाणीग्रहण गर्ने, परस्त्रीसंग परै रहने कुरा बताए । उनले 'जस्ले बिबाह नै गरेको छैन त्यस्ती स्त्रीपनि कन्या केटी नै हुन्' भनिन् तर पनि उनले त्यो अनुरोध स्वीकार गरेनन् ।  

दिन वित्दै गयो, उनी रुप यौवनले सम्पन्न हुंदै गइन् । उनले अष्टावक्रलाई अनेक प्रकारले आफूतिर आकर्षण गर्ने कोशिश गरिन्, स्याहार सुसार गर्दै गइन् तर पनि अष्टावक्र आफ्नो अठोटबाट पछि हटेनन् । उनले ती स्त्रीलाई भने, 'स्वेच्छाचारी मानिसलाई मात्र सबै पाप कर्मले आफूतिर तान्दछ, जो धैर्य गरेर आफ्नो मनलाई बशमा राख्दछ, यस्ता कुनै विषयमा पनि ऊ रमाउन चाहंदैन, त्याग गर्दछ' भनेर उपदेश दिए ।

अष्टावक्रले स्त्रीलाई बृद्धा र रुप यौवन सम्पन्ना बनेको कारण सोधे । उनले जवाफ दिईन्, 'मैले तपाईको परीक्षा लिन यी सब कार्य गरेको हुं, बृद्धावस्थामा पनि मनुष्यले कामवासनाबाट मुक्ति पाउन नसक्ने दृष्टान्त दिन यसो गर्नुपरेको हो, उत्तर दिशा भनेको म नै हुं, तपाईंलाई ज्ञान दिन भनेर ऋषिले म कहां पठाउनु भएको हो, मलाई सब कुरा थाहाछ, अव तपाई ऋषिको आश्रममा जानुस्, तपाईको मार्ग सुगम हुनेछ' भनिन् ।    

अष्टावक्र त्यहांबाट फर्केर आए र ऋषिकहां पुगेर सबै बृत्तान्त बताए । ऋषि खुशी भए र आफ्नो छोरी दिए । दुवै आश्रममा सुखसंग बस्न थाले ।       



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ