arrow

सगरमाथामा चीनको ‘अस्वभाविक’ सक्रियता

समर्पण भन्दा सतर्कता जरुरी

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
maunt-everest.jpg.jpeg

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको आज ६७ वर्ष पूरा भएको छ। दुई साहसी पर्वतारोही तेन्जिङनोर्गे शेर्पा र सर एडमन्ड हिलारी सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको शिखरमा पुगेका थिए । सगरमाथामा मानव पाइला परेको पहिलो दिन मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसका रूपमा नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । 

अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन थालेको १३ बर्ष भएको छ। यो पटक कोरोना प्रभावको कारण पर्यटन क्षेत्र सुनसान छ। यहि सुनसानकै बीच सगरमाथासहितका हिमाल आरोहणलाई यो वर्ष विश्राम गराइदियो । १३औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस अघिल्ला वर्षजस्तो हर्षोल्लासका साथ मनाउन सकिएन । सर्वाधिक आरोहण हुने याममा कोरोनाका कारण आरोहण नै नभएको अवस्थामा सगरमाथा दिवस मनाउन विवस पार्‍यो ।

संसार कोरोनाका कारण समस्यामा परे पनि, पर्यटन क्षेत्र सुनसान भए पनि उत्तरको छिमेकी चीन भने यहि बीचमा पनि चीनमा गतिविधी बढाइरहेको छ। कोरोनाको महामारी बढेकै बेला सगरमाथामा चीनको सक्रियता ह्वात्तै बढेको हो। बुधबार मात्र चीनको एक प्राविधिक टोली सगरमाथामा पुगी सगरमाथाको मापन गरेको छ । यद्यपि यस विषयमा भूमि व्यवस्था मन्त्रालयले नेपाल सरकारसँग सहमति र सहकार्यमै चिनियाँ टोलीले सगरमाथाको मापन गरेको बताएको छ।

यसवीचमा चीनले सगरमाथामा उचाइ नाप्ने काम मात्र गरेको छैन, यही बेला चीनले सगरमाथामा फाइभजी नेटवर्क जडान तथा सगरमाथालाई केन्द्रित गरी विभिन्न किसिमका अध्ययन अनुसन्धानको कामलाई अघि बढाएको छ । यही बेला गुगलले सगरमाथाको चुचुरो चीनको स्वाशासति क्षेत्र तिब्बततीर भएको देखाएको छ । चीनले यहि बीचमा उत्तरी मोहोडामा सगरमाथा आरोहणको लागि नयाँ बाटो बनाएको छ। यी सबै गतिवधिहरू हेर्दा यसलाई स्वभाविक मान्न सकिदैन, जानकारहरू बताउँछन ।

नेपालको पश्चिम उत्तरको कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतीय पक्षबाट भएको भूमि अतिक्रमणको बिरोध भइरहँदा सगरमाथामा चीनको अस्वभाविक गतिविधिले झस्काइरहेको एक सीमाविद बताउँछन्। सगरमाथामा आफ्नो स्वामित्व जोगाइराख्न नेपाल सरकार अरू चनाखो र गम्भिर हुनु पर्ने आवश्यक देखिएको ति सीमाविद बताउँछन।  

चीनको चाइना मोबाइल कम्पनीले सगरमाथाको ६ हजार ५ सय मिटरको उचाइमा पहिलो पटक फाइभजी नेटवर्क स्थापना गरेको छ । यसबाट अब सगरमाथामा चीनको नेटवर्क सञ्चालनमा आउछ । सगरमाथामा फाइवजी नेटवर्क स्थापना गरेलगत्तै चिनीयाँ टोलीले सगरमाथाको मापन सुरु गरेका छन् । यसबेला अर्को एक चिनियाँ टोलीले सगरमाथा लगायत ३ वटा हिमालबाट तीन साता यता ६ मेट्रिक टन फोहोर संकलन गरेको जनाएको छ । फोहोर संकलनको काम आगामि आगामी जुनसम्म जारी रहने चिनियाँ पक्षले जनाएको छ ।

चीन सरकारबाट नियन्त्रित चीनीयाँ सञ्चारमाध्यमहरुले यतिखेर सगरमाथालाई बढी महत्व दिएर समाचार तथा फोटो प्रकाशन गर्ने गरेका छन् । केही दिन अघि चीन सरकार नियन्त्रित एक सञ्चार माध्यमले आफ्नो अखवारमा सगरमाथामा देखिएको पूर्ण चन्द्रमाको फोटो राख्दै सगरमाथा चीन स्वशासीत क्षेत्र तिब्बतमा रहेको जनाएको थियो । यस हर्कतको नेपालमा चर्को विरोध भयो । त्यसपछि उक्त सञ्चार माध्यमले त्यसलाई सच्च्यायो । पछिल्लो समय चीन सरकारले सगरमाथालाई केन्द्रित गरी जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रका वनस्पतिहरूको बारेमा अध्ययन अनुसन्धान अघि बढाएको छ । 

चिनीयाँ प्राविधिकहरूले सन् १९४९ पछि ६ पटकसम्म सगरमाथाको मापन गरीसकेका छन् । पछिल्लो पटक चीनले सन् २००५मा सगरमाथाको सर्भेक्षण गरेको थियो । उक्त सर्भेक्षणमा चीनले सगरमाथाको उचाइ ८८४४ दशमलब ४३ रहेको दावी गरेको छ । तर नेपालले ८४४८ दशमलब १३ रहेको दावी गर्दै आएको छ । सन् २००५मा नेपाल र चीनवीच संयुक्त सीमा टोली गठन गरी सीमा क्षेत्रको अद्यावधिक तथा अवलोकन गरिएको थियो । त्यसपछि प्रत्येक १०/१० वर्षमा नेपाल र चीनवीच सीमा अबलोकन गर्ने सहमति पनि गरिएको थियो । तर हालसम्म नेपाल चीनवीच सीमा क्षेत्रको अध्ययन तथा अवलोकन हुन सकेको छैन । नेपाल र चीनवीच १सय पील्लर राखिएका छन् । 

नेपाल–चीन सीमा क्षेत्रको अद्यावधिक तथा अवलोकन हुनु अघि पछिल्लो पटक चीनीयाँ पक्षले सगरमाथाको पुनर्मापन गरेको भूमि व्यवस्था मन्त्रालयका एक अधिकारी बताउँछन् । मन्त्रालयका अनुसार चीनीयाँ पक्षबाट सगरमाथाको मापनको काम पूरा भए पछि नेपाल र चीनको प्राविधिक टोलीहरूको नतिजा एकै पटक सार्वजनिक गर्ने सहमति भएको छ ।

सगरमाथाको स्वामित्वको विषयमा नेपाल र चीनवीचको विवाद वीपी कोइराला प्रधानमन्त्री भएको बेला टुंगिएको थियो । उक्त सहमति अनुसार सगरमाथाको चुचुरो नेपालतीर पर्छ। चुचुराको उत्तरी मोहोडामा नेपाल–चीन सीमा क्षेत्र बाउन्ड्ररी लाइन(सीमा रेखा) कोरिएको छ। चुचुरोको दक्षिण मोहोडामा पर्छ। 

आरोहीका अनुसार भौगलिक हिसाबबाट तीब्बती मोहडाबाट सगरमाथा आरोहण गर्न निकै कठिन हुन्छ। तिब्बती मोहोडाबाट सगरमाथा आरोहणको लागि अनुमाति पाएका आरोहीहरू पनि चुचुरोमा पुग्दा नेपालको भूमि प्रयोग गर्नुपर्छ । यद्यपी चीन सरकारले पनि हरेक वर्ष तिब्बती मोहडाबाट सगरमाथा आरोहणको अनुमति दिने गर्छ । 

नेपाली प्राविधिकहरूको रिपोर्ट आउन किन ढिलो ?
नापी विभागका प्राविधिकहरू करिब एक वर्ष अघि नै सगमारथाको चुचुरोमा पुगी सगरमाथाको मापनको काम पूरा गरेका थिए । तर नापी विभागले अहिलेसम्म आफ्नो प्रतिबेदन तयार गरेको छैन । यद्यपि सगरमाथाको मापनको काम करिब करिव पूरा भएको विभागले जनाएको छ । विभागका अनुसार आगामी असारको पहिलो हप्ता विभागका प्राविधिकहरूको टोलीले आफ्नो प्रतिबेदन नापी विभागका महानिर्देशक प्रकाश जोशीलाई बुझाउने छन् । आगामी साउनको पहिलो हप्ता विभागले आधिकारिक रूपमा भूमि व्यवस्था मन्त्रालयलाई आफ्नो कार्य प्रगति बुझाउने छ । त्यसपछि मन्त्रालयले प्रतिबेदन सार्वजनिक गर्ने  छ । 

विभागका अनुसार हाल डाटा प्रोसिङको काम अन्तिम चरणमा छ । विभागले एक अन्तराष्ट्रिय गोष्ठि गरी सगरमाथाको उचाइ घोषणा गर्ने कार्यक्रम तय गरेको थियो । तर लकडाउनको कारण अन्तराष्ट्रिय गोष्ठि गर्न नसकिएको विभागले जनाएको छ । सगरमाथाको मापन सुरु गर्नु अघि विभागले सन् २०१७ डिसेम्वरमा अन्तराष्ट्रिय गोष्ठि गरी विज्ञहरूको सल्लाह सुझाव मागेको थियो । उक्त गोष्ठिमा चीन, भारत, अमेरिका, बंगलादेश, न्युजिल्याण्ड,बेलायत लगायतका देशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । हाल सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर रहेको मानिदै आएको छ । यस मापनलाई अन्तराष्ट्रिय जगतले मान्यता दिएको छ। यो मापन सन् १९५४मा जिएल गुलाटी कम्पनीले गरेको थियो । यसपटक नेपालले आफ्नै, स्रोत,साधान र प्रविधिबाट सगरमाथाको मापन गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ