arrow
ADVERTISEMENT

काठमाडौं भ्यूटावरः ३० वर्ष स्वामित्व गुमाउने महानगरपालिकाले के पाउँछ ?

logo
प्रकाशित २०७३ वैशाख २८ मंगलबार
काठमाडौं। काठमाडौंको पुरानो बसपार्क खाली भएको कुरा त तपाईले पनि थाहा पाईसक्नु भयो होला। पहिले सधैंभरी व्यस्त भईरहने काठमाडौको पुरानो बसपार्क सुनसान बनेको ठाउँमा अबको तीन बर्षपछि गगनचुम्बी भवन बन्दैछ। 
 
काठमाडौं महानगरपालिकाको कूल २३ रोपनी पाँच आना तीन पैसा क्षेत्रफलमा फैलिएको पुरानो बसपार्कको क्षेत्रमा १२ तले ‘काठमाडौं भ्यू टावर’ निर्माण गर्नको लागि काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द विकोइ प्रा.लि. बीच सम्झौता भईसकेको छ भने नापी विभागले नक्साको विषयमा स्पष्ट जानकारी दिएपछि काम सुरू हुने पनि काठमाडौ महानगरपालिकाले जनाएको छ। जसको कूल लगानी २ अर्ब भन्दा माथि लाग्ने अनुमान गरिएको छ। 
 
पहिल्यै २५ तले भवनको लागि अनुमति मागेको कम्पनीले अहिले मात्रै १२ तलाको लागि महानगरपालिकाबाट नक्सा पास गराएको छ। निर्माण पक्षले १८ महिनाभित्र सबै काम सक्ने दाबी गरेको सो भवन निर्माणको लागि काठमाडौं महानगरपालिकासँग भने निर्माण अवधि बापत भनेर तीन वर्षको समय लाग्ने गरि सम्झौता भएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
 
काठमाडौं महानगरपालिकाका सूचना अधिकारी महेश काफ्लेका अनुसार तीन वर्षे निर्माण अवधि तथा २७ वर्षे सञ्चालन अवधि सहित ३० वर्षको लागि सीमित पैसा महानगरपालिकालाई तिरेपनि ३० वर्षको लागि सो भवन तथा सो ठाउँको समेत स्वामित्व कामपाले गुमाउँदै छ। 
 
तर सो जग्गामा भौतिक पूर्वाधार निर्माण गरि स्वामित्व ग्रहण गरेबापत प्रालिले वार्षिक दुई करोड ७० लाख रूपैयाँ कामपालाई पहिलोपटक बुझाउने छ र सो रकम वार्षिक ५ प्रतिशतको दरमा बृद्धि हुँदै जानेछ। यसरी बन्ने १२ तले भवनमा पहिलो तल्लामा बसपार्क राखिने तथा त्यसपछिका दुई तलामा हलुका सवारी पार्किङ राखिने भएको छ। बाँकीमा भने व्यवसायिक प्रयोजनका के–के सेवा प्रदान गर्ने भन्ने स्पष्ट नभईसकेको पनि काफ्लेले जानकारी दिए। अहिले काठमाडौं महानगरपालिकालाई प्रति सवारी एक दिनको २० रूपैयाँको दरमा मात्रै आउने गर्दथ्यो।
 
एकातिर निर्माणको तयारी शुरु भएपनि त्यस ठाउँमा साना पसल राखेर व्यवसाय गर्दै आएका व्यवसायीहरुले भने आफूहरुलाई विस्थापित गर्न लागेको भनेर विरोध शुरु गरेका छन्। व्यवसायीहरुको विरोधका कारण टावर निर्माणमा समस्या नहोस भनेर निर्माण पक्षले सुरक्षा निकायसँग छलफल अगाडी बढाएको स्रोतको दावी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ