- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
गौरीघाट । श्री शिवपुरी पर्वतको पूर्वी उत्तर भाग, वाग्द्वारबाट निस्किएर गोकर्णेश्वर तथा पशुपतिनाथ महादेवलाई दायां पार्दै वाग्मती नदी बगेकी छिन् । यी नदीको बायां किनारामा गोकर्णको वन तथा श्री गुह्येश्वरी शक्तिपीठ रहेका छन् । यसरी झण्डै झण्डै काठमाडौं उपत्यकाको बीचबाट बग्दै वाग्मती नदी चोभार हुंदै सागरलाई भेटन अनवरत रुपमा अघि बढीरहेकी छिन् । गुह्येश्वरीको करीव ५०० मिटर पूर्वदेखि यीनले वर्तमान श्लेष्मान्तक बनको भाग स्पर्श गरेकी छिन् ।
केही दशक अघिसम्म यही बाग्मती नदीको जल घैलामा भरेर श्री गुह्येश्वरी तथा श्री पशुपतिनाथको स्नानका लागि प्रयोग गरिन्थ्यो । स्थानीय व्यक्तिहरुले यहीको पानीले जीवन गुजारा पनि गर्दथे । जुन अव सम्झनाको पाटोमामात्र रहन गएको छ । आर्यघाट, सूर्यघाट गौरीघाट, शान्त तीथर्, गुह्येश्वरी उत्तर बाहिनी आदि तीर्थहरु यसै नदीको किनारामा रहेका छन् ।
यस पंक्तिकारले लगभग ६५ वर्ष अघि देख्दा गुह्येश्वरी घाट तथा गौरीघाटमा बनाईएका गुमजमा भक्तहरु नियमित रुपमा वाग्मती स्नानगरेर जप ध्यानगर्न बस्दथे । ती ठाउंहरु अहिले दिशा पिसावले भरिएको देख्न सकिन्छ । आर्यघाटमा रहेका त्यस्ता गुमजहरु केही अद्यपि चालूभएको देख्न पाइन्छ ।
बाग्मतीको सफाई र संरक्षणकालागि केही संस्थाहरू लागेको देखिन्छ । शनिवार हातमा पञ्जा लगाएका, मुखमा मास्कलगाएका अधिकारकर्मीहरु डोको लिएर एक दुई घण्टा सफा गरेर फर्कन्छन्, संचार माध्यममा खवर छापिन्छ । कोही त सेतो प्लेटका ट्र्क, गाडी आदिमा आउंछन् र फर्कन्छन् तर वाग्मतीको प्रदूषण घट्नुको सट्टा बढेकोछ भन्नु अत्युक्ति नहोला कि?
भक्तहरु गौरीघाटमा स्नानगरेर किंरातेश्वर, गुहे्श्वरी दर्शन गर्दै श्रीपशुपतिनाथको दर्शन गर्न जाने चलन थियो । कसै कसैले त विधि विधान अनुसार श्री पशुपतिनाथको मन्दिर परिक्रमा गर्दथे ।
श्रीपशुपतिनाथको पूजाकालागि भक्तहरूले आ आफ्नो गच्छे अनुसार लगेका पञ्चामृत, नैवेद्य तथा पूजाका वस्तुहरू भट्ट भण्डारीहरूका हातमा दिएर पूजा हुने चलन थियो । अहिले त्योपनि हटिसकेकोछ । अव त कसैले चढाउन लगेपनि ती पूजासामग्री शिवलिङको जलहरीसम्म पनि पुग्न नदिई ढोका बाहिर राखिएका डोकोमा नै पोखिदिने चलन छ तर रसिद काटेर तयारभएको पञ्चामृत पूजा सामग्री भने चढाउने चलन आएको छ ।
धन खर्चगर्न सक्नेलेमात्र पूजा चढाउन पाउने तर गरीवले श्रद्धाले तयार गरेर लगेको चढाउन नपाउने चलन आयो भन्ने चर्चा मन्दिरबाट बाहिर आउने भक्तहरूले गरेको सुनिनु कुनै नौलो कुरा होइन ।
हिमवत्खण्डमा श्लेषमान्तक वन लगायत पाशुपत क्षेत्रका बारेमा वर्णन गरिएको चर्चा हामीले पढेका पनि छौं, सुनेका पनि छौं । यस वनमा मयल, जामुन, चिलाउने, फलांट, सेतीकाठ, लप्सी लगायतका विभिन्न जातका रूख पाइन्छन् । यहां बानर, ढुकुर, काग लगायताका जनावरहरु छन् । ब्राम्ही, मृतसञ्जिवनी लगायतका बुटीहरूपनि खोज्न आउने मानिस भेटिन्छन् ।
बुढापाकाहरुको कथन अनुसार ऋषिमुनिहरु रुखको रुपलिएर तपस्या गर्ने हुंदा रुखलाई चोट लगाउने वा पातमात्र टिपेपनि दोषलाग्दछ भन्दथे । यसरी लागेको दोष मेटाउन त्यही बराबरको सुन दान गरेपनि पापबाट मुक्त हुन सकिंदैन । वनका पात पतिंगर, दाउरा आदि घरमा लैजांदा त झन् परिवारमा सुख समृद्धि नआउने र बालबच्चा कुनै न कुनै रूपमा अस्वस्थ भईनै रहन्छन् भन्ने जनविश्वास रहिआएकोछ । यस्तो विश्वासले वन र वनको पैदावरको जगेर्ना गर्नु आवश्यकछ भन्ने सन्देश परापूर्वकाल देखिनै चलिआएको कुरा स्पष्टहुन्छ ।
केही वर्ष अघिसम्म पनि यस वनको हेरचाहकालागि पालेहरु रहन्थे र रुख, बिरुवा, पातपतिंगरको राम्ररी संरक्षण भएको थियो । आजभोलि दाउरा बाल्न लगायत गाईवस्तुलाई खुवाउन स्याउला भांच्ने कार्यले गर्दा रुख विरुवा क्रमश नाश हुंदै गएकाछन् ।
कसै कसैले यो बनको नाम श्लेषमान्तक रहनुको पछाडि श्लेषमान्तक नागले तपस्या गरेकोले उनै नागको नामबाट यो वन रहन गएको विश्वास गर्दछन् भने कसैले लप्सीको रुख धेरै भएर नै हो भन्ने मान्यता पनि पाएको छ । पाकेको लप्सी खानाले हाम्रो शरीरमा जमेको कफ बाहिर आउन मद्दतगर्छ भन्ने विश्वासकासाथ लप्सी खाने चलनछ । तर यसको अर्को महत्वपूर्ण पक्ष पारमार्थिक पुरुषहरू भने यो बनलाई तपस्थली मान्दछन् र पाकेको लप्सीले कफरूपी विकार हटाए जस्तै यस पवित्र वनमा बसेर तपस्या गर्नाले मानिसको मनभित्र छिपेर रहेका राग द्वेष आदि अनेक कुवासना, विकारहरू हट्न जान्छन् जुन हटाउनाले परमात्मातर्फ चिन्तनमा ऊ बढ्दै गएर जीवनमुक्तको अवस्थामा पुग्दछ ।
यसै वनमा महाशिवरात्रीको समयमा अनेक साधु महात्माहरू आएर धुनी जगाएर बस्ने चलन पनि थियो । श्री शिवपुरीबाबा, योगी नरहरीनाथ, स्वामी प्रपन्नाचार्य आदि महापुरुषहरुले यसै बनमा तपस्या गरिआएको कुरा जग जाहेरैछ । रूखमुनिका जमीन हरिया घांस, झ्याउ आदिले ढपक्क ढाकेका हुन्थे, तर अहिले ती जमीनहरू धुलाले ढाकिएका र नवयुवक नवयौवनाका बीचमा प्रेम साटासाट गर्ने तथा व्याडमिण्टन खेल्ने स्थलमा परिणतहुन गएका छन् ।
ध्रुवस्थली, मृगस्थली, विश्वरूपा मन्दिर, मनकामना, गोरखनाथ, किरातेश्वर, बहिरा गणेश आदि प्रख्यात मन्दिरहरू यहीं नै रहेकाछन् । गोरखनाथको पूजाकालागि बिहान करीब ३ बजे देखिनै घण्ट वज्न शुरु हुने र वरपरका बासिन्दाहरु त्यसै घण्टध्वनीलाई आधार मानेर आफ्नो कृयाकलाप शुरु गर्ने चलन थियो ।
मंसीर कृष्ण त्रयोदशीका दिन श्री पशुपति मन्दिर परिशर तथा कैलाश क्षेत्रमा महादीप बालेर जाग्राम बस्ने अनि बाला चतुर्दशीका दिन वाग्मती नदीको स्नान गरेर मृगस्थली वरिपरि सतवीजछर्ने चलन अद्यापि छंदैछ । श्रद्धाले छरेका अन्न उम्रेपछि पितृ मुक्तहुन्छन् भन्ने जन विश्वासछ । मृगस्थली क्षेत्रमा अहिले मृगहरु पालिएकाछन्, भीरपाखामा मृगहरु दगुरिएको दृश्य रमाईलो नै देखिएपनि जमीनमा हरियाली भने देखिंदैन । विश्वरुपा मन्दिरको पूर्वतर्फको क्षेत्रलाई ध्रुवस्थली भनिन्छ । धु्रवलाई पार्वती स्वयं आएर दूध पिलाउनु हुने स्थानमा अद्यापि पत्थरमा दुवै स्तनको आकार देख्न सकिन्छ ।
राजधानीबाट लगभग पांच किलोमिटर पूर्वमा रहेको यस्तो धार्मिक तथा सांस्कृतिक महत्वले परिपूर्ण वनको हालको स्थिति देख्दा सबैको मन खिन्न हुन्छ । केही वर्ष अघि गुहयेश्वरीको पूर्वीभागबाट (ताम्रगङा) तिलगंगा आंखा अस्पताल तर्फ आउने बाटो खन्दा धेरै रुखहरु मासिन गयो, अविरल वग्ने तिलगंगा सुक्न गयो ।
कार्तिक शुक्ल चतुर्दशी ताका वगेको पानीमा तील छर्ने चलन थियो, अव त पानीको एक थोपा पनि देख्न पाइन्न । जंगलको बीचबाट बाटो खनिएपछि दिनमा हजारौं पानीका ट्र्क, गाडी चल्दथे । हाल दुवैतर्फबाट पर्खाल लगाएर सवारी साधन चल्न रोकिएको छ तर वृक्षरोपण जस्ता कार्यहरु भने भएको देखिंदैन ।
मानिसमात्र ओहोर दोहोर गर्ने सुविधा दिएर सुरक्षित राखिए पनि मरेका घरपालुवा जनावरका सिनो गाड्ने, पुराना कपडा, सिमेन्ट, र्इंटका टुक्रा, प्लाष्टिकका वोरा आदि थुपारिने प्रवृति बढ्दै गएकोछ ।
सम्बन्धित क्षेत्रले बेला मौकामा सुरक्षाकर्मीहरु परिचालन गरेको देखिन्छ तैपनि प्रभावकारी भने हुन सकेको छैन । विश्व सम्पदा सूचीमा रहेको यस्तो धार्मिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण क्षेत्रलाई प्रदूषण मुक्त बनाई संरक्षणगर्ने तर्फ सबैको ध्यान जानुपर्छ भन्नु अत्युक्ति नहोला ।
(पुराणमा आधारित तथा भौतिक रुपमा देखिएका संस्मरणको संगालो) ।
(aamodita@gmail.com)