arrow

शिवपुरी बाबाका केही प्रसङ्ग

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७७ पुष ९ बिहिबार
sivapuri-baba.jpg

काठमाडौं । शिवपुरी ऐश्वर्यले पूर्ण पवित्र स्थान हो । स्वधर्मपालन गर्ने साधकले त्यहाँ गएर एक वर्ष साधना गर्दा सबै दैवी सम्पत्ति जम्मा गर्न सक्तछ । शिवपुरीबारे बाबाले भन्ने गर्नुहुन्थ्यो ।  बाबा शिवपुरीमा रहदा शतानन्द नाम गरेका एकजना महात्मा पनि केही वर्ष रहेका थिए । उनी मानिसहरूसँग यज्ञ गर्ने, भागवत लगाउनेआदि भन्दै चन्दा सङ्कलन गरी हिँड्दथे । उनी धेरै समयसम्म शिवपुरीमा रहँदा पनि बानी सुध्रेन । कुनै दैवी सम्पत्ति कमाउन सकेनन् । त्यसैले बाबाले आज्ञा भएको रहेछ- “शतानन्द पेट पाल्नका लागि जोगी भएका थिए । पेट पाल्नका लागि मात्र जोगी बनेर काम छैन ।”

माधव बाजेले सुनाउनु भएको केही प्रसङ्ग -
प्रसङ्ग १: “एकदिन साँझपख मैले एक चिलिम गाँजा तयार गरेर श्रीप्रभुलाई टक्याई कुटीको ढोका बन्द गरी सामान लिन काठमाडौं आएको थिएँ । काठमाडौं फर्कनासाथ म आउँरगतले थला परें । साबिकको शरीर भएपछि करिब ७ दिनपछि शिवपुरी फर्केर गएँ । म पुग्दा पनि कुटीको ढोका बन्द नै थियो। मैले आश्चर्य मान्दै ढोका खोलें । श्रीप्रभु मैले गाँजा टक्याएको स्थितिमा नै हातमा गाँजाको चिलिम लिएको लियै पद्मासनमा राज होइबक्सेको रहेछ । मैले ढोका खोलेको आवाज सुनेर आँखा खोलिबक्स्यो र “तुम अभी तक बजार नहीं गया ?”(तिमी अहिलेसम्म बजार गएका छैनों) भनी आज्ञा भयो । मैले सबै कुरा सुनाएँ । उहाँ मुसुक्क हाँसिबक्स्यिो'

प्रसङ्ग २: शिवपुरीमा श्रीप्रभुको दर्शनका लागि श्री गलेश्वरबाबा पनि कहिलेकाहीं आउनुहुन्थ्यो । उहाँ बूढानीलकण्ठमा आइपुग्नु भएपछि शंख बजाउनुहुन्थ्यो । त्यो शंखको आवाज सुनिबक्सेपछि श्रीप्रभु आज्ञा हुन्थ्यो- “बाबा आउँदै हुनुहुन्छ, उहाँका लागि बुटी र चिया तयार गर्दै गर ।"

प्रसङ्ग ३: "शिवपुरी जङ्गलमा धेरै किसिमका चराचुरुङ्गी र जनावरहरू बस्दथे । त्यसताका राज्यशक्ति हातमा लिएका धनाढ्य परिवारहरू सिकार खेल्नका लागि शिवपुरीमा आउँथे । यिनीहरू आएको चाल पाएर जनावरहरूको करूण पुकार सुरू हुन्थ्यो । यी निर्दोष प्राणीहरूको पुकार सुनेर श्रीप्रभु मलाई आज्ञा हुन्थ्यो"माधव, तलतिरबाट पापीहरू सिकार खेल्दै आइरहेका छन् । यिनीहरू ज्यान बचाउन यसरी जम्मा भएका हुन् । यस्ता निर्दोष प्राणीहरूको सिकार गर्नेहरूको भलाइ भने हुँदैन । तिमीले यिनीहरूको यस्तो चकचकी देखे पनि पछि अधोगति हुन्छ ।” माधवबाजे भन्नुहुन्थ्यो “नभन्दै केही समयपछि नै हातमा बन्दुक   लिएका व्यक्तिहरू आफ्नो सुरक्षाकर्मीका साथ आइपुग्थे । कोही बाबालाई प्रणाम पनि गर्दथे । कसैले “ बाबा, तपाई किन पहाडको चुचुरोमा यस्तो अनकन्टार जङ्गालमा बस्नुभएको” भनी सोध्दथे पनि। बाबा ठट्टा गरेरै मार्मिक जवाफ बक्सिन्थ्यो- " मैले प्रयोग गरेको पानी बगेर तिमीहरूको धारोमा गयो र पिउन पायौ भने तिमीहरूको बुद्धि सप्रन्थ्यो कि भनेर म बसेको ।”

प्रसङ्ग ४: बाबा शिवपुरीमा रहिबक्संदा पशुपतिक्षेत्रमा आसन लगाएर बसेका एकजना ब्रहृमचारी आफ्नो अनुयायीका साथ सुवर्ण तयार गर्न चाहिने बुटी खोज्न आउनुभएको रहेछ । बाबाले उहाँलाई “यसरी बुटीहरू प्रयोग गर्दा मात्रा मिल्न गएन भने आँखामा असर पर्छ, यो काम नगर्ने, यस्तो काम तपाईजस्तो महात्माले किन गर्नुपर्यो ?” भनी सम्झाइबक्सेछ । तर उनले काठमाडौं आई त्यसको प्रयोग गर्दा उनको दुवै आँखाको ज्योति गुमेछ । आवश्यक नपरेको विषय हेर्दा त्यसबाट निस्कने परिणामले दुःख पाइन्छ र मन खलबल हुन्छ ।

प्रसङ्ग ५ : बाबा शिवपुरीमा रहिबक्सिंदा एकजनाले दुरबिन ल्याउनुभएर हजुरले पनि यसबाट हेरिबक्सिनुपर्यो भनेछन् । उनको अनुरोध स्वीकार गरी हेर्दा उहाँको आँखा गाउँको आंगनमा नुहाइरहेको व्यक्तिमा परेछ । उहाँले ती भक्तलाई नचाहिने कुरा हेर्दा आइपर्ने परिणामको दृष्टान्त दिदै आज्ञा भएछ– “हेर, नचाहिने कुरा हेर्दा यस्तो दृश्य पनि देख्नुपर्छ” भनी उसलाई पनि त्यो दृश्य देखाइबक्सेछ ।

प्रसङ्ग ६: एकदिन त्यस बेलाका प्रतिष्ठित परिवारमध्ये एकजना तीर्थ जान तयार भएछन् । उनले “मलाई बाबासँग बिदा लिन जान समय भएन तिमी बाबाकहाँ गएर मेरो तर्फबाट बिदा लिएर आऊ” भनी आफ्नो नोकरलाई केही भेटी पनि दिई पठाएछन् । नोकर आएर बाबालाई सबै कुरा बताएछन् । बाबाले “मैले आशीर्वाद दिए पनि हुने कुरा भइहाल्छ” भनी सन्देश पठाइबक्सेछ । तीर्थयात्रामा निस्केका उनी बीच बाटोमा पुग्नासाथ परमधाम गएभन्ने कुरा सुनियो ।

प्रसङ्ग ७: एकपटक बाबाकहाँ एकजनाले आफ्नो बगैंचामा फलेको केही केरा (कसै कसैले उखु भन्दछन्) ल्याउनुभएको रहेछ । उहाँले श्रद्धापूर्वक चढाउनुभएको त थियो तर बाबाले उनलाई “यो केरा लगेर बच्चाहरूलाई खान दिनु” भनी आज्ञा भएछ । केराको प्रसङ्गको चर्चा गर्दै उनले भने- “मैले घरबाट केरा (उखु) ल्याउँदा परिवारहरूले मन अँध्यारो गरेका थिए । बलजफती ल्याएकोले बाबाले स्वीकार नगरिबक्सेको हो ।”

प्रसङ्ग ८: बाबाको दर्शनका लागि दुईजना मित्र आउनुहुन्थ्यो । एकजना प्रत्येक हप्ता र अर्का आकलझुकल मात्र । उनीहरूको एकएकओटा छोरी भारतमा पढ्ने रहेछन् । उनीहरू नेपाल आएपछि बाबाको दर्शन गर्न आउने रहेछन् । आकलझुकल आउने भक्तकी छोरीले आँप ल्याउने तर हप्तैपिच्छे आउनेकी छोरीले भने खाली हात आउने रहिछन् । बाबाले हप्तैपिच्छे आउने भक्तलाई आज्ञा भएछ"हेर, तिमीले आफ्नी छोरीलाई पनि यस्तो कुरा सिकाउनुपर्यो, जुन तिमीले गर्न सकेनौ । बालकहरूलाई यस्ता कुराको पनि याद दिलाइरहनुपर्छ ।”

प्रसङ्ग ९: यसै गरी एकजनाले चारओटा फल ल्याउनुभएको रहेछ । श्रीप्रभुले उनलाई- "तिमी जाने बेलामा फल फिर्ता लगेर बच्चाहरूलाई खान दिनू” भयो । उनले भन्दथे- “मैले हिजो फल ल्याएर घरमा राखेको थिएँ । केही फल बच्चाहरूले खाइदिएका थिए । त्यसैले बच्चाहरूलाई यो फल खाने ईच्छा भएको थाहा पाएर बाबाले मलाई फिर्ता पठाउन लागिबक्सेको हो ।")

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तका संकलक हुन् ।) इमेल :aamodita@gmail.com



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ