arrow

बेलायत र ईयुबीचको ऐतिहासिक व्यापार सम्झौताभित्र के छ ?

logo
प्रकाशित २०७७ पुष १० शुक्रबार
brexit-uk-eu.jpg

काठमाडौं । बेलायत र युरोपेली संघ (ईयु)बीच ऐतिहासिक व्यापार सम्झौता भएको छ ।२७ युरोपेली देशहरुको संगठन ईयुबाट गत जनवरीमा बेलायत अलग भएपछि व्यापार सम्झौता भने हुन सकेको थिएन ।

सन् २०१९ को तथ्यांक अनुसार बेलायत र ईयुबीच ९०५ बिलियन अमेरिकी डलर बराबरको व्यापार हुन्छ । ईयुको कुल बजेटको करिब १६ प्रतिशत साँझेदार बेलाय भएका कारण पनि व्यापारीक सम्झौता महत्वपूर्ण रहेको थियो ।

लामो समयको वार्तापछि बिहिबार (हिजो) भएको सम्झौता १५ सय पृष्ठ लामो छ । तर, यसका मुख्य केही कुराहरु सार्वजनिक भएका छन् ।

सामान

सम्झौता अनुसार, दुवै पक्षबीच बस्तु तथा सेवाको व्यापारमा अतिरिक्त कर एवं कोटा लागु हुनेछैन ।

दुवै पक्षले आफ्नो उत्पादित वस्तु र सेवामा आफैले चाहे अनुसारको मापदण्ड लागु गर्न सक्नेछन् ।

समानमा कर नतोकिए पनि भन्सार जाँच हुँदा गुणस्तर, अतिरिक्त कागजात लगायतका कुराले झन्झट भने हुनेछ ।

माछा

सन् २०२६ सम्म बेलायती समुन्द्री क्षेत्रमा ईयुका माझीहरुले माछा मार्न पाउँने छन् । त्यसपछि भने बेलायती माझीहरुलाई प्राथमिकता दिइनेछ ।

दुवै पक्षबीच बेलायती जलक्षेत्रमा माछामार्ने ईयुका माझी २५ प्रतिशतले घटाउने सहमति भएको छ ।

बेलायतले ६० प्रतिशत घटाउँन खोजेको थियो भने, ईयु कति पनि घटाउँन मञ्जुर थिएन ।

आउँदो ३१ डिसेम्बरपछि प्रत्येक वर्ष दुईपक्षबीच वार्ता हुने छ र कसको जलक्षेत्रमा कसले कति माछा मार्न सक्छ भन्ने निर्णय हुनेछ ।

उर्जा

ईयु र बेलायतबीच प्रतिमिनेट ठूलो मात्रा उर्जा साझेदारी हुने गर्छ । नयाँ व्यापार व्यवस्था अनुरुप पाइपलाईन र पारवहनबाट निरन्तररुपमा ग्यास, तेल लगायतको साझेदारी भइरहने छ ।

दुवैपक्षबीच नविकरणिय उर्जाका क्षेत्रमा सहकार्य गरेर जलवायु परिवर्तनविरुद्ध लड्न काम गर्ने सहमति भएको छ ।

सेवा

बेलायतले ईयुमा निर्यात गर्ने कुराको ४० प्रतिशत भन्दा बढी सेवा हो । बेलायती आर्थिक गतिविधिको ८० प्रतिशत क्षेत्र पनि सेवा नै हो ।

बेलायती डाक्टर, इन्जिनियरले ईयुभित्र काम गर्न पाउँने कि नपाउँने भन्ने विषय कसरी समाधान गरिएको छ भन्ने कुरा स्पष्टरुपमा बाहिरिएका छैन् ।

अहिलेलाई भने पूरानै अवस्था अनुसार चलिरहनेछ । सन् २०२१ को सुरुदेखि बेलायत सरकारले त्यहाँका सरोकारवालाहरुलाई मार्गप्रदर्शन गराउँनेछ ।

त्यस्तै, अहिले दुवै पक्षबीच आफ्नो सुरक्षा अनुरुप डेटा प्रवाह भइरहनेछ । आतंकवादविरुद्ध लड्न पनि बेलायतले ईयुको क्रिमिनल डेटा बेस प्रयोग गर्न पाउँनेछ । तर युरोपोलको सदस्य भने रहने छैन् ।

सन् २०१६ को जुन २३ मा ईयुबाट बेलायत बाहिरिने भन्दै बेलायतमा जनमत संग्रह भएको थियो ।

त्यतिबेला ५२ प्रतिशतले पक्षमा मतदान गरेका थिए । सोही अनुसार सन् २०२० को जनवरी ३१ मा ४७ वर्षको सदस्यतापछि बेलायत ईयुबाट अलग भएको थियो ।

सन् २०२० को डिसेम्बर ३१ सम्म संक्रमण तोकिएको छ । ३१ डिसेम्बरपछि बेलायत पूर्णरुपमा ईयुबाट अलग हुनेछ ।

बेलायतले आफ्नो सार्वभौमिकता, बजार, रोजगारीलगायतका कुराहरुको रक्षाका लागि यो निर्णय अघि सारेको बताएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ