arrow

चिनियाँ चाहना पछि वामदेब खटिए नेकपा एकता अभियानमा

ओलीले भने कमरेड ढीलो गर्नुभो, प्रचण्डले भने कमरेड आउनुस सँगै काम गरौं

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ पुष १७ शुक्रबार
bamdev1.jpg

काठमाडौं । सत्तारुढ दल नेकपामा विभाजन आएपछि कतैतिर नलागेका वामदेव गौतम पार्टी एकता जोगाउने भन्दै एकता अभियानमा लागेका छन् । ‘पार्टी एकता अभियान’ भन्दै छुट्टै समूहको नेतृत्व गर्दै उनी एकताको पक्षमा उभिएका हुन् । उनले पार्टी एकताको प्रस्ताव लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटघाट गरिसकेका छन् । ओलीसँग उनले चार वटा प्रस्ताव राख्दै एकताका लागि पहल गर्न आग्रह गरेका हुन् ।

राष्ट्रिय सभाको बैठक बस्नु अघि विहिबार राती भेटघाट गरेका गौतमले ओलीलाई चार वटा प्रस्ताव गरेका हुन् । उनले युवाहरुको पंक्तिलाई नेतृत्व हस्तान्तरण गर्ने, एकताकै क्रममा रहेकाले कात्तिक २८ गतेपछि उत्पन्न परिस्थिति र त्यसपछि पार्टीमा आएका सबै प्रस्ताव फिर्ता गर्ने, संसद पुर्नस्थापना र पार्टी एकताका लागि गरिने सबै प्रकारका त्याग गर्न तयार हुनुपर्ने प्रस्ताव राखेका थिए । तर प्रधानमन्त्री ओलीले यी सबै प्रस्ताव समस्याको समाधान नभएकाले तथा प्रस्ताव नै ढिला भएको र राजनीतिक कोर्स अगाडी बढेकाले तत्काल एकता प्रकृया असम्भव रहेको बताएका थिए। ‘ओलीसँगको प्रस्ताव असफल भएपछि गौतम शुक्रबार विहान खुमलटार पुगेका रहेछन् खुमलटारमा प्रचण्डले आफूतिर आउन आग्रह गर्दा पार्टी विभाजनको टिका नलगाउने बरु पार्टी एकता अभियान सञ्चालन गर्ने भन्दै फर्केका रहेछन्’, प्रचण्ड निकट एक नेताले भने । ती नेताका अनुसार गौतमले ओलीतिर पनि जान नसकिने र दाहाल नेपालतिर पनि आउन नसक्ने जानकारी दिएका थिए ।

पार्टी विभाजनपछि नेपाल भ्रमणमा आएको चिनियाँ राजनीतिक टोली यचौको टोलीले पनि मध्यमार्गी भूमिका खेल्न आग्रह गरेको थियो । पार्टी विभाजनको शुरुदेखिनै तटस्थ रहेका गौतमले पार्टी एकताको पहल गर्न थालेका हुन् । उनको समूहमा को को रहनेछन भन्ने बारेमा अहिलेसम्म केही बताइएको छैन । ‘ गौतमको समूहमा ओलीतिर जान नसक्ने, दाहाल नेपालतिर पनि जान नसक्ने स्वतन्त्र रहेको तल्लो तहको ठूलो पंक्ति रहेको छ । केही दिन अघि त्यही पंक्तिका धेरै नेता कार्यकर्ताले गौतमलाई भेटेर एकताको पहल गर्न आग्रह गरेपछि उहाँले एकता अभियान बनाउन लाग्नु भएको हो’, उनी निकट नेताले भने । 

वामदेव गौतमसँग सारथीको रुपमा काम गर्दै आएका हरि पराजुलीले पनि गौतम सधै पार्टी एकताको पक्षमा रहेको बताए । शुरुदेखिनै कुनै पनि गुटको भेलामा सहभागी नजनाउने बताउदै आएका गौतमको पार्टी एकता अभियानमा देशभरका कार्यकर्ताहरु सहभागी हुने पराजुलीको दावी छ । ‘एकता अभियानमा को को राख्नु हुन्छ भन्ने त एकिन छैन तर ठूलो पंक्ति एकताकै पक्षमा रहेकाले उहाँलाई धेरै नेता कार्यकर्ताको साथ रहनेछ । प्रचण्डले पनि एकताको पहल गर्नुस भनेका छन्’, पराजुलीले भने । 

राष्ट्रिय सभाको बैठक सकिएपछि पनि गौतमले आफू पार्टी एकताको पक्षमा रहेको बताउदै एकता अभियान बनाउने बताएका थिए । पार्टीभित्र आफ्नो कित्ता क्लियर रहेको बताउदै पार्टी विभाजन भइनसकेको र आफू अझैपनि एकता जोगाउने पक्षमा रहेको बताएका थिए । गौतमले शुक्रबार विभाजित पहिलो र दोस्रो कित्ता, अनि आफू एकताको पक्षमा तीन नम्बर कित्तामा रहेको पनि दावी गरे । प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन रहेको र सर्वोच्चको फैसला अघि वा पछि पनि एकताको सम्भावना जीवित रहने उनको भनाई थियो । उपाध्यक्ष गौतमले संगठित रुपमै एकता अभियान अगाडी बढाउने पनि बताएका छन् । उपाध्यक्ष गौतमले आफु अन्तिम विकल्प हुँदासम्म पार्टीलाई एकताबद्ध बनाउन लाग्ने बताउँदै एकताको पक्षमा सबै रहेको र देशभरबाट एकता अभियानको पक्षमा दशौं हजार नेता कार्यकर्ता आफुसँग रहेको समेत दावी गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ