arrow

ओलीको असंवैधानिक कदमको मतियार प्रचण्ड र नेपाल पनि : नेता नेपाली

logo
सन्जय भट्टराई,
प्रकाशित २०७७ माघ १९ सोमबार
krishna-chandra-nepali.jpg

कावासोती । गण्डकी प्रदेश प्रमुख प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको मतियार प्रचण्ड र माधवकुमार नेपाल पनि भएको बताएका छन् । सोमबार पूर्वी नवलपरासीको कावासोतीमा नेपाली काङ्ग्रेसका भातृ सङ्घसंस्थाले प्रतिनिधि सभा विघटनको विरोधमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपाली सो कुरा बताएका हुन ।

जनताले दिएको दुई तिहाइ मतको अपमान गर्दै नेकपाले आपसी झगडा र पदको लडाइमा अल्झिएर संविधान माथि प्रहार गर्ने काम गरेको भन्दै नेता नेपालीले कम्युनिस्टहरू सधैँ भत्काउने र बिगार्ने बाटो हिँडेको आरोप लगाएका छन् । पद र शक्तिको लोभमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेका त्यसको मतियार प्रचण्ड र नेपाल पनि भएको बताउँदै नेता नेपालीले प्रचण्ड र नेपाल पानी माथिको ओभानो हुन नपाउने जिकिर गरेका छन् ।

आफूले काम गर्न नपाएर संसद् विघटन गरेको भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्ति प्रति लक्षित गर्दै नेता नेपालीले भने "आफ्नो घर झगडा मिलाउन नसकेर संसद् विघटन गरी प्रधानमन्त्रीले संवैधानिक मूल्य र मान्यता माथि प्रहार गरेका छन् ।"  

सरकारलाई सांसदले काम गर्न कहिल्यै अवरोध नगरेको बताउँदै नेता नेपालीले ओली सरकारले आफ्ना काण्डहरु लुकाउनका लागि र पार्टीको झगडाकै कारणले प्रतिनिधि सभा विघटन गरेको बताए ।

नेपाली काङ्ग्रेसका भातृ सङ्घ संस्थाहरूको आयोजनामा भएको कार्यक्रममा नेकपा र जसपा परित्याग गरेर दुई जना युवाहरु काङ्ग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा नेपाली काङ्ग्रेस जिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य विष्णुप्रसाद लामिछाने , संसदीय दलकी सचेतक ओमकला गौतम ,नेपाली काङ्ग्रेसका भातृ सङ्घ संस्थाहरूका कार्यकर्ताको उपस्थित रहेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ