arrow

राजा जनक र शुकदेवको भलाकुसारी

धन्यो गृहस्थाश्रम (भाग ३)

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७८ असार ३१ बिहिबार
veda-Vyasa.jpg

शुकदेवको मनमा कसैले नबोलाएको स्थानमा आउनु परेकोमा ग्लानि भएको थियो । शुभ भए पनि अशुभ भए पनि प्रारब्ध भोग गर्नु पर्ने कुरा राज सेवकहरूसँग शुकदेवले गरे । ज्ञानले परिपूर्ण उनको कुराले ती सेवकहरूले आफूले उनलाई रोकेकोमा माफ मागे र इच्छा भएको ठाउँमा जान सक्ने स्वीकृति दिए । ढोकेहरूलाई उनले यसमा उनीहरूको दोष नभएको बताए । पराधीन व्यक्तिले अरूले जे अह्राएको छ त्यो काम गर्नु नै पर्ने बाध्यता रहेको कुरा नम्रतापूर्वक उनले सम्झाए । 

उनले संसारमा रागी पुरुष पनि छन्, विरागी पुरुष पनि छन्, सुख पाउन प्रयत्न पनि गर्नुपर्छ । विरागी पुरुष एकान्त वास रुचाउँछ । मनुष्यका काम, क्रोध, लोभ मोह आदि अनेक शत्रुहरू छन् । त्यसैले आत्म चिन्तन गर्नाले मात्र सुखी बनिन्छ भनेर अनेक उपदेश दिए । शुकदेवजीलाई राजाका मन्त्रीले पनि देखे । उनको शालीनता, विद्वत्ता आदि देखेर उनले शुकदेवलाई एक सुन्दर बगैँचामा लगेर राखे । अनेक प्रकारका फूलहरूले सजिएको त्यस बगैँचामा उनको हेरचाहका लागि सुन्दरी स्त्रीहरू खटाइए । शुकदेवजी जितेन्द्रिय हुनुभएको कुरा उनीहरूले बुझी हाले । उनले पनि सबैसँग मातृ भावले व्यवहार गरे र आफू ध्यानमा मग्न भई रहे । रातको भोजन पछि केही समयको विश्राम लिएर रातको चौथो प्रहरमा उनी आफ्नो सन्ध्या वन्दनमा लागे ।
 
शुकदेवजी विदेह नगरीमा आउनुभएको कुरा राजा जनकको कानमा पर्‍यो। आफ्ना गुरु पुत्रको पूजाका लागि उहाँले गाई तथा अनेक प्रकारका सामग्री लिएर जानुभयो । एक आपसमा भलाकुसारीको क्रम सकिएपछि जनक राजाले हजुर त निस्पृह हुनुहुन्छ, के कुराको आवश्यकता परेर यहाँ आगमन भएको हो आदि प्रश्न गरे । शुकदेवले आफ्ना पिताले विवाह गरेर गृहस्थाश्रममा बस्न आग्रह गरेको तर आफूले स्वीकार नगरेको कुरा बताए । मेरो चित्त बुझाउनलाई पिताजीले जनक राजा कहाँ गएर ज्ञान लिएर आऊ भनेर पठाएकोले आफू आएको वृत्तान्त बताए र आफ्नो पिताजी गुरु भए पनि उहाँको अर्ति आफूले नमानेकोले उचित हुने ज्ञान पाउँ भन्ने आग्रह गरे ।
   
शुकदेवजीको यस्तो आग्रह सुनेपछि जनक राजा भन्नुहुन्छ, ब्रम्हचर्याश्रम पूरा गरेपछि गृहस्थाश्रममा प्रवेश गरेर न्यायले कमाएको धनको भोजन गर्नुपर्छ, धर्मपूर्वक कर्तव्य गर्नुपर्छ । कसैसँग कुनै कुराको आशा राख्नुहुन्न । मन, वचन र कर्मले सत्य अँगाल्नुपर्छ । काम, क्रोध, लोभ, मोह,मात्सर्य, मद जस्ता ६ दुर्गुणहरू हटाउनुपर्छ । यसरी आफ्नो धर्म पूरा गरेपछि सांसारिक विषय वस्तुबाट वैराग लिएर संन्यास ग्रहण गर्नुपर्छ । यसरी क्रमैले आश्रमको खुड्किलो पार गर्नुपर्छ ।
 
जनकराजाको यस प्रकारको कुरा सुनेपछि उनले चित्तमा वैराग्य र ज्ञान विज्ञान उत्पन्न भएपछि गृहस्थाश्रममा वसीरहने कि वनमा जाने भन्ने प्रश्न गर्दा उहाँले इन्द्रियहरू बलवान् भएकोले यिनीहरूलाई वशमा ल्याउन कठिन हुन्छ । मानिस संन्यास लिन्छ तर उसले मनमा खाना, इन्द्रिय सुख, पुत्रको मोह आदि राखिरहन्छ । मानिस अग्लो खाटमा सुत्यो भने मात्र खस्ने डर हुन्छ तर भुईँमा सुत्यो भने खस्ने डर हुँदैन । त्यसरी नै सन्न्यासी व्यक्ति भ्रष्ट भयो भने ऊ कहाँ गएर चोखिन्छ ? जसरी कमिला रुखको फेदबाट रुखमा चढ्न थाल्छ र बिस्तारै फलमा पुगेर त्यसको रसास्वादन गर्दछ, त्यसरी नै हामीले पनि क्रमशः आश्रम चाहर्दै गएर जीवन सपार्नुपर्छ भन्ने ज्ञान दिँदै जानुभयो । (क्रमशः....)

यो पनि पढ्नुस् :
धन्यो गृहस्थाश्रम भाग १   
धन्यो गृहस्थाश्रम भाग २  

(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com    

 



नयाँ