arrow

चेपुवामा माधव नेपाल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ साउन १० आइतबार
madhav-kumar-nepal-media-brief.jpg
फाइल तस्बिर

काठमाडौँ। एमालेभित्र आन्तरिक विवाद समाधानका लागि केपी शर्मा ओली नरम हुँदै गर्दा वरिष्ठ नेता माधव नेपाल भने आफ्नै समूहका नेताहरूको चेपुवामा पर्न थालेका छन्। नेपाल निकटका स्थायी कमिटी सदस्यहरूले ओली पक्षबाट आएको प्रस्तावलाई सकारात्मक रूपमा लिएर सम्मानजनक एकताका लागि दबाब दिन थालेपछि चेपुवामा परेका हुन्।

आइतबार अपराह्नदेखि साँझसम्म नेपाल समूहको स्थायी कमिटी सदस्यहरूले नेपाललाई पार्टी एकताका लागि दबाब दिएका हुन्। अरू त अरू अमृत बोहोरालेसम्म गठबन्धनको बैठकमा जानु गल्ती हो भन्दै त्यस्तो गल्ती नगर्न सुझाव दिएका थिए। ‘आजको छलफल निकै गुणात्मक छ अब केही समयपछि नै पार्टीका दुई नेताहरूले सहमति गरेको खबर आउनेछ’, बैठक स्रोतले भन्यो।

नेपाल समूहका नेताहरूले समान अधिकारसहित प्रस्तावमा सहमति जनाउन दबाब दिएका छन् । बैठकपछि नेपाल समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले एकताकै पक्षमा कुराकानी भएको बताए । ‘१० बुँदे सहमति र त्यसको कार्यान्वयन तथा अहिलेसम्म भएका राजनीतिक गतिविधिको बारेमा छलफल भएको छ’, स्थायी कमिटी सदस्य पाण्डेले भने । 

छलफलमा सहभागी अधिकांश नेताले सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरेसँगै ओलीसँग टाउको निहुराएर हिँड्नु नपर्ने र त्यहाँ पनि आफूहरूलाई माया गर्ने नेता कार्यकर्ता भएको बताएका थिए । स्थायी कमिटी सदस्यहरूको आग्रहमा उनले आइतबार अपराह्न बैठक बोलाएका थिए । 

काठमाडौँको शंखमुलमा आयोजना गरिएको बैठकमा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न वरिष्ठ नेता नेपालले आफू निकटका स्थायी कमिटी सदस्यहरूलाई बोलाएको उनी निकटका नेताहरूले बताएका छन् । खास गरी शनिवार नेपाल पाँच दलीय गठबन्धनको बैठकमा गएपछि आइतबार बिहानैबाट बैठक राख्न नेताहरूले नेपाललाई दबाब दिएका थिए । 

बैठकमा नेताहरूले ओली पक्षबाट केही दिन अघि सुवास नेम्वाङ र विष्णु पौडेलले राखेको प्रस्तावमा सकारात्मक हुनुपर्ने र त्यसको कार्यान्वयनका लागि ओलीले आफै तयार हुनुपर्ने धारणा राखिएको थियो । 

केही दिन अघि नेम्वाङ र पौडेलले विधान संशोधन गरेर भए पनि नेपाललाई दोस्रो अध्यक्ष दिने र समान अधिकार दिने प्रस्ताव राखिएको थियो । तर नेपालले यो विषय पहिला नै आएको हुनाले अहिले स्वीकार गर्न नसकिने बताएका थिए । उनीहरूले निर्वाचन पनि आउन लागेको र आफ्ना नेता कार्यकर्ताको संरक्षणका लागि भए पनि यो प्रस्ताव ठिक रहेको सुझाव दिइएको थियो । ‘ओली विधान संशोधन गर्न तयार भए भने अब कुरा मिल्ने सम्भावना छ’, बैठकपछि नेपाल पक्षका एक नेताले भने । 

आइतबार दिउसो मात्रै अध्यक्ष ओलीले माधव नेपाललाई माफी दिने आफू नभएको र माफी दिने वा कारबाही गर्ने पार्टीको काम भएको बताएर बिहीबारको भनाई सच्याएका थिए। अखिल नेपाल महिला सङ्घ (अनेमसंघ) को प्रथम बैठकलाई आइतबार सम्बोधन गर्दै पार्टी एकताको नाम लिँदै विपक्षी गठबन्धनतिर धाउनेहरूलाई आफूले माफी दिने वा नदिने भन्दा पनि त्यसको निर्णय पार्टीले नै गर्ने बताएर आममाफी दिने भनाई सच्याएका थिए ।  

ओलीले गत बिहीबार सम्पन्न केन्द्रीय कमिटी बैठकबाट बाटो बिराएकालाई आममाफी दिने बताएपछि नेपालले त्यसको चर्को आलोचना गरेका थिए । नेपालको आलोचनापछि ओलीले माफी दिन व्यक्ति आफू नभएको बताएर अभिव्यक्तिलाई सच्याउने कोसिस गरेका छन् । ‘बाटो बिराएकालाई पनि फर्केर आउन आग्रह गर्छु, पार्टीको नीति र सिद्धान्तअनुसार चल्नुपर्छ,पार्टीलाई स्वार्थ र बिकाउमा नलगाऊ, देशको सबैभन्दा बढी जनसङ्ख्या एमालेमा छन्, परिपक्व राजनीतिक पार्टी हो, यो देशको मुख फेर्ने पार्टी हो’, ओलीले बैठकमा भनेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ