arrow

ओली र नेपाल कित्ता क्लियर गर्नेतर्फ, कार्यकर्ता अमिलो अनुहार लाउँदै 

ओलीले नेपालमाथि चलाए देशद्रोहीको शब्दवाण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ साउन १६ शनिबार
kp-madhav-jN.jpg

काठमाडौँ। एमालेको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आ–आफ्नो कित्ता क्लियर गर्नेतर्फ अघि बढेका छन्। शनिवार एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवैले आफू निकट रहेका नेता कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यसको सङ्केत गरेका हुन्। दुवै नेताहरू एकले अर्का विरुद्ध छेडखानी गर्ने भए पनि शनिवार भने ओली निकै गरम रूपमा प्रस्तुत भए। ओलीले एमालेमा नेपाललाई कुनै पनि स्थान नभएको र माधव नेपाल देशद्रोही भएको समेत आरोप लगाए। 

ओलीले नेपाललाई पार्टीमा ठाउँ छैन भन्ने अभिव्यक्ति दिइरहँदा नेपालले भने ओलीको नाम नलिई कोही कसैले फेरी पनि फर्केर प्रधानमन्त्रीतिर आउने कोसिस नगरेकै राम्रो भने । आममाफीको घोषणाबाट बिच्किएका नेपालमाथि ओलीले शनिवार देशद्रोहीको आरोप लगाए । सो आरोपछि लगत्तै स्थायी कमिटीको बैठकमा भाग लिन पुगे पनि आफ्नै नेताहरूको दबाबमा बैठक स्थगित गर्न पुगे । ‘एमाले एकता शनिवार वारपार हुन्छ’ बुधवार ओलीले भनेका थिए । 

महासचिव ईश्वर पोखरेललाई स्थायी कमिटी बैठक शनिवार बोलाउन निर्देशन दिने क्रममा उनले वारपारको कुरा भनिरहँदा साथमा प्रदीप ज्ञवाली पनि थिए । ‘पार्टीमा नआउनेलाई कुर्न सकिँदैन, आउनेलाई पार्टीको जिम्मेवारी दिएर काममा लगाउन सकिन्छ,’ ओलीले त्यसो भन्दै गर्दा पोखरेलको मुहारमा केही खुसी झल्केको थियो । त्यही मेसोमा ईश्वर पोखरेले पनि शुक्रवार पार्टी कार्यालयमा खीर खादै नेपाललाई दोस्रो अध्यक्षमा स्विकार्न नसकिने बताएका थिए । शनिवार ओलीले काठमाडौँ जिल्ला कमिटीको बैठकमा बोल्ने क्रममा नेपालमाथि दक्षिणपन्थीको आरोप पनि लगाए । तर त्यही बेला विघटित कार्यदलका सदस्यहरू सुवास नेम्वांङ चेम्बरमा बैठक गरिरहेका थिए । ‘ओलीले उता गाली गर्ने सिंहदरबारमा हामीले बसेर सुन्ने काम भयो, त्यतिबेलै हामीले सोच्यौ ओलीले फेरी राम्रो कुरा गरेनन् यसले अबचाहिँ नेपाललाई ट्याकमा ल्याउन सकिँदैन’, बैठकमा सहभागी एक सदस्यले भने । 

ओलीकै निर्देशन बमोजिम शनिवार दिउसो ३ बजेको स्थायी कमिटी बैठक राखिएको थियो । तर, शनिवार स्थायी कमिटी बैठक बस्नु ठिक ३ घण्टाअघि मध्याह्न १२ बजे अध्यक्ष ओलीले माधव नेपालजस्ता आन्दोलन विरोधी, देशद्रोहीलाई एमालेमा ठाउँ छैन,’ भनेर घोषणा गरे । दोस्रो तहका नेताहरूले नेपालसहितको एकताका पक्षमा मत सिर्जना गरिरहेका बेला अध्यक्ष ओलीले भने नेता नेपाललाई देशदोह्रीको आरोप लगाइरहेपछि नेताहरू अमिलो अनुहार लिएर बाहिरिएका थिए । यसबाट अध्यक्ष ओली आफू एमालेमा नेपाललाई समेट्न नसक्ने अवस्थामा पुगिसकेको पुष्टि हुन्थ्यो । 

साउन ७ मा एमालेको केन्द्रीय कमिटी बैठकले एमाले एकताको जिम्मा ओलीलाई लगाएको थियो । नेपालसँग संवाद गर्ने जिम्मा पनि ओलीलाई दिएको थियो । ‘अब पार्टी एकताको जिम्मा र नेपालसँग संवाद गर्ने जिम्मा पार्टी अध्यक्षलाई दिइएको छ’, त्यति बेला पार्टी प्रवक्ता समेत रहेका प्रदीप ज्ञवालीले भनेका थिए । तर ओलीले एक साता बित्दा पनि नेपालसँग संवाद गरेनन् । उता नेपालले पनि ओलीसँग संवाद गर्ने रुचि देखाएका थिएनन् । 

ओलीले आममाफीको घोषणा गरेको भोलिपल्ट ओलीलाई राजा महाराजाको संज्ञा दिएका नेपालले ओलीसँग संवाद गर्नुको औचित्य नभएको बताएका थिए । एक सातापछि उल्टै नेपाललाई देशदोह्रीको आरोप लगाए । ११ साउनको नेपाल पक्षको स्थायी कमिटीले एकताका लागि प्रयास गर्न र ओलीसहितका नेताहरूलाई गाली नगर्न तल्ला कमिटीलाई निर्देशन दियो । नेपाल पक्षले पनि नेपाललाई संवादबाटै निकास निकाल्न जोड गरेको थियो । तर शनिवार मध्यान्ह नेपाललाई गाली गरेर स्थायी कमिटीको बैठकमा आएका ओली उल्टै बैठक स्थगित गर्न बाध्य भए । ‘पछिल्लो पटकको प्रगतिबारे पार्टी अध्यक्ष अपडेट नभएका कारणले यस्तो अभिव्यक्ति आएको हुनुपर्छ, कार्यदलमा रहेका नेताहरूले समयमै अपडेट गराएको बुझिएन, बालुवाटार भन्दा बालकोट अलि टाढाकै कुरा हुँदो रहेछ’, ओली निकट एक नेताले भने । 

शनिवारको स्थायी कमिटी बैठकको सुरु हुन पूर्व नै नेम्वाङले बोलेका थिए । नेम्वाङले दुई दिनअघि नेता नेपालसँग भएको छलफल, शनिवार बिहान भीम रावलसहित दोस्रो तहका नेताहरूसँग संवादका टिपोटसहित ओलीलाई ब्रिफिङ गरेपछि ओलीले बैठकलाई तत्कालै स्थगित गरौँ भन्ने प्रस्ताव गरेका थिए । 

पछिल्लो सन्दर्भको व्याख्यामा नेम्वाङले नेपाल एकताका लागि रुचिकर नदेखिएको, संवादको लागि खास रुचि नभएको मात्र व्याख्या गरेनन्, दोस्रो तहका अर्थात् नेपाल पक्षका स्थायी कमिटी सदस्यहरू आउने तयारीमा रहेकोले बैठक स्थगित गर्नुपर्ने बताउँदै नेपाललाई पनि मनाउन सके राम्रो र सकेसम्म ओली आफैले एक पटक कुराकानी गर्ने चाँजोपाँजो मिलाउन सकेता आग्रह गरेका थिए। 

सिंहदरबारको संवादमा रावलसहितका नेताहरूले शनिवारको स्थायी कमिटी स्थगित गर्न आग्रह गरेका थिए । रावलसहितका नेता नेम्वाङलाई त्यति सुनाएर नेता नेपालसँग छलफल गर्न निस्केका थिए । त्यही आग्रह नेम्वाङले ओलीलाई सुनाए । अनि, ओलीले शनिवारको बैठक स्थगित भएको बताए । र आइतबार ३ बजेका लागि अर्को बैठक बोलाए । नेता नेम्वाङका अनुसार पार्टी एकताका लागि आजसम्म भएका छलफल र प्रयासबारे जानकारी गराएपछि बैठक स्थगित भएको हो । ‘हामी अहिले पनि विवाद मिलाउने क्रममा छौ साथीहरू पनि लागिरहनु भएको छ हामी पनि लागिरहेका छौ त्यसकै लागि बैठक स्थगित गरिएको हो’, नेम्वांङले भने ‘मैले एकतासम्बन्धी अहिलेसम्मका प्रयासबारे बैठकमा जानकारी गराएपछि अध्यक्षले विषय प्रवेश नगरी भोलि सम्मका लागि स्थगित गर्नुभयो’ । 

एकताकै वातावरण बनाउनका लागि ओली तयार रहेको बताइएको छ । तर, ओली पक्षकै महासचिव ईश्वर पोखरेल, विष्णु रिमालसहितका केही नेता भने नेपाल पक्षबाट कसैलाई पनि ल्याउन नहुने पक्षमा उभिएका कारण विवाद निरूपण हुन नसकेको पनि स्रोतको भनाई छ । महासचिव पोखरेलले यो विषयलाई पटक्कै चासो नदिएको र पार्टीमा नेपाल पक्षका नेताहरू आए आफू विरुद्ध षडयन्त्र हुने भयले त्रसित रहेकाले पनि पोखरेल विवाद मिलाउने पक्षमा नरहेको स्रोतको दाबी छ । 

ओलीभित्रको पनि कडा लाइन लिने नेताहरू महेश बस्नेत, गोकुल बास्कोटा, कर्ण थापा, रघुवीर महासेठसहितको पङ्क्ति नेपालविरुद्ध रहेको छ । जसलाई महासचिव पोखरेलले मलजल गरिरहेको स्रोतको दाबी छ । शनिवार राती गोकुल बास्कोटाले त नेपाललाई दोस्रो अध्यक्ष दिन नसकिने भन्दै सामाजिक सञ्जालमा पोस्ट नै गरिसकेका छन् । ‘ खुसी लाग्यो शक्ति प्रदर्शन भएछ । तर चल्ला कोरल्न नसक्ने अण्डा फुटाउने प्रदर्शनको के अर्थ ? एउटा कुरा स्पष्ट छ कि विधीपद्दती अनुसार अनसन नै बसे पनि अध्यक्ष दिन मिल्दैन मिल्दैन मिल्दैन । जसले जे बुझ्नु पर्छ बुझ्ने जे गर्न मन लाग्छ सो गर्ने’, उनले भनेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ