arrow

एमाले विभाजनको असरः राष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा तान्ने संभावना 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ भदौ ३ बिहिबार
vidya-devi-bhandari-final.jpg
तस्वीर–फाइल ।

काठमाडौं । अन्ततः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालको व्यक्तिगत  ‘इगो’ र राजनीतिक टकरावले एमाले विभाजन हुँदा त्यसको असर राष्ट्रपति विद्यादेवी भण्डारीको राष्ट्रपति पदमा समेत दाग लाग्ने संभावना बढेको छ । राष्ट्रपति भण्डारीलाई राष्ट्रपतिबाट हटाउनका लागिसमेत अहिलेको गठबन्धन तयार हुने अवस्थामा पुग्न सक्ने आँकलन गरिएको छ । 

आफैंले जग हालेर बनाएको एमाले पार्टी त्यागेर माधव नेपालले राजनीतिक जीवनको उत्तरार्धमा कठिन बाटो रोजेपछि त्यसको धक्का राष्ट्रपति भण्डारीसम्म पुग्ने बताइएको छ । नयाँ दल दर्ता गर्दा ६९ वर्षीय नेपालले करिब ५० वर्ष राजनीतिक सहयात्रा गरेका अध्यक्ष ओलीलाई सबै दोष थोपरेका छन् । 

६ वर्ष दोस्रो र ९ वर्ष पहिलो नेताका रुपमा १५ वर्ष एमाले हाँकेका नेता नेपालले ओलीसँग बुधबार दिउँसोबाट औपचारिक सम्बन्ध टुटाएपछि पाँच दलीय गठबन्धनलाई यथावत राख्ने भएका छन् भने ओलीलाई सहयोग पुग्ने सबै गतिविधिलाई बन्द गराउने प्रयास गर्नेछन् । 

‘खासगरी एमालेमा ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै भएपछि राष्ट्रपति भण्डारीले जसरी ओलीका हरेक कार्यलाई सहयोग गरिन् त्यो विषयमा नेपालका लागि चित्तबुझ्दो थिएन । अहिले पनि नेपालले उस्तै परे राष्ट्रपति हटाउने प्रयास गर्नेछन्’, नेपाल निकट रहेका एक नेताले भने । 

वर्तमान सरकारले राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव दर्ता गर्न भने कठिन रहेको छ । संसदमा सशक्त प्रतिपक्षीको भूमिकामा रहेको एमालेले त्यसलाई सहज रुपमा लिने छैन । तर जसरी पनि हटाउने गरी सरकारी दलहरु प्रस्तुत भए राष्ट्रपति भण्डारीले पदबाट मात्र होइन सम्पूर्ण सरकारी सेवा सुविधा छाडेर एमालेको नेतृत्वमा आउने संभावना पनि उत्तिकै रहेको छ ।

एमालेले नेतृत्व गरेका प्रदेश सरकार ढल्दै गरेको अवस्थामा अबको निशाना राष्ट्रपतिलाई महाअभियोग लगाउनेसम्म नपुग्ला भन्न नसकिने चर्चा पनि चलेको छ । स्वयं एमालेभित्र पनि यो चर्चा चलेको छ । तर संस्थागत रुपमै यस्तो निर्णय आए एमालेले कस्तो नीति अपनाउला भन्ने कसैले आँकलन गर्न सकेका छैनन् । 

पछिल्लो समय दुई नेतामा देखिएको तिक्तता २०७१ सालको नवौँ महाधिवशनपछिकै लहरो हो । यसले पार्टी विभाजन नै गरायो । यही महाधिवेशनबाट ओलीले एमालेमा पहिलो नेताको जिम्मेवारी पाए भने नेपाल पराजित भए । ओलीसँग केवल ४५ मतले पछि परेका नेपालले आफूले प्राविधिक रुपमा मात्रै हारेको ठानेका थिए । 

ओलीसँग समान हैसियत खोजिरहेका नेता नेपालले पार्टी मिलाउन राष्ट्रपति भण्डारीको साथ पनि खोजेका थिए । तर राष्ट्रपति भण्डारीले नेपाललाई पार्टीमा ल्याउने भन्दा पनि ईश्वर पोखरेल लगायतका नेताहरुलाई उचालेर आफूहरुलाई पाखा लगाउन खोजेको बुझाई नेपालको छ। 

नेपाल स्वयं तत्कालै पार्टी विभाजनको अवस्थामा थिएनन् । तर ओलीले पटक पटक कारबाही गर्न थालेपछि दुई साताअघि भीम रावललाई पठाएर मध्यस्थता गर्नसमेत लगाएका थिए । तर राष्ट्रपतिले त्यसतर्फ ध्यान दिइनन् । रावललाई भने सकारात्मक बन्न मात्रै भनिन् । नेपाललाई पार्टीमा ल्याउने विषयमा ओलीसँग कुरा गर्न चाहिनन् ।

 ‘राष्ट्रपतिले चाहेको भए पार्टी एक रहन सक्थ्यो राष्ट्रपतिले भनेको ओलीले मान्ने थिए तर यो बीचमा ईश्वर पोखरेललाई उचालियो’, नेपाल निकट स्रोतले भन्यो ‘ राष्ट्रपतिको भूमिकाप्रति नेपाल त्यति धेरै सन्तुष्ट छैनन् ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ