arrow

हिन्दू धर्ममा जनै, रक्षाबन्धन र क्वाँटीको महत्त्व

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ भदौ ६ आइतबार
rajendra-panthi-article2.jpg

हिन्दू धर्म संसारको सबैभन्दा पुरानो धर्म हो । यस धर्मका आफ्नै मूल्य, मान्यता र परम्परा छन् । हिन्दू धर्ममा पौराणिक कालदेखि धेरै पर्वहरू मानिँदै पनि आइरहेको छ। त्यसमध्ये एउटा पर्व हो जनैपूर्णिमा र रक्षाबन्धन । जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु । जनैलाई संस्कृतमा यज्ञोपवित भनिन्छ । जसको अर्थ हुन्छ यज्ञ गरेर पवित्र बनाइएको । जनै पूर्णिमाका दिन वेदपाठ, रुद्राभिषेक आदि गरेर वैदिक मन्त्रबाट अभिषेक र अभिमन्त्रणा गरी यज्ञोपवित निर्माण गरिने शास्त्रीय विधान छ । 

जनैपूर्णिमामा व्रतबन्ध गरेका द्विजातिहरूले जनै अर्थात् यज्ञोपवित फेर्दछन् । सनातन हिन्दू धर्मका १६ संस्कारमध्ये एक उपनयन संस्कार गरेपछि जनै लगाउने गरिन्छ । अतः जनैधारण गर्ने व्यक्तिको लागि अन्य व्यक्तिलाई जनैले धेरै कुराहरूको जानकारी दिइरहेको हुन्छ । जस्तैः जनैधारण गरेको व्यक्ति हिन्दू हो भन्ने जनाउने गर्छ । दिसा पिसाब गरेर हात मुख नधोउन्जेलसम्म जनै कानमा राख्ने गरिन्छ । यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्यक्ति हात मुख धोएर शुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ । जनैमा गाँठो लगाउँदा छुट्टाछुट्टै गोत्र र पर्वर अनुसारको गाँठो दिइन्छ । यसरी जनैको गाँठो देखेर जनैधारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ । 

यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणिक कालमा सुनको बनाउने गरिन्थ्यो कालांतरमा चाँदीको र अहिले आएर धागोको बनाउन थालिएको भन्ने भनाई रहेको छ। जनैधारण गर्दा नाभी भन्दामाथि अथवा तल हुन हुँदैन ठीक्क नाभीसम्म मात्र हुनुपर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ । बाल्यकाल पश्चात् विधिपूर्वक व्रतबन्ध कर्म सम्पन्न गरेर गुरुद्वारा गायत्रीमन्त्र प्रदान गरेपछि, एउटा निष्ठामय धर्म र सत्यको बाटो अवलम्बन गर्ने दृढ संकल्प लिएर देब्रे कांधमाथि पर्ने गरी दाहिने हातबाट छिराई गुरुले मन्त्रेर तयार पारेको जनै ग्रहण गरिन्छ । हिन्दू धर्मका वैदिक ग्रन्थअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात वेदोक्तकर्म सम्पादन गर्न र वेदअध्ययन गर्ने अधिकार प्राप्तिका लागि धारण गर्न मन्त्रिएको धागो हो । 

वैदिक सनातन वर्णाश्रम धर्म मान्नेहरूले ब्रतबन्ध गरेका दिनदेखि प्रत्येक दिन त्रिसन्ध्या गायत्री जप गर्नुपर्छ र  जनैपूर्णिणाको दिन नयाँ यज्ञोपवित धारण गर्नुपर्छ । धार्मिक शास्त्रअनुसार मनमस्तिष्क र चित्त शुद्धीका लागि व्रतबन्ध गरिन्छ । शरीरमा रहेका सूक्ष्म बिन्दूहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन्।  दर्शनअनुसार जनैलाई ब्रह्मसूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ । यो पर्वको महत्त्व  बारेमा विभिन्न ग्रन्थहरूमा बर्णन गरेको पाइन्छ।

हिन्दूहरूको धार्मिक तथा साँस्कृतिक पर्व जनैपूर्णिमा नयाँ यज्ञोपवित धारणा तथा रक्षाबन्धन गरी धुमधामका साथ मनाइन्छ । तागाधारी जातिले अघिल्लो दिनदेखि नै चोखोनितो गरी एक छाक खाने, पूर्णिमाको दिन बिहानै नदी, तलाउमा गई गाईको गोबर तथा तुलसीको माटो लगाई नुहाउने तथा जौं, तिल, कुशद्वारा ऋषितर्पणी गरी वैदिक विधिपूर्वक मन्त्रिएको नयाँ जनै (यज्ञोपवित) फेर्ने चलन रहेकाले यस पर्वलाई जनैपूर्णिमा भन्ने गरिएको हो । जनैपूर्णिमा पर्व मनाउँदा यसमा तीन कुराहरू सँगसँगै आएका हुन्छन् । ती हुन् यज्ञोपवीत, रक्षाबन्धन र ऋषितर्पणी ।

हिन्दू दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो भनिएकोले जनैको बनोट र यसको धार्मिक र पौराणिक अर्थअनुसार जनैका  दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीनयोग मानिन्छ । यसदिन यजमानहरू बिहान सबेरै आ–आफ्ना गुरू पुरोहित कहाँ जाने गर्दछन् । पुराणमा बताइएअनुसार सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू वृहस्पतिले रक्षा विधान तयार गरी जोगाएका तथा वामनअवतार विष्णुले राजा बलिलाई डोरो बाँधी वचनबद्ध गराएर तीनै लोक लिएको धार्मिक किम्वदन्तीसँग  रक्षाबन्धनको सम्बन्ध जोडिएको छ। 

जनै  बनाउँदा तीन सुता भएको धागालाई नछिनाली  संकलन गरेर बराबर पारेर बाटी त्यसलाई तीन भागमा बनाई बाट्दा नौ डोरा हुन्छ । जनैमा रहने तीनवटा शिखाका नौवटा धागो डोरामध्ये एउटा शिखामा रहेका तीन डोरालाई, ब्रह्मा, विष्णु र महेश्वर अर्को तीनमा कर्म, उपासन र ज्ञानयोग र अर्कोमा ऋषिऋण, पितृऋण र देवऋणको प्रतीक र सूचक भनेर पनि  मानिन्छन् । यसैगरी सत्व, रज, तमको र ब्रह्मचर्य, गृहस्थ र वानप्रस्थ तीन आश्रमको पनि प्रतीक र सूचक मानिन्छ । जनैको लम्बाइ ९६ अंगुल हुन्छ किनकि जनैधारण गर्ने व्यक्तिले ६४ कला र ३२ विद्या सिक्ने प्रयास गर्नुपर्ने हुन्छ भनिएको छ । बत्तीस विद्यामा चार वेद, चार उपवेद, ६ अंग, ६ दर्शन, तीन सूत्रग्रन्थ र नौं अरण्यक मिलेर बन्छन् । 

चौसट्ठी कलामा नृत्यकला, व्यञ्जनकला, चित्रकारिता, यन्त्र निर्माण आदि पर्छन् । संन्यास आश्रममा यज्ञोपवितलाई विसर्जन गरिन्छ । यसले गर्दा सदैव दायित्व र कर्तव्यबोधको बाटोमा डोहोर्याई असल पथिक बनाउने छ भन्ने मान्यता छ । जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छन् । 

वैदिक मन्त्रद्वारा शोधन गरी  हातमा डोरो लगाउने र अभिमन्त्रित रक्षासूत्र ब्राह्मणद्वारा सबै यजमानका हातमा लगाइदिने परम्परा छ । त्यसो त जनैपूर्णिमाका चारपक्ष पनि रहेका छन् । श्रावणी स्नान, यज्ञोपवित, रक्षाबन्धन र ऋषि तर्पणी । प्राचीन वैदिक कालखण्डदेखि मनाउँदै आएक‍ो श्रावण शुक्ल पूर्णिमाको दिन विधिवत् ढंगबाट शास्त्रीय मर्यादाले मन्त्रिएको नयाँ जनै तथा रक्षासूत्र डोरो लगाएर जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाउने गरिन्छ । जनैको नौसूतामा भिन्न भिन्न नौ देवताको अधिष्ठान हुन्छ भनिएको छ र शास्त्रमा यसरी भनिएको पनि छ–

ॐकारः प्रथमे तन्तौ द्वितीयेऽग्नि स्तथैवच । तृतीये नागदैवत्यं चतुर्थे सोमदेवता ।। पञ्चमे पितृदैवत्यं षष्ठे चैव प्रजापति । सप्तमे मारुतश्चैव ह्यष्टमे सूर्य एव च ।। सर्वे देवास्तु नवम इत्येतास्तन्तु देवतास्। ब्रह्मणोत्पादितं सूत्रं विष्णुना त्रिगुणी कृतम् । रुद्रेण दत्तो ग्रन्थिर्वै सावित्र्या चाभिमन्त्रितम् ।।

ती देवताहरुका पनि नौ गुण रहेका छन् । पहिलो देवता ॐ कारको गुण हो– ब्रहज्ञान। दोस्रो अग्नि देवको गुण हो–तेज । तेस्रो अनन्त देवको गुण हो –धैर्य । चौथो चन्द्रदेवको गुण हो – शान्ति अथवा शीतलता । पाँचौ पितृदेवको गुण हो–स्नेहशीलता । छैटौं प्रजापति देवताको गुण हो –प्रजापालन। सातौं वायुदेवको गुण हो –बल । आठौं सूर्यदेवको गुण हो– प्रकाश । नवौं सर्वदेवताको गुण हो –सात्विकता । यी गुणहरुको प्रतीक मानिने यज्ञोपवीतलाई ब्रह्माले सूत्र पैदा गर्नु भयो र विष्णुले तीनगुना गर्नुभयो । शिवजीले गाँठो पार्नु भयो र सावित्रीले अभिमन्त्रित गर्नुभयो । यस्तो पवित्र यज्ञोपवित विधिपूर्वक पूजा गरी धारण गर्नाले सम्पूर्ण उक्त गुणहरुले भूषित हुन जान्छ भन्ने विश्वास गरिन्छ । शास्त्रमा भनिएको छः
 पौर्णमास्यां श्रावणस्य स्नानकर्समाचरेत् ऋषि तर्पणकं कुर्यात् ब्राह्मणस्य प्रपूजनम् पौर्णमास्यां दक्षहस्ते कङ्कणं धारयेत्तुवै ।।

यसै दिन सप्तऋषि कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि र वशिष्ठ गरी सात ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले जनैपूर्णिमाको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिएको छ । ज्ञान र सफल जीवनमार्गको शिक्षा दीक्षा गर्ने ऋषिहरुको मान सम्मानमा ऋषि तर्पण गरी अभिमन्त्रित जनैधारण गरेर धार्मिक तथा पवित्रकार्य सम्पादन गर्नुपर्छ। जनै लगाउनुको धार्मिक महत्त्वमात्र नभएर  वैज्ञानिक महत्त्व पनि छ भनी धेरै विद्वानले स्पष्ट पारेका छन् । स्वीट्जरल्याण्ढका स्थायी बासिन्दा  ‘रुडोल्फ होगर’ ले हिन्दू धर्मावलम्बी तागाधारीहरुले लगाउने जनै र यसको ऐतिहासिक पक्षलाई समेटेर  ‘दि सेक्रेट थ्रेइड’ नामक पुस्तक नै लेखेका छन् । पुस्तकमा जनै, यसको धार्मिक एवं ऐतिहासिक महत्व र आधुनिक समाजमा मानिसको मनोवैज्ञानिक पक्षलाई पार्ने सकारात्मक प्रभाव लगायतका विषयहरूलाई स्पष्ट रुपमा उल्लेख गरिएको छ । होगरले जनैलाई दी पावर अफ ट्रिनिटीको रुपमा व्याख्या गरेका छन् ।

जनैको वैज्ञानिक महत्त्व
हुनत हाम्रो सनातन धर्मका प्रचलनहरूलाई विज्ञानको ल्याबमा राखेर कति फाइदा भनेर हिसाब गर्नु राम्रो होइन । कुनै पनि धर्मका कुनै पनि संस्कार पहिले ल्याबमा राखेर यति धेरै फाइदा हुन्छ भनेर बनाइएका छैनन् । त्यसकारण संस्कृति, मान्यता वा परम्परामा विज्ञानका आँखाले हेरेर मान्ने कुरा होइनन् । मान्छेले पश्चिमको उदाहरण दिएर त्यसको के के फाइदा भनेर असहमति पनि जनाएको पाइन्छ र पश्चिमाको अन्धानुकरण गरेको पनि देखिन्छ । 

पश्चिमी सभ्यतामा पनि त्यस्ता पारम्परित थुप्रै संस्कार छन् । जुन विज्ञानको तुलोमा राखेर जोख्न सकिदैन । अर्काको सम्पत्ति चोरेर खानको लागि मरिहत्ते गर्नुभन्दा आफ्नै सम्पत्ति जोगाएर खानुको मज्जा छुट्टै हुन्छ ।  त्यसमा केही शंकास्पद समस्या छन् भने परम्परालाई साक्षी राखी छलफल गरेर  निष्कर्ष निकाल्नु उपयुक्त हुन्छ न कि ठाडो स्वरमा आफ्नै धर्ममाथि  प्रहार गर्ने । विज्ञानको आँखाबाट हेर्दा र अध्ययन गर्दा पनि हाम्रा परम्परा वैज्ञानिक नभएका होइनन् । वैज्ञानिक दृष्टिबाट पनि जनै लगाउँदा मानिस झनै स्वस्थ्य रहने पत्ता लागेको छ । जनै लगाउने व्यक्ति सफाइको नियममा बाँधिएको हुन्छ । सफाइले उसको दाँत, मुख, पेट आदिका रोगबाट बचाउँछ । जनैलाई दाहिने कानमा बेर्दा कानको नसा थिचिन्छ अनि मस्तिष्कको सुषुप्त तन्तुले काम गर्छ । दाहिने कानको नसा अण्डकोष र गुप्तांगसँग जोडिएको हुन्छ । मूत्र विसर्जन गर्दा दाहिने कानमा जनै बेर्दा शुक्राणुको रक्षा हुन्छ । 

कानमा जनै बेर्दा सूर्य नाडी जागृत हुन्छ र एवं पेटसम्बन्धी रोग र रक्तचापको समस्या हट्छ । जनै धारण गर्दा विद्युत् प्रवाह रेखा नियन्त्रणमा रहन्छ र काम क्रोध नियन्त्रण गर्न सहज हुन्छ । जनैले पवित्रताको अनुभव गराउँछ । मनलाई खराब काममा लाग्नबाट यसले जोगाउँछ भनिएको छ । धार्मिक आस्थाका रुपमा जनै लगाउदा धेरै राम्रा र मानव जीवन स्वस्थ राख्नको लागि माध्यमको रुपमायसले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। जनै सफा गर्दा शरीरबाट निकालेर बाहिर राख्नु हुँदैन भन्ने मान्यता छ । सफा गर्नका लागि घाँटीमा नै त्यसलाई राखेर घुमाउँदै धुनुपर्छ । झुक्किएर जनै शरीरबाट निस्कियो भने प्रायश्चित्तका लागि एक माला गायत्री जप गरेर बदल्ने नियम  बताइको पनि छ।

रक्षाबन्धन र राखीबन्धन
कुनै भवितव्य नआइलागोस् ,दुस्ख वा संकटबाट मुक्ति पाइयोस् भनी जनैका साथमा हातमा धागाको डोरो बाध्ने प्रचलन नै रक्षा बन्धन हो भने दिदीबहिनीले दाजुभाइलाई  हातको नाडीमा बाँधिदिने डोरोलाई राखी भनिन्छ । राखी बाध्ने प्रचलन नेपालको तराई र भारतमा बढी प्रचलित छ । तराईमा दिदीबहिनीले आफ्ना दाजुभाइको नाडीमा दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै राखी बाँध्दै रक्षाबन्धन पर्व मनाउँछ्न् । मधेशी समुदायमा रहेको राखी बाँध्ने चलन पछिल्ला वर्षमा पहाडी समुदायमा पनि आएको देखिन्छ । दिदीबहिनीले आफ्ना दाजुभाइको हातमा राखी बाँधेर दीर्घायु र प्रगतिको कामना गर्दै  दाजुभाइले दिदीबहिनीलाई केही उपहार अथवा दक्षिणा पैसा दिन्छन् तथा बहिनीको रक्षा गर्ने वचन दिन्छन् ।रक्षाबन्धन पर्वले भाइबहिनीको प्रेमलाई झन प्रगाढ बनाउने जनविश्वास छ ।

पुरोहित वा ब्राह्मणले रक्षाबन्धन हातको नाडिमा बाँधिदिन्छ्न् र बाँधिदिने बेलामा प्रायः निम्न मन्त्र भन्ने गरिन्छ –
येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः
तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमा चल’ ।।

यस मन्त्रको अर्थ हो– ‘‘सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरू वृहस्पतिले रक्षा विधान तयार गरी अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ” । 
रक्षा बन्धनका सम्बन्धमा एक शास्त्रमा बताइएको कथाअनुसार जब यमदूतले बहिनी यमुनासँग राखी बाँध्ने समयमा भनेका हुन्छन् कि जसले यस पवित्रताको राखी बाँध्छ ऊ यमदूतको सजाय अथवा भयबाट मुक्त हुन सक्दछ । यो पर्व भारतमा अलग्गै प्रकारले मनाइन्छ । यसदिन बहिनीहरूले आफ्नो भाइको हातमा पवित्र धागो रक्षाबन्धन (राखी)बाँधेर, टीका लगाएर मिठाई खुवाउँछन् । भाइले बहिनीलाई केही उपहार दिई भाइ बहिनीको प्रेम अमर रहोस् भन्ने कामना गर्दछन् । तथा बहिनीको रक्षा गर्ने वचन पनि दिन्छन् ।

क्वाँटी खाने चलन
जनैपूर्णिमाका दिन मास, भटमास, केराउ, मुग, चना, सिमी, गुराँस र बोडी गरी नौ थरिका गेडागुडी मिसाएर बनाइएको क्वाँटी खाने चलन छ । परापूर्वकालदेखि नै जनैपूर्णिमाका दिन क्वाँटी खाने प्रचलन आएको पाइन्छ । क्वाँटी शब्द नेपाल भाषाको क्वाति शब्दबाट बनेको हो, जस अनुसार ‘क्वा’ को अर्थ तातो र ‘ति’ को अर्थ झोल वा सुप अर्थ लाग्ने भएकोले क्वाति वा क्वाँटि को अर्थ तातो सुप भन्ने बुझिन्छ । 

जनैपूर्णिमाको समयमा अधिकांशको घरमा गेडागुडीको परिकार क्वाँटी खाने चलन छ । चना, मस्याङ, मुगी, बोडी, मास, भटमास, ठूलो सिमी, ठूलो केराउ, सानो केराउ मिसाएर खानेचलन छ । यस्ता गेडागुडीको मिश्रण खानु अघि यसलाई टुसा उम्रेने गरी पानीमा भिजाउने चलन छ । चार दिन भिजाएर टुसा उम्रेपछि मात्र पकाइने यस्ता परिकार स्वास्थ्यका लागि फाइदा जनक छन् । टुसा उमारी बनाइने विशेष प्रकारको परम्परागत नेपाली परिकार झोलले खेतीपातीका क्रममा थकित शरीरमा शक्ति प्रदान गर्दछ ।  यसैदिन टुसा उमारिएको पौष्टिक तत्वयुक्त क्वाँटीक्वाँटी खाइनुले यसलाई प्रकृतिसम्मत पर्वका रूपमा पनि लिइन्छ ।अंकुरित गेडागुडी स्वास्थ्यका लागि राम्रो हो । यसमा भरपुर मात्रामा प्रोटिन हुन्छ । साथै भिटामिन र मिनरल्सको स्रोत पनि हो यो । हामी नेपालीहरूको प्रमुख पेशा कृषि हो ।

हामी  धेरै कृषि उद्यममा आधारित जीवनशैलीमा बाँचेका छौं । यतिबेला खेती किसानी गरेर थकित भएका हुन्छन् । खेती किसानीको क्रममा शारीरिक श्रम बढी गर्दा शरीरलाई अतिरिक्त उर्जाको खाँचो हुन्छ । त्यसैको परिपूर्ति गेडागुडी अर्थात् प्रोटिनले गर्छ । प्रोटिनले मांसपेशीलाई स्वस्थ्य राख्ने काम पनि गर्छ । खेतीपातीको कामले थकित शरीरमा उर्जा ल्याउन र चिसो भगाउन क्वाँटी खाँदा धेरै फाइदा हुन्छ ।

पोषणविद्का अनुसार क्वाँटी आफैमा प्रोटिनको सम्पूर्ण स्रोत हो । यो शक्तिवद्र्धक एवं पौष्टिक आहारा हो । यसमा भिटामिन बिका सबैजसो प्रकार पाइन्छ । पोषणविद्का अनुसार यसरी विभिन्न गेडागुडीबाट  बनाइएको क्वाँटीले शरीरमा तत्काल आवश्यक उर्जा प्राप्त हुन्छ । मांसपेशीको मर्मत संभारमा सहयोग गर्छ । रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । रक्तसंचार र स्नायु प्रणालीमा फाइदा पुग्छ ।

कब्जियतको समस्या हटाउँछ र मधुमेह तथा पायल्स भएकालाई फाइदाजनक मानिन्छ । क्वाँटीमा अत्यधिक प्रोटिन पाइने हुनाले खाने मात्रामा भने ख्याल गर्नु पर्ने देखिन्छ । किनभने जब शरीरमा प्रोटिनको मात्रा बढ्छ, युरिक एसिड बढ्ने भय हुन्छ । यसको भार मिर्गौंलामा पर्न सक्छ । अत्याधिक वा अनियन्त्रित क्वाँटी सेवन गर्दा त्यसले मिर्गौलालाई असर गर्छ ।

अन्त्यमा , जनै र रक्षाबन्धन कसले लगाउन हुने र नहुने भन्ने कुरामा केही विरोधाभास  पनि छ। प्रायः बाहुन र क्षेत्री पुरुषले जनै  लगाउँछ्न् भने महिलाले जनै लगाउँदैनन् । समाजमा तथाकथित वैश्य र शुद्र जातिले जनै लगाउँदैनन् । केही समय पहिले दलितले रक्षाबन्धन बाँध्ने चलन थिएन तर अहिले बाँध्न थालेको पाइन्छ । पौराणिक कालमा महिला पुरुष दुवैले जनै धारण गर्थे भनिएको पनि छ । किन यसरी सबैले लगाउन मिल्ने जनैलाई महिलाले लगाउन नहुने भनेर यो परम्परा विस्थापित भयो अनुसन्धानको विषय रहेको देखिन्छ । हिन्दू धर्म विपरीत केही मान्यता स्थापित छन् भने अध्ययन गरी तिनलाई हटाउनु पर्छ र हाम्रा मान्यता हामीले पालन गर्नुपर्छ । 



नयाँ