- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत । अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।। परित्राणाय साधुनां विनाशाय च दुष्कृताम् । धर्म संस्थापनार्थाय संभवामि युगे युगे ।।’
माथिको श्लोक श्रीमद्भागवत गीताबाट लिइएको हो । श्रीमद्भागवत गीता त्यस्तो सर्वोत्तम ग्रन्थ हो जसले जीवन दर्शनको गहन अर्थ दिन्छ । यो पौराणिक ग्रन्थमा जीवनको सार छ भनी धेरै विद्वानहरूले भन्दै आएका छन् । यसको रचना महर्षि वेदव्यासले गरेका थिए ।
खासगरी महाभारत युद्धमा अर्जुन र उनका सारथी श्रीकृष्णबीच भएको संवादमा आधारित छ गीता । गीतामा ज्ञानयोग, कर्म योग, भक्ति योग, राजयोग, एकेश्वरवाद आदि कुराको चर्चा गरिएको पाइन्छ । यसमा १८ अध्याय छन् जसले हाम्रो जीवनसँग जोडिएको हरेक प्रश्नको जवाफ दिएका छन् ।
यी माथि दिइएका दुई श्लोक गीताको चौथो अध्यायका सातौं र आठौं श्लोक हुन् । यसमा श्रीकृष्णले अर्जुनलाई धर्मपरायणको संरक्षण र अधर्मीको विनाशका लागि गुरुको अत्यधिक महत्व रहेको बताएका छन् । अहिले कलियुगमा गीतामा व्यक्त भएका जीवन दर्शन अर्थपूर्ण हुँदै गएको देखिन्छ ।
संसारमा धार्मिक क्रियाकलापप्रति रुचि र आस्था घटेर मानव समाज जुन बेला स्वर्थान्धता र निन्दनीय कामतिर प्रवृत्ति बढाउन थाल्दछ, त्यस समयमा भगवानले अवतार ग्रहण गरेर सत्मार्गको निर्देश गर्नुहुन्छ भन्ने भाव उपर्युक्त श्लोकमा प्रकट भएको छ ।
यसै कुरामा आस्था र विश्वास गर्दै यज्ञादि कर्म, वेदाध्ययन, सर्वभूत दया, परोपकार, ममता, वसुधैव कुटुम्बकम् जस्ता मानवीय भावनालाई मानिसले बिर्सन लागेकोदेखि मानव समुदायमा सद्भाव, मानवीय नाता कायम राखी धर्मलाई लोप हुनबाट बचाउनका लागि साक्षात् वैकुण्ठबासी नारायण नै स्वर्गद्वारी प्रभुका रूपमा अवतीर्ण भएको विश्वास गरिएको पाइन्छ ।
जसको प्रभावले सयौं वर्षदेखि आजसम्म स्वर्गद्वारीमा स्वाहाकारका गगनभेदी ध्वनि, चित्तरंजक वेदध्वनि गुन्जायमान भएको पाइन्छ । स्वर्गद्वारीको पौराणिक महत्त्वका बारेमा चर्चा गर्दा प्राचीनकालमा पञ्चपाण्डले यज्ञ गर्दै जाने क्रममा अन्तिम यज्ञ यही स्वर्गद्वारीमा गरेका थिए भनिएको छ।
यही यज्ञबाट देह त्यागी स्वर्ग पुगेकाले स्वर्गद्वारी भनिएको बताइएको पाइन्छ । त्यस्तै यहाँ परापूर्व कालमा ऋषिहरू बसेर तपस्या गर्ने गरेको र भगवान ब्रह्मा स्वयंले पनि यही तपस्या गरेको जनश्रुति चलिआएको छ। यसै ठाँउमा स्वर्गद्वारी प्रभुका नामले परिचित स्वामी कपिलानन्दले विश्वशान्तिको पवित्र कामनाले अखण्ड महायज्ञ प्रारम्भ गर्नुभएको हो भनिएको छ ।
महाप्रभु आफ्नो पाँच वर्षको उमेरदेखि नै तपस्वि भएकोले उनलाई लाई बाल तपस्वि पनि भनिन्छ । उनको जन्म वर्तमान नेपालको लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लाको रुम्टी गाउँमा वि. सं. १९१६ सालको श्रावणशुक्ल पुत्रदा एकादशी तिथिमा नारायण गोपाल गौतम क्षेत्री नै स्वामी कपिलानन्दबाट चिनिएका हुन् ।
तिनै कपिलानन्दलाई महाप्रभु भनिएको हो । उनी एक वर्षको हुँदा उनको नाम महाप्रभु राखिएको थियो । उनले आफ्नो जन्मस्थानमा यज्ञ गर्नका लागि पवित्र भूमि नभेटेपछि पञ्चपाण्डवहरूले यज्ञ गरी स्वर्ग गएको भनिएको पुण्यस्थलमा वि.सं. १९५२ मा यज्ञ गरेका थिए ।
उनै महाप्रभुले महायज्ञ गरेपछि अझै स्वर्गद्वारीको महत्व बढ्दै गएको हो । पौराणिक इतिहास बोकेको स्वर्गद्वारी मन्दिरमा नेपाल तथा अन्य देशका भक्तजनहरु आउने गर्छन् । शिवरात्रि, अक्षय तृतीया, गुरु पूर्णिमा र रामनवमीमा भक्तजनको घुइँचो बढी लाग्ने गर्छ।
यहाँ विभिन्न धार्मिक कार्य अविच्छिन्न रूपमा चल्दै आएका छन् । यहाँ पुग्ने दर्शनार्थी वैदिक संस्कृतिको सजीव र जल्दोबल्दो रुप माधुरिको शालीनतालाई अनुभव गरी नतमस्तक बन्दछन् । वैदिक सनातनधर्मको आधारस्तम्भ स्वर्गद्वारी आश्रमको संस्थापक त्रिकालदर्शी श्री स्वर्गद्वारी महाप्रभु वि.सं. १९९७ को मार्ग शुक्लपक्षको चौथी तिथिमा आफ्नो पांचभौतिक शरीर त्यागी महासमाधिमा लीन हुनुभएको थियो ।
प्यूठान जिल्लाको सदरमुकाम खलङ्गाबाट झण्डै २६ किलोमिटर पश्चिमतर्फ ६९६० फिट उचाइ भएको लेकमा अवस्थित प्रसिद्ध धार्मिक स्थल नै स्वर्गद्वारी हो । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण यस स्वर्गद्वारीमा सिङ्गमर्मरमाथि शिवलिंग राखी निर्माण गरिएको पक्की मन्दिर रहेको छ भने यसको वरपर सयौँको संख्यामा गाइपाल्ने गाईगोठ, रमणीय गुफा, यज्ञशाला तथा पोखरीहरू रहेका छन् ।
हरेक वर्षको वैशाख पूर्णिमा र कार्तिक पूर्णिमाका दिन यहाँ विशाल धार्मिक मेला लाग्दछ । नेपालका विभिन्न स्थान तथा भारतबाट समेत हजारौँको संख्यामा तीर्थयात्रीहरू मेलामा सहभागी हुन यहाँ आउँछन् ।
स्वर्गद्वारीमा त्यहाँका महाप्रभुले करिब १२६ वर्षअघि सुरु गरेको अखण्ड होम अहिले पनि जारी रहेको छ । स्वर्गद्वारीमा संस्कृत पाठशाला र वेद विद्याश्रम सञ्चालन भएको पनि पाइन्छ र वेद तथा धर्मकर्मको अध्ययन गर्नको निम्ति टाढा टाढाबाट आउने विद्यार्थीहरूलाई खानपिन र बसाइको निःशुल्क व्यवस्थासमेत रहेको पाइन्छ ।
स्वर्गद्वारी र अस्कुनाको सम्बन्ध
स्वर्गद्वारीका महाप्रभु स्नान गर्नको लागि पद्मावती नदीको एक पवित्र स्थल अस्कुना आउनु हुन्थ्यो भन्ने जनश्रुति पाइन्छ । प्रभुले नै तीर्थालुलाई स्वर्गद्वारी आउन गाह्रो भए अस्कुना गएर पूजाआजा र स्नान गर्दा पनि यहाँ जत्तिकै फल प्राप्त हुन्छ भनेर भन्नुभएको भन्ने जनश्रुति छ । यसैका आधारमा यस ठाउँको महत्त्व रहेको पाइन्छ ।
लुम्बिनी प्रदेश अन्तर्गत गुल्मी जिल्लाको धुर्कोट र मदाने गापामा यो तीर्थस्थल पर्दछ। अस्कुनाको लागि सम्बन्धित निकायले पूर्वाधार निर्माण , यातायात व्यवस्था ,संरक्षण अनि प्रचारप्रसार गरिदिने हो भने आन्तरिक तथा बाह्य पर्यटनको लागि प्रचुर सम्भावना देखिन्छ ।
नजिकको तीर्थ हेला होइन तिनलाई माया र संरक्षण गर्नुपर्दछ । नेपालमा धेरै प्रसिद्ध पौराणिक र धार्मिक तीर्थस्थल रहेका छन् । ती तीर्थस्थलहरू ओझेलमा परेका छन् । यी ठाँउहरू प्रचार प्रसार नहुनु, यिनको महत्त्व नबुझ्नु,यातायातको सहज सुविधा पनि नहुनु आदि समस्या रहेका छन् ।
बत्ती मुनि अँध्यारो भनिन्छ । आफ्नो घरछेउँमा रहेका पौराणिक तपोभूमिलाई महत्त्व नदिई बाहिरको गुणगान गरिरहेका हुन्छौं । हाम्रै मुलुकमा र हामीमै प्रचुर सम्भावना छन् तर हामी आफ्नै देशमा रहेको सम्पदा बेवास्ता गर्दै बाहिर बाहिर पाइन्छ भन्दै भौतारिइरहेका छौँ ।
नेपालभित्र रहेका थुप्रै सम्पदा तथा तीर्थस्थलहरू हामी नेपालीको सभ्यता र अस्तित्वसङ्ग जोडिएका हुन्छन् । ती सबैको संरक्षण र प्रचार प्रसार गर्नु हाम्रो कर्तव्य हो।
आजको मान्छे शहरीया उकुसमुकुस भन्दा ग्रामीण सौन्दर्यता र प्राकृतिक रमणीयतामा मन पराउन खोज्दै छ। भौतिकवादको मात्र अन्धभक्त हुँदा मान्छे मेसिन बन्छ । क्षणिक फाइदा त होला तर मान्छेको लागि शारीरिक र मानसिक रुपमा दीर्घकालीन फाइदा हुँदैन ।
त्यसकारण मान्छेलाई भौतिक ज्ञान सहित अध्यात्मिक र पौराणिक ज्ञान पनि महत्त्वपूर्ण हुन्छ। जीवलाई खुशी र सुखी बनाउन मानिसलाई प्राकृतिक, आध्यात्मिक जीवन जिउन सिक्नु सिक्नुपर्छ । प्राकृतिक, आध्यात्मिक ज्ञान प्राप्त गर्न हाम्रै ऐतिहासिक र पौराणिक सम्पदालाई संरक्षण गर्नुपर्छ । यस्तै पौराणिक महत्त्व भएको एक तीर्थस्थल अस्कुनाका बारेमा यहाँ चर्चा गर्न गइरहेको छु।
अस्कुना एउटा प्रसिद्ध पौराणिक , धार्मिक र पर्यटकीय तीर्थस्थल हो । गुल्मी जिल्लाको धुर्कोट गापा र मदाने गापामा पर्ने पनाहा (पौराणिक ग्रन्थमा यस नदीलाई पन्नगा, कतै सुनभद्रा र कतै पद्मावती भनिएको छ) नदीको तटमा यो तीर्थस्थल पर्दछ। संस्कृतमा पन्नगा भनेको सर्प हो। सर्प जस्तै बगेको हुनाले यसलाई पन्नगा भन्दाभन्दै पनाहा भनिएको हो भनिन्छ।
खासगरी यो नदी शिरदेखि पाउसम्म ४५ किलोमिटर छ। यो नदीको शिर गुल्मीको प्रसिद्ध मदाने लेक हो । यो नदी छल्दी नदीमा मिसिएको छ । यो नदी छल्दी, निस्ती, बडिगाड हुँदै कालीगण्डकीमा मिसिन्छ ।
यही पनाहा खोलामा दोस्रो स्वर्गद्वारी भनेर चिनिएको त्यही तीर्थस्थल हो –अस्कुना । यो ठाउँको एउटा पाखो भन्भने (मदाने–७) मा पर्दछ भने अर्को पाखो वाग्ला (धुर्कोट–६) मा पर्दछ ।
यो ठाउँ यस नदीकै सबैभन्दा साँघुरो क्षेत्र हो । यसको क्षेत्रफल १ मिटर चौडाई, ११ मिटर लम्बाई र २५ मिटर उचाई रहेको छ ।
अस्कुनामा औंसी, संक्रान्ति पूर्णिमामा स्नानको लागि मेला लाग्दछ । यस पूण्यभूमिमा स्नान, ध्यान, पाठ, पूजा गर्नाले मनको इच्छा पूरा हुने र मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने विश्वास छ । अत्यन्त साँघुरो ठाउँबाट नदी बगेकी हुनाले जादूगरी घोत्घोत् ध्वनि आउँछ।
घोतघोत् स्वर भएकै कारण नजिक कालिमामय गजधम्म परी खडा भएको ओडार र पहराहरूमा धेरै आकृति रहेका छन् । नदीको वारीपारी भित्तोको ढुङ्गाको पत्थरमा सुनका फाली, नागनागिनीहरूका चित्र , विभिन्न पशुपंक्षीका आकृति देवी देवताका प्रतिमूर्तिहरू प्रतिबिम्बित भएको पाइन्छ । यहाँको प्राकृतिक सौन्दर्यताले यस पौराणिक तीर्थस्थललाई सुनमा सुगन्ध थपिएको छ।
दोस्रो स्वर्गद्वारीको नामबाट प्रसिद्ध भए तापनि यहाँ तीर्थस्थलका पूर्वाधारहरू बनिसकेका छैनन् । यस अस्कुना पुण्यभूमिको संरक्षण, सम्बर्द्धनमा हामी सबैको भूमिका हुनुपर्छ ।
हाल यस ठाँउको संरक्षण र सम्बर्द्धन गर्न संस्थागत रुपमा हुँदैछ । हाल मुरलीधर शर्माको अध्यक्षतामा ११ सदस्यीय समितिले त्यस ठाउँमा मन्दिर, मोटरबाटो, विश्रामालय आदि पूर्वाधार निर्माण गर्न जुटेको देखिन्छ । तर बजेटको अभावले पूर्वाधार निर्माण हुन सकेको छैन ।
अस्कुनाको महत्त्व दर्शाउँदै समाजसेवी, धार्मिक व्यक्तित्व, पूर्व शिक्षक तथा कवि मुरलीधर शर्माले अस्कुना खण्डकाव्य नै प्रकाशन गर्नुभएको छ। सबैले आ–आफ्नो ठाउँ बाट जेजस्तो सहयोग गर्न सकिन्छ गरौँ। जय अस्कुना ! जय स्वर्गद्वारी !!
लेखक पन्थी