arrow

आज होइन आजीवन बुबाको मुख हेरौँ

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ भदौ २२ मंगलबार
rajendra-panthi-article3.jpg

हाम्रो सनातन परम्परामा एउटा महत्त्वपूर्ण दिन हो कुशे औंशी अर्थात् बुबाको मुख हेर्ने दिन। वास्तवमा हाम्रो हिन्दू धर्म परम्परामा पृथ्वीका हरेक तत्व र पक्षलाई असाध्यै महत्त्व दिएको छ। हरेक दिन कोही र कसैलाई सम्झन र पूजा गर्न दिन तोकिएको छ । यस सृष्टिका सबै तत्त्व उत्तिकै महत्त्वपूर्ण छन् । यो सृष्टि निर्माण र अस्तित्वको लागि सानो कीटपतङ्गरदेखि ठूलाठूला ग्रह नक्षत्रको उत्तिकै भूमिका छ। हिन्दू धर्म परम्परामा रुख ,बिरुवा, जनावर, मान्छे र ग्रह सबैको पूजा गर्नुपर्छ भनिएको छ ।

किनभने सबैको अस्तित्वबाट नै आफ्नो अस्तित्व देखिने हो । जब अरुलाई स्वीकारिन्छ भने त्यहाँ आफ्नो अस्तित्व पनि रहन्छ । जब अरुलाई स्वीकारिँदैन त्यहाँ आफू पनि भइँदैन । सम्पूर्णता नै यो धर्ती हो। कुनै कुरा आफैंमा पूर्ण छैन । पूर्ण हुनको लागि सबैको आवश्यकता पर्दछ । कसैले म बलियो छु, सम्पन्न छु, केही र कोही चाहिँदैन भन्छ भने त्यो क्षणिक हो ।

सृष्टि, विश्व, देश, धर्ती, समाज, बुबाआमा इष्टमित्र, आफन्त छन् र पो आफू भइएको छ । कल्पना गरौं त यी छैनन् भने आफू हुन सकिएला र ! मान्छेको जीवनमा उसका विभिन्न अवस्थाहरू पार गर्दै जानुपर्छ । मान्छे जन्मन्छ, परिवार, समाज, देशमा उसले आफ्नो  भूमिका केही न केही निर्वाह गर्छ अनि अन्त्यमा मर्छ । मान्छेको निश्चित आयु छ । जति मन लाग्यो त्यति बाँच्न सक्दैन त्यही भएर मान्छे बाँचुन्जेल सत्कर्म गर्नुपर्छ । मान्छे जो पनि बच्चा, तन्नेरी, युवा र बुढो हुँदै उसको जीवनलीला समाप्त हुन्छ । 

मान्छे निश्चित उमेर पुगेपछि बुवा बन्ने सामर्थ्य हुन्छ र बन्छ। ऊ ठूलो जिम्मेवारीमा पर्छ धेरै दायित्व निर्वाह गर्नुपर्छ । ऊ आफ्नो लागि भन्दा छोराछोरीलाई बढी बाँचेको हुन्छ । बाबुआमाले छोराछोरीलाई कति माया गर्छन् भन्ने कुरा शब्दमा वर्णन गर्न सकिँदैन । आफ्नो मुटुको भन्दा छोराछोरीको माया गरी पालन पोषण गरेर हुर्काउँछन् । त्यो माया भनेको निस्वार्थ हुन्छ । हाम्रो पूर्वीय सभ्यतामा जन्माउने, हुर्काउने मात्र होइन शिक्षादीक्षा दिनेदेखि लिएर सम्पूर्ण व्यवस्था र जिम्मेवारी बुबाआमाले पूरा गरिदिएका हुन्छन् ।

बुबाआमा यस्ता व्यक्ति हुन् जसले आफ्ना सन्तान आफूभन्दा सफल भएको हेर्न चाहन्छन् । आफूभन्दा खुशी भएको हेर्न चाहन्छन् । आफूभन्दा प्रसिद्ध भएको हेर्न चाहन्छन् । आमाबुबाले नै छोराछोरीका लागि सबै कुरा त्याग्छन् । त्यसैले त आमाबुबालाई देवता समान भन्ने गरिन्छ । शिव पुराणमा पनि बुबाआमाको महिमालाई बुझाउँदै आमाबुबा संसारभन्दा महान् हुन् भनिएको छ । 

कथामा भगवान शिवले आफ्ना दुई पुत्र गणेश र कुमारको दक्षता र बुद्धि परीक्षण गर्ने हेतुले दुवैलाई एउटा प्रतिस्पर्धामा उतार्छन् । उनीहरुलाई भनिन्छ, कसले चाँडै पृथ्वीको फन्को लगाउन सक्छ, उसैले बाजी जित्छ । कुमार आफ्नो बाहन मयूरमा चढेर तुरुन्तै पृथ्वीको फन्को लगाउन थाल्छन् । यता गणेश आफ्नो बाहन मुसामा चढेर पृथ्वी फन्को लगाउन समर्थ हुँदैनन् । अन्ततः उनले आफ्नै माता पिताको फन्को लगाउँछन् । जित गणेशको हुन्छ । बुबाआमा भनेका पृथ्वी र साक्षात् भगवान हुन् । धार्मिक हिसाबले जेसुकै भए पनि यो प्रसङ्गले आमाबुबाको महत्वलाई दर्शाएको छ । छोराछोरीले सबैभन्दा श्रद्धा गर्नलायक पात्र भनेकै  बुवाआमा  हुन्  । 

कुशे औंशीको दिनलाई बुबाको मुख हेर्ने दिनको रुपमा मानिँदा बुबा नहुनेहरूले पितृलाई सम्झने र श्रद्धा गर्ने प्रचलन छ भने जसको बुबा हुनुहुन्छ उहाँलाई भेट्ने, कोशेली उपहार दिने र आशीर्वाद लिने प्रचलन छ । हिन्दूशास्त्रमा भनिएको छ–
‘पितृन्नमस्ये निवसन्ति साक्षाद्ये देवलोकेऽथ महीतले वा ।
तथान्तरिक्षे च सुरारिपूज्यास्ते वै प्रतीच्छन्तु मयोपनीतम् ।। (गरुडपुराण–अध्यायः८९)

माथिको श्लोकको अर्थ हुन्छ –मेरो पहिलो देवता त मेरा बुबा नै हुनुहुन्छ त्यसैले सबैभन्दा पहिले म मेरा बुबाकै पाउ पर्छु । म आफ्ना बुबालाई सशरीर रूपमा उपस्थित देवता मान्छु । बुबा त्याग र प्रेमका प्रतिमूर्ति हुनुहुन्छ । जीवनमा सफल हुने र प्रशंसा आर्जन गर्ने क्रममा चारैतिर भागदौड गर्दा हामीले आफ्नो जीवनदाता, आफ्नो उद्गम, आफ्नो शुभचिन्तक तथा सधैँ आफ्नो भलो चाहने व्यक्तिहरू एवं ती सम्बन्धको महत्व बिर्सिएका त हुँदैनौं ? 

वर्तमान नेपाली सामाजिक परिदृश्य हेर्दा हामी कतै अल्मलिएका त छैनौं । साक्षात् जिउँदो भगवान नचिनेर  रनभुल्ल जीवन बिताएका त छैनौं । जब हामीले आफ्नो बुबाआमाको सेवा वा रेखदेख गर्न सक्दैनौं भने हाम्रा छोराछोरीले के शिक्षा सिक्छ्न र पुनः उनीहरूबाट हामीले के आशा गर्ने ।

आखिर जीवन त चक्र नै हो । यो कर्म वा सेवा सधैं गर्नुपर्छ नकि एकदिन मात्र । आफ्नो दैनिक नित्यकर्म भित्र आफ्ना बुबाआमाको लागि पनि अनिवार्य समय छुट्टाउनु पर्छ । यस्ता पर्व आउँदा देखावटी गर्ने, सामाजिक संजालमा फोटो राख्ने, एउटा औपचारिकता मात्र दिने संस्कृति देखिन्छ । 

हाड घोटेर पसिना बगाएर आफ्नो शरीरको माया नगरी पालन पोषण गरेका छोराछोरीले आफू नसक्दा कुनै किसिमको जिम्मेवारी निर्वाह नगर्दा बुबाआमाको मन कस्तो हुन्छ होला, कल्पना गरौँ  त । बुबाआमा भनेका साक्षात् देउता हुन्  । उनीहरूमा  छोराछोरीप्रति  कहिल्यै नकारात्मक भावना आउँदैन । जहिले राम्रो होस् भनी आशीर्वाद दिन्छन् ।

छोराछोरीको कर्तव्य भनेको आफ्ना जन्मदिने बुबाआमालाई जहिले सेवा गर्नुपर्छ नकि भेट्नको लागि कुशे औंशी कुर्ने होइन । जब बुबाआमा  खुशी हुन्छन् अनि आफ्नो घर परिवार सबै खुशी हुन्छ । हिजो आफू कसरी हुर्कियो, बुबाआमाले कति दुःख र सङ्घर्ष गरे हुर्काए, पढाए आज  ती कुरालाई सम्झनु पर्छ र कहिल्यै आँखामा आँशु आउन दिनु हुन्न ।

कुशे औंसीका दिनलाई  बुबाको मुख हेर्ने दिन मात्र होइन बुबाको मुहारमा खुशी छ कि छैन अथवा किन ल्याउन सकिएन भनेर चिन्तन गर्ने र आजीवन बुबाको अनुहारमा खुशीछर्ने प्रतिबद्धता जनाउने दिन हो । औंसी अर्थात् अँध्यारो । आफ्ना सन्तानको जीवनमा कहिल्यै औंसीको रातजस्तो अन्धकार क्षण नआओस् भनेर जीवनभर कर्म गरेर सन्तानको खुशी चाहने जन्मदाता बुबाको मुहारमा कतै हाम्रो व्यवहार र शब्दले कुनै पीडा त दिएको छैन ? भनेर विशेष  मूल्यांकन गर्ने दिन हो । छोराछोरीले हरेक दिन नै बुबाको मुख हेर्ने दिन मनाउनु पर्छ ।

हामीलाई असल सन्तानको परिचय तब मिल्छ जब हामीमा बुबाको जस्तै निःस्वार्थ भाव कायम रहन्छ । बुबाहरू त्यसै पनि आफ्ना सन्तानप्रति गौरवान्वित हुन्छन् । बुबालाई दिने सर्वश्रेष्ठ उपहार धनसम्पत्ति र पैसा होइन असल चरित्र एवं सत्कर्म हुनसक्छ । सन्तानहरू आज जुन पद र प्रतिष्ठा अनि सम्मानमा छन् त्यो बुबाकै देन हो । बुबाको बाँकी जीवनमा सन्तानहरूको देनले खुशी ल्याउन सके त्यो असल सन्तानको संकेत हुनेछ । बुबा हाम्रा सौभाग्य हुन्, हाम्रा प्रतिष्ठा हुन् ।

हामी उनको ऋण त केही गरी चुकाउन सक्दैनौं र पनि औंसीको दिन प्रदान गरिने उपहारभन्दा वर्षभरि नै बुबाको अनुहारमा दुःखका बक्ररेखाहरू कोरिन नपाउन् भन्ने कुराको ख्याल उनका लागि ठूलो उपहार साबित हुनेछ र त्यही नै बुद्धिमानी पनि हो । बुबालाई सेवा, सम्मान, प्रेम, भक्तिभाव र समय दिन सके, उनको भावनाको कदर गर्न सकेमात्र बुबाको मुख हेर्ने दिनको मर्म सार्थक हुन्छ ।

बाचुन्जेल सेवा गरौं । भौतिक रुपमा नजिक छौँ भने नजिक रहेर नै सेवा गरौँ । समय परिस्थितिले टाढा भएमा  सुखदुःख बुझेर कसरी मुहार हँसिलो मन खुशी बनाउन सकिन्छ त्यही तरिका अपनाएर खुशी राखौँ । जब छोराबुहारीले पटक पटक सम्झन्छन्, के कस्तो छ भनेर रेखदेख गर्छन् अनि आफ्नो कर्तव्य पूरा गरेका छन् भने उनीहरूले दिएको आशीर्वाद लाग्छ र प्रगति राम्रो हुन्छ । बाबुआमालाई सेवा नगरी धन सम्पत्ति कमाउने, टाढा रहने, आजीवन रुवाउने  र वृद्धाश्रम राख्नेहरूलाई भौतिक वा क्षणिक सुख होला तर मानसिक सामाजिक, आध्यात्मिक दृष्टिबाट ऊ कुलङ्घार छोरो बनेको हुन्छ । 

बुबाआमा जिउँदो भगवान हुनाले जतिबेला पनि प्राथना गरौँ । आज मात्र होइन भोलि र सधैं पूजा गरौँ । प्राचीन ग्रन्थ वेदमा पनि भनिएको छ– पितृ देवो भवः। मातृ देवो भवः र आचार्य देवो भवः।। अन्त्यमा सम्पूर्ण बुबाहरूप्रति  हार्दिक सम्मान एवं नमन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ