- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
हिन्दू महिलाहरूको महान पर्व तीज विश्वव्यापी रुपमा फैलिएको कोरोनासित लडाइँ गर्दै भए पनि यसपालि पनि नेपालीको घर आँगनमा पस्यो । नेपालीहरूले तीजलाई महिनौं दिनसम्म मनाउछौँ । टेलिभिजन, रेडियो, युट्युब र सामाजिक संजालमार्फत तीजको माहोल साउनको पहिलो दिनबाट नै शुरु भएको थियो । यसपालि पनि नयाँ गीतहरू आए –
‘जेलैमा हो जेलैमा, चरी जेलैमा
मै छोरी रुँदैरुँदै बेसी मेलैमा ।’
प्रस्तुत गीत नेपाली लोकगीतमा आफ्नो छुट्टै पहिचान कायम राख्न सफल सुमधुर स्वरकी धनी गायिका विष्णु माझीको स्वरमा र सुन्दरमणि अधिकारीको रचनामा मार्मिक तीजगीत बनेर देखा परेको छ । विष्णु माझीका सबैजसो गीतहरूले स्रोताको मन जितेका हुन्छन् । उनका गीतमा नेपाली मौलिकता पाइन्छ। वास्तवमा संस्कार,संस्कृति र मौलिकतालाई अनुशरण गर्दै सामाजिक, आर्थिक र राजनैतिक लगायत विकृतिलाई विषयबस्तु बनाई सन्देशमूलक एउटा उत्कृष्ट गीत बन्न सक्छ भन्ने उदाहरण यस गीतबाट पाइन्छ।
परम्परा र संस्कृतिलाई मान्दै त्यसैमार्फत पनि अधिकार र विद्रोहको लागि लड्न सकिन्छ भन्ने विषय नै यो गीतको एउटा प्रमुख सन्देश हो। नयाँ र पुराना दुवै पुस्तालाई यो गीतले मन छोएको छ। पुतलीको भट्टी भाग–१७ मा रहेको यो गीतमा पिँजडामा थुनिएको चरीलाई प्रतीक बनाई बन्धन, अन्याय, अत्याचार र हिंसा सहन बाध्य नेपाली चेलीको कारुणिक अवस्थाको प्रस्तुति गरिएको छ।
माइतीका बुबाआमाले रहरै रहरमा गाईको पुच्छर समातेर एउटा नारीलाई विवाह गरिदिने, रातदिन दुलहाले जाँड खाएर पिट्ने अवस्थामा चेलीले आँखाबाट आँशु झार्दै दुःखको पोको खोलिएको मार्मिक भावना यस गीतमा व्यक्त भएको छ। नेपाली धेरै चेलीहरू अन्याय र अत्याचारको जेलभित्र बाँच्न विवश छन् भन्ने कुरा यसमा व्यक्त भएको छ । यस गीतमा हिन्दू नेपाली नारीहरूले गाउने परम्परा र संस्कारलाई र मौलिकतालाई अन्यन्तै सुमधुर ढंगले प्रस्तुत गरिएको छ ।
एउटी चेलीको विरहलाई प्रत्येक शब्दले केलाएको छ । आफू माइती आउन नपाएको, श्रीमान् कुलतमा फसेर आफूलाई दुःख दिएको, माइतीले आफूलाई हाँसीहाँसी बिदाई गरेको र आफूले विद्रोह पनि गर्न नसकेको कुरालाई समेटिएको छ । प्रस्तुत गीतले तिज गीत परम्पराको मौलिकतालाई जोगाई तीज गीतका नाममा देखिएको विकृतिर विसंगलाई राम्रो शिक्षा दिएको छ। खासगरी तीजपर्वको बेला महिलाहरूले माइतीमा गएर वर्षभरि आफूले घरमा पाएको दुःखलाई पोख्ने वेदनाका पोका नै तीज गीत हुन् ।
हिन्दू धर्ममा थुप्रै चाडपर्व रहेका छन् । ती मध्येको एउटा पर्व तीज हो । यो खासगरी नारीहरूको पर्व हो । पौराणिक कालदेखि यो पर्व मानिँदै आएको छ। हिन्दूधर्म शास्त्र पुराणमा बताइए अनुसार हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी व्रत बसेकी र उनको व्रत पूर्ण भई महादेव पति पाएको दिनलाई हिन्दू नारीहरूले हरितालिका तिजका रूपमा मनाउँदै आएका छन् ।
पार्वतीले महादेवलाई श्रीमान्का रूपमा पाउन १०७ जन्मसम्म घोर तपस्या गरे पनि १०८ औं जन्ममा मात्र उनको तपस्या पूरा भएको कुरा केही शास्त्रहरूमा बताइएको छ । यही मान्यतालाई अनुशरण गर्दै विवाहित महिलाले आफ्ना श्रीमान्को दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाउँ भनी तीज पर्व मान्ने र व्रत बस्ने चलन चलेको पाइन्छ । यो पर्व भाद्रशुक्ल पक्ष तृतीयाका दिनमा पर्दछ । तीजको धार्मिक र ऐतिहासिक पक्षमा विचार गर्दा शिवगौरी संवादसम्म पुग्नुपर्ने हुन्छ ।
थोरै परिश्रमले ज्यादा फल मिल्ने व्रत उपवासको बारेमा उठेको पार्वतीको जिज्ञासामा शिवजीले हरितालिकाको व्रत विधान बताएका थिए ।शास्त्रमा बताइए अनुसार भाद्रशुक्ल तृतीयाका दिनमा हस्त नक्षत्र र सोमवार परेका दिन यो व्रत उत्तम मानिन्छ । तीजको तृतीया, हस्ता नक्षत्र र सोमबार यी तीन चीजबाट जन्मिएको हुनाले त्रीज भन्ने संस्कृत शब्दबाट तीज शब्दको प्रयोग भएको हो भन्ने मान्यता पनि छ। उपवास गरी उपासना र आराधना गर्नाले सम्पूर्ण किसिमका पापराशिहरुबाट मुक्ति पाउने कुराको उल्लेख पाइन्छ । त्यस्तो समयको व्रतलाई उत्तम कोटीको व्रत मानिन्छ । त्यस्तो संयोग यदाकदा मात्र सम्भव हुन्छ । भनिएको पनि छ–
भाद्रमासे सिते पक्षे तृतीया हस्तसोमयुक् ।
तदनुष्ठानमात्रेण सर्वपापैः प्रमुच्यते ।।
हरितालिकाका सम्बन्धमा पनि शिवजीलाई नै पति रूपमा प्राप्त गर्ने पार्वतीको चाहना र तपस्या विरुद्ध हिमालय पर्वतले विष्णुलाई विवाह गरिदिने कुराको विद्रोह गर्दै पार्वतीका संगीसाथीहरूले जङ्गलमा लगेर लुकाएर राखेको हुनाले यसलाई हरितालिका भनिएको हो । संस्कृतमा आलि भनेको साथी हो र आलिभिर्ह्रिता साथिहरूद्वारा हरण गरिएकी भनेर हरितालिका नाम रहन गएको हो । यसको नामको सम्बन्धमा शिवजीले पार्वतीलाई यसरी बताएका छन् –
नामस्य व्रतराजस्य श्रृणु देवि यथाभवम् ।
आलिभिर्ह्रिता यस्मात्तस्मात्सा हरितालिका ।।
तीजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकालदेखि नै यस पर्वको अस्तित्व रहेको बुझिन्छ । विशेष गरी यो पर्वले व्रत–उपवास र उपासना–आराधनाको माध्यमबाट धार्मिक तथा सांस्कृतिक पक्षको पोषण गर्दै महिला जातिको अस्तित्वलाई शिखरमा लैजाने प्रयास गरेको कुरा बुझ्न सकिन्छ । खासगरी यो पर्व तृतीया, चतुर्थी र पञ्चमी गरी तीन दिन मनाइन्छ । हरेक वर्ष भाद्रशुक्ल तृतीयादेखि पञ्चमीसम्म मनाइने यो पर्वमा अघिल्लो रात अर्थात् द्वितीयाका दिन दर खाइन्छ । तृतीयाका दिन व्रत बसिन्छ । चौथीका दिन स्नान गरी व्रतको पारण गरेर खाना खाइन्छ भने तीजको तेस्रो दिन अर्थात् ऋषिपञ्चमीका दिन व्रतालु महिलाहरूले ३६५ वटा दतिवनले दाँत माझेर माटो लेपन गरी स्नान गर्छन् । दतिवन वा अपमार्ग लेपनले छालामा हुने एलर्जी हटाउँछ । पञ्चमीका दिन अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको पूजा गरी हलोले नजोतेको अन्नको भात र एक सुइरे भएर उम्रने कर्कलो आदिको तरकारी वा एकदलीय अन्न मात्र खाइन्छ । यो दिन श्रीमान्ले पकाएको भोजन खाए आपसी आत्मीयता एवं सद्भाव बढ्ने विश्वास छ ।
तीजमा प्रयोग हुने गहना र पहिरनको पनि आफ्नै महत्व छ । धार्मिक संस्कारयुक्त तीज सर्वमान्य हुन्छ । तीजका दिन महिलाले लगाउने रातो साडी सुख, समृद्धि एवं साहसको प्रतीक मानिन्छ । रातो रंगले महिलालाई एक किसिमको शक्ति प्रदान गर्ने धार्मिक विश्वास छ । पोतेले शान्ति र आनन्द प्रदान गर्छ भने रातो टीका सौभाग्यको प्रतीक हो । हृदय स्वच्छ भए मनोकांक्षा पूर्ण हुने धार्मिक विश्वास तीजको व्रतमा अन्तरनिहित छ । तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता छ । पुरुषभक्त हुन गरिने व्रत तीजमा महिलाले गरेको धार्मिक विधिले श्रीमान्को दीर्घायु, सुस्वास्थ्य, प्रगति हुने मान्यता छ ।
शिव वर पाउँ भनी पार्वतीले व्रत गरेको पौराणिक परम्परादेखि अहिलेसम्म यो पर्व मानिँदै आइएको छ । समाज विकासको क्रममा केही मान्यताहरू जस्ताको त्यस्तै चलिआएका छन् भने केही स्वरुपमा परिवर्तन पनि भएका पाइन्छन् । तीजको आरम्भलाई आधुनिक आँखाले हेर्दा पनि नारीको कठोर तपस्या र विद्रोहको प्रतीकका रूपमा लिन सकिन्छ । पार्वतीले पनि आफ्नै बुबालाई विष्णुसँग विवाह गर्दिन भनी कठोर तपस्या गरी शिव प्राप्त गरेको प्रसङ्गले सकारात्मक सन्देशको रुपमा लिन सकिन्छ ।
नारीहरू आजदेखि हैन पौराणिक कालदेखि आफ्नो अधिकारको लागि विद्रोह गर्थे र प्राप्ति गरेरै छाड्थे भन्ने सकारात्मक सन्देशका रुपमा पर्वलाई मान्न सकिन्छ । व्रत बस्ने कुरा पनि त्यति नकारात्मक होइन । अहिले त खानपिन ८–१६ घन्टा भन्ने व्यापक सुनिन्छ । आधुनिक चिकित्सकका भनाइ अनुसार कहिलेकाहीँ निराहार बस्नु पनि स्वास्थ्यका लागि उपयुक्त हुन्छ भनिएको छ । उपासना र व्रत बस्ने भन्ने कुरा पनि मानिसको स्वास्थ्य अवस्था अनुसार हुन् । नसक्ने हरूलाई धर्मशास्त्र अनुसार छुट पनि दिइएको छ।
पर्व मान्ने परम्परा विकसित हुँदै जाँदा व्रत, ध्यान, उपासना, भजन किर्तन हुँदै अहिलेको आधुनिक समयमा आउँदा साउने संक्रान्तिदेखि भाद्र शुक्ल पञ्चमीसम्म नेपाली समाजमा सबभन्दा लामो पर्वका रुपमा तीज पर्व विकसित भएको देखिन्छ ।
तीज ३ प्रकारका हुन्छन् भनिएको छ । १, हरियाली तीज, २, कजरी तीज र ३, हरितालिका तीज । यी मध्येको हरितालिका तीज नेपालमा प्रचलनमा छ । हुनत पछिल्लो समयमा हरियाली तीज पनि मनाउन थालिएको छ । श्रावण शुक्ल पक्ष तृतीया तिथिमा मनाउने यो पर्वलाई नेपाली नारीहरुले साउने सोमबारको रुपमा पनि मनाउन थालेका छन् ।
यो महिनामा हरिया चुरा, पोते, टीका, सारी लगाएर मनाउने हुनाले यसलाई हरियाली तीज भन्दा अत्युक्ति नहोला । कजरी तिज भने भारतमा बढी प्रचलनमा छ । यो हरियाली तीजको १५ दिनपछि अर्थात् श्रावण कृष्ण पक्ष तृतीया तिथिका दिन मनाइन्छ । यो पर्वमा भने गाईको पूजा गरिन्छ । कजरी तीजको १५ दिनपछि अर्थात् भाद्र शुक्ल तृतीया तिथिमा हरितालिका तीज मनाइन्छ । यो नेपाली हिन्दू नारीहरुको महान् चाड हो । विश्वभर छरिएका नेपालीहरुले यसलाई बडो उल्लासमय रुपमा मनाउँदै आइरहेका छन् । ३० दिनको बिचमा ३ तीज भएको हुँदा पनि नेपाली नारीहरुले महिना दिन लगाएर तीज मनाएका हुन्छन् ।
तीजको मौलिकता र तीज गीत
पश्चिमी सभ्यताको अन्धानुकरणले हाम्रा मौलिकताहरू लोप हुँदै गएका छन् । धर्म, सभ्यता, संस्कार, संस्कृति र भाषा भनेका आफ्नो अस्तित्वसङ्ग जोडिएका कुरा हुन्। जब हामीले आफ्नो संस्कार भुल्दै र त्याग्दै जान्छौं हाम्रो आफ्नै अस्तित्व सकिदै जान्छ । तीजको मौलिकतालाई नियाल्दा पहिला पहिला छोरीहरूको रजस्वला नभई विवाह गरिदिने र टाढा माइती हुने अनि सधैँ माइत जान नपाइने कारण तीजका गीतमा महिलाले सासू, जेठानी वा पतिबाट पाएका वेदना वा भोगाइ माइतीमा आफ्ना दिदीबहिनीसँग भन्ने गर्थे ।
डा. बिन्दु शर्मा लेख्छिन् –तीज गीतमा बालविवाह, अनमेल विवाह र बहुविवाहले महिलाको जीवनमा ल्याएका समस्या, घरपरिवारबाट भोगेका थिचोमिचो र त्यसबाट सिर्जित दर्दहरूको वर्णन गरिएको हुन्छ । प्रचलित तीजगीत परम्परामा जकडिएका महिलाको मुक्तिका निम्ति बाहिरको संसार चियाउने एउटा मौसमी आँखीझ्याल पनि हो ।’
तीजको विशेषता भनेको चेलीमाइती भेटघाट गर्ने, रमाइलो गर्ने, दर खाने र गीत गाउने हो । यस पर्वमा चेलीहरू माइत आउँछन् । दुग्धजन्य परिकार सेवन गर्छन् । उपवास बस्छन् । रातो, हरियो, पहेंलो रंगको पहिरनमा सजिन्छन् । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट मनको बह पोख्ने परम्परा हो ।
नेपाली तीज गीतको इतिहासलाई नियाल्दा यो कथ्य अलिखित परम्पराबाट विकसित हुँदै आएको देखिन्छ । केही गीतहरू श्रुति परम्पराबाट नै आएका छन् । लोकगीत अन्तर्गत पर्व गीतको रुपमा परम्परादेखि गाइँदै आइको पाइन्छ । ती गीतहरूमा कतै भगवानको प्राथना गरिएका छन् भने केही सामाजिक घटनासँग सम्बन्धित छ्न् । जस्तै–
‘कहाँमा जान्छौ रानी चरी बगाल, बरिलै भगवानलाई भेटन ।
भगवानलाई भेट्न जाँदा के के चाहिन्छ साथमा, बरिलै फूलपाती अक्षता ।।’
त्यस्तै तीज नजिक आउँदा दाजुभाइले दिदीबहिनीलाई लिन जानुपर्ने अवस्थामा दाजुभाइको प्रतीक्षामा बसेकी चेलीले आँगनमा कौवा (काग) आउँदा पनि माइतीको केही समाचार ल्यायो कि भन्ने आश लागेर यस्तो भावको गीत गाइन्थ्यो–
‘आँगनीको डिल बसी काली कौवा करायो,
केकुमा समाचार ल्यायो बरिलै ?
एकुमा समाचार कागजको चिर्कटो
दोसरी समाचार मलाई लिन हो ।।’
छोरीलाई सानै उमेरमा विवाह गरिदिने चलन, टाढाको माइत अनि एक्लै जान नसकिने, बाटोमा ठूलाठूला खोला पर्ने, सासूको सधैँ कचकच, श्रीमान्ले माया नगर्नु यस्ता पीडा नारीले भोग्ने गर्थे । वर्षदिनको तीजमा बुवा लिन आउँदा पनि बुहारीलाई नपठाएपछि यसरी वेदनाको पोको पोखिन्थ्यो–
‘वर्षदिनको तीजमा बाबा लिन आउनुभो,
घरकाले पठाएनन् रुँदै जानुभो ।।’
तीज गीतमा राजनीतिक विकृति र विसंगतिप्रति व्यङ्ग्य प्रहार पनि गरिएको पाइन्छ । नेपालको राजनैतिक परिवर्तनका लागि तीज गीतमार्फत पनि आन्दोलन गरिएको पाइन्छ । नारी अधिकार र हिंसाविरुद्ध थुप्रै गीतहरू गाइएका पनि छन् । गीतमार्फत जागरणका सन्देश दिइएको पाइन्छ । जस्तै–
‘बाबाको बारीमा काकरीको बिरुवा, लहलह परेको पात बरिलै।
‘नारी पुरुष बराबर’ भाषण जति ठोके नि, महिलामाथि कामै कामको खात बरिलै ।।’
हिजोआज तीज भड्किलो हुँदैछ भने तीजको रमझममा पनि पश्चिमेली शैली मिसिन थालेको देखिन्छ । फलस्वरूपः तीज केही उत्ताउलो समेत हुन थालेको र यसको मौलिकता पनि हराउन थालेको गुनासो बढ्न थालेको छ । विशेष गरी तीज भारतभन्दा पनि नेपालमै बढी चलेको पर्व हो । नेपाली समाजमा यो पर्वको मौलिक स्वरूप विकास भएको हुनाले तीज विशुद्ध नेपाली पर्व हो र यो नेपालका महिलाहरूले मात्र मनाउँछन् भन्न सकिन्छ । नेपाली जनजीवनको सामाजिक, धार्मिक, सांस्कृतिक आदि पहिचान व्यक्त गर्ने यो पर्वले नेपाली महिलाहरूको इतिहासलाई बोकेको छ जुन विभिन्न रूपले यो पर्वमार्फत प्रकट हुन्छ ।
तीजलाई हामीले परम्परागत मान्यता र विधि नमर्ने गरी परिस्कृत गर्दै लानुपर्छ । शिक्षित र सभ्य समाजमा हुर्किएका आधुनिक महिलाहरूले अन्धविश्वासलाई चिर्दै तीजलाई उल्लासमय एवं संस्कारयुक्त बनाउन पहल गर्नुपर्छ । तीजलाई आधुनिकीकरण गर्ने नाममा भड्किलो र असभ्य बनाउनु भने हुँदैन । तीजका नाममा धेरै किसिमका विकृतिहरू देखिएका छन् । गहना र कपडाको प्रदर्शनी र ठूला ठूला भोजभतेर अनि गीतमा भित्रिएको असभ्यता र अश्लीलता आदि नराम्रा पक्ष हुन् । इज्जत र सभ्यता अनि सुन्दर देखिन नभई अरूको देखासिकी र प्रतिस्पर्धाका लागि गहना लगाउने चलन पनि भित्रिएको छ । त्यसले आर्थिक भार पनि बढिरहेको हुन्छ । यस्तो व्यवहारले मौलिक संस्कृतिलाई पनि ओझेलमा पार्छ । यो पर्वको सांस्कृतिक महत्वको जगेर्ना गर्न विकृतिहरू हटाउँदै जानु आवश्यक छ । यस पर्वलाई सम्बन्ध सुधार गर्ने, यसलाई अझ प्रगाढ बनाउने तथा सम्बन्धमा भएका मनमुटावलाई प्रेममा बदल्ने कुराका रुपमा मान्न सकिन्छ।
पहिले नेपाली महिलाहरू आत्मनिर्भर तथा स्वाबलम्बी नभएका हुँदा एकदिन भए पनि मिठो–मसिनो ख्वाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू पनि महिनौं अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि मनका गुनासो खोल्दै धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय पर्व हो जसको पर्खाइमा उनीहरू व्यग्र हुन्थे ।
यद्यपि आजको पुस्ताले देख्ने तीज पहिलेको तुलनामा निकै फरक छ । अहिले तीजको धार्मिक पक्षभन्दा पनि अन्य पक्षहरूलाई नै बढी जोड दिएजस्तो देखिन्छ । हिजोआज तीज पर्वका सन्दर्भमा नितान्त भिन्न संस्कृतिको विकास भइरहेको छ । पारिवारिक जमघटमा मात्र नभई सामाजिक राजनैतिक तथा संस्थागत रूपमा समेत आयोजना गरिने तिज कार्यक्रमको समय अवधि प्रतिवर्ष लम्बिंदै छ भने अनावश्यक रूपले खर्चिलो समेत बन्दै गइरहेको छ ।
तीजको प्रमुख पक्ष गौण बन्दै अन्य पक्षले प्रमुख स्थान पाउँदै गइरहेको देख्दा यो पर्व नै विकृत हुने हो कि भन्ने आशंकाले चिन्तित हुनु स्वाभाविक देखिन्छ। विगत वर्षहरूका तीजको तुलनामा यस वर्षका धेरै तिजका गीतहरूमा मौलिकता पाइन्छ । युट्युब च्यानलमा आउने लाइभ दोहोरी गीतमा दिदीबहिनीका दुःखसुख, बहिनी र भाइका सम्वाद, आमाछोरीका सम्वाद गरिएका गीतहरू गाइएका छन् । कलाकारहरू ती पात्र बनेर गाइएका प्रस्तुतिहरू मार्मिक छन् ।
महिलाहरूको गौरवताको गाथा
पार्वतीले शिव वर पाऊँ भन्ने मान्यताबाट आरम्भ भएको तीज पर्व हिन्दू नारीहरूको महान पर्वको रुपमा स्थापित भएको छ । यसको मौलिकताको रक्षा गर्दै यो पर्व मान्नु आजको आवश्यकता हो । पर्व मान्ने प्रचलन र गीत गाउने परिपाटीमा मौलिकता हुनुपर्छ । सभ्य र शिष्ट भाषामा महिला वेदना र उल्लासका स्वरहरू गाउन सकिन्छ । तीज गीतलाई रत्यौली र दोहोरी गीतजस्तो होइन तीजगीतकै भाकामा गाउनु पर्छ ।
महिला अधिकार, न्याय, समानता, स्वतन्त्रताका पक्षमा गीतका विषय बनाइयो भने हाम्रो मौलिकता पनि बाँच्नसक्छ । आधुनिक समाज निर्माण गर्न जति पुरुषको भूमिका छ त्यत्तिकै भूमिका महिलाको छ । महिला पुरुषलाई एकै रथका दुई पाङ्ग्रा भनेर लेखेर वा बोलेर होइन व्यवहारमा नै देखाउनु पर्छ । एकदिन खान दिएर र लाउन दिएर साधनको रुपमा महिलालाई प्रयोगयोग्य बनाउने होइन । हर क्षेत्रमा सक्षम र सफल बनाउन पुरुषले साथ दिनुपर्छ । महिला दिदीबहिनीहरू पनि आत्म साहसका साथ आफ्नो हक अधिकारको लागि जस्तोसुकै बाधा अवरोधसँग लड्नु पर्छ ।
मौलिकता जोगाउने भन्ने नाममा अन्ध परम्परा तोड्नु पर्छ । आफ्नो श्रीमान् भगवानको रुप हो भने श्रीमती पनि भगवान नै हो । सबैले आ–अफ्नो कर्तव्य पूरा गर्नुपर्छ । मौलिकता र संस्कृति जोगाउने नाममा पुरानै विषयका गीत गाउनु पर्छ भन्ने होइन । वर्तमान समाजमा रहेका सामाजिक, आर्थिक, राजनैतिक, पारिवारिक, शैक्षिक जस्ता विविध पक्षहरू गीतका विषय बन्न सक्छन् ।
यो पर्व नारीका पीडा र रुञ्चे स्वर पोख्ने र सुन्ने पर्वका रुपमा मात्र होइन परिवर्तित समय अनुकूल नारीका बहुआयामिक विषयवस्तुहरूका बारेमा बहस गर्ने पर्वको रुपमा विकास गर्नुपर्छ। विश्वपरिवेशमा नारीहरूले गरेका उदाहरणीय कामको प्रशंसाका गीतहरू घन्किनु पर्छ । छोरी खुशी हुँदै आमाबुबालाई भेट्न आएको, सासूले छोरीको व्यवहार गरेको, श्रीमान्ले माया गरेको गीतहरू पनि गाइनु पर्छ । यस्ता गीत रचना गर्न सकिन्छ –
‘हामीले दियौं बरै नेतालाई भोट
नेताले त दिए बरै चोटै चोट।।
अघि बढ्नु पर्छ हामी हुन्न नि सहेर
विद्रोहमा उठौं अब राँको बालेर ।।’
महिलामा वेदनाको पोको मात्र छैन उनीहरूमा शक्ति, सामर्थ्य, उर्जा, हौसला गौरव, जिम्मेवारी पनि छ । यस्ता उदाहरणीय र प्रशंसनीय कामको विषयमा गीत गाइनु पर्छ । यसले गर्दा समाजमा सकारात्मक सन्देश जान्छ र महिलामा आत्मबल आउँछ र महिलालाई थप उर्जा प्रदान गर्दछ। त्यस्ता गीत रचना गर्न सकिन्छ–
‘कति बसे नारीहरू घरभित्रको जेलैमा ।
अब त पसे नारीहरू सिंहदरवारमा।।
कहाँबाट कहाँ आयो नेपाल आज हेर त ।
कमलरी बस्ने नारी सांसद बने त रर
गरेपछि नहुने पो के छ र संसारमा।
इतिहास रचेकै छन् त रास्ट्रपतिमा ।।’
(लेखक पन्थी हाल अमेरिकाको भर्जिनियामा बस्छन्)