- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
आज संसारमा मानिस थुप्रै पीडाबाट ग्रसित छ । जति विज्ञानको विकास भएको देखिन्छ त्यत्तिकै मानिसको जीवन बचाई जटिल हुँदै गएको छ । कसैलाई भौतिक र कसैलाई मानसिक समस्या छन् । नयाँ नयाँ रोगहरू देखा परेका छन् । सन् २०१९ को डिसेम्बरमा चीनबाट शुरु भएको कोरोनाका नयाँनयाँ प्रजातिहरू देखिँदै गएका छन् । अहिले फेरि विश्वको पहिलो समस्या भनेको डेल्टा प्रजातिको कोरोना महामारी रहेको छ।
कुनैपनि देश कोरोनाबाट अछुतो हुन सकेको छैन । पछिल्लो तथ्यांक अनुसार नै ४६ लाख ५३ हजार बढीको ज्यान गइसकेको छ। एकातिर भ्याक्सिन बन्दै र लगाउँदै गएको छ भने अर्कोतिर कोरोनाका नयाँ भेरियन्ट देखा परेका छन् । आजको भौतिकवादी युगमा पनि नाथे (?) कोरोनाको औषधि पत्ता लाग्न नसक्नु आश्चर्य लाग्दछ । वास्तवमा यो समस्या आजको विज्ञानमाथिको ठूलो चुनौती पनि हो । आजका मान्छेहरू आँखा चिम्लेर पश्चिमको पछाडि दौडिएको वर्तमान सन्दर्भमा पश्चिमले पनि अब पूर्वीय सभ्यताको अनुशरण नगरी सुख्खै छैन ।
आफूलाई सभ्य बताउने पश्चिम आज अणुपरमाणुदेखि लिएर अनन्त अन्तरिक्षसम्मको माइक्रो (सूक्ष्म) र म्याक्रो (बृहद्) दुवै क्षेत्रमा अथाह शक्ति र अपार सुख, सुविधा एवं अवसरहरूको सर्वेसर्वा मालिक छु भन्छ र जल, स्थल र आकाश सबैमा उसको वर्णनुतीत पहुँच छ पनि । ऊ अन्तरिक्ष युग र मोबाइल युगमा समृद्ध छ । मानव सभ्यताको उत्कृष्ट नमुना भनेर घमण्ड गरेको पनि सुनिन्छ ।
अहिले विश्वमा अत्याधुनिक हातहतियारको उत्पादनको होडबाजी, विभिन्न किसिमका युद्ध र लडाइँ, प्रकृतिको अत्यधिक दोहन, प्राकृतिक असन्तुलन, डरलाग्दा महामारी आदिजस्ता कारणले मानिस शान्ति खोज्दै हिड्ने अवस्थामा पुगेको देखिन्छ । अन्ततः त्यो भनेकै पूर्वीय संस्कार र मान्यता हो । वर्तमान विश्वपरिवेशमा युद्ध र लडाइँ होइन शान्ति रोज्नुपर्छ । मान्छे शान्ति हुने सामर्थ्य पूर्वीय दर्शनका धेरै कुराहरूलाई अनुशरण गर्नुपर्छ।
लाखौं वर्ष पहिले पूर्वमा यी रोग र अशान्तिका निवारणका उपायहरू पत्ता लागि सकेका थिए । हातमा बत्ती आगो खोज्थी भनेजस्तै आफैसङ्ग आध्यात्मिक र आयुर्वेदिक औषधि हुँदाहुँदै मान्छे भौतारिरहेको छ। यसको लागि मान्छे पहिले आफैंलाई र आफ्नो मूल्य मान्यतालाई साक्षात्कार गरौं । हाम्रै धर्म दर्शनको अध्ययन गरौं अनि सम्पूर्ण रोगको अन्त्य हुन्छ । आज संसारका मान्छेको ठुलो रोग भनेको अशान्ति हो, जब मान्छेले पूर्वीय दर्शनको अनुशरण गरी जीवनमा सकारात्मक सोच लिएर योग र ध्यान गर्छ तब उसमा कुनै किसिमको रोग लाग्दैन ।
पूर्वीय दर्शनमा आजभन्दा लाखौं वर्ष पहिले यस्ता महामारीका लागि आध्यात्मिक साधना, योग र आयुर्वेदिक औषधि बनिसकेका थिए । वेदमा नै मानिसलाई लाग्ने रोगको निदानको वैज्ञानिक उपाय बताइएको पाइन्छ । वेद विश्वको सर्वप्राचीन ग्रन्थ हो र मानव सभ्यताकै प्राचीन ग्रन्थ हो । द्वापर युगमा महर्षि वेदव्यासले वेदलाई चार भागमा बाँडेका हुन् भनिन्छ । यो लिखित रुपमै आजभन्दा करिब ६५ सय वर्ष पुरानो मानिन्छ ।
आयुर्वेद चार वेदका चार उपवेद अन्तर्गत पर्दछ । यही आयुर्वेदमा मानिसलाई लाग्ने थुप्रै रोगका लक्षण र निदान उपायहरू बताइएको छ । पश्चिमको अहिलेको आधुनिक औषधि पद्धति पनि त्यही आयुर्वेदबाट नै विकास भएको मानिन्छ । आज पश्चिम जुन ठाउँमा पुगेको छ । त्यसमा पूर्वीय दर्शनको ठूलो भूमिका छ । पश्चिमी दार्शनिक र वैज्ञानिकहरूले पूर्वीय हिन्दू दर्शन र मान्यताको बारेमा पटक पटक प्रशंसा गरेको पाइन्छ ।
विश्वका आधुनिक वैज्ञानिक र दार्शनिकहरू वेद, पुराण, गीता आदिको महत्त्वको बारेमा अभिमतहरू दिएको पाइन्छ । यसै प्रसङ्गमा सलिल ज्ञवालीको ‘पूर्वीय मान्यता विश्वविख्यात विद्वानहरूको दृष्टिमा’ भन्ने पुस्तकमा विश्वमा नाम कहलिएका विश्वप्रसिद्ध दार्शनिक र वैज्ञानिकहरू फाँस्वा भोल्तेयर, अल्बर्ट आइन्सटाइन, जाँ सिल्भाइन बेली, पियरे साइमन डि ल्यापलेस, आर्थर सोपेनहावर, सर विलियम जोन्स, म्याक्स मुलर आदिका दृष्टिकोण हेर्दा पूर्वीय सभ्यता विश्वकै सर्व प्राचीन सभ्यता र उत्कृष्ट सभ्यता भनी प्रशंसा गरेका छन् ।
यसबाट पनि हामी थाहा पाउछौँ कि पूर्वीय सभ्यता एउटा उत्कृष्ट सभ्यता रहेछ । आजको मान्छेले हिन्दू धर्म परम्परामा कतिपय लिखित र कतिपय श्रुति परम्पराबाट विकसित मान्यताहरूलाई अनुशरण गर्न सक्ने हो भने अधिकांश रोगहरू निको हुने देखिन्छ । सबैभन्दा पहिले त मान्छे मानसिक रुपमा शान्त हुन सक्नुपर्छ । शान्त भनेर मान्छे काम नगरी बस्ने भन्ने होइन । जीवनमा आफू पालिनको लागि कर्म अनिवार्य हुनैपर्छ तर अस्तव्यस्त र तछाड मछाडको कर्म होइन, लोभी पापी मन बनाउने होइन ।
यसैगरी स्वस्थ्य आहार विहार र नियमित योग र साधना गर्न सकेमा जीवन स्वस्थ र सुखी बनाउन सकिन्छ । हिन्दू धर्म दर्शनमा हाम्रो जीवनलाई कसरी सुख र शान्त बनाउन सकिन्छ भन्ने बारेमा थुप्रै मान्यता वा तरिकाहरू बताइएका छन् । वेद, गीता, पुराण आदि हिन्दु धर्म दर्शनका शास्त्रहरू अध्ययन गरी ती मान्यतालाई अनुशरण गर्न सकिन्छ ।