arrow

जनताको आवाज, आक्रोश र  मुक्का

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ असोज १३ बुधबार
rajendra-panthi-article6.jpg

नेपालमा पछिल्लो तीस वर्षको अवधिमा जनता प्रत्यक्ष लाभान्वित हुन सक्ने उल्लेखनीय काम हुन सकेनन् । जे काम भए भनिएको छ ती निरन्तरता नै हुन् । सायद प्रजातन्त्र नै नआएको भए पनि अहिले जे जति काम भए भनिएको छ ती सबै हुन्थे । प्रजातन्त्रको प्राप्तिपछि नेपाली जनताले महसुस हुने गरी पाएको भनेको  एउटा वाक् स्वतन्त्रता चाहिँ हो । जसका कारण यसरी लेख्न र बोल्न पाइएको छ ।

नेपाल प्राकृतिक श्रोत र साधनले सम्पन्न मुलुक छ र विविधतामा एकता भएको मुलुक हो । सबै पार्टी र नेताहरू देशको विकास र समृद्धिको लागि कसम खाएर लाग्ने हो भने परिणाम तुरुन्त प्राप्त हुन्छ। यहाँको मूल समस्या भनेको राजनीतिलाई पेशा र कमाउने भाँडो बनाउनु नै हो । सत्ता लिप्सा, भ्रष्टाचार, कमिशनतन्त्र, गुट र उपगुटको भागबण्डाले गर्दा आधा युग नै बितिसक्दा पनि जनताले प्रजातन्त्रको महसुस गर्न सकेका छैनन् । 

नेपाली जनता कहिले व्यवस्था परिवर्तन गर्न भनेर लडे, कहिले प्रणाली परिवर्तन गर्न भनी लडे तर आफूले चाहेजस्तो प्रणाली पाउन सकेका छैनन् । बारम्बार आवाज उठाउँदा पनि राज्यले कानमा तेल हालेर सुतेपछिको एउटा भिन्न साङ्केतिक आक्रोशको अभिव्यक्ति निरन्तरता नै हुनसक्छ –बुटवलको मेयरलाई मुक्का प्रहार ।

प्रजातन्त्रको पुनःस्थापनापछि नेतृत्वपङ्तिप्रति लक्षित गरी जुत्ता र मुक्का प्रहारका घटना बारम्बार दोहोरिएका छन् । २०५१ मा तत्कालीन सभामुख रामचन्द्र पौडेलले संसदभित्रै सदन चलेको बेला गोल्छे सार्कीबाट जुत्ता खाएका थिए। पूर्व प्रधानमन्त्रीहरू झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराई, सुशील कोइरालाले जुत्ता र मुक्का खाई इतिहासमा नाम लेखाइसकेका छन् । अन्य नेता र जनप्रतिनिधिहरू डा. रामशरण  महत, पूर्णबहादुर खड्का, झक्कुप्रसाद सुवेदीले  पनि जनताको रीसको आवेगमा झापड, जुत्ता, मुक्का र बोतल प्रहारको आक्रमण भोगेका छन् । 

भौतिक आक्रमण गर्नु अत्यन्तै निन्दनीय कार्य हो । तर पनि जनप्रतिनिधि र नेताले यसबाट राम्रो शिक्षा ग्रहण गर्नुपर्छ । पछिल्लो समय बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि गरिएको आक्रमण र मुक्का प्रहार गर्ने शैली राम्रो हैन । नगरपिता–माता मानिने मेयरले पहिरो प्रभावित क्षेत्रमा निरीक्षण गर्नु पक्कै राम्रो काम हो । त्यो घटना घटित हुनु एकै क्षणको मात्र आवेग हैन । यो बुटवलको मेयरलाई मात्र हानिएको मुक्का होइन । जनताको काम नगर्ने अनि चाकरी र चाप्लुसी गर्दै सत्ताको वरिपरि घुम्न रमाउन खोज्ने भ्रष्ट र लाचारी जनप्रतिनिधि सबैलाई दिएको मुक्का हो।

यसबाट जनप्रतिनिधिले ठूलो शिक्षा लिनु पर्दछ । भदौ १३ र १४ को अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका छन् र करिब ५० घर उच्च जोखिममा छन् भनिएको छ। वि.सं. २०५६  मा त्यस्तै पहिरो जाँदा करिब ५० घर विस्थापित भएका थिए । महिना बितिसक्न लाग्दा पनि नगरपालिकाले प्रभावितलाई उचित व्यवस्थापन र राहत नपाउँदाको परिणाम मेयरमाथिको मुक्का हो । जब जनतालाई पिरमर्का पर्छ, तब राज्यको उपस्थिति हुनुपर्छ । भाषणमा गाउँ गाउँमा सिहदरबार भन्ने अनि परि आउँदा हेर्दै नहेर्ने परिपाटीको परिणाम मुक्का हो। जनता धेरै सचेत छन् । नत्र संसदको सिको गर्ने हो भने यस्ता मुक्का धेरै पटक खान्थे होला ।

 नेपाली राजनीतिमा गलत संस्कार र संस्कृति नेतृत्वबाट शुरु भएको छ। नेताको गलत संस्कारको प्रभाव जनतामा ज्यादा देखिएको छैन । यो र यस्तो त सामान्य अनुशरण मात्रै मान्न पर्ला । देशको विकास गर्न पठाएको जनप्रतिनिधिले खुल्ला रुपमै चेतावनी दिंदै भन्छ –‘हातको माइक नखोसिएको भए त्यसैले सभामुखको टाउकोमा हान्थेँ ।’ यस भनाइमा एउटा सर्वसाधारण व्यक्तिले आफ्ना जनप्रतिनिधिलाई रीसको आवेगमा केही मुक्का हान्नु भन्दा सयौं गुणा निन्दनीय र घृणित आक्रोशात्मक अभिव्यक्ति छ।

जनप्रतिनिधिमा नै असल राजनैतिक संस्कार र चेत छैन त अनि जनतामा कसरी पाउने । कोरोना कहरले सारा जनताले दुःख पाएका छन् । कोरोनाले गर्दा कतिले अभिभावक गुमाए, कतिले आश्रित छोराछोरी गुमाए,कतिले रोजगार गुमाए । देश प्राकृतिक विपत्ति र कोरोनाले अस्तव्यस्त छ । तर पनि सांसद र जनप्रतिनिधि संसदमा खेतीबालीमा पसेको बाँदर प्रवृत्ति देखाइरहेका छन् । जनताका आधारभूत आवश्यकता कसरी पुर्याउने होला भन्ने कुनै चिन्ता छैन । रातदिन एक आपसमा हिलो छ्यापाछ्याप र  गाली गलौज मात्र चलिरहेको छ । अनि जनता कसरी खुशी हुन सक्छन् र मुक्का  हान्दैनन् ।

बुटवल लुम्बिनी प्रदेशको हालको मुकाम पनि हो।राजनैतिक,आर्थिक,व्यापारिक, शैक्षिक, पर्यटकीय, आदिको दृष्टिकोणले बुटवल नेपालको महत्त्वपूर्ण शहर पनि हो। यही बुटवलको मुख्य भाग हुँदै  दुईवटा राजमार्ग जान्छन् । कस्तो विडम्बना देखिन्छ भने यहीँ नै वर्षौसम्म सडक मर्मत हुन सकेको छैन । अनि जनतामा आक्रोश किन आउँदैन र ? प्रधानमन्त्री, मन्त्री, नेता र जनप्रतिनिधिले जे पनि बोलेर भ्रमपूर्ण  राजनीति गरिएको हुनाले यस्तो प्रवृतिप्रति प्रतिक्रियात्मक आवेग नै मुक्का हो ।

बहुदलीय प्रजातन्त्रको पुनःस्थापना पछिको करिब तीन दशकलाई नियाल्दा नेपालका अधिकांश पार्टी र नेतामा राजनैतिक आचरण नै छैन । जनप्रतिनिधि भनेका जनताका अभिभावक हुन् तर तिनै अभिभावक नै भनाभन र लुछाचुडी र लडाइँ गर्छन् भने जनताले के पाठ सिक्लान् । नेपाली जनताहरू नेताको तुलनामा धेरै संवेदनशील र आशावादी छन् । नेतामा देखिएको गलत आचरणको शिकार नेपाली जनता भएका छन्। सत्ता र स्वार्थको लडाइँले देश अस्थिरता फसिरहेको छ। चिल्ला र मिठा कुरा मात्र गर्ने, कम्युनिष्ट र कांग्रेस भएर हुकुमी शासन चलाउन खोज्ने, अर्काको अस्तित्व स्वीकार नगर्ने, जनताका समस्यालाई पटक्कै ध्यान नदिने प्रवृतिको परिणाम मुक्का हो ।

शिवराजले पाएको मुक्कालाई जनताको आवाज र आक्रोशको रुपमा प्रधानमन्त्रीदेखि स्थानीय तहको जनप्रतिनिधिले बुझ्नुपर्छ । चाहे जनताले होस् चाहे नेताले भौतिक रुपमा अर्कोमाथि गरिएको आक्रमण गलत र निन्दनीय हो । नेपाली जनताहरू शान्ति, सुरक्षा, रोजगार चाहेका छन् । सबै पार्टी र नेताले यी जनताका आधारभूत आवश्यकताहरू परिपूर्ति गरिदिने हो भने जनताले मुक्का होइन सम्मान र सत्कार गर्छन् ।

सबै पार्टी एक ढिक्का भई  देश र जनताको विकास र समृद्धिका बारेमा बहस चलाउन सक्ने हो भने हाम्रो देशले काँचुली फेर्न बेर लाग्दैन । हामी नेपाली जनता फेरि पनि सचेत हुनुपर्छ र कसैलाई भौतिक मुक्काको आक्रमण होइन आवाज र आक्रोश मुक्का बारम्बार  दिनुपर्छ  र हाम्रा अधिकार जहिलेसम्म प्राप्त हुन सक्दैनन् तहिलेसम्म लड्नु पर्छ । (बुटबल–१३ रुपन्देहीका लेखक हाल अमेरिकाको भर्जिनियामा छन्) 



नयाँ