arrow

मन्त्री भएको तीन दिन नपुग्दै मन्त्री हमालले प्रधानमन्त्रीलाई बुझाए राजीनामा पत्र 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ असोज २४ आइतबार
gajendra-hamal-mantri.jpg

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन् । गत शुक्रबार मात्रै मन्त्री नियुक्त भएका हमालको नाम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएर आएपछि निष्ठाको राजनीति गर्ने भन्दै राजीनामा दिएको बताएका छन् । 

उनले आइतबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र बुझाएका हुन् । साढे चार दशक नेपाली कांग्रेसको कार्यकर्ता भएर पार्टीमा योगदान दिएका व्यक्तिलाई अनावश्यक रुपमा प्रधानन्यायाधीश जबराका जेठान भएकैले मन्त्री बनेको भन्ने आरोप लागेपछि उनले प्रधानमन्त्री देउवालाई राजीनामा बुझाएका हुन् । 

प्रधानन्यायाधीश र हमालको नियुक्तिसँग कुनै साइने नभएको भन्दै सर्वोच्च अदालत, र सत्ता गठबन्धन दलका नेताहरु लगायतले उनको नियुक्तिबारे खण्डन गरिरहे पनि निरन्तर आलोचना भइरहँदा चित्त दुखेर हमालले राजीनामा दिएका हुन् । 

यसबारेमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विवाद गर्नु कुनै तुक नभएको समेत बताइसकेका छन् । तर कांग्रेसको जिल्ला सभापति भइसकेका हमाललाई  ‘प्रधानन्यायाधीशको कोटामा’ मन्त्री बनेको भनेसँगै चित्त दुखेको हो । 

हाल भने उनी सांसद छैनन् । गैरसांसद मन्त्री बनेपछि भने उनीमाथि आशंका जन्मिएको हो । यद्यपि उनी संविधानअनुसार छ महिनासम्म मन्त्री बन्न पाउँछन् । 

उनले राजीनामा बुझाएर फर्किए पनि बालुवाटारले थप निर्णय भने गरेको छैन । प्रधानमन्त्री देउवा आइतबार बिहानै पोखरामा कार्यक्रममा सहभागी हुन जाँदैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ