प्रचण्डको प्रश्न - ओलीले दिएको तर्क लोकतान्त्रिक हो ?
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
759
Shares
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिगामी तरिकाले अगाडि जान चाहेको बताएका छन् । गठबन्धन टुटाए कांग्रेसलाई एकलौटी सरकार सञ्चालन गर्न दिने ओलीको अभिव्यक्तिपछि प्रचण्डले यस्तो भनाइ राखेका हुन् ।
'गठबन्धन टुटाउने हो भने कांग्रेसलाई एकलौटी सरकार सञ्चालन गर्न दिने र एमसीसी परियोजना पारित गर्न दिने भनी एमाले अध्यक्ष ओलीले दिएको यो लोकतान्त्रिक तर्क हो ?', अध्यक्ष दाहालले भने, 'उहाँ (ओली)को प्रयासले नयाँ ढङ्गले सतर्क हुन मद्दत गरेकै छ, उहाँ प्रतिगामी तरिकाले अगाडि जान चाहनुहुन्छ भने हामी संविधान, गणतन्त्र, लोकतन्त्र, राष्ट्रियताको रक्षाका निम्ति गठबन्धनलाई अझ बलियो बनाएर, अन्य शक्तिलाई पनि गोलबन्द बनाएर प्रतिगमनलाई परास्त गर्ने गरी प्रस्तुत हुन्छौँ ।'
नेकपा (एकीकृत समाजवादी) लाई निर्वाचन आयोगले मान्यता दिएको, संसद्ले स्वीकार गरेको र पाँच दलीय गठबन्धनका आधारमा सरकार बनेको उल्लेख गर्दै उनले एकीकृत समाजवादीलाई अस्वीकार गर्ने प्रवृत्तिले गलत भएको जिकिर गरे । पाँच दलीय सत्ता गठबन्धन भत्काउन विभिन्न चलखेल भइरहेको भन्दै उनले गणतन्त्र, लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई अझ बलियो बनाएर लैजाने प्रतिबद्धता व्यक्त गरे ।
संसद्को कामकारबाहीलाई प्रभावित पार्ने गरी एमालेले देखाएको क्रियाकलाप प्रतिगमनकै निरन्तरता भएको जिकिर गरे । 'उहाँहरू अहिले पनि प्रतिगमनकै बाटोमा हुनुहुन्छ, आजभोलि सदनभित्र जे देखेर, भोगिरहेका छौँ, त्यो उहाँका तर्फबाट प्रतिगमनको निरन्तरता हो', अध्यक्ष दाहालले भने, 'संविधान मिच्ने, लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनको निम्ति वातावरण तयार पार्ने षडयन्त्रमा उहाँ अहिले पनि लागि राख्नुभएकै छ ।'
तत्कालीन प्रधानमन्त्री ओलीले गत पुस ५ गते अर्थात् आजकै दिन पहिलो पटक प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरेका थिए । सर्वोच्च अदालतले संसद् विघटन असंवैधानिक रहेको ठहर गर्दै प्रतिनिधिसभा पुनः स्थापित गरेको थियो ।
पुनः स्थापित प्रतिनिधिसभालाई ओलीले गत जेठ ७ गते पुनः विघटन गरेका थिए । दोस्रो पटकको विघटनलाई पनि असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनः स्थापित गर्दै नेपाली कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको थियो ।
प्रमुख प्रतिपक्षी एमाले पुनः स्थापित प्रतिनिधिसभाको बैठक लगातार अवरुद्ध गर्दै आएको छ । एमालेको अवरोधका कारण संसद्को कामकारबाही प्रभावित भएको छ । सरकारले संसद्को गतिरोध अन्त्यका लागि पटक पटक आह्वान गरे पनि एमालेले संसद् अवरोधको गतिविधिलाई निरन्तरता दिँदै आएको छ ।
'सर्वोच्च अदालतबाट ह्विप लाग्दैन भन्ने फैसला छ, सभामुखले १३ दिनभित्रै निर्णय लिनुभएको छ, कही कतै संविधानको मर्म र भावनाको उल्लङ्घन छैन', अध्यक्ष दाहालले प्रश्न गरे, 'तर अहिले पनि ओली माधवकुमार नेपाल देखिएपछि उपस्थित नहुने भनिराख्नुभएको छ, यो भन्दा अराजनीतिक र अलोकतान्त्रिक चरित्र अरू के हुन्छ ?'
गठबन्धनलाई कुनै हालतमा कमजोर हुन नदिने विषयमा आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग पटक पटक छलफल गरेको जानकारी दिँदै उनले प्रधानमन्त्री स्वयम्ले 'गठबन्धन टुटाऊ, समर्थन गर्छु' भन्ने प्रवृत्तिलाई सफल हुन नदिइने प्रतिबद्धता व्यक्त गरेको बताए । रासस