- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको राजनीतिलाई जहिले पनि अस्थिरता र अन्योलको संकटमा घुमाइएको छ। यसको मूल रहस्य भनेको राजनीतिलाई कमाइ खाने भाँडो बनाउनु हो । समय समयमा एउटा न एउटा एजेन्डा उठाई राजनैतिक अस्थिरता ल्याइएको छ । गुटगत स्वार्थ र पार्टीगत स्वार्थले गर्दा नेपालका पार्टीले देशलाई बन्धक बनाई राजनैतिक अन्योलता सिर्जना गरेका छन् ।
अहिले आएर फेरि निर्वाचनको सवालमा नयाँ बहस शुरु भएको छ । सम्विधानतः प्रत्येक पाँच वर्षमा हुने स्थानीय, प्रदेश र संघको आवधिक निर्वाचन कहिले गराउने भन्ने नाममा एउटा नयाँ बितण्डा शुरु भएको छ। आठ वर्ष लगाएर बनाएको नेपालको संविधान भित्रका छिद्रता खोज्दै एकापसमा राजनैतिक द्वन्द्व शुरु भएको छ । यस्तै बेला बेलामा अराजनीतिक बितण्डा निम्त्याउन यस्ता छिद्रता राखिएको देखिन्छ । अर्बौं रुपैयाँ खर्चेर बनाइएको संविधानप्रति बारम्बार जटिल प्रश्न तेर्सिनु नै नेताहरूको असक्षमता र अपरिपक्वताको प्रमाण हो ।
वर्तमान गठबन्धन सरकारले आगामी बैशाखमा गराउनु पर्ने आवधिक निर्वाचन सम्पन्न गर्न खुट्टा कमाइरहेको छ। पाँच पार्टी मिल्दा पनि सरकार प्रमुख प्रतिपक्षसँग डराइरहेको छ । नेपाली कांग्रेसको आपसी किचलो तथा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता सामाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चा पार्टीहरूको खासै जग बलियो हुन नसक्दा निर्वाचनमा जान सकेका छैनन् । ५–६ महिना भए पनि सरकारमा शासन गर्न सकियो भने केही मजबुत हुन सकिन्छ कि भन्ने आशमा निर्वाचनलाई विभिन्न बहानाबाजी बनाएर धकेल्न खोज्दैछन् ।
निर्वाचनमा जाने कि नजाने भन्नेमा कानूनी लडाइँ भन्दा पनि मुख्यतस् दलगत लडाइँ भएको देखिन्छ । एमाले आन्तरिक रुपमा जे जस्तो भए पनि बाह्य रुपमा जसरी पनि बैशाखमा निर्वाचन हुनुपर्छ भन्दै आएको छ भने गठबन्धनले कानूनी अड्चन भन्दै छ महिना पर धकेल्न खोज्दै छ । लोकतन्त्रलाई बलियो र मजबुत बनाउने मुख्य पक्ष भनेको आम निर्वाचन नै हो । तर यसरी बहानाबाजी बनाएर पर धकेल्न खोज्नुले लोकतन्त्रप्रति धज्जी उडाउन खोजेको देखिन्छ ।
अब त देशमा केही राजनैतिक स्थिरता होला कि भन्ने बेलामा पटक पटक यस्ता यस्ता अराजनैतिक खेलखण्ड खेल्दा देशले सन्तोषको श्वास फेर्न सकिरहेको छैन । नेपालमा बहुदलीय प्रजातन्त्रको पुनः बहाली भएको तीन दशक बितिसक्दा पनि देशको सामाजिक, आर्थिक अवस्था जस्ताको त्यस्तै रहेको देखिन्छ । व्यवस्था परिवर्तनको नाममा हजारौं मानिसले सहादत प्राप्त गरेका छन् । तर आज ती शहीदको रगतमा होली खेलेर दलहरू नाचिरहेका छन् र आफूले आफैंलाई गिज्याएका छन् । आजको नेपालको वास्तविक चित्रलाई हेर्दा यी दलहरूमा देश र जनताप्रति कत्ति पनि उत्तरदायित्त्व देखिएको छैन ।
आज विश्वलाई कोरोनाले अस्तव्यस्त बनाएको छ । नेपाल पनि यसबाट अछुतो रहन सकेन । कोरोनाले धेरै नेपालीको क्षति भएको छ । नेपालको अर्थतन्त्र अत्यन्तै धरासायी भएको छ। देशमा व्यापार, व्यवसाय, उद्योग, कलकारखानाहरू ठप्प प्रायः नै छन् । यस्तो अवस्थामा पनि दलहरूका बीचमा देशलाई कसरी उघो लैजान सकिन्छ भन्ने बहस कहिल्यै हुन सकेको छैन । दल र नेताहरूमा पदलोलुपता, सत्तालिप्सा र कुर्सीमोहले गर्दा देश र जनताप्रति कत्ति पनि ध्यान जान नसकेको देखिन्छ । समय बित्दै जाँदा लामो संघर्षपछि प्राप्त भएको लोकतन्त्र झन् बलियो होला भन्दा झन कमजोर हुँदै गएको छ । यसको सम्पूर्ण जस नेपालका दलहरूले लिनुपर्छ ।
नेपालका दलहरू यसरी देशलाई दलदलमा फसाएर अन्योलमा लैजानुको अर्को एउटा कारण नेपाली जनतामा चेतनाको अभाव हुनु पनि हो । नेपालका दलहरूको राजनीति भनेको निर्वाचनमा जसरी पनि जित्ने र सत्तामा जसरी पनि पुग्ने भन्ने भन्दा अरु कुनै एजेन्डा छैन । राजनीति भनेकै चुनावदेखि चुनावसम्म मात्र रहेको छ । निर्वाचनको बेला जनतालाई अनेक भ्रमको खेती गरेर जसरी हुन्छ चुनाव जित्ने दाउ हुन्छ । जनतालाई किनबेच गरिन्छ । पैसाको खोलो बगाएर जितिएको चुनाव भनेको उही कमाउने धन्दा शुरु हुन्छ । यसरी जनताको कमजोरीलाई फाइदा उठाई राजनीतिलाई पेशा बनाइएको छ ।
नेपालको जनसंख्याको करिब एक तिहाई जनशक्ति देश बाहिर छ । उनीहरूले रात–दिन नभनी कमाएको पैसामा देशमा लुटतन्त्र र भ्रष्टाचार मौलाएको छ । आज ती विदेशीएका युवा जनशक्तिलाई देशभित्र नै कसरी राख्न सकिन्छ भन्ने कुरामा कहिल्यै बहस हुँदैन । जनताले अनुभूति हुन लायक सरकार कहिल्यै पाउन सकेका छैनन् । जहिले पनि एउटा न एउटा बखेडा निकालेर दलहरूका बीचमा देखिएको यो जुँघाको लडाइँ नेपालले कहिलेसम्म थेग्न सक्ला ।
आगामी निर्वाचनमा नेपाली जनताले अत्यन्तै सचेत भएर मतदान गर्नुपर्छ । अन्धभक्त भएर टीके र झोलेका पछाडि लागेर फेरि पनि मतदान गरियो भने अवस्था पनि यस्तै हुनेछ । विगत लामो समयदेखि जरा गाडेर बसेका फोहरी र दुर्गन्धित दल र नेताहरूलाई धुलो चटाउनु पर्छ ।
निर्वाचनको बेला सोझासाझा जनतालाई फकाउने, प्रलोभन दिने र भोट किन्ने आदि अराजनीतिक गतिविधिबाट जोगिन सकिनु पर्छ । जबसम्म हामीले राम्रो नेता चुन्न सक्दैनौं अनि हाम्रो भविष्य उही अन्धकार नै हुनेछ । पार्टीहरूले बेला बेलामा निम्त्याउने यी र यस्ता बितण्डा र भ्रमका सपनाप्रति नेपाली जनता सधैभर चनाखो हुनुपर्छ ।
राजनैतिक दुर्गन्धित जरा धेरै मौलाएको र फैलिएको छ । त्यसलाई उखेलेर नफालेसम्म नेपालमा राजनैतिक स्थिरता प्राप्त गर्न मुस्किल देखिन्छ । अबको आवश्यकता भनेको व्यवस्था हैन व्यवहारमा परिवर्तन गरिनुपर्छ । राजनीतिलाई पेशा होइन सेवा बनाइनु पर्छ । तबमात्र देशले विकास र निकास पाउन सक्छ ।