arrow

एक्लै बहुमत ल्याउने दाबी गरेको एमाले अन्ततः तालमेल गरेरै चुनावमा जाने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १० बिहिबार
CKK_KTM_5598.jpg

काठमाडौं । बहुमत ल्याउने रिपोर्टिङसहित एक्लै निर्वाचनमा जान तयार रहेको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अन्नतः कुनै न कुनै पार्टीसँग तालमेल गरेर जाने निर्णयमा पुगेको छ । तेस्रो कमिटी बैठकबाट स्थानीय तहको निर्वाचनमा स्थानीय तहबाटै तालमेल गरेर जान तयार भएको हो । 

केन्द्रीय कमिटीको बैठकपछि पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि त्यसको संकेत गरे । उनले स्थानीय स्तरमा तालमेल गरेर जान सकिने बताएका छन् । केन्दीय कमिटीको बैठकले आसन्न स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने अधिकार स्थानीय तहलाई दिएपछि पोखरेलको सो धारणा आएको हो । 

एमाले केन्द्रीय कमिटी बैठकले ३० बैशाखमा हुन लागेको स्थानीय तह निर्वाचनको लागि अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै दिएको छ । एमाले प्रचार प्रसार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तह निर्वाचनमा अन्य दलसँग तालमेल गर्ने अधिकार स्थानीय कमिटीलाई नै भएको बताए । 

स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महसुस गरेको खण्डमा तालमेल गर्न सकिने प्रचार विभागका उपप्रमुख रहेका रिजालले भने । ‘स्थानीय आवश्यकताको आधारमा तल्ला कमिटीहरूले आवश्यक महसुस गरे भने त्यो भन्दा एक तह माथिल्लो कमिटीको अनुमति लिएर स्थानीय तालमेल गर्न सक्छन् । त्यसका लागि हामीले ढोका बन्द गरेका छैनौं,’ उनले भने । 

पार्टीमा बढिरहेको जनमतको लहर कम गर्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी राष्ट्रिय नीति बनाएर अघि नबढ्ने उनले प्रष्ट पारे । ‘हामी आफ्नो पार्टीको जनमत बढाउने, पार्टीमा बढिरहेको लहरलाई रोक्ने, कार्यकर्ताको ध्यान अन्यत्र मोड्ने गरी कथित तालमेलको राष्ट्रिय नीति बनाएर जादैँनौं,’ रिजालले भने  ।

एमालेसँग तालमेल गर्न चाहने दलहरुले स्थानीय तहकै कमिटीसँग छलफल गर्नुपर्नेछ । चैत मसान्तभित्र स्थानीय पार्टी कमिटीले कम्तीमा एउटा पदमा तीन जना उम्मेदवार छनौट गरेर माथिल्लो कमिटीमा पठाउनुपर्नेछ । त्यसपछि कुनै पार्टीसँग तालमेल गर्ने अवस्था आए स्थानीय कमिटीबाट अघि बढ्न सकिनेछ । एमाले आफ्नो सम्पूर्ण शक्तिका साथ निर्वाचनमा खटिनेछ । 

एमाले सबै पार्टी कमिटीले चैत मसान्तभित्र आफ्नो स्थानीय तहबाट कम्तीमा तीन जनाको नाम उम्मेदवारको रुपमा  छनौट गरी माथिल्लो कमिटीमा पठाउनु पर्ने निर्देशन जारी गरेको छ । केन्द्रीय कमिटी बैठकले पार्टीको वार्षिक पात्रो पनि पारित गरेको छ । सोही पात्रोको आधारमा पार्टी पंक्ति परिचालित हुने एमालेले जनाएको छ । 

त्यसअनुसार चैत मसान्तसम्म कम्तीमा एक महिलासहित ३ जना व्यक्तिलाई उम्मेवारको रुपमा सिफारिस गर्न निर्देशन दिइएको छ ।

६ बुँदे मापदण्ड 
उम्मेदवार छनौटका लागि एमालेले ६ बुँदे मापदण्डा बनाएको छ । स्थानीय तह निर्वाचनका लागि पार्टीको उम्मेदवार छनौटका लागि ६ वटा मापदण्ड तय गरेको हो । स्थानीय तह उम्मेदवारका लागि पार्टी नीति र कार्यक्रम प्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मुल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता, विकास र सुशासन प्रतिको दृष्टिकोण, सन्तुलन र समावेशितालाई ध्यानमा राख्दै उम्मेदवार चयन गर्ने निर्णय गरिएको प्रचार विभाग उपप्रमुख रिजालले बताए ।

यसैगरी उम्मेदवार सिफारिस गर्नका लागि वडा अध्यक्षको हकमा वडा कमिटीको सिफारिस, नगर वा गाउँकमिटीको सिफारिस र जिल्ला कमिटीले निर्णय गर्ने, गाउँपालिकाको अध्यक्ष–उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख–उपप्रमुखको हकमा गाउँ–नगर कमिटीको सिफारिस र जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीबाट निर्णय गर्ने र उपमहानगर–महानगर कमिटीको हकमा सम्बन्धित कमिटीहरुको सिफारिस र जिल्ला र प्रदेश कमिटीको सिफारिसमा केन्द्रीय कमिटीले निर्णय गर्नेगरी केन्द्रीय कमिटी बैठकबाट टुंग्याइएको छ । 

रेखाको उजुरी 
माओवादीबाट एमालेमा प्रवेश गरेका प्रभु साहले रौतहट जिल्लामा एकलौटी गरी जिल्ला कमिटी बनाएको र पार्टीको विधि र पद्धतिलाई ध्वस्त बनाएको भन्दै केन्द्रीय सदस्य रेखा कुमारी झाले उजुरी दिएका थिइन् । तर सो उजुरीलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बेवास्ता गरेका छन् । 

उल्टै उनले मिडियामा किन दिएको भन्दै रेखालाई हप्काएका थिए । ओलीले आफूलाई दिएको उजुरी प्रेसतिर पनि बाँडेको भन्दै असन्तुष्टि जनाउँदै हप्काएको स्रोतले जनाएको छ । 

अध्यक्ष ओलीले पार्टीको हुर्मत लिने काम नगर्न निर्देशन दिदै सञ्चारमाध्यममा दिएर व्यक्तिलाई सन्तुष्टि भए पनि पार्टीलाई फाइदा नहुने भन्दै असन्तुष्टि जनाएका थिए । 

उनले पार्टीभित्रको कुरा पार्टीमै राख्न आग्रह गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ