arrow

अमेरिकाको मूलधारको राजनीतिमा नेपाली अमेरिकीको सक्रियता

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७८ चैत २६ शनिबार
rajendra panthi- article 30.jpg

विश्वको नक्सामा देशका सीमाहरू कोरिए पनि आज सीमा मेटेर मानिसहरू संसारमा छरिएका छन् । विज्ञान र प्रविधिको विकासले संसारलाई जोडेको छ । आजको मानिस जन्म वा कर्मको आधारमा एउटा देश वा भूभाागमा आफ्नो अस्तित्व सीमित गरेको छैन । नागरिक र नागरिकता जहाँको भए पनि विश्वको जुनसुकै मुलुकमा मान्छे पुगेर कर्म र सङ्घर्ष गरेको छ । 

एउटा छेउँको मान्छे प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अर्को छेउमा पुगेर अध्ययन, पेशा उद्योग, व्यवसाय गरेको छ । दक्षिण एसियाको सार्वभौमसत्ता सम्पन्न देश नेपालका  नेपालीहरू पनि आज संसारका थुप्रै मुलुकमा स्थायी वा अस्थायी बसोबास गरेका छन् । नेपालीहरू एसियाका विभिन्न देशहरूका साथै युरोप, अफ्रिका, अमेरिकाका देशहरूमा छरिएर रहेका छन् । नेपालीहरू उत्तर अमेरिका महादेशको एउटा ठूलो देश संयुक्त राज्य अमेरिकामा करिब पाँच लाखको संख्यामा बसोबास गरेका छन् । 

नेपालीहरू अमेरिकाको मूलधारको राजनीतिमा समेत बिस्तारै बिस्तारै समाहित र सक्रिय हुन थालेको देखिन्छ । नेपालीहरूले अमेरिकाको मूलधारको राजनीतिमा नेपालको पहिचान सहित आफ्नो अस्तित्व देखाउनु पक्कै पनि प्रेरणादायी कुरो हो । अमेरिका संसारको समृद्धशाली र विकसित मुलुक हो । देश विकासका विभिन्न सूचकका आधारमा आज संसारका थुप्रै मुलुक विकसित भए पनि अमेरिकालाई शक्तिशाली मुलुकमा एक नम्बरमा नै मानिन्छ । 

अमेरिकाको राजनीतिमा मूलतः दुईवटा पार्टी डेमोक्रेटिक र रिपब्लिकनको मुख्य भूमिका देखिन्छ । विश्वको शक्तिशाली राष्ट्र अमेरिकी मूलधारको राजनीतिमा नेपाली अमेरिकीहरूको सक्रियता, अग्रसरता र प्रतिनिधित्व पनि बढ्दै गएको छ । अहिले खासगरी अमेरिकाको राज्य तह र स्थानीय तहमा नेपालीहरू प्रतिस्पर्धा र प्रतिनिधित्व गरेको पाइन्छ । 

अमेरिकाको व्यवस्थित र लिखित इतिहास कोलम्बसको आगमन भएपछि भएको हो । कोलम्बस इटालियन हुन् । उनले सन् १४९२ मा अमेरिका पत्ता लगाएका थिए । कोलम्बस इन्डियाको खोजीमा निस्किएका थिए र त्यसबेला उनले पत्ता लगाएको यो भूभागलाई इन्डिया भनेका थिए । 

सन् १५०७ मा श्यामउलरले विश्वको नयाँ नक्सा बनाए र कोलम्बसले पत्ता लगाएको भूभागलाई अमेरिका भनी नामाकरण गरेका थिए । किनभने नक्सा अनुसार त इन्डिया दक्षिण एसियामा पर्दथ्यो । त्यस ठाउँको नाम परिवर्तन भए पनि त्यहाँका बासिन्दालाई इन्डियन नै भनिन्थ्यो र पछि नेटिभ अमेरिकन भनिन थालियो । 

अमेरिकामा स्थापित राजनैतिक दलहरूको इतिहासलाई हेर्दा सन् १७९० मा ह्यामिल्टन र जेफर्सनले आफ्नो विचार प्रवाह गर्न संगठन खोलेका थिए । ह्यामिल्टनले फेडेरलिस्ट र जेफर्सनले डेमोक्रेटिक– रिपब्लिकन पार्टी खोले । सन् १८५० मा यी दलहरू दर्ता भएका थिए । यी दुई पार्टीका नामबाट अमेरिकामा लगभग ६० वर्ष राजनीति चल्यो । 

अहिले अमेरिकाको राजनीतिमा दुई प्रमुख दलहरू डेमोक्रेटिक र रिपब्लिकन मुख्य भूमिकामा रहेका छन् । अमेरिकाको प्रथम राष्ट्रपति जर्ज वासिङ्टन कुनै दलको नभइ स्वतन्त्र थिए । उनी ३० अप्रिल १७८९ देखि ४ मार्च, १७९७ सम्म अमेरिकाको राष्ट्रपति भएका थिए । यसैगरी अमेरिकाको १६ औं राष्ट्रपति अब्राहम लिङ्कन हुन् र अहिलेका वर्तमान राष्ट्रपति जो बाइडेन ४६ औं हुन् । यिनी डेमोक्रेटिक पार्टीका हुन् । 

अमेरिकामा केन्द्रीय, राज्य र स्थानीय सरकारहरू रहेका छन् । प्रत्येक राज्यमा एक राज्यपाल, एक विधायक र एक न्यायपालिकाको व्यवस्था रहेको छ । देशको मुख्य संविधानका अतिरिक्त प्रत्येक राज्यका आ–आफ्नै संविधान पनि छन् ।  अमेरिकामा करिब ९० हजार स्थानीय सरकार छन् । जसमा ५० राज्य सरकार, ३,१२९ जिल्ला सरकार (काउन्टी) र बीस हजार नगरपालिका छन् । यस्तै टाउन १६,५०० र स्कुल डिस्टिक १३,००० तथा स्पेसल डिस्टिक ३७ हजार रहेका छन् । 

यी निकायहरूमा जनताको मतदानबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विभिन्न दलहरूको प्रतिनिधित्व हुने गरी निर्वाचन हुने गर्दछ । केन्द्रदेखि स्थानीय तहसम्म मूलतः दुई दलबीच प्रतिस्पर्धा भएको हुन्छ । 

अमेरिका मूलतः आप्रवासी मुलुक हुनाले यहाँ संसारका प्रायः देशबाट मानिसहरू आएर बसोबास गरेका छन् । दक्षिण एसियाको सुन्दर मुलुक नेपालबाट पनि करिब पाँच लाख नेपालीहरू स्थायी अस्थायी रुपमा बसोबास गरेका छन् । केही नेपालीहरू नेपालको नागरिकता नै त्यागी अमेरिकी नागरिक भइ बसेका छन् । 

केही ग्रिनकार्ड, केही रोजगार, केही व्यापार र व्यवसाय, केही अध्ययनको लागि बसोबास गरेका छन् । अमेरिकामा राजनीति गर्न र मतदानको लागि यहीँको नागरिक हुनुपर्छ । 

करिब पाँच लाख नेपाली अमेरिका छन् भने पनि करिब २१ हजार नेपालीहरू मतदानमा सहभागी हुन पाउँछन् । अर्थात् अहिलेसम्म करिब २१ हजार नेपालीले अमेरिकाको नागरिकता लिएका छन् भनिएको छ । 

अमेरिकामा नेपालीको बसोबास कहिलेदेखि भएको हो भनेर इतिहास नै खोतल्ने हो भने अमेरिका आउने पहिलो नेपाली जनरल कृष्णबहादुर राणा हुन् भनिएको छ । उनी राणाकालीन राजनीतिज्ञ, आर्मी चिफ र कोतपर्वका एक नाइके पनि हुन्  । उनी सन् १९३९ तिर अमेरिका आएका थिए ।

तर अमेरिका आएर ग्रिनकार्ड पाउने पहिलो नेपाली रमेश मल्ल हुन् । उनी सन् १९६२ मा अमेरिका आएका थिए । कानूनी रुपमा नै नेपालीहरू अमेरिका आउन थालेको करिब ६० वर्ष भएको छ । 

अमेरिकामा सन् १९५७ पूर्व नेपालीहरूलाई अन्य एसियनको श्रेणीमा राखिएको थियो । एक तथ्यांक अनुसार सन् १९९६ पूर्व प्रत्येक वर्ष एकसय भन्दा कम नेपाली अमेरिका आउने गर्थे । 

सन् १९९० को जनगणना अनुसार अमेरिकामा जम्मा ४३१ जना नेपाली अमेरिकाको स्थायी बासिन्दामा सूचीकृत भएका थिए । अहिले अमेरिकामा प्रत्येक वर्ष करिब तीन हजार ग्रिनकार्ड बाहक, करिब पन्ध्र हजार विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि अनि पारिवारिक भेटघाट, घुमफिर आदिका लागि जम्मा  वार्षिक करिब बीस हजार आएको देखिन्छ । 

सन् १९४७ मा नेपालले अमेरिकासँग कुटनैतिक सम्बन्ध स्थापित गरेको थियो भने सन् १९५९ मा अमेरिकाले काठमाडौंमा दूतावास खोलेको थियोे । दुतावास खोलेपछि सिधा सम्पर्क हुन थाल्यो र नेपालीलाई धेरै सुविधा हुनथाल्यो । 

वैधानिक रुपमा नेपालीहरू अमेरिका आउन थालेको करिब छ दशक पूरा भइसकेको छ । वैधानिक र अवैधानिक रुपले अमेरिकामा यो संख्या पाँच लाख भइसकेको परिप्रेक्ष्यमा यो संख्या बढ्नु नेपालको लागि पक्कै पनि राम्रो पक्ष होइन । 

आज अमेरिकाको हरेक क्षेत्रमा नेपालीको उपस्थिति रहेको छ । अमेरिकाका विश्वविद्यालयहरूको विभिन्न विभागहरूको माथिल्लो पदहरूमा समेत नेपाली प्राध्यापकहरूले अध्यापन गराउने थुप्रै उदाहरण छन् । केन्द्रीय तथा राज्य तहका विभिन्न निकायहरू जस्तैः व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य, न्याय, विज्ञान आदिमा नेपालीहरू रहेका छन् । यसका अतिरिक्त नेपालीहरूको अमेरिकाको मूल राजनीतिमा पनि उपस्थिति देखिन थालेको छ । अमेरिकाको राज्य तहदेखि स्थानीय तहसम्मको निर्वाचनमा नेपालीहरू प्रतिस्पर्धा गरिरहेका छन् । 

अमेरिकाको मेरिल्याण्ड राज्यका सांसद ह्यारी भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा सबभन्दा माथिल्लो निकाय पुग्ने प्रथम नेपाली हुन् । उनी पश्चिम नेपालको पर्वत जिल्लाको थापाथानामा जन्मेका थिए । उनले एक कार्यकाल सकेर दोस्रो कार्यकालको लागि उम्मेदवारी दिएका छन् । उनी डेमोक्रेटिक दलका सदस्य हुन् ।

त्यस्तै मेरिल्याण्ड राज्यको टाउन अफ इन्डियन हेड नगरपालिकाको उपप्रमुखमा किरण सिटौला दोस्रो कार्यकालका रूपमा जिम्मेवारी निभाएका छन् । भर्जिनिया राज्यको हे मार्केट नगर परिषदको सदस्यमा मधु पन्थीले एक कार्यकाल काम गरे भने भर्जिनियाकै हरन्डन नगरको नगर परिषदमा प्रदीप ढकाल विजय भएका थिए । 

टेक्ससको ड्यालसमा टीका पौडेल र कनेक्टिकट राज्यको ब्रान्फोड क्षेत्र नं ४ बाट आरटीएम पदमा निर्वाचित भएका छन् । अहिले न्युयोर्क राज्य संसदको तल्लो सदनमा नेपाली चेली  सराहना श्रेष्ठले उम्मेदवारी दिएकी छन् र टेक्सास राज्यको  निर्वाचन क्षेत्र नं ९२ बाट दिनेश शर्माले उम्मेदवारी दिएका छन् । यस्ता नेपाली अमेरिकनहरूले अमेरिकाको विभिन्न राज्य  र स्थानीय निकायमा विभिन्न दलहरूमा संगठित भई प्रतिस्पर्धामा देखिएका छन् । 

आफ्नो जन्मभूमि छोडेर नागरिकता नै त्यागी अर्को देशमा गई नाम कमाएकोमा प्रशंसा गर्नु पक्कै पनि उपयुक्त नहुन सक्छ । तर आज २१ औं शताब्दीको युग हो । देशका सीमाहरू मेटेर विश्व एक भएको अवस्थामा विश्वको एउटा सानो मुलुकमा जन्मेका नागरिकले विश्वमा नाम कमाउन सफल भएका छन् भन्दा प्रेरणा र गौरब लिने ठाँउ पनि हो । 

विश्वका विकसित मुलुकमा नेपाली मूलका मानिसहरूको अहम् भूमिका रहेको छ भन्न पाउनु गर्वको कुरा हो । नेपाल राज्यको एउटा महत्त्वपूर्ण जिम्मेवारी भनेको विदेशमा रहेको दक्ष र विश्व प्रसिद्ध जनशक्तिलाई नेपाल बनाउनको लागि प्रयोगमा ल्याउनु पर्छ । 

राज्यले विगत लामो समयदेखि देखिएको राजनीतिक अस्थिरता अन्त्य गरी जिम्मेवारीपूर्वक सक्रियता देखाउन सक्ने हो भने विदेसिएको हरेक किसिमको जनशक्ति नेपाल फर्केर नेपाललाई समृद्धशाली मुलुक बनाउन सक्छ । नेपालीले नेपाल मात्र होइन विश्वमा पनि नाम कमाए भन्ने कुरा सुन्ने सपना बुनौँ र कर्म गरौँ । 
 



नयाँ