- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
श्री शिवपुरी बाबा आज्ञा हुन्थ्यो, तपाईँले आफ्नो जीवनप्रतिको प्रेम छोडिदिनुभयो र ईश्वरप्रतिको प्रेम तपाईँमा बढ्न गयो भने प्राण जाने अवस्था आए पनि, संसारमा जेसुकै भए पनि मनमा हडबड केही हुँदैन । आफ्नो कर्तव्य नबिगारे पुग्छ । त्यस्तै भीष्म पितामहलाई पूर्ण चेतना आयो, उनलाई पश्चात्ताप भयो ।
कुनै भक्तले श्री शिवपुरी बाबासँग भीष्मजस्तो पुरुषार्थ व्यक्तिलाई पनि किन शिखण्डीजस्तो नपुंसकको हातबाट मर्नुपर्यो भनेर प्रश्न गरेका थिए । श्री बाबाले उनको प्रश्नको उत्तर दिँदै भन्नुभयो कि, भीष्म पनि नपुंसकजस्तै थिए र नपुंसककै निमित्त भएर मर्नुपर्यो किनभने उनले राजपाट पनि त्यागे, आजन्म ब्रह्मचर्य पालन पनि गरे तर दरबारकै सुख शयल भोगेर समय बिताए । ईश्वर चिन्तनमा लागेनन् । यसो गर्नु उनको स्त्रीत्वको चिह्न भने हुन्छ । त्यसैले नपुंसक शिखण्डीको निमित्त भएर उनले मर्नुपर्यो ।
भीष्मले पाडवहरुको असल हुने कुरा पनि गरेका त थिए तर दुर्योधनसँग बसेका हुनाले उनले कौरव पक्षलाई छाड्न पनि सकेनन् । यो उनको मित्रताको निम्ति पनि आवश्यक नै थियो ।
भीष्ममा विवेक पनि पुगेको भन्न सकिँदैन । एकातिर उनले माझीकी छोरीसँग आफ्नो बाबुको विवाह गर्न स्वीकृति दिए भने दुर्योधनलाई यस्तो खराब काम नगर्नु पनि भन्न सकेनन् । यसैले यिनले कर्तव्य पनि पूरा गर्न सकेनन् । जब मृत्युशय्यामा परे तब मात्र यिनलाई ज्ञान आयो र आफ्नो गल्ती महसुस भयो ।
ब्रम्हज्ञान प्राप्त गरेपछि पनि मानिसले तुरुन्तै शरीर छोड्न सक्तैन । उसले आफ्नो प्रारब्ध सबै मिटाउनु नै पर्छ । प्रारब्ध भोग भनेको जसले पनि भोग्दै जानु पर्छ, चाहे त्यो धेरै होस्, चाहे थोरै । यसरी जब श्रीकृष्णले उनलाई आफूले देखेको पापको ज्वलन्त उदाहरण दिनु भयो ।
उनमा आफूलाई चेतना आयो । उनमा भएको वेदनाहरू सबै हट्यो । उनी स्वास्थ्य पनि भए । उनको हृदय पनि सफा भयो । जे जस्तो अवस्था आई परे पनि हामीले भक्ति छोड्नु हुन्न । जसरी सुख आए पनि हामी खाना खान्छौँ, दुःख आए पनि खाना खान्छौँ । त्यसरी नै भक्तिलाई पनि अङ्गाली रहेर कर्तव्य गरि रहनु नै पर्दछ ।
श्रीकृष्णले लडाइँको प्रसङ्ग निकाल्नु भयो । भीष्मले श्रीकृष्णसँग आफू उनको शरणमा परेको आफूले पाण्डव छोराहरूको जय होस् भनेर बाण चलाएको कुरा बताए । भक्त र भगवान् दुवै एकै भए । उनले ईच्छामरणको वर पाएका त थिए नै, उत्तरायण भएपछि उनले गङ्गा किनारमा प्राण त्याग गरे । (अस्तु)
(तिमिल्सीना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।)
इमेल :aamodita@gmail.com