arrow

केपी ओलीलाई नै चुनावमा उठ्न खतरा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ १३ शुक्रबार
kp-sharma-oli-all.jpg
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको निर्वाचनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको क्षेत्र नै असुरक्षित रहेको आँकडा देखिएको छ । ओलीको गृहजिल्ला झापा र ओलीकै निर्वाचन क्षेत्र दमक नगरपालिकामा एमाले हराउन सत्ता गठबन्धन दलले राप्रपासँग पनि चुनावी तालमेल गरेपछि असुरक्षित देखिएको हो । एमाले किल्लाको रुपमा रहेको झापाको दमक यसपटक एमालेले गुमायो । 

राप्रपाका रामकुमार थापाले दमकको मेयरमा बाजी मारेसँगै एमाले अध्यक्ष अप्ठेरोमा परेका छन् । दमक झापा क्षेत्र नम्बर ५ मा पर्छ जुन ओलीको निर्वाचन क्षेत्र हो । झापाका कुल १५ स्थानीय तहमध्ये ओलीको निर्वाचन क्षेत्रमा ४ वटा स्थानीय तह पर्छन् । दमक नगरपालिका, गौरादह नगरपालिका, कमल गाउँपालिका र गौरीगन्ज गाउँपालिका गरी चार स्थानीय तह ओलीको निर्वाचन क्षेत्रमा छन् । यी चारमध्ये यसपटक एमालेले गौरादह नगरमात्रै जितेको छ । 

बाँकी तीन स्थानीय तहमा एमाले पराजित भएको छ । जसले गर्दा ओलीलाई आगामी निर्वाचन सकसपूर्ण देखिएको छ । ‘एमालेलाई आगामी चुनाव निकै कठिन छ, अझ गठबन्धन भैरहेकामा ओलीका लागि चुनौती थपिएको छ, झापाका एक एमाले नेताले भने । 

२०७४ को स्थानीय तहमा कमल गाउँपालिका र दमक नगरपालिका मात्र जितेको थियो । कमल गाउँपालिकामा त्यसबेला एमालेकी मेनुका काफ्ले र कांग्रेसका हुकुमसिंह राईको बराबरी मत आएको थियो । मत बराबरी भएपछि अध्यक्ष छान्न गोला गर्दा चिट्ठा एमालेको भागमा प¥यो र मेनुका काफ्ले अध्यक्ष भएकी थिइन् । तर उनले राम्रो काम नगरेको भन्दै यसपल्ट एमालेले त्यो गाउँपालिका गुमाएको छ । 

यसअघि गौरादह नगर कांग्रेस र गौरीगन्ज राप्रपाले जितेको थियो । यसपटकको चुनावमा गत चुनावमा कांग्रेसले जितेको गौरादह एमालेले जितेको छ । अन्य दमक, गौरीगन्ज र कमल गाउँपालिका एमालेले जित्न सकेन । दमकमा सत्ता गठबन्धन र राप्रपा समेतको महागठबन्धनले राप्रपाले जित्यो । गौरीगन्ज र कमल दुवै गाउँपालिका कांग्रेसले जितेको छ ।

झापामा एमाले अन्य राजनीतिक दलभन्दा सबैभन्दा ठूलो शक्ति हो । त्यसका अतिरिक्त राप्रपा पनि यो जिल्लामा बलियो शक्तिका रुपमा रहेको छ । उसको एउटा मात्रै क्षेत्र छ । अन्य क्षेत्रमा राप्रपाको मत बाँडिएको छ । 

स्थानीय तहको चुनावमा ओलीकै गृहनगरमा सत्ताबन्धनको सहयोगमा राप्रपाले दमकको मेयर जितेको छ । जसरी पनि ओलीलाई हराउनुपर्छ भन्ने मानसिकताको आधारमा सत्ता गठबन्धन र राप्रपा मिलेपछि मात्रै एमालेलाई हराउन संभव भएको हो । 

आगामी संघीय निर्वाचनमा पनि यो मानसिकता कायम रहेमा ओलीका लागि चुनौती आउने संभावना देखिएको छ । २०७४ सालको संघीय चुनावमा एमाले र माओवादीले देशभर चुनावी गठबन्धन गरेका थिए । तर त्यसो गर्दा पनि ओलीले झापामा राप्रपाको बढदो प्रभाव देखेर राप्रपाको साथ लिएर चुनाव जितेका थिए । 

राप्रपाका अहिलेका अध्यक्ष राजेन्द्र लिङदेनलाई सहयोग गर्ने र आफूलाई झापा ५ मा राप्रपाले पनि सहयोग गर्ने नीतिका आधारमा ओलीले भित्री सहमति गरेर राप्रपाको पनि चुनावमा साथ लिएका थिए । 

जसको परिणाम झापामा नेपाली कांगेसका नेता कृष्णप्रसाद सिटौलाको पराजय भएको थियो । ओलीले राप्रपासँग सहकार्य गरेपछि निकै सहज भएको थियो । तर दमकमा एमालेविरुद्ध राप्रपा नै लागेपछि भने आगामी निर्वाचमा गठबन्धन हुने नहुने केही भन्न सक्ने अवस्था नभएको राप्रपाका नेताहरुले बताएका छन् । 

गत चुनावमा ओली ५७ हजार १३९ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २८ हजार २९७ मत मात्रै पाएका थिए । ओलीले पाएको मत एमाले, माओवादी र राप्रपाको थियो । 

तर माओवादीको कति मत थियो भन्ने बारेका केही बताउने अवस्था छैन । स्थानीय तहको यसपटकको  नतिजाअनुसार झापा ५ का एमालेका सबै स्थानीय तहका प्रमुखले पाएको जम्मा मत ४२ हजार ७ सय ९८ छ । एमाले बाहेकका  दलका प्रमुखहरुले पाएको मत ५५ हजार ७८८ छ । 

जसले गर्दा करिब १३ हजार मत एमालेको भन्दा बढी छ । यो हिसावले पनि सबै शक्ति एकजुट भएमा एमालेका लागि संकट पर्नेछ । निर्वाचन आयोगको वेभसाइट हेर्दा वडा तहको मत परिणामका आधारमा ओलीका जिल्लाका सवै वडाका एमाले उम्मेदवारको कुल मत ४५ हजार ५१२ छ । कांग्रेसका जति उठाइएका वडा अध्यक्षका उम्मेदवार छन् उनीहरुले पाएको मत २५ हजार ९७७ र माओवादी केन्द्रका पनि उठाइएका जति वडाध्यक्षले पाएको मत १२ हजार ४४४ छ । 

त्यस्तै राप्रपाको ८ हजार ७७४ मत छ । यसरी हेर्दा कुलमा एमालेको ४५ हजार ५१२ र एमाले बाहेक समूहको ४१ हजार ७१५ मत हुन्छ । 

यसमा राप्रपाको दमकमा उठेका उम्मेदवारको मात्र मत जोड्ने हो भने ४५ हजार २१७ मत हुन आँउछ । ओलीविरुद्ध सत्ता गठबन्धन सबै मिलेर मोर्चा कसेको खण्डमा ओलीलाई आउने संघीय चुनाव सकस पर्ने स्थानीय तहको चुनावी परिणामले देखाएको छ । 

यद्यपि झापामा अहिलेकै गठबन्धन रहन्छ वा भत्किन्छ भन्ने बारेमा राजनीतिक विश्लेषकहरुले केही बताउन सकेका छैनन् ।

छटपटीमा उपेन्द्र यादव, सांसदको चुनाव जित्न गठबन्धन छाडेर एमालेको ओत लाग्ने सम्भावना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ