- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालको संविधान २०७२ अनुसार हरेक पाँच वर्षमा हुने स्थानीय निर्वाचनको दोस्रो कार्यकालको लागि गत बैशाख ३० गते सम्पन्न भइ करिब सबै पालिकाको मत परिणाम पनि आइसकेको छ । नेपालमा रहेका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिका गरी जम्मा ७५३ पालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी जसपा, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी क्रमशः पहिलो, दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैटौं पार्टी भएका छन् । केही पालिकामा साना दल र केही स्वतन्त्र उम्मेदवार पनि विजय भएका छन् ।
२०७४ को स्थानीय निर्वाचनमा २९४ पालिकामा नेतृत्व हासिल गरेर सबैभन्दा ठूलो दल बनेको एमाले यस निर्वाचनमा भने केही खुम्चिएर चित्त बुझाउन परेको छ । यो खस्कदो परिणाम व्यहोर्नुपर्ने मूल कारण भनेको रीसको आवेगमा एमाले आफैं जानीजानी उल्टो बाटो हिँडेर अरुलाई खाल्डोमा पार्छु भन्दा भएको हो । २०७४ को स्थानीय, प्रदेश र संघको निर्वाचनमा जनताले अत्यन्तै आशा र विश्वास गरेर पहिलो पार्टी बनाए । तर पहिलो भएको मात, घमण्ड, अहंकारले पार्टी अध्यक्षबाट नै संविधानलाई मास्ने काम भयो ।
तत्कालीन पार्टीका अध्यक्ष खड्कप्रसाद ओली (केपी शर्मा ओली) ले पार्टीलाई चलाउन नसक्दा जनताको अभिमतलाई अपमान गरियो र एमालेलाई एउटा व्यक्ति विशेषको निजी सम्पत्ति जस्तो बनाएर पार्टीको नाम नेकपा (एमाले) भनिए तापनि एमालेलाई ओली एन्ड कम्पनी बनाइयो । जनताको रगत र पसिनाबाट बनेको देशको प्रमुख पार्टीमा हिटलरवाद हाबी भयो र सामन्तवादी शैली देखा पर्यो ।
अन्ततः त्यो घमण्ड र स्वेच्छाचारीतालाई अहिलेको निर्वाचनमा जनताले राम्रै दण्ड र सजाय दिएर लोकतन्त्रमा सर्वशक्तिमान भनेका नेता होइनन् जनता नै हुन् भन्ने कुरा पुष्टि पनि गरिदिए ।
२०७४ को प्रदेश र संघीय निर्वाचनबाट धन्नै दुईतिहाई मत प्राप्त गरेको केपी ओलीको नेतृत्वको तत्कालीन नेकपाभित्र देखिएको पार्टी संगठनको आन्तरिक किचलोले गर्दा देशले करिब तीन वर्ष राजनीतिक अस्थिरता व्यहोर्नु पर्यो । केपी ओलीले आफ्नो पार्टी मिलाउन नसक्दा दुई दुई पटक संसद भङ्ग गर्ने काम गरे र उनी आफैं पार्टीको पतनको लागि उल्टो बाटो हिँड्न शुरु गरे ।
उनले पार्टीभित्र कुनै सैद्धान्तिक बहस गरेनन् । नारायणीको तीरमा हजारौं मान्छे उतारेर आफँै स्वघोषित अध्यक्ष भए र आफ्नालाई पार्टीका विभिन्न पद टीका लगाएर बाँडे । पार्टीको महाधिवेशनमा कुनै प्रजातान्त्रिक परिपाटी अपनाएनन् । कम्युनिष्टको नीति, सिद्धान्त, शैली, आचरण अध्यक्षजस्तो जिम्मेवार व्यक्तिबाट हुन सकेन ।
राजनीतिक पतनको लागि विरोधीलाई लालगद्दार भन्दै उल्टो बाटो तय गरे अनि नेपाली जनताहरू कोरोनाका कारण त्रसित भएको बेलामासमेत कुनै किसिमको राहत नदिइ आन्तरिक खेल खेली तमासा हेर्नुको कारण नै आज एमालेलाई जनताले झापड लगाइदिएका हुन् । केपी ओली आफ्ना केही भजनमण्डली अघिपछि लगाएर विपक्षलाई सत्तोसराप गाली गर्दै ‘हामी त क्विन्टलका ढक हौँ’ भने पनि उनको अहंकार र दम्भ जनताले राम्रैसँग बुझेका थिए ।
ओलीले आफूले गरेका राजनीतिक अपराध छोप्न वा मेटाउन अनेक प्रयत्न गरे तर सफल भएनन् । लोकतन्त्रमा जनता सर्वेसर्वा भएकाले जनताको अगाडि कसैको केही लाग्दैन । अहिले नेपाली जनता धेरै सचेत भएका छन् । जनता भ्रम र उखानका पछाडि लाग्दैनन् भन्ने कुरा हालै भएको निर्वाचनको परिणामले देखाएको छ । नेपाली जनताले नेकपा एमालेले हिजो गरेको गल्तीको सजाय दिएका हुन् । लोकतान्त्रिक परिपाटीमा जनभावना विपरीत हिँड्ने कुनै पनि दललाई यस्तै तरिकाले झापट दिनुपर्छ । यो लोकतन्त्रको सुन्दर पक्ष पनि हो ।
आज एमाले जुन खाल्डोमा फसेको छ त्यो एउटामात्रै कारणले होइन । पार्टी अध्यक्ष ओलीले आफ्नो पटक पटकको कमजोरीलाई स्वीकार गर्न नसक्दा यो क्षति व्यहोर्नु परेको हो । सायद ओलीजस्तो चतुर राजनीतिक खेलाडीले बाहिर जतिसुकै हुंकार गरे पनि यो क्षति हुन्छ भन्ने उनी आफैंलाई थाहा नै थियो जस्तो लाग्छ ।
ओली प्रधानमन्त्रीमा पदासीन हुँदादेखि अहिलेसम्मका उनका क्रियाकलापलाई हेर्दा उनका कमजोरीका उदाहरण थुप्रै छन् । यद्यपि उनले सबै नराम्रा काममात्र गरे भन्न खोजेको होइन । उनका राम्रा कामलाई उनकै गलत कामले ओझेलमा पारिदिए । उनको सबैभन्दा ठूलो गल्ती भनेको संविधान विपरीत संसद भङ्ग गर्नु नै हो । यो उनको गल्तीलाई केही गरे पनि नेपालको राजनीतिक इतिहासबाट मेटाउन सकिँदैन ।
केही सिद्धान्त र विचारका आधारमा नभई प्रधानमन्त्री बन्नका लागि पार्टी एकीकरणको नाटक गरिनु र पार्टी मिलाउन नसक्नु, पार्टीभित्र एकछत्र प्रभुत्व जमाउन खोज्नु, भिन्न विचार समूहका कुरा सुन्नै नखोज्नु, पार्टीको सल्लाह बिना एकलौटी पाराले सरकार चलाउनु, बिनाकारण करिब नौ महिनासम्म संसद अवरुद्ध गर्नु लगायतका थुप्रै गल्ती कमजोरी ओलीले गरेका थिए ।
पार्टी मिलाउन नसक्दा नेकपा फुटेको थियोे र ओलीकै घमण्ड र अहंकारले पुनः एमाले पनि फुट्यो । यसरी पार्टी फुट्दा एमालेलाई स्वाभाविकै रुपमा क्षति भयो । आज निर्वाचनमा जति पनि क्षति व्यहोर्नु परेको छ त्यो सबै ओलीकै कारण हो । ओलीलाई देवता बनाउनु, पार्टीमा आन्तरिक छलफल नहुनु, ओलीको बोलीलाई देवबोलीको रुपमा स्वीकार्नु, कम्युनिष्ट पार्टीको अध्यक्ष जस्तो पदलाई ‘बा’ को रुपमा परिभाषित गरिनु, पार्टीभित्र अवसरवाद हावी हुनु नै एमाले ओरालो लाग्नुका कारण हुन् ।
हरेक राजनीतिक दलले एउटा गति लिनको लागि निश्चित नीति, सिद्धान्त र विचारको बाटो अवलम्बन गरिनुपर्छ । केपी ओलीको कुनै किसिमको सैद्धान्तिक आचरण र व्यवहार नहुनाले यो स्थानीय निर्वाचनमा हार व्यहोर्नु परेको हो । खासगरी एमालेले विगत समयमा आफूले जितेका अधिकांश पालिकामा जनचासोका विकास निर्माणका काम हुन सकेनन् ।
ओली सरकारको पालामा पनि केन्द्रबाट योजनाविहीन तरिकाले कनिका छरेसरि केही भ्यु टावर र डोजरे विकास गरिए । बजेट नै नपारी शिलान्यास र उद्घाटनका नारा घन्काइए र बाजा बजाइए । भाषणमा मात्र ठूला आश्वासन र सपनाहरू असाध्यै बाँडिए । पार्टीको केन्द्रीय अध्यक्षदेखि लिएर साधारण संगठित सदस्यसम्ममा अरु कोही पनि पार्टी हैनन् हामी मात्र हौँ भन्ने दम्भ देखियो ।
आफूभन्दा अन्य पार्टीको अस्तित्व स्वीकार गर्न सकेनन् । पार्टीभित्र पनि सोझा साझा कार्यकर्तालाई पाखा लगाउने काम भयो र टीके र झोलेको अत्यन्तै दबदबा देखियो । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा टिकट वितरण प्रणालीमा पनि स्थानीय कार्यकर्तासँग छलफल नै नगरी हचुवाको भरमा नेताको चाकरी चाप्लुसी गर्नेलाई टीका लगाएर उम्मेदवार बनाइयो ।
बहुदलीय लोकतान्त्रिक परिपाटीमा कुनै खास नेतालाई देवत्वकरण र दानवीकरण गरिनु उपयुक्त होइन । पार्टीमा माथिदेखि तलसम्म सबैको भूमिका वा अस्तित्वलाई स्वीकार्नु पर्छ । आजका ठूला भनिने नेपालका कुनै पनि पार्टी हिजोको आजै वा क्षणभरमा यति विशाल भएका होइनन् । वर्षौंदेखि धेरै कार्यकर्ताको रगत र पसिनाको मिहिनेतबाट बनेका हुन् ।
एमाले पार्टी पनि धेरै कार्यकर्ताको रगत र पसिना सिंचित भएर बनेको हो । राजनीतिक पार्टी जीवन्त र मजबुत बन्नका लागि आम सर्वसाधारण जनता, पार्टीप्रति आस्था राख्ने कार्यकर्ता र नेतृत्व सबैको महत्वपूर्ण भूमिका रहेको हुन्छ । एमालेले पछिल्लो चरणमा ओलीलाई देवबोली वा बाबोली मानेर कार्यकर्ता र मतदाताको अपमान गर्नाले यो स्थानीय निर्वाचनमा क्षति व्यहोर्नु पर्यो ।
अहिलेको निर्वाचनको परिणामलाई नियाल्दा आम नेपाली मतदाता मतदान प्रक्रियामा तुलनात्मक रुपमा धेरै सचेत भएको पनि देखियो । पहिले जस्तो कसैको लहलहैमा वा कसैको प्रभुत्व वा कसैको धम्की र डरका आधारमा मतदान गरेको पाइएन । पार्टी वा व्यक्तिको कार्यशैलीलाई हेरेरमात्र मतदान गरेको पाइयो ।
यस स्थानीय निर्वाचनमा उम्मेदवार चयनमा एमालेले आडम्बर र अपरिपक्वता देखाउँदा पनि हार्नुपर्यो । हामीले जसलाई उठाए पनि जितिन्छ भन्ने घमण्डका कारण राम्रो नतिजा आउन सकेन । तल्लो कमिटीमा छलफल नगरी माथिल्लो निकायबाट आफ्ना मान्छेलाई टपक्क टिपेर उम्मेदवार बनाउदा सम्बन्धित उम्मेदवारलाई सम्पूर्ण कार्यकर्ताले एकजुट र बलका साथ साथ दिएको देखिएन । यस्तो अवस्थामा अन्तर्घात हुनु स्वाभाविकै हो ।
एमालेका उम्मेदवारहरूलाई सबैभन्दा ठूलो अन्तर्घात राजधानी लगायतका ठूला शहरमा भयो । जनताले पार्टी मात्र होइन पार्टी भित्रको व्यक्ति पनि हेर्दा रहेछन् भन्ने कुरा एमालेले बुझ्नुपर्ने देखियो । जनताका अगाडि हावादारी गफ गरेर वा निर्वाचन नहुँदै गेम इज ओभर भनेर भन्दैमा अब जनताले पत्याउँदैनन् । सामान्य नियम अनुसार पनि लोकतान्त्रिक पद्धतिमा दलहरू निर्वाचनको मैदानमा जाँदा गेम स्टार्ट हुन्छ नकि ओभर । परिणाम आएपछि ओभर हुने हो ।
यस स्थानीय निर्वाचनमा एमालेले हार्नुको अर्को महत्वपूर्ण कारण भनेको नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बनिनु पनि हो । सैद्धान्तिक रुपमा गठबन्धनको कुनै औचित्य नदेखिए पनि एमालेलाई हराउन राम्रै काम गर्यो । यस स्थानीय निर्वाचनमा देउवा सरकार निर्माण हुँदा बनेको गठबन्धनले निरन्तरता पाइरह्यो ।
हुनत एमाले सांगठनिक रुपमा नेपाली कांग्रेस र माओवादी जस्तो कमजोर पार्टी होइन तर ओलीले आफ्नै घमण्डले कमजोर बनाइएर मात्र हो । साँच्चै एमाले शक्तिशाली नभइदिएको भए पूर्व र पश्चिम फर्किएका कोही कांग्रेस, कोही कम्युनिष्ट र अन्य साना दलहरू यसरी गठबन्धन बनाउने थिएनन् र एक्लाएक्लै निर्वाचनमा सहभागी हुन्थे ।
एमालेका अगाडि एक्लाएक्लै हिम्मत गर्न नसकेकै हुन् । वास्तवमा ओलीलाई एक्लाएक्लै तह लगाउन सकिन्न भन्ने डरले नै पाँचदल उनको विपक्षमा होमिएको हो । एक्लाएक्लै नसके पनि पाँच दलीय गठबन्धनले ओलीको अहंकार र दम्भलाई राम्रै सजाय दिएको छ ।
सायद ओलीले यसबाट राम्रै शिक्षा ग्रहण गरेको हुनुपर्छ । अब एमालेले यस स्थानीय निर्वाचनमा प्राप्त गरेको मत परिणामबाट राम्रो पाठ ग्रहण गरी विगतमा गरेको गम्भीर त्रुटिलाई आत्मसात गर्नुपर्छ । अझै पनि पाँच दलले घेराबन्दी गरेर हामीलाई हराए भन्दै जनतामा गएर उही पुरानै दम्भ देखाउने हो भने जनताले पत्याउँदैनन् र स्वभाविकै रुपमा मत अझै घट्छ ।
कमरेड ओलीलाई चेतना आओस् । राजनीतिक पार्टीलाई कुनै व्यक्तिको निजी कम्पनी बनाउनु हुँदैन, सम्पूर्ण कार्यकर्ताको अपनत्व हुनेगरी जनताको पार्टी नै बनाउनु पर्छ । (लेखक हाल अमेरिकाको भर्जिनियामा छन्)