arrow

ध्रुवको अठोट

logo
विष्णुप्रसाद तिमिल्सीना,
प्रकाशित २०७९ असार १६ बिहिबार
sivapuri-baba.jpg

काठमाडौं । श्री शिवपुरी बाबा सँग भक्तहरूले हामीले परमात्मा कसरी पाउने भनेर प्रश्न गर्दा उहाँको जवाफ थियो, 'मानिसले परमात्मा पाउँछु भनेर दौडेर मात्र उनलाई कहीँ पनि भेट्न सक्तैन तर बालक ध्रुवले जस्तो अठोट गरेर अखण्ड तप गरेमा आफ्नै अगाडि भने ल्याउन सक्ने खुबी मनुष्यमा छ ।' 

आफ्नो भाइ, बाबु उत्तान पादको काखमा खेली रहेको वेलामा ध्रुवलाई पनि खेल्न जाने रहर लाग्यो तर आफ्नी सौतेनी आमा, सुरुचिको वचनबाट विरक्त भए । सौता सुरुचिको वचन सुनीतिले पनि सुनिन् । 

उनलाई ध्रुवलाई राम्रो संस्कार दिने मन उठ्यो र ध्रुवलाई उनले यो संसार दरिद्रताले भरिभराउ भएको छ, एक परमात्मा प्रभु मात्र सत्य छन्, परमात्माले नै सबै कुरा दिनु हुन्छ, जे मांगेपनि उहाँसँगै माग्नु पर्छ, उहाँकै शरणमा जाऊ उहाँले नै काखमा राख्नु हुन्छ भन्ने जस्ता सारगर्भित कुरा बताइन् । 

ध्रुव परमात्माको ध्यानमा लाग्ने विचार गरेर वनमा गए । उनले नारदलाई भेट गरेर र नारदको आज्ञामुताबिक ओम नमो भागवते वासुदेवाय मन्त्रले परमात्माको चिन्तन गर्न लागे । 

यतिकैमा नारद ऋषिले “हेर, तिमी सानो छौ । अहिले परमात्माको दर्शन पाउन्नौ” भने । ध्रुवले हठ छाडेनन् । उनी नारदको उपदेश मुताबिक चिन्तन गरि नै रहे । उनको यस्तो चाला देखेर ऋषि गएर भगवान्लाई ध्रुवको सबै वृत्तान्त बताए । 

भगवान्ले ध्रुवको मन बुझ्न “तिमी जुन रुखमुनि बसिरहेका छौ त्यो रुखको पात जति ओटा छन्, त्यति आयु बितिसकेपछि मात्र दर्शन पाउनेछौ” भनी सुनाउन जाऊ भनी नारदलाई अह्राउनुभयो । नारद गएर ध्रुवलाई त्यसै भने । 

ध्रुव “त्यति पात जति आयु समाप्त भएपछि त दर्शन पाउने भएँ ” भनी दङ्ग परेर ध्यानमा नै बसी रहे । अनि भगवान् ध्रुवको परीक्षा लिन सिंहको रूप लिएर जानुभयो र “म तिमीलाई खान्छु” भन्नुभयो । 

ध्रुव सिंहको त्यस्तो गर्जन सुनेर पनि डराएनन् । उनी परमात्मामा विश्वस्त थिए र “खाए के भयो त ? एउटा आयु त बित्यो । ईश्वरतर्फ जाने बाटोमा एक कदम त अगाडि बढ्न पाइयो, एउटा उमेर त पार गरियो ” भनेर दङ्ग भए । ध्रुवले धैर्य गरिरहे, आफ्नो अठोटबाट उनी डगमगाएनन् ।

(तिमिल्सिना शिवपुरी बाबाको स्वधर्म पुस्तकका सङ्कलक हुन् ।) इमेल :aamodita@gmail.com 



नयाँ