- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २० गते संसदको रोष्ट्रममा उभिएर डेढ घण्टा लामो भाषण दिए । आफैंले हत्या गरेको संसदमा उभिएर लम्बेतान गफ दिन उनलाई अलिकति पनि अप्ठेरो लागेन । उनको भाषण सुन्ने आम जनताले भने यस्ता गफ दिनुअघि ओलीले एकपटक आफ्नो अनुहार ऐनामा हेर्नुपर्ने सुझाव दिएका छन् ।
उनले ऐना हेरेको भए ४० महिना प्रधानमन्त्री बनेको बेलाका आफ्ना कर्तुतका फेहरिस्त आफ्नो अनुहारमा हेर्ने थिए । र सायद फेरि पनि संसदलाई ललकार्दै बालकोटको बार्दलीमा आफ्ना आसेपासेहरुको बैठक डाक्ने थिए । तर ऐना नहेरी संसदमा आएकाले हुनसक्छ लाज पचाएर उनले फेरि एकपटक आफ्नो नाटक प्रदर्शन गरे ।
नेपाली राजनीतिमा उनमा एउटा फरक क्षमता छ– हावादारी तथ्यमा टेकेर सफेद झुट पनि बडा कलात्मक ढंगले प्रस्तुत गर्न सक्ने । भनिन्छ, शैक्षिक योग्यता नभएको व्यक्तिले सजिलै लाज पचाउन सक्छन् । ओलीको हकमा यो नियम हुबहु लागू हुन्छ । ओलीका पिता मोहनप्रसाद ओलीले एक अन्तर्वार्तामा भनेका थिए –जब केपी ओली ८ कक्षामा फेल भएर निन्याउरो अनुहारमा घर फर्किए, मैले फेल भएर आइस् भनेर सोधें । उसले जवाफ दियो, म फेल भएको होइन । फेल गराइएको हो । ओलीको राजनीतिको गुणस्तर अहिले पनि सोही स्तरमा चलिरहेको छ ।
समकालीन नेपाली राजनीतिमा ‘जनता झुक्याउन’ सबैभन्दा सिपालु पात्र हुन् उनी । जीवनभर ‘विदेशी गोटी’ बनेका ओली प्रधानमन्त्री बन्नैका लागि महान् राष्ट्रवादी बने । चुनावका बेला जनताको आँखामा छारो हालेर तानिएको राष्ट्रवादी भोटलाई मध्यराति बालुवाटारमै सामन्त गोयलको पाउमा चढाए । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) मा उनको दोहोरो रुप सबैले झर्लङ्ग देखे । तैपनि उनले आफूलाई सर्वज्ञाता ठान्दै जनतालाई मूर्ख बनाउन सकिरहिन्छ भन्ने भ्रममा बाँचिरहेका छन् ।
चर्चा गरौं गत सोमबार असार २० गतेको उनको संसदमा गरेको सम्बोधन । उनले मुख्यतः दुई विषयमा चर्चा गरे । पहिलो, बजेटमाथिको चर्चा । अनि दोस्रो एसपीपीमा पानीमाथिको ओभानो बन्ने प्रयास । बजेट निर्माणको प्रक्रियाका क्रममा जेठ १४ गते राति के भएको थियो भन्ने चासो र कौतुहलता अहिले नेपालको राजनीतिक बजारको ‘हट केक’ बनिरहेको छ । त्यस दिन के भएको थियो छानबिन होला । सत्यतथ्य बाहिर आउला पनि । त्यो अनुसन्धानको एउटा पाटो भयो ।
तर आफैंले विघटन गरेको संसदको पोडियममा उभिएर ‘आफ्नो पार्टीले संसदको गरिमा बढाएको’ भन्दै भाषण गर्ने निर्लज्जता प्रकट गर्ने उनको साहस भने चर्चा गर्न लायक छ । उनले बजेटमा भएका करका दररेट तलमाथि पार्ने कदममाथि टिप्पणी गरिरहँदा उनैले ल्याएको बजेटको सम्झना आइरहेको थियो ।
केपी ओली सम्भवतः नेपालकै सबैभन्दा शक्तिशाली प्रधानमन्त्रीको रुपमा झण्डै चालीस महिना सरकार चलाउने सौभाग्य पाउने नेता हुन् । आफैं अध्यक्ष रहेको पार्टीको लगभग दुई तिहाई बहुमतको सरकारको प्रधानमन्त्री थिए होली । प्रधानमन्त्री रहँदा उनले यतिसम्म शक्तिको दुरुपयोग गरेका थिए कि मानौँ उनी यो देशका एक्ला शासक हुन् । त्यसैले उनी लोकतान्त्रिक व्यवस्थाका अधिनायकवादी शासकका रुपमा इतिहासमा नाम लेखाएर सिंहदरबारबाट बाहिरिएका छन् ।
प्रधानमन्त्रीका रुपमा उनको दम्भ यतिसम्म चढेको थियो कि मानौँ उनले व्यक्तिको लिङ्ग परिवर्तन र दिनलाई रात अनि रातलाई दिन पनि बनाउन सक्छन् । तर उनको कार्यकाल कस्तो रह्यो, सबै जानकार नै छन् । ओली सरकारले ल्याएको चारमध्येको पहिलो वर्षको बजेटपछि उनका विद्धान अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए, ‘यो बजेटको प्रभाव चार पाँच वर्ष पछि देखिनेछ ।’ साँच्चै हो रहेछ । देश अहिले आर्थिक संकटमा फस्ने वातावरण बनाउने काम उनै ओलीले तयार गरेका थिए ।
उनको बजेटले चकलेटको आयातमा भन्सार सहुलियत दिएर ‘आर्थिक क्रान्ति’ को शुरुआत गरेको थियो । ओलीले आफू निकटको विशाल ग्रुपलाई फाइदा पुर्याउने गरी देशको दीर्घकालीन क्षतिको वास्ता नगरी चकलेटको चास्नीमा देशलाई फसाएका थिए । विशाल ग्रुपलाई ठूलो परिमाणमा विद्युतीय गाडी आयात गर्न लगाएर देशभित्र स्टोरेज गरेपछि विद्युतीय गाडीमा कर बढाई सोही ग्रुपलाई पोस्नु पोसेका थिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई पेल्न उनले विशाल ग्रुपबाट लिएको धनराशीको दुरुपयोगको चर्चा उनको पार्टीमा अझै सेलाएको छैन ।
सम्भवतः नेपाली बजेटमा यो स्तरको नीतिगत गडबडी यसअघि भएको थिएन । यस्तो इतिहास रचेका ओलीले आफैले विघटन गरेको संसदमा करका दररेटबारे कुन नैतिकताको कसीमा उभिएर चर्चा गरेका होलान् ? ओलीले आफ्नो कार्यकालमा वैदेशिक ऋण लिएर देशभर घण्टाघर र भ्युटावरको बहार ल्याएका थिए । सामान्य अर्थराजनीतिको कखरा बुझ्नेले पनि सजिलै अनुमान गर्थे यसभित्रको ‘कमिशनको हर हिसाब’ । देशका सर्वशक्तिशाली प्रधानमन्त्रीको ध्यान कमिशनको हिसाबकिताबमा मात्र केन्द्रीत थियो भन्ने कसैले पनि भुलेको छैन ।
ओलीकालका बहुचर्चित ७० करोड काण्ड नेपालीको जनमनमा कहिल्यै नमेटिने गरी कोरिएको छ । यसमा गोकुल बाँस्कोटामात्र होइन उनका ‘पुजनीय बा’ को पनि सहकार्य थियो भन्ने ‘ओपन सेक्रेट’ जस्तै छ । ओलीकालमा जति पनि भ्रष्टाचार भएका थिए ती सबैको कनेक्सन ओलीमै पुगेर टुंगिन्थ्यो र भ्रष्ट मन्त्रीको रवाफ अरु बढ्थ्यो । भ्रष्टाचारलाई संस्थागत गर्न ओलीको निकै ठूलो योगदान छ ।
मान्छेको असली रुप संकटका बेला देखिन्छ भन्ने नेपाली लोक कथन छ । ठ्याक्कै त्यस्तै देखियो, ओलीलाई कोरोना कालमा । जनता जीवन र मरणको दोसाँधमा थिए । पूरै विश्व यो पीडाले छट्पटाइरहेका बखत आफ्ना देशका मुली प्रधानमन्त्रीबाट जनताले विशेष अपेक्षा राख्नु स्वभाविक नै थियो । जनताले सरकारबाट राहतको अपेक्षा गरेको थियो, कम्तीमा अभिभावकत्वको आशा थियो ।
तर ओलीको सरकार भने कोरोनाकाललाई ‘कमाउ धन्दा’ को अवसरका रुपमा लिएको थियो । बजारमा पाइने पाँच रुपैयाँको मास्कलाई बिना टेण्डर १४० रुपैयाँमा खरिद गरियो । त्यो पनि कागजमा मात्र खरिद गरी ढुकुटीबाट पैसा निकालियो र भागशान्ती गरेर सकियो । रकम भुक्तानीको कागज त बन्यो तर सामान कहिल्यै आएन । नत्र खरिद गरिएको भनिए जत्ति स्वास्थ्य सामग्री प्राप्त भएको भए देशभर मास्क र पीपीईको त्यो स्तरको कमी हँुदैनथ्यो । यी स्वास्थ्य सामग्री खरिद गर्न पनि नयाँ कम्पनीको जन्म गरियो, ओम्नी । कहिल्यै मेडिकल उपकरणको कारोबार नै नगरेको कम्पनीलाई संकटका बेला अत्यावश्यक स्वास्थ्य सामग्री आयात गर्ने अवसर दिनु भनेको ‘जनता भाडमे जाय’ भनेझैं थियो । कोरोना परीक्षणको किट नकिनेर ओम्नीले ल्याएको विश्व स्वास्थ्य संगठनले प्रतिबन्ध लगाएको आरडीटी प्रयोग गरी कोरोना परीक्षण गरियो । अनि सरकार आफैले भन्थ्यो, ‘आरडीटीको परीक्षणको नतिजामा विश्वास नगर्नुस्’ ।
आफैंले विश्वास नगर्ने परीक्षण किट राज्यले किन खरिद गर्यो त ? जवाफ सहज छ, ‘कुरा कमिशन’ को । सरकारको लापरबाहीले जनता मर्दै जाँदा पनि प्रधानमन्त्री ओली भने संसदमै प्रहशन गरिरहेको पाइन्थे । कहिले कोरोना बेलौतीको पातले ठीक हुन्छ भन्थे भने कहिले हाँच्छु गरेर उडाइदिनु पर्छ भन्थे । कहिले बेसार पानी खाए कोरोना भाग्छ भन्थे । जनता मर्दै जाँदा पनि उनले कमिशनको खेल रोकेनन् । कमिशनकै कुरा नमिल्दा किन्न पैसा पठाएको खोप पनि आएन । जनताले खोप पाउन सरकार नै फेरिन पर्यो । ओली गएपछि मात्र कोरोना कहरबाट जनताले मुक्ति पाएका थिए, खोप लगाएर ।
सरकारी जग्गा कतै खाली देख्यो कि त्यो स्वतः यतिको नाममा पुग्थ्यो, ओलीकालमा । सरकारी जग्गा भनेकै यति ग्रुपको भने झैं थियो त्यो ताका । सरकारी मातहतको नेपाल ट्रस्टको जग्गा कतै थियो भने त्यो स्वतः यतिको नाममा पुग्थ्यो । कौडीको भाउमा सरकारी जग्गा हात पारेको यतिका मुख्य संरक्षक पनि ‘ओली बा’ नै थिए । ओली आफ्नो प्रधानमन्त्रीकालमा कहिल्यै पनि देशको प्रधानमन्त्री जस्तो लागेनन्, लाग्यो त केवल ‘यति, ओम्नी, गोकुल बाँस्कोटाजस्ता पात्रका संरक्षक’ मात्र । त्यसैले असार २० मा संसदमा उभिएर ओलीले गरेको सम्बोधनले उनी आफैमाथि कडा व्यङ्ग्य गरेको जस्तो लाग्थ्यो ।
अहिले जताततै चर्चा छ– ओलीले आफ्नो पाप लुकाउन नयाँ शिकारको खोजी गर्दैछन् । तर, नेपाली राजनीतिमा ओली यति अविश्वसनीय सावित भएका छन् कि उनका भित्रिया कार्यकर्ताबाहेक अरुले उनलाई पत्याउन छाडिसकेका छन् । ओली कमरेड † जनताले बिर्सेका छैनन् यति र ओम्नीका कर्तुत ।