arrow

नेपाललाई श्रीलंका होइन नेपालै बनाऔँ

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७९ साउन १४ शनिबार
rajendra-panthi-article-41.jpg

कुनै बेला नेपाललाई स्वीट्जरल्याण्ड जस्तो बनाउने हो भनेर धेरै सपना बाँडियो । त्यसैमा राजनीति खुवै गरियो । सपना र झुट्टा आश्वासनका खेतीहरू लगातार गरिए । तर ती सबै सपनामै सीमित नै रहेका छन् । देश अगाडि जाला भन्दा झन् पछाडि धकेलिँदै छ । अहिले फेरि देशलाई खोक्रो बनाउँदै श्रीलंका बनाउने प्रयास गरिँदैछ ।स्वीट्जरल्याण्ड बनाउन गाह्रो छ । तर श्रीलंका बनाउन सजिलो छ ।

अहिलेका यी राजनीतिक वितण्डा देख्दा नेपाल नै नरहने हो कि जस्तो पनि लाग्छ । पहिले हामी हाम्रो देशलाई नेपालै भनेर जोगाउनु र बचाउनु पर्ने देखिन्छ । यहाँको राजनीतिक शक्ति आफ्ना खुट्टा दह्रा नबनाएर कहिले उत्तरको, कहिले दक्षिणको र कहिले पूर्वको हावासँगै बग्ने प्रयास गरेको देखिएकाले नेपाल नै उडाउने हो कि भन्ने डर पनि लाग्छ । अहिलेको प्रमुख दायित्व भनेको नेपाललाई नेपाल नै रहने गरी जोगाउनु पर्ने देखिन्छ । आफ्ना जरा बलिया नबनाउने अर्कोमा आडस लागेर उभिने बानीले जतिबेला पनि उडाउने र ढाल्ने सम्भावना हुन्छ ।

नेपालको राजनीतिक विकृतिको कीराले  देशको राष्ट्रियताको मूल जरोलाई  ध्वस्त पारिरहेको छ । देशको मूल समस्या भनेको राजनीतिलाई पेशा बनाइएको छ । जहिलेसम्म राजनीतिलाई पेशाको रुपमा लिइन्छ तहिलेसम्म देश परिवर्तन हुनै सक्दैन र देशको मूल जरो पनि बलियो हुँदैन । देशको ऐजेरु भनेको राजनीति बनिदिएको छ । राजनीतिलाई कमाउने पेशा बनाइएको छ ।

प्राकृतिक र भौगोलिक दृष्टिकोणले यति सुन्दर र सानो देशमा विकासले फड्को मार्न नसक्नु भनेको ऐजेरुरुपी राजनीति नै हो । दलहरूको गैरजिम्मेवारीपन र लापरबाही नै नेपालको राजनीति ऐजेरु बनिदिएको छ । विश्वमा कृषिप्रधान भनेर चिनिएको देशमा आज करोडौंको गुन्द्रुकसमेत आयात गर्नु परेको छ । यसले हामी कुन बाटो हिँडिरहेका छौँ भन्ने कुरा स्पष्ट देखाउँछ । 

जब यात्रा नै गलत दिशातिर तय भएको छ भने पक्कै पनि गन्तव्यमा पुग्न सकिँदैन । विकासका वाधक भनेर राणा, पञ्च, राजा फालिए । तर देशको विकास र जनताको जीवनस्तरमा उल्लेखनीय सुधार हुन सकेन । अहिले जे विकास भएको छ भनिएको छ त्यो त सायद व्यवस्था परिवर्तन नभएको भए पनि हुन्थ्यो होला । व्यवस्था परिवर्तनले जनताको गुणस्तरीय जीवनको लागि परिवर्तन खासै ल्याउन सकेन ।

सम्पूर्ण नीतिहरूको नीति मानिने राजनीतिलाई जिम्मेवार तहबाट नै भद्रगोल बनाइएको छ । राजनीतिलाई विकास, समृद्धि, सुशासनको लागि प्रयोग नगरी अनियमितता र भ्रष्टाचारको साधनको रुपमा प्रयोग गरिएको छ । राजनीति भनेको केवल मागी र ठगी खाने भाँडो बनिरहेको छ । वर्षाैँदेखि एउटै शक्ति विभिन्न पार्टीको नाममा जरा गाडेर बसेको छ । सरकार परिवर्तन हुँदा वा कुनै अमूक व्यक्ति परिवर्तन हुँदा त्यो शक्तिलाई कुनै असर पर्दैन । दृश्य वा अदृश्य रुपमा शक्तिशाली बनेर बसेको त्यो राजनीतिक शक्ति जस्तो किसिमको मुकुन्डो लगाउन पनि तयार हुन्छ । 

विचार, सिद्धान्त, वाद, अनुशासन, राष्ट्रियता, देशप्रेम, स्वाभिमान, इज्जत र इमान बिनाको राजनीति गर्ने देशलुटुवा शक्तिको वर्चस्व हुनाले देश र जनताले सुखको सास फेर्न सकेका छैनन् । नेपालमा रहेका कुनै पनि राजनीतिक दलहरूको आफ्नो फरक अस्तित्व नै छैन । पार्टीका नाम जेसुकै बनाए पनि कांग्रेस, एमाले, माओवादी, मसाल, राप्रपा, मधेसवादी सबै एउटै हुन् । यिनीहरूको कार्य, चरित्र, शैलीमा केही भिन्नता छैन । यिनको अन्तिम उद्देश्य भनेको जसरी हुन्छ सत्ता प्राप्ति नै देखिन्छ । सत्ता प्राप्तिको लागि जे पनि बोल्ने र जसो पनि गर्ने परिपाटीले नेपाललाई उल्टो बाटोतिर धकेल्ने प्रयास गरिएको छ । 

राजनीतिक बजारमा जतिसुकै राम्रो कुरा आउँदा नराम्रो बनाइन्छ भने नराम्रो हुँदा राम्रो बनाउने प्रयास गरिन्छ । वास्तविकता के हो भन्ने कुरा जनताले थाहा पाउनै सक्दैनन् र पुरै भ्रममा पारिन्छ र भागबन्डा गरी लुट्ने गरिन्छ । सरकार विरोधीहरू नेपाल अब श्रीलंका हुँदैछ भन्दै छन् भने सरकार संचालकहरू डराउनु पर्दैन हामी छँदैछौँ भन्दैछन् । 

गणितीय तथ्यांक पनि व्यक्ति पिच्छे फरकफरक देखिन्छ । सरकारको आधिकारिक तथ्यांक नै स्पष्ट आउँदैन भने अरुलाई त के भन्नु छ र । सरकारले आफूलाई टिकाइ राख्न राम्रा राम्रा सूचकांकहरू प्रस्तुत गर्दछ भने विरोधीहरू देश अब खत्तम भयो भन्दै सरकारलाई धुमधाम गाली गर्दै हिँड्छन् । कसले भनेको पत्याउने ? जनता सधैं अन्योलमा हुनुपर्छ । वास्तवमा नेपाली राजनीतिमा दलहरूको गैरजिम्मेवारपन, अपरिपक्वता र अविश्वसनीयताले गर्दा हाम्रो आर्थिक अवस्था अत्यन्तै दयनीय नै छ ।

नेपालको विकास र समृद्धिको लागि कहिल्यै पनि नेपाली माटो अनुकूलको चिन्तन र योजना नहुनाले देश पछाडि धकेलिएको हो । नेपालको भौगोलिक अवस्था, हावापानी र जनताको जीवनस्तरलाई सम्बोधन गर्ने किसिमका विकास र योजनाहरू ल्याउने हो भने त्यसको उपलब्धि र परिणाम पनि देखिन्छ । आज कतिपय ठाउँमा विकासका नाममा झन् विनाश भएको देखिन्छ । 

कुनै एउटा दीर्घकालीन सोच बिना लहडमा योजना पारिएका हुन्छन् । शुरुआत नहुँदै सकिन्छन् । उत्पादन क्षेत्रमा लगानी नगरिँदा बजेटको प्रतिफल झन् नकारात्मक देखिन्छ । आर्थिक वर्षको एघार महिनामा कुनै काम हुँदैनन् भने अन्तिम महिनामा सबै काम सिध्दिन्छ । कतिपय योजनाहरू करोडौं खर्च गरेर सम्पन्न नगराई अलपत्र छाडिएका छन् । जुन ठाउँमा जे कुराको आवश्यकता छ त्यो नबनाई अनावश्यक ठाउँमा खर्च गरिएको छ ।

भ्रष्टाचार र अनियमितताले गर्दा देश थिलोथिलो भएको छ । सरकार, मन्त्री, दल, राज्यका कुनै निकाय जिम्मेवार देखिँदैनन् । यस्तै किसिमका विकृति र विसंगतिले गर्दा देशको आर्थिक अवस्था नाजुक बन्न गएको छ । एकथरीले यसैलाई इस्यु बनाएर सत्ताको बार्गेनिङ पनि गरेका छन् । देशको आर्थिक अवस्था दयनीय भयो । कसरी राम्रो बनाउने होला भनेर कुनै दिन दलहरूका बीचमा गम्भीर छलफल हुँदैन । 

कसरी सरकारलाई असफल पार्ने वा विपक्षीलाई सत्तो सराप गाली गरेर सरकार टिकाउने भन्दा अन्य कुनै पनि चिन्तन र सोच दलहरूमा हुँदैन । देशका बारेमा सकारात्मक सोच र योजना नहुनाले नेपाललाई अधोगतिमा धकेलिएको छ । देशको अस्थिरता र असफलतामा लुट्न पाइने हुनाले अहिलेको नेतृत्वले विकास र समृद्धिका कुरा गर्दैन र देशलाई अस्थिपन्जर जस्तोमात्र बनाइँदै छ ।

नेपाली जनताले दलहरूलाई सम्झाउँदा र  गाली गर्दा थाकेर वाक्कदिक्क भएका छन् । गत स्थानीय निर्वाचनमा नेपालका दलहरूप्रतिको वितृष्णाको संकेत आइसकेको छ । आगामी सङ्घीय र प्रादेशिक निर्वाचनमा दलहरूविरुद्ध नयाँ दल वा स्वतन्त्र व्यक्तिहरू चुनावी मैदानमा होमिन लागेको देखिन्छ । यो नेपालका पुराना दल भन्नेहरूलाई ठूलो चुनौती पनि हो । 

पुराना दलहरू अझै पनि नसच्चिने हो भने इतिहासको पानामा सीमित हुन सक्छन् । पुराना दलहरूले राजनीति गर्ने हो भने स्पष्ट विचारसहित नयाँ पुस्तालाई अगाडि सार्दै राजनीतिको मैदानमा आउनुपर्छ । अब कोठाभित्र बसेर गुटको राजनीति गरेर वा कसैले टीका लगाइदिएर चुनाव जित्ने दिन सकिए । जनता सचेत हुँदै गएको देखिन्छ । अब देशलाई बचाउन पनि आँखा चिम्लेर भोट हाल्नु हुँदैन । 

देशको समृद्धिको लागि जसले राम्रो काम गर्न सक्ला भनेर विश्वस्त हुन सकिन्छ उसैलाई जिताउनु पर्छ । फेरि पनि एकपटक त हो भनेर उनैलाई भोट दिइयो भने श्रीलंका नहोला भन्न सकिन्न । नेपाललाई विकसित नेपाल नै बनाउनको लागि अब घरघरबाट विरोध र विद्रोहका स्वरहरू निकाल्नुपर्छ । अब दलहरूलाई गाली गरेर मात्र समस्या समाधान हुँदैन यिनीहरूलाई निर्वाचनमार्फत दण्ड र सजाय दिनुपर्छ । आम नागरिक अन्याय, अत्याचार, भ्रष्टाचारका विरुद्धमा एकजुट हुनुपर्छ ।

अब त देशमा परिवर्तन होला कि भनेर कुर्दा र आशा गर्दागर्दै दशकौं बिते । अब यही तरिकाले वर्षहरू बिताउनु हुँदैन । व्यवस्था परिवर्तन र आन्दोलनले जनताले सोचेजस्तो र आशा गरेजस्तो परिवर्तन हुन सकेन । गरिबी र बेरोजगारी झन् बढ्दै गएको छ भने उत्पादनमा ह्रास हुँदै गएको छ । रोजगारीको लागि दिनको हजारौं युवा विदेश पलायन भएका छन् । रेमिटान्सले देश चलेको छ भनेर गर्व गर्नु परेको छ । व्यापार घाटा बढेको बढ्यै छ । सरकारका कुनै पनि अङ्गहरू स्वच्छ र पारदर्शी छैनन् । 

भ्रष्टाचार र अनियमिततामा चुर्लुम्म डुबेका छन् । अनुशासन, मितव्ययिता, इमानदार, विधिको शासन र कानूनको पालना कहिँकतै छैन । यी र यस्तै क्रियाकलापको परिणति भनेको अन्ततः नेपाललाई श्रीलंका बनाउनु हो । यसबाट जोगाउन हामी सबै नेपाली जनता समयमै सचेत हुनुपर्छ । विचार र सिद्धान्त नभएका देशलुटुवा दल वा शक्तिलाई निर्वाचनमार्फत पत्तासाफ गर्नुपर्छ । नेपाललाई नेपालकै रुपमा चिनाइ संसारकै सुन्दर देश बनाउन अब ढिला गर्नुहुँदैन । (लेखक पन्थी अमेरिकाको भर्जिनियामा बस्छन्) 
 



नयाँ