arrow

कसरी भनूँ , अलबिदा प्रदीप !

logo
राजेन्द्र पन्थी, 
प्रकाशित २०७९ भदौ ६ सोमबार
rajendra-panthi-aritlce-46.jpg

नेपाली राजनीतिमा विचार, नैतिकता, आस्थाको खडेरी परिरहेको वर्तमान  अवस्थामा एउटा महान् विचारका केन्द्र दार्शनिक र बौद्धिक व्यक्तित्व प्रदीप गिरीको निधनले हामीलाई ठूलो क्षति हुन पुगेको छ । प्रदीप गिरी कुनै एउटा पार्टीको नेता मात्र नभएर सिङ्गो नेपाली राजनीतिकै महान् विचारका केन्द्र र बहुमुखी प्रतिभाका धनी व्यक्तित्व थिए । 

नेपाली राजनीतिका एक उदाहरणीय व्यक्तित्व, एउटा आदर्शपात्र, नेपालका गान्धी भनेर परिचित, दार्शनिक र बौद्धिक नेता गिरीको भौतिक शरीर हामी माझ छैन तापनि उनको निधनमा अलबिदा भन्न पनि सकिँदैन । प्रदीप गिरीको भौतिक शरीर नभए पनि उनी साँच्चै प्रदीप नै बनेर नेपाली समाजमा अन्धकारविरुद्ध  चेतनाको ज्योति दिइरहेका हुने छन् ।

उनी निभेका छैनन् र कहिल्यै निभ्न सक्दैनन् । उनी कहिल्यै बिदा हुन पनि सक्दैनन् । उनका नामका अगाडि जतिसुकै प्रशंसनीय विशेषण जोडे पनि ती अपुग नै हुन्छन् । प्रदीप गिरीले नेपाली कांग्रेस भएर कांग्रेसको राजनीतिमात्र गरेनन् कम्युनिष्टका समेत आदर्श पात्र बने । सिद्धान्तप्रति सधैभरि प्रतिबद्ध र कटिबद्ध प्रदीप गिरी जीवनमा कुनैदिन लोभलालच, धनसम्पत्ति, ऐसआराम वा आश्वासनमा चुकेनन् । 

सडकदेखि संसदसम्म जहाँ बोल्दा पनि कहिल्यै कांग्रेसमात्र बनेर बोलेनन् । आफ्नो भौतिक शरीर कुनै दिन मरेर जान्छ भन्ने कुरालाई सहश्र स्वीकारेका र जीवनलाई राम्रोसँग बुझेका प्रदीपले जीवनको अन्तिम चरणमा अस्पतालमा मृत्युसँग लड्दा पनि भेट्न आउने शुभचिन्तकलाई राजनीति गर्ने हो भने इमानदार, नैतिक र निष्ठाको राजनीति गर्न आग्रह गरिरहेका थिए ।

नेपाली राजनीतिको लागि इमानदार र निष्ठाका पर्याय प्रदीप गिरी हुन् भन्दा अत्युक्ति हुँदैन । राजनीतिलाई नितान्त समाजसेवाको रुपमा लिएका प्रदीप गिरी कहिल्यै पद र प्रतिष्ठाका लागि भोका भएनन् । राष्ट्रवादी चिन्तक, मार्क्सवाद र  समाजवादका अनुयायी र विश्लेषक प्रदीप गिरी जहिले पनि देश र जनताको विकास र समृद्धिको लागि लेखिरहे, बोलिरहे र लडिरहे । 

नेपाली जनताको गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, सुशासनको लागि बोलिरहे । संसदमा चाहे आफ्नै पार्टीको सरकार बन्दा होस् चाहे अन्य पार्टीको सरकार होस् उनी देशमा देखिएको अन्याय, अत्याचार, शोषण, दमन, महिला हिंसा, विकृति र विसंगतिका विरुद्धमा कडा रुपमा प्रस्तुत भए । 

नेपालमा रहेका सीमान्तीकृत वर्गलाई मूलधारमा ल्याउनु पर्छ भनेर बाँचुञ्जेल लडिरहे । आज मृत्युपछि मात्र होइन बाँचुञ्जेल पनि गुणगान गाइएका र अत्यन्तै प्रशंसनीय राजनीतिका आदर्श पात्र प्रदीप गिरी पूर्वीय र पश्चिमी दर्शनका अध्येता र ज्ञाता थिए । जुनसुकै दर्शनलाई पनि अत्यन्तै सरल भाषामा विश्लेषण गर्ने र जो कोहीलाई पनि सजिलै बुझाउन सक्ने क्षमता प्रदीप गिरीमा थियो । 

प्रदीप गिरीका बारेमा जति लेखे पनि थोरै नै हुन्छ । उनलाई राजनीतिशास्त्र, दर्शनशास्त्र, समाजशास्त्र, अर्थशास्त्र, धर्म शास्त्र, नीतिशास्त्र लगायतका धेरै शास्त्रको ज्ञान थियोे । मसिनो गरी विश्लेषण गर्ने क्षमता पनि थियोे । 

वर्तमान अवस्थामा नेपाली राजनीतिमा विचार र सिद्धान्तको अभाव  हुँदै गएको सन्दर्भमा यस्ता आदर्श पात्रको विचारलाई अनुशरण गरेमात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ । नेपाली जनजनको मनमस्तिष्कमा बस्न सफल भएका यस्ता आदर्श पात्र प्रदीप गिरीलाई कसरी भन्न सकिन्छ र अलबिदा ! तर पनि शब्दलाई जतिसुकै घुमाउन खोजे पनि व्यक्त गर्दिन र  बोल्दिन भने पनि वास्तविक सत्यलाई स्वीकार्नुको विकल्प छैन । मनले मान्दैन ।

अब उनको भौतिक शरीर हामीमाझ भने रहेन । उनको विचार र दर्शन कहिल्यै मर्दैन । उनका विचार र दर्शनले हामी सबैलाई उज्यालो दिइरहनेछ । जीवन जगतलाई राम्ररी बुझेका र अलबिदालाई आफै स्वीकारेका दार्शनिक प्रदीपको दीप भने  कहिल्यै निभ्ने छैन । समाजमा देखिने विकृति, विसंगति, अन्याय, अत्याचार र अन्धकारका विरुद्धमा उज्यालो दिइरहने छ ।

प्रदीपको त्यो वैचारिक र दार्शनिक दीप कहिल्यै अलबिदा हुन सक्दैन । त्यसैले कसरी भनूँ ,अलबिदा प्रदीप ! (लेखक पन्थी अमेरिकाको भर्जिनियामा कर्म गर्छन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ