arrow

महिला अधिकार र तीज पर्व

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ भदौ १४ मंगलबार
rajendra-panthi-article-48.jpg

‘घुम्दै र फिर्दै फेरि आयो तीज,
नयाँ त समाचार ल्याएन बरिलै ।
कहिलेसम्म सुन्ने हो र चेलीका वेदना,
अब त ढिलो भयो उठौँ बरिलै ।।
महिला अधिकार र समानताको गीतमा,
घन्काइदेउ मादलु नाच्छु छ्मछ्म बरिलै ।।’

नेपाली नारीहरूको महान् पर्व हरितालिका तीज सदाझैं यस वर्ष पनि सबैका घरघरमा आएको छ । अब यो पर्व पौराणिक वा धार्मिक पर्वका रुपमा सीमित नभएर नारी समानता, अधिकार र विद्रोहका स्वरहरू घन्काउने विशेष पर्व र दिनको रुपमा स्थापित हुँदै गएको देखिन्छ । तर कहिलेसम्म यी र यस्तै तरिकाले नारीका वेदना पोख्ने पर्व विशेषका रुपमा तीज मनाउने भन्ने प्रश्न उठेको भने देखिन्छ । 

अब त नारीहरूले वर्षभरि भोगेका दुःखभन्दा पनि सुखका स्वरहरू सुन्ने उत्सवका रुपमा तीजलाई विकास गर्नुपर्छ । त्यसको लागि अझै चुप्प नलागी विद्रोहका आक्रोश उकेल्दै मादल रन्काउनै र घन्काउनै पर्ने देखिन्छ । अहिलेको २१ औं शताब्दीमा आउँदा पनि सधैं उही र उस्तै तरिकाले माइती र घरका, सासू र बुहारीका, श्रीमान् र श्रीमतीका तीता र नमिठा दिक्क लाग्दा विभेद र पीडाका गीतहरू गाइरहँदा भने हामी अगाडि नगएर यथास्थितिमै रहिरहेका छौँ कि जस्तो लाग्छ । 

यस्ता घटनालाई इतिहासमा मात्र सीमित गर्नुपर्छ । हामीले मनाइरहने अहिलेका तीजमा नारीका चमत्कार र साहसका कथा सुनिनु पर्छ । परम्परा, संस्कार र संस्कृतिलाई संरक्षण दिने भनेको हिजोको समाजको यथास्थितिको निरन्तरता होइन । समाजमा रहेको अन्याय, अत्याचार र महिला हिंसालाई अन्त्य गर्नका लागि गरिएका प्रयास, उपलब्धिका प्रयत्न, तरिका र कार्यक्रमलाई गीतहरू बनाउनु पर्छ । तबमात्र तीज पर्व आएको र मानेको सार्थकता हुन्छ । 

तीजमा मानवता नै नरहने गरी महिलामाथि हुने गरेका अन्याय, अत्याचार र हिंसा भएका घटना भएका गीतलाई भने गाएर दुनियाँको कान फुट्ने गरी थर्काउनुपर्छ र महिला समानता ल्याउनु पर्छ अनि तीजलाई नयाँ बनाउनुपर्छ । अब महिला वेदना र हिंसाका गीत मात्र होइन, महिलाहरूका योगदान, आन्दोलन र उपलब्धिका गीत गाउनको लागि त्यस्तै नयाँ समाजको निर्माण गर्नुपर्छ ।

नेपालमा पछिल्लो केही वर्षदेखि सबैभन्दा लामो पर्वका रुपमा तीजलाई मानिँदै आएको छ । तीजलाई खाने, गाउने र नाच्ने केवल मनोरञ्जनात्मक पर्वमा मात्र सीमित नराखेर महिला सक्रियता, रचनात्मक उपलब्धि र  सकारात्मक सन्देशको घोषणाको पर्व बनाउनु पर्छ । साउन महिनाको संक्रान्तिदेखि रेडियो र टेलिभिजनमा तीजका गीतहरू घन्कने, महिला दिदीबहिनी भेला हुने र दरखाने कार्यक्रमहरू चलिरहन्छन् । 

पौराणिक मान्यताअनुसार अविवाहित नारीले असल पति पाउनको लागि र विवाहित नारीले पतिको सुस्वास्थ्य र दीर्घायुको लागि व्रत बस्ने र भगवानको आराधना गर्ने परम्पराबाट यो पर्वको शुरुआत भएको पाइन्छ । दिदी बहिनीहरू भेटघाट हुनु, दुःख सुख साटासाट गर्नु, मिठो मसिनो खानु सामाजिक वा सांस्कृतिक दृष्टिले राम्रो पक्ष हो ।

तीजको पौराणिक पक्षलाई नियाल्दा तीज शब्द तृतीयाबाट अपभ्रंश हुँदै बनेको हो । सनातन धर्म परम्परा अनुसार पनि नारीहरूले शौभाग्य, समृद्धि, विद्रोह र अधिकार प्राप्तिको लागि मनाउने पर्वका रुपमा तीजलाई लिँदै आएको देखिन्छ । पौराणिक मान्यता अनुसार हिमालयपुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो व्रत राखेकी थिइन् । 

त्यो दिन हरितालिका तीजको दिन थियो । त्यस्तै अर्को मान्यता अनुसार राजा हिमालयले आफ्नी छोरी पार्वतीको कन्यादान भगवान विष्णुसँग गरिदिने वचन पार्वतीलाई मन नपरेपछि आफूले मन पराएको वर पाउन जङ्गल गएर शिवजीको तपस्या गर्न थालिन् र पार्वतीले तपस्या गरेको एक सय वर्ष पूरा भइसक्दा पनि आफूले गरेको तपस्याको फल नपाउँदा एक दिन उनले शिवलिङ्गको स्थापना गरी पानी पनि नपिइ निराहार व्रत बसिन् । 

यसरी पार्वतीको कठोर व्रतको कारण शिवजी प्रकट भइ चिताएको कुरा पुगोस् भनी आशीर्वाद दिएपछि शिव पार्वतीको विवाह हुन पुग्यो । त्यो दिन भाद्र शुक्ल तृतीयाको दिन थियो । सोही तिथिदेखि हिन्दू नारीहरूले यस दिनलाई उत्सवका रूपमा मनाउन थाले । यही पौराणिक पृष्ठभूमिबाट विकसित हुँदै आएको तीज केही परिस्कृत हुँदै नारी समानता र अधिकारको लागि लड्ने विशेष दिनको रुपमा विकसित हुँदै गरेको देखिन्छ ।

अहिलेको आधुनिक नारीवादी आँखाले हेर्दा पनि नारी विद्रोहको स्वर पौराणिक कालमा पनि सूक्ष्म रुपमा देखिन्छन् । नारीहरू आफ्नो अस्मिता र स्वतन्त्रताका लागि विद्रोह गर्थे र सफलता पनि पाउँथे भन्ने कुरा पाइन्छ । त्यसबेला नारीहरू आफ्नो स्वतन्त्रताको लागि वर्षौँसम्म तपस्या र संघर्ष गर्थे भनेर एउटा सकारात्मक तरिकाले दिएको सन्देशका रूपमा ग्रहण गर्न सकिन्छ । 

सनातन धर्म परम्परा अनुसार पनि पौराणिक कालमा थुप्रै किसिमका लडाइँ, युद्ध, हिंसा भएको देखिन्छ । अधिकार र अस्तित्व रक्षाका लागि युद्ध भएका छन् । थुप्रै विद्रोहहरू भएका छन् । महिलाहरू पनि आफ्नो अस्मिताको लागि सङ्घर्ष र त्याग गरेको पाइन्छ । पौराणिक कालमा पनि महिलाहरू आफ्नो अधिकारको लागि लडेर सफलता प्राप्त गरेका थिए ।

तीजमा गाइने गीत पनि लोकगीत परम्पराबाट विकसित भएको देखिन्छ । नारीहरू भगवानको उपासना गरी व्रत बस्ने, भगवानका गीतहरू गाउने, भजनकिर्तन गर्ने परम्पराबाट यी तीज गीत शुरु भएको देखिन्छ । समाजको सामाजिक, आर्थिक, राजनैतिक परिवर्तन हुँदै जाँदा गीतको विषयवस्तुमा पनि परिवर्तन हुँदै गएको छ । मानवीय सङ्कट र संवेदनाहरू स्वभाविक रुपमा परिवर्तन हुँदै गएका छन् । सामाजिक संरचनामा समाजको बनावट, भूगोल, जातजाति, वर्ग, पेशा, लिङ्ग आदिको प्रभाव स्वाभाविक रुपमा देखिँदै जान्छन् ।

तीजमा व्रत बस्नु पर्छ भन्ने मान्यता पनि आधुनिक विज्ञान अनुसार पनि राम्रो मानिएको छ । हामीले मान्दै आएको सनातन हिन्दू धर्म परम्परामा तीज मात्र नभएर अन्य पर्व वा कुनै तिथि विशेषमा पनि व्रत बस्नुपर्छ भन्ने मान्यता छ । अहिले त खानपिन ८–१६ घन्टा भन्ने व्यापक सुनिन्छ । आधुनिक चिकित्सा विज्ञान अनुसार पनि कहिलेकाहीँ निराहार बस्नु पनि स्वास्थ्यका लागि उपयुक्त हुन्छ भनिएको छ । उपासना र व्रत बस्ने भन्ने कुरा पनि मानिसको स्वास्थ्य अवस्था अनुसार हुन् । स्वास्थ्यले साथ नदिनेहरूलाई धर्मशास्त्र अनुसार पनि अनिवार्य गरिएको पनि छैन ।

मानव सभ्यताको विकास हुँदै जाँदा जीवन र जगतमा स्वाभाविक रुपमा परिवर्तनहरू हुँदै गएका छन् । हिजो महिलाले आफ्नो श्रीमान र सृष्टिको कल्याणको लागि व्रत र उपासना गरेका विशेष दिनहरू समयको अन्तरालमा आज आफ्नो हक अधिकारको लागि र अन्यायमा परेको कुराहरू व्यक्त गरिने र उपलब्धिको गुणगान गाइने दिनका रुपमा परिणत भएको छ । 

नारीहरूले हरे ! शिव, हरे ! पार्वती भनेर भजन वा गीत गाउँदै जाँदा विस्तारै भिन्न स्वरुपका गीतहरू गाउन थालियो । समयको क्रममा महिलाहरूले पुरानै भाकामा भए पनि नयाँ विषयमा अधिकारका तीज गीत गाउन थालेका छन् –
कहाँमा जान्छौ महिलाको बगाल,
बरिलै अधिकार खोज्नलाई ।।
अधिकार खोज्न जाँदा के के चाहिन्छ साथमा,
बरिलै पीडा र वेदना ।१।

तीज पर्वले अलि व्यापक आधुनिक हुँदै जाँदा नारीहरूले आफूले भोगेका पीडालाई माइती घरमा गएर दिदीबहिनीका साथमा मात्र व्यक्त नगरेर राज्यसँग अधिकारका रुपमा आक्रोश व्यक्त गरेको पाइन्छः
बाबाको बारीमा काकरीको बिरुवा, 
लह लह परेको पात बरिलै ।
‘नारी पुरुष बराबर’ भाषण जति ठोके नि, 
महिला माथि कामै कामको खात बरिलै ।।

महिलालाई व्यावहारिक रुपमै अवसर र अधिकार दिनुपर्छ । महिलाले सक्छन् वा सक्दैनन् भन्ने नै होइन । जब पुरुषले सक्छन् भने महिलाले पनि सक्छन् । विश्वव्यापी रहेको पितृसत्तात्मक रुढीवादी सोचलाई नबदलेसम्म जतिसुकै नयाँ युग र व्यवस्था परिवर्तन भए पनि अवस्था जे को त्यही रहिआएको छ । विश्वमा देखिने कतिपय पुरुषद्वारा गरिएका महिला हिंसालाई हेर्दा पुरुषको मानवताप्रति नै प्रश्न उठ्ने किसिमका देखिन्छन् ।

आज महिलाले हे भगवान ! हामीलाई पुरुषदेखि बचाऊ भन्दै नारा जुलुस लगाएको सुनिन्छ । के पुरुषको पहिचान भनेको हिंस्रक हुनु नै हो त ? आधुनिक समाज निर्माण हुँदै जाँदा पुरुषहरूप्रति डरलाग्दा प्रश्न तेर्सिनु अत्यन्तै दुःखद अवस्था हो । समाजमा यी र यस्ता घटनाहरू देख्दा वा सुन्दा पनि आफूलाई पुरुष हुँ भन्न घृणा लाग्ने किसिमका छन् । 

एउटा पुरुष मान्छेको नजिक महिला पर्दा डराउनु पर्ने भन्ने कुराले के सन्देश दिन्छ बडो गम्भीर विषय रहेको छ । महिला भनेका पुरुषका मनोरञ्जन वा खेलौनाका साधन होइनन् । पुरुषलाई जत्ति अस्तित्व र इज्जत चाहिन्छ महिलालाई पनि त्यत्ति नै चाहिन्छ । समाजमा महिला र पुरुष भनेका एकै रथका दुई पाङ्ग्रा हुन् । यो ठूलो र यो सानो भन्ने नै छैन अथवा कसैले यो काम गर्नै पर्छ वा गर्नु हुँदैन भन्ने नै छैन । 

पुरुषको जति अधिकार छ महिलाको त्यति नै अधिकार रहेको छ । महिलालाई कानूनमा यति छुट्टयाइएको छ भनेर त्यत्तिमै सीमित बनाउनु पनि हुँदैन । कुनै पनि जिम्मेवारी वा अवसरका ठाउँमा महिलाले सक्दैनन् भनेर पन्छाइनु हुँदैन । महिलाहरू पुरुषबाट सुरक्षित भएको महसुस हुनुपर्छ ।

पितृसत्तात्मक परम्पराबाट विकसित समाज भएको हुनाले अझै पनि कहिँ कतै हामी पुरुष हौँ, हामीले जे भने पनि महिलाले मान्नुपर्छ भन्ने सोचाइ रहेको छ भने तुरुन्तै यस्तो मानसिकतालाई  हटाउनै पर्छ ।अनि महिला भएर महिलामाथि विभेद गरिएका घटनाहरू पनि थुप्रै सुनिन्छन् । तीज पर्वमा यस्ता सबै किसिमका विभेदका विरुद्धका महिला अधिकारका गीतहरू गाउनुपर्छ, नाच्नुपर्छ र तीजलाई भव्य र सभ्य रुपमा मनाउनुपर्छ । (लेखक अमेरिकाको भर्जिनियामा कर्म गरिरहेका छन्)
 



नयाँ