arrow

काठमाडौं ४ मा यस पटक गगन थापालाई कति छ चुनौती ?

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज ४ मंगलबार
gagan-thapa-rajan-bhattarai.jpg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०७४ को प्रतिनिधि सभा निर्वाचन बलियो मतान्तरले जितेको क्षेत्र हो काठमाडौं क्षेत्र नम्बर ४ । नेता थापाले ०७४ को प्रतिनिधि सभा निर्वाचनमा २१ हजार ५ सय ५८ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका नेता डा. राजन भट्टराईले त्यतिबेला माओवादी केन्द्रसँग गठबन्धन हुँदासमेत मात्र १८ हजार १ सय ४० मत प्राप्त गरेका थिए ।

तत्कालीन विवेकशील साझा पार्टीकी उम्मेदवार सुबुना बस्नेतले तीन हजार ४० मत प्राप्त गरेकी थिइन् । नेकपा मालेका गोर्वधन खड्काले १ सय ५४ र नयाँ शक्ति पार्टी नेपालका तुलसीराम शिवाकोटीले १ सय ३३ मत प्राप्त गरेका थिए ।

नेता थापाले आफ्ना निकटतम प्रतिद्धन्द्धी भट्टराईलाई ३ हजार ४ सय १८ मतान्तरले पराजित गर्दै जित हासिल गरेका थिए ।

स्थानीय निर्वाचनमा कांग्रेस कमजोर

स्थानीय तहको निर्वाचनको नतिजा हेर्दा भने स्थिति फरक थियो र अहिले पनि छ । २०७४ को स्थानीय तहको निर्वाचनमा यो क्षेत्रमा नेकपा एमाले नेपाली कांग्रेस भन्दा २ हजार ७ सय ६३ मतले अगाडि थियो । नेकपा एमालेले १७ हजार २ सय ३९ मत प्राप्त गरेको थियो भने नेपाली कांग्रेसले १४ हजार ४ सय ७६ मत प्राप्त गरेको थियो ।

माओवादी केन्द्रले ३ हजार ९ सय ९ र राप्रपाले २ हजार २६ मत प्राप्त गरेको थियो । काठमाडौं संसदीय क्षेत्र ४ काठमाडौं महानगरपालिकाको वडा नम्बर १, ७, ८ र ३० एवं बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १, २, ८, ९, १०, ११, १२ र १३ मिलेर बनेको छ ।

स्थानीय तह निर्वाचन २०७९ मासमेत यो क्षेत्रबाट नेकपा एमाले नै अघि रहेको छ । एमालेले १६ हजार ५ सय ७ मत प्राप्त गरेको छ भने कांग्रेसले १४ हजार ६ सय ४५ मत प्राप्त गरेको छ । माओवादी केन्द्रले ८ सय ७, राप्रपाले २ हजार २ सय १५ र नेकपा एकीकृत समाजवादीले २ हजार ६ सय ९७ मत प्राप्त गरेको छ ।

एमाले बलियो

१२ वडा समेटिएको काठमाडौं क्षेत्र नम्बर ४ का ९ वडामा एमाले नै विजयी बनेको छ भने ३ वडामा मात्रै कांग्रेसले जितेको छ । कांग्रेसले काठमाडौं महानगरका ७, ८ र ३० नम्बर वडामा मात्रै जितेको हो । बाँकी ९ वडामा एमालेकै अध्यक्ष रहेका छन् ।

एमालेले झण्डै तीन गुणा स्थानीय तहमा जित हात पार्नुले यो क्षेत्रमा स्थानीय मत हेर्दा एमाले बलियो रहेको स्पष्ट संकेत गर्छ । होला कुनै वडामा वडाध्यक्ष उम्मेदवारको व्यक्तिगत प्रभावसमेत हुनसक्छ । तर अघिल्लो स्थानीय निर्वाचमा समेत एमाले नै लिडमा रहनुले एमालेको पकड कम्तीमा स्थानीय तह निर्वाचनका लागि बलियो रहेको देखाउँछ ।

गगन थापालाई कति छ चुनौती ?

यसरी २०७४ को र अहिले २०७९ को स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेले नै अघि देखिँदा नेपाली कांग्रेसका नेता गगन थापाले व्यक्तिगत प्रभावका कारण संसदीय निर्वाचनमा बढी मत प्राप्त गरेको एक अनुमान लगाउन सकिन्छ ।

आसन्न प्रतिनिधिसभा निर्वाचनमा गठबन्धनका तर्फबाट क्षेत्र नम्बर ४ मा नेता थापा उम्मेदवार बन्ने हो भने उनलाई सहजता र उत्तिकै चुनौती देखिन्छ ।

आफ्ना केही टिप्पणी र लामो समयसम्म केही उल्लेख्य योगदान दिन नसकेको भन्दै नेता थापाको क्रेज पहिला भन्दा केही खस्किएको दाबी विपक्षी दलका नेताहरु लगाउँछन् । तर उनी निकट स्रोत भने थापाले महत्वपूर्ण योजनाहरु लागु गरेको बताउँछन् । 

उनले छोटो समय स्वास्थ्य मन्त्री हुँदा गरेका निर्णय अहिले देशभर लागु भएको छ । आफ्नो क्षेत्रमासमेत उनले ‘डोर टु डोर’ परीक्षण पद्धतिको विकास गरेका छन् । जसलाई निकै सराहनीय भनिएको छ । 

उनको प्रभाव नभएको भए सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टीको महामन्त्री बन्ने थिएनन् । त्यो पनि निकै ‘पपुलर भोट’ का साथ । 

उता नेकपा एमाले अलग्गै चुनाव लड्ने स्थिति र सत्तारुढ दलहरुले गठबन्धन गरेको अवस्थामा एमालेका मतदाताहरु पार्टीप्रति बढी बफादारसमेत रहन सक्छन् । सत्तारुढ गठबन्धनको बलले पक्कै पनि गगनलाई थप फाइदा पुग्नेछ । 

नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रलगायत अन्य दलहरुको मतसमेत पाउँदा नेता थापालाई सहज हुनेछ । एमालेले राम्रो व्यक्तिगत छवि भएको उम्मेदवार बनाएको खण्डमा नेता थापालाई थप चुनौती हुनसक्छ । 

तर एमालेले पुरानै अनुहार अर्थात् राजन भट्टराईलाई नै अगाडि सारेकाले उनको भूमिका यो क्षेत्रमा खासै सन्तुष्टजनक देखिएको छैन । अर्कातिर एमालेबाट फुटेको नेकपा एसका केही भोट उनीतर्फ नजाला भन्न सकिन्न । तर उनको राजनीति केबल एमाले अध्यक्ष केपी शर्मा ओली वरपर मात्रै घुम्ने भएकाले पनि नेकपा एसका कार्यकर्ताले नरुचाउने पाइन्छ । 

एमालेबाट फुट्नुअघि पनि उनी स्पष्ट ओली कित्तामा थिए । त्यही व्यवहारका कारण तत्कालीन रुष्ट एमालेका कार्यकर्ताले उनलाई भोट नहाल्ने दाबी गरिन्छ । अर्कातर्फ युवाहरु जुनसुकै पार्टीका भए पनि गगन थापालाई जिताउनु पर्छ भन्नेमा लागेको पाइएको उनको सचिवालयले बताएको छ । 

दुई उम्मेदवारको मात्र तुलनाले भने यो क्षेत्रको मूल्यांकन गर्न सकिन्न । राप्रपाको पनि राम्रै पकड भएकाले कांग्रेसको गठबन्धन जस्तै एमाले र राप्रपाको गठबन्धन हुने सम्भावना रहेका खण्डमा भने निकै टक्कर हुने देखिन्छ । 

अर्कातर्फ पछिल्लो समय लहराएको स्वतन्त्र उम्मेदवारीलेसमेत केही मत अवश्य काट्ने देखिन्छ । समग्रमा क्षेत्र नम्बर ४ को चुनावी प्रतिस्पर्धा निकै नै रमाइलो हुने देखिन्छ । 

अर्कातर्फ पछिल्लो समय एमालेका सयौं कार्यकर्ताको कीर्तेकाण्ड देखिनु र कांग्रेसभित्रै गगनको माहोल बिगार्न कांग्रेसी नेताहरु लाग्नुले भने संकेत राम्रो देखिएको छैन । कीर्तेकाण्डमा न त निर्वाचन आयोगले कारबाही गरेको छ न त कांग्रेसी नेतालाई कारबाहीका लागि नेतृत्वले कुनै पहल अगाडि बढाएको छ । 

यी समाचार पनि पढौं– 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ