arrow

चुनावको मुखमा एमालेमा सुरु भयो ओलीविरुद्धको विद्रोह

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
Kp oli.jpg
फाइल तस्बिर

काठमाडौँ। आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा भने विद्रोह सुरु भएको छ। नेकपा एमालेबाट अलग भएर माधव नेपालले नेकपा एकीकृत समाजवादी बनाएपछि कमजोर बनाएको एमालेमा फेरि विद्रोह सुरु हुँदा थप सङ्कट निम्तिएको हो। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टिकट वितरणमा अधिनायकवादी चरित्र देखाएको भन्दै नेकपा एमालेका नेताहरूले नै ओलीविरुद्धको विद्रोह सुरु गरेका हुन्। ओलीले यसअघि तत्कालीन नेकपा हुँदा माधव नेपाल समूहलाई साथ दिएर आफूलाई सत्ताबाट हटाएको भन्दै एमालेमा रहेका '१० भाइ' लाई नै पाखा लगाउने रणनीति अपनाएका छन्। 

ओलीको उक्त रणनीति भने एमालेका लागि आगामी चुनावमा घातक हुने भएको छ। एमाले अध्यक्ष ओलीले नेता भीम रावल, घनश्याम भुसाल, भीम आचार्यलगायतलाई माफी नमागेसम्म टिकट नदिने घोषणा नै गरेका छन्। त्यसै गरी ओलीले टिकट नदिने जानेर अष्टलक्ष्मी शाक्य, अमृत बोहरा र युवराज ज्ञवाली भने चुनाव नलड्ने घोषणा गरेका छन्। 

त्यसै गरी केही नेताहरूले त पार्टी नै छोडेका छन्। जसमा इटहरीका पूर्व मेयर द्वारिकालाल चौधरी, दाङबाट सांसद बनेकी गङ्गा चौधरीलगायतले पार्टी छोडेको घोषणा गरेका छन्। द्वारिकालाल चौधरी माओवादीमा प्रवेश गरिसकेका छन् भने गङ्गा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन्। 

त्यसै गरी भीम रावल, घनश्याम भुसाल र भीम आचार्य पर्ख र हेरको स्थितिमा छन्। असोज २३ गतेसम्म टिकट नपाएको अवस्थामा आफूहरूले एमालेमा ओलीविरुद्ध ठूलो विद्रोह गर्ने भीम आचार्यको घोषणा छ। एमालेमा ओलीको ठूलो प्रशंसा र रक्षा गर्ने नेतृ गङ्गा चौधरी (सत्गौवा)ले पार्टी छोडेर स्वतन्त्र उम्मेदवारी दिने भएकी छन्। 

उनले सामाजिक सञ्जालमार्फत स्वतन्त्र उम्मेदवार भएर जनताको बीचमा आउन लागेको जानकारी गराएकी छन्। ‘आज मैले ठिक निर्णय गरे या बेठिक मलाई थाहा छैन राष्ट्र र राष्ट्रियताको लागि म सधैँ लागि रहने छु जनता भगवान् हुन जनता नै सर्वपरि हुन देशलाई शिरमाथि राखेर आज स्वतन्त्र उम्मेदवार भएर जनताको बिचमा आउदैछु हजुरहरूको साथ चाहिएको छ,’ चौधरीले भनेकी छिन्। 

चौधरी दाङ–१ बाट स्वतन्त्र उम्मेदवार दिने भएकी हुन्। ‘हामीजस्तो कार्यकर्तालाई पार्टीले मुल्याकंन नगरेपछि यो निर्णय गरेको हुँ,’ चौधरीले भनिन्, ‘बाहिरबाट ल्याएर उम्मेदवार ल्यायो भने कसलाई स्वीकार्य हुन्छ र?’

उनी नेकपा एमालेबाट ०७४ को प्रतिनिधिसभा समानुपातिकतर्फ सांसद बनेकी थिइन्। यसअघि ०२७४ को निर्वाचनमा दाङ-१ मा नेकपा एमालेबाट मेटमणि चौधरीले जित हात पारेका थिए। 

शान्ता चौधरीको स्थायी बसोबास दाङ क्षेत्र नम्बर २ मा पर्छ। दाङ-२ बाट एमालेका महासचिव शङ्कर पोखरेल प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने भएका छन्। दाङ- १ बाट गङ्गासँगै शान्ता चौधरीलगायतको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएको थियो।

गङ्गाले पार्टीका नेताहरूसामु आफ्ना कुरा राख्दा पनि सुनुवाइ नभएको र उम्मेदवारीबाट वञ्चित गराएको बताएकी छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ