arrow

रावलको आरोपमा ओलीको मौनता, उमेर लगाम लागे पनि ११ औं महाधिवेशनको तयारी गर्दै !

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २८ शुक्रबार
oli-rawal.jpg

काठमाडौं । राजनीतिक जीवनको उत्तरार्द्धमा रहेका एमाले नेता भीम रावल ०७९ को चुनावमार्फत आफूलाई जनताबाट अनुमोदित हुन चाहन्थे । उमेर र एमालेको आन्तरिक समीकरणले अर्को संसदीय चुनावको प्रतिस्पर्धाका लागि रावललाई मौका दिने सम्भावना कम भएकाले उनी यही पटकबाट संसदीय राजनीति र सक्रिय राजनीतिबाट बाहिर आउन चाहन्थे । तर उनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले रोक । अछाम– १ बाट प्रतिनिधिसभाका लागि एकल नाम सिफारिस गराउन सफल भए पनि उनलाई टिकट दिइएन, माओवादीबाट एमालेमा आएका झपट बोहोरालाई टिकट दिइयो । 

पछिल्लो पटक एमालेभित्रको स्थायी प्रतिपक्षी रहेका रावल पार्टीका मञ्चमा एमाले र अध्यक्ष केपी ओलीमाथि प्रश्न उठाउने मात्र होइन, स्वविवेक प्रयोग गरेर संसदीय भूमिका निर्वाह गरिरहेका थिए । अध्यक्ष केपी ओलीले आफ्ना प्रतिस्पर्धी रावललाई राजनीतिमा साधैका लागि बिदा गर्न चाहे । अछाम–१ मा उम्मेदवार हुने मौका नै दिएनन् । रावलले टिकट नपाउनुमा संसद र बाहिरी मञ्चमा अध्यक्ष ओलीमाथि टिप्पणी गरेको, संसद्मा पार्टीको निर्देशन विपरीत भूमिका निर्वाह गरेको र अभिव्यक्ति दिएको आधार देखाइएको छ । तर एमालेका अध्यक्ष ओली भने रावलले लगाएका विविध आरोप बारे भने मौन रहेका छन् । 

अछाम–१ मा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो उम्मेदवार शेरबहादुर कुँवरलाई अन्यत्र व्यवस्थापन गरेर रावललाई समर्थन सक्ने स्थिति बन्न सक्ने भएकाले पनि रावलका लागि सहज थियो । हक्की स्वभावका रावलको प्रवृत्ति त्यसरी सहयोग माग्ने खालको पनि छैन । सम्भवतः ०७९ को चुनावबाट नै रावलको संसदीय भूमिकामा विराम लाग्न सक्छ भने पनि उनी आगामी ११ औ महाधिवेशनमा पार्टीभित्र ठूलै शक्तिका साथ प्रवेश गर्ने अवस्था पनि आउन सक्ने देखिन्छ । एमालेले व्यवस्था गरेको ७० वर्षे उमेर हदका कारण एघारौँ महाधिवेशनबाट रावलको भूमिकामा विराम लाग्ने देखिएको छ ।

यद्यपि पार्टीमा शक्ति आर्जन गर्ने विषयमा रावलले देशव्यापी माहोल बनाउन सक्ने अवस्था कायमै छ । तत्काललाई रावल एमाले बस्न पनि नसक्ने र छोड्न पनि नसक्ने स्थितिमा पुगे पनि देशव्यापी माहोल मिलाएर आगामी महाधिवेशनको तयारी गर्ने अवस्थामा रावल पुगेका छन् । रावलको राष्ट्रियताको मुद्दामा समाजको एउटा पङ्क्तिले प्रश्न उठाइरहने ती नेताको तर्क छ । जसका कारण उनको नारा निरन्तर बिकाऊ हुन नसक्ने भएकाले रावलको विचारको अर्थ रहन्न । 

ओलीको आलोचना गरे पनि देशभर एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्दै एमाले नेता रावलले पार्टी नछाड्ने घोषणा गरेपछि उनीप्रति कार्यकर्ताहरूको माया भने बढेको छ । एमालेले सङ्घीय संसद्को टिकट नदिएपछि मौन रहेका एमाले नेता रावलले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एमालेमै रहने र पार्टीको गति र मतिअनुसार आफूले पाइला चाल्ने बताउँदै पार्टीका उम्मेदवारलाई जिताउन आग्रह गरेका थिए । उनले अछामको विषयमा त्यहाँको जिल्ला कमिटीको निर्णयअनुसार आफ्नो धारणा आउने समेत बताएका छन् । 

एमाले नेता रावलले स्वदेशी र विदेशी प्रतिक्रियावादी र नेपालको स्वतन्त्रता र समृद्धिमा घात गर्नेहरूबाट आफू टाढा रहने जनाए । उनले आफ्ना घोषित दर्शन, सिद्धान्त र कार्यक्रममा दृढताका साथ उभिँदै नेकपा एमाले नेपालको संविधानद्वारा निर्दिष्ट स्वतन्त्रता र स्वाधीनताको बाटोबाट नेपालको सर्वोपरि हित एवं समृद्धिको मार्गमा चलोस् भन्दै पार्टीका इमानदार नेता तथा कार्यकर्ताले भूमिका खेल्नुपर्छ भन्ने आफ्नो धारणा रहेको र त्यही आह्वानपछि तत्काल पार्टीको मूल नेतृत्वबाट बाहिर रहे पनि आफू पार्टीभित्रै सङ्घर्ष गर्ने पक्षमा रहेको उनले सङ्केत गरेका थिए । 

१०औं महाधिवेशनमा एमाले अध्यक्ष ओलीसँग पराजित भएका रावल हाल पार्टीको साधारण सदस्य मात्रै छन् । उनलाई अछाम पार्टी कमिटीले सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको थियो। तर ओलीले रावल पार्टीको सम्पर्कमा नभएको भन्दै माओवादीबाट एमालेमा रहेका विवादास्पद छविका व्यापारी झपट बोहोरालाई टिकट दिएका थिए । अछाम जिल्ला कमिटीले अहिलेसम्म बोहोरालाई सहयोग गर्ने कि नगर्ने भन्नेबारे कुनै निर्णय गरेको छैन। 

रावलले टिकट नपाए पनि आफूनिकटका नेतालाई पार्टी नछाड्न सङ्केत गरेका थिए । ‘उहाँले पार्टी छाड्नुहुन्न, अहिले पनि पार्टीका सबै उम्मेदवारलाई जिताउने प्रण गर्नुभएको छ, यसको अर्थ पार्टीभित्रै सङ्घर्ष गर्ने भन्ने हो, तर देशव्यापी रूपमा पार्टी कार्यकर्ताको अपार माया रहेका कारण उहाँले पार्टीको आगामी नेतृत्वको तयारी गर्ने सम्भावना रहेको छ,’ उनीनिकट रहेका एक नेताले भने । तर ती नेताले भनेजस्तो रावललाई उमेर हद र एमालेको कार्यकर्ता पङ्क्तिले कत्तिको साथ देला भन्ने प्रश्न पनि सँगसँगै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ