arrow

ओलीकै कारण हारको संघारमा ‘बा’ भन्ने चार चेलीहरु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक २९ मंगलबार
nirudevi-komal-shanta-padma-uml.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एमाले वृतमा ’बा’ को पगरी गुथाइएको छ । उनलाई पार्टीका केही नेतृहरुले आफ्नो राजनीतिक निकटता दर्शाउनका लागि अध्यक्ष ओलीलाई ‘बा’ भन्ने गरेका छन् । 

त्यसकै कारण ओलीले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पनि उनै चेलीहरुलाई उम्मेदवार बनाए । ती क्षेत्रमा एमालेका काबिल र योग्य नेताहरु हुँदाहुँदै पनि ओलीले उनीहरुलाई नै उम्मेदवार बनाएका हुन् । 

एमालेमा नै योग्य र जित हात पार्न सक्ने क्षमतावान उम्मेदवार हुँदाहुँदै बनाइएका ती नेतृहरु चुनाव हार्दै गरेको एमालेभित्रै आँकलन भइरहेको छ । हालसम्मको चुनावी माहोललाई आँकलन गर्ने हो भने उनीहरुको हार करिब निश्चित रहेको छ । 

ओलीलाई बा भन्न रुचाउनेहरु निरुदेवी पाल, कोमल वली, शान्ता चौधरी र पद्मा अर्यालले पराजय व्यहोर्ने निश्चितजस्तै भएको हो ।

पाल कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका प्रभावशाली उम्मेदवार रमेश लेखकसँग प्रतिस्पर्धा गरिरहेकी छिन् । २०७४ को निर्वाचनमा दीपकप्रकाश भट्टले वाम गठबन्धन हुँदा लेखकलाई २५० मतान्तरले पराजित गरेका थिए । 

यसपटक भट्टले टिकट नपाएपछि उनी लगायतको असन्तुष्टि रहेको छ । जसले गर्दा पाललाई ठूलो धोका हुने भएको छ । 

त्यसैगरी लेखकलाई गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्रलगायतको समर्थन रहेको छ । यसको फाइदा लेखकलाई हुने भएको छ । जसका कारण यसपटक पालको पराजय निश्चित जस्तै भएको छ । 

त्यसैगरी दाङ १ मा उम्मेदवार बनेकी शान्ता चौधरी पनि ‘डेन्जर जोन’ मा नै रहेकी छिन् । उनीविरुद्ध नेकपा एमालेकै नेतृ गंगा चौधरी बागी उठेपछि शान्तिलाई संकट सिर्जना भएको हो । अर्कोतर्फ उनीविरुद्ध सत्ता गठबन्धनको समर्थनमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी चुनावी मैदानमा होमिएका छन् । 

विगतमा एमालेले जनतालाई धोका दिएको भन्दै प्रचार भइरहेका कारण उनलाई थप दबाब भएको हो । जसका कारण ओली निकट भएकै कारण टिकट हत्याएकी शान्ताले पनि पराजय व्यहोर्ने निश्चितजस्तै भएको छ । 

त्यसै दाङ– ३ मा उम्मेदवार बनेकी कोमल वली पनि चुनाव हार्ने बाटोमा पुगेकी छिन् । उनलाई चुनाव हराउनका लागि नेकपा एमाले नै सक्रिय भएको छ । विगतमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीतिक यात्रा शुरु गर्दै एमाले प्रवेश गरेकी कोमल एकाएक ओलीले ठूलो स्पेस दिएको भन्दै व्यापक असन्तुष्टि रहेको छ । 

कोमलले टिकट पाएपछि दाङ–३ मा एमालेले चर्को विरोध गरेको थियो । दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यका लागि एमाले उपाध्यक्ष युवराज ज्ञवाली, तुलसीपुरका पूर्वमेयर घनश्याम पाण्डे र कोमल वलीको नाम सिफारिस भएको थियो । तर ओलीले तेस्रो नम्बरमा सिफारिस भएकी कोमललाई टिकट दिए । 

अध्यक्ष ओलीले टिकट वितरणमा मनोमानी गरेको भन्दै देशभरबाट विरोध भइरहेको समयमा दाङ–३ मा चरम असन्तुष्टि चर्किएको थियो । यसको प्रत्यक्ष लाभ सत्ता गठबन्धनका उम्मेदवार दिपक गिरीलाई हुने भएको छ भने प्रत्यक्ष असर कोमल वलीलाई पर्ने देखिन्छ । 

एमालेको असन्तुष्ट पक्ष कोमलको चुनावी प्रचारमा सहभागी भएको छैन । उनीहरुले वलीको विपक्षमा माहोल तयार पारिरहेका छन् । जसका कारण वलीको जित निकै कठिन र चुनौतीपूर्ण बन्दै गएको छ । 

दाङ निर्वाचन क्षेत्र नम्बर–३ मा ४ वटा स्थानीय तह छन् । गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा एमालेले तुलसीपुर उपमहानगरपालिकामा र अरु तीन पालिका (बबई, शान्तिनगर र दंगीशरण गाउँपालिका) मा कांग्रेसले एकल जित निकालेको थियो । 

कांग्रेसको मत ३० हजार ९८९छ । १२ हजार ८८० मत माओवादी केन्द्रको छ । यो तथ्यांक हेर्दा सत्ता गठबन्धनभन्दा एमाले पछि छ । 

त्यसैगरी अर्की महिला नेतृ पद्मा अर्याललाई पनि यो निर्वाचन सकसपूर्ण बनेको छ । विगतमा वाम गठबन्धनको आडमा निर्वाचित भएकी पद्माविरुद्ध यस निर्वाचनमा नेपाली कांग्रेसका उपसभापति धनराङ गुरुङ चुनावी मैदानमा छन् । 

२०७४ सालमा गोपालमानले ३१ हजार ४ सय ३६ मत ल्याएका थिए । पद्मा अर्यालले ३५ हजार १ सय ४२ मत ल्याएकी थिइन् । यसपटक गठबन्धन फेरिएकाले यो मत संख्यामा अडिग रहन पद्मालाई चुनौती हुने भएको छ । 

फेरि गत बैशाखमा भएको स्थानीय तह निर्वाचनको नतिजालाई हेर्ने हो भने सत्ता गठबन्धन त्यहाँ एमालेभन्दा अगाडि देखिन्छ । त्यहाँ नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार बनेकाहरुले ३६ हजार ८ सय ६ मत ल्याएका थिए भने नेकपा एमालेका वडाध्यक्षहरुले ३४ हजार ८ सय ९ मत ल्याएका थिए । 

नेकपा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवारहरुले १ हजार ४ सय ४७, राप्रपाले ५११, एकीकृत समाजवादीले २३३ मत ल्याएको थियो । यो अंक गणितलाई ख्याल गर्दा पनि पद्माको हार निश्चित जस्तै देखिन्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ