arrow

गगन थापा नै प्रधानमन्त्रीको सर्वोपयुक्त विकल्प

logo
राजेन्द्र पन्थी,
प्रकाशित २०७९ मंसिर ११ आइतबार
rajendra-panthi-article-gagan-thapa2.jpg

नेपालको संविधानअनुसार संघीय र प्रादेशिक सांसदको दोस्रो कार्यकालको लागि  मंसिर ४ मा सम्पन्न आवधिक निर्वाचनको नतिजा लगभग आइसकेको छ । निर्वाचनको प्राप्त नतिजाअनुसार संघमा कुनै पनि पार्टीले एकल बहुमत ल्याएर सरकार बनाउने अवस्था छैन । अहिले पार्टीहरू सरकार बनाउन जोड घटाउमा लागेका छन् । एकल सरकार बन्न नसकेको अवस्थामा यसबेला दलहरूले होश नपुर्याउने र जनताले खबरदारी पनि नगर्ने हो भने फेरि पनि आउने पाँच वर्षमा सरकार बनाउने र भत्काउने चलखेल राम्रै हुने पनि देखिन्छ । 

राजनीतिक पार्टीहरूले अब उही पुरानै खेल खेल्न लागे भने आगामी पाँच वर्ष पनि राजनीतिक अस्थिरता र जटिलता थप हुने पनि देखिन्छ । यसले आगामी २०८४ को निर्वाचनमा भने आफूलाई मूलधारका पार्टी कहलाउनेको अस्तित्व पनि समाप्त हुने देखिन्छ । देशमा संघीय सांसदहरू मध्येबाट नै देशको कार्यकारी प्रमुख प्रधानमन्त्री चुनिने हुनाले अबको ४१ औं प्रधानमन्त्री युवा पुस्ताबाट बनाउनु पर्छ भनेर स्पष्ट जनमत पनि आएको देखिन्छ ।

अहिलेको निर्वाचन परिणामलाई नियाल्दा सायद दलहरूले गठबन्धन वा तालमेल नाम गरिएको ठगबन्धन नगरी चुनावमा गएको भए ६५–७० काटेका बुढाहरू कसैले पनि जित्ने थिएनन् । अझै पनि दलभित्र जरो गाडेर बसेका बुढाहरूले आफूलाई अबको प्रधानमन्त्री भन्दै घोषणा गरेको पनि सुनिन्छ । दलभित्र रहेका युवा पुस्ताले अहिलेको जनमतको कदर नगरी अझै पनि पार्टीको झोले बनी चुप लागेर बसे भने जनताको विद्रोह र आक्रोशले अझै उग्र रुप लिएर पुराना पार्टी सिद्धिने संकेत देखिन्छ । 

युवा पुस्ताले अहिलेको चुनावमा ‘नो नट अगेन’ अभियान चलाउँदा पनि परीक्षणबाट नै असक्षम भएका पाका वृद्धहरूले चुनाव जितेको देखिए पनि वास्तवमा यो एउटा प्राविधिक जित मात्रै हो । त्यो जनमतले दिएको जित थिएन । किनकि कतिपय ठाउँमा चुनाव जित्नकै लागि अप्राकृतिक गठबन्धन गरिएको थियो । 

विगत ३२ वर्षको राजनीतिक इतिहासलाई हेर्दा नेपालका प्रायः सबै पार्टीका पुराना पुस्ता असक्षम सावित भएका छन् । अहिलेको प्रायः शहरको सचेत जनमत पनि युवा पुस्ताले नेतृत्व सम्हाल्नु पर्छ भनेर मतदान गरेका पनि छन् । यहाँ बुढा पुस्ताप्रति अपमान गरिएको होइन र उमेरलाई आधार बनाउनु पर्छ पनि भनिएको होइन । नेपाली राजनीतिको त्यो पहिलो पुस्ता असफल र असक्षम प्रमाणित भैसकेको छ । अब फेरि कुनै पनि हालतमा तिनैलाई सरकारमा ल्याउनु हुँदैन भनिएको हो । यिनैको पूजा गर्न खोज्नु देशलाई झन बर्बादीतिर लैजानु हो ।

अबको प्रधानमन्त्रीको दौड
अबको प्रधानमन्त्रीको दौडमा कोही बोलेर र कोही नबोलेर अगाडि देखा पर्न लागेको देखिन्छ । वर्तमान सरकारमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धकको नामबाट चुनावमा गए पनि भावी प्रधानमन्त्रीको नाम सर्वसम्मत रुपमा दिएका थिएनन् । नेकपा एमालेले भने पार्टीका अध्यक्ष खड्ग प्रसाद ओलीलाई भावी प्रधानमन्त्री भनेर जनताको माझमा गएको थियो । तर सरकारी गठबन्धनमा सहभागी नेकपा माओवादीका अध्यक्ष प्रचण्डले भने चुनावी प्रचारको सन्दर्भमा ठाउँ परिवेश हेरिकन जनताको मत तान्नका लागि कहिले आफूलाई कहिले अरू पार्टीका नेताहरूलाई भावी प्रधानमन्त्री भनेर घोषणा गरिदिएका थिए । 

प्रचण्डले भनेकै आधारमा जनताले भोट भने दिएनन् । दलहरू आधिकारिक रुपमा नबोले पनि दलको गुट र उपगुटमा उनै पुराना नेताकै नाम लिएर खासखुस र चर्चा परिचर्चा गर्न लागेको सुनिन्छ । छिमेकी राष्ट्रहरु पनि सक्रिय रहेको पाइएको छ । 

देशको प्रधानमन्त्री भनेको देशको मूल नायक भएको हुनाले जनताले निर्वाचन पूर्व नै सबै पार्टीका प्रस्तावित प्रधानमन्त्री थाहा पाउनुपर्थो । तर त्यसो हुन सकेन । आज कतिपयले अबको प्रधानमन्त्री यो हो भनेर भनिरहँदा ‘एलर्जी’ हुन्छ । जेहोस् अबको प्रधानमन्त्रीको प्रस्तावित सूचीमा शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपालको नाम नै हटाउनु पर्छ । 

यी नामहरू सुन्दा सुन्दा नेपाली जनताहरू वाक्क भएका छन् । अब यी पूर्व प्रधानमन्त्रीहरू पार्टीको अभिभावकीय भूमिकामा मात्र सीमित हुनुपर्छ । आज देशको सामाजिक र आर्थिक अवस्था अत्यन्तै कमजोर भएको अवस्थामा पनि तिनै असफल पूर्व प्रधानमन्त्रीलाई कुनै हालतमा अगाडि सार्नु हुँदैन । नेपालको राजनीति व्यवस्था परिवर्तन गर्न यिनको महत्वपूर्ण भूमिका भए पनि जनताको अवस्था परिवर्तन गर्न यी असफल भएका छन् । 

अब यिनलाई स–सम्मान बिदा गरी नयाँलाई अवसर दिनुपर्छ । राजनीतिक दलहरूले पनि अहिलेको जनमतको कदर गर्ने हो भने तुरुन्त एउटा महत्वपूर्ण निर्णयमा पुगेर पार्टीभित्रका यी बुढा पुस्तालाई विश्राम गर्नतिर लगाउनु पर्छ । अहिलेका नेतृत्व र दलहरूप्रति के कस्तो जनआक्रोश र वितृष्णा देखिएको छ भन्ने कुरा निर्वाचनको परिणामबाट नै स्पष्ट  देखिएको छ ।

हालै सम्पन्न निर्वाचनमा जनताले दलमात्र हेरेर भोट दिएका छैनन्, व्यक्ति पनि हेरेका छन् । नेपालको राजनीतिमा विकृत ज्यादा भयो भनेर नेपालका पुराना दलहरूलाई जनताले राम्रै दण्ड दिएका पनि छन् । जनताहरू पुराना दलहरूबाट वाक्कदिक्क भएको कुरा काठमाडौं र चितवनको निर्वाचन परिणामले देखाइदिएको छ । जहाँ वर्षौंसम्म जरा गाडेर बसेका र पुराना दल भनिएकाहरू सोत्तर भएका छन् । 

जनताले यति ठूलो सजाय दिँदा पनि उनीहरूलाई अपमान गरी दलहरू गुट र उप गुटको भजन मण्डली बनाउँदै हिँडेर उनै पुरानालाई अगाडि सारे भने आगामी निर्वाचनमा अझै धेरै ठाउँबाट सोहोरिने छन् । यी राजनीतिक दलहरू इतिहासको पानामा मात्र सीमित हुनेछन् ।

सर्वोपयुक्त विकल्प
भर्खरै सम्पन्न निर्वाचनको जनभावना परिणामलाई हेर्दा पनि अहिलेको प्रधानमन्त्रीको सर्वोपयुक्त विकल्प भनेको नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा नै देखिन्छन् । नेपाली कांग्रेसमात्र होइन धेरै युवा पुस्ताले गगन थापालाई अबको प्रधानमन्त्री हेर्न चाहेका छन् । थापा पनि आफ्नो क्षेत्रमा चुनावमा जाँदा आफू अबको सांसद मात्र नभएर भावी प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावी मैदानमा होमिएका थिए र जनताबाट अनुमोदितसमेत भएका छन् ।

पहिले भन्दा अहिले अझ फराकिलो मतान्तरले प्रतिस्पर्धीलाई हराएर गगनले चौथो पटक संसदको टिकट काटेका हुन् । आम नेपाली जनताले पनि अबको प्रधानमन्त्री नयाँ र युवा हुनुपर्छ भनिरहँदा र गगन थापाले आफैं मुख खोलेर पनि बोलेको हुँदा उनको यो उद्घोषलाई कांग्रेसले कुनै हिचकिचाहट बिना सर्वसम्मत अनुमोदन गर्नुपर्छ र उनलाई संसदीय दलको नेता बनाई प्रधानमन्त्रीसमेत बनाउनु पर्छ । 

अहिले कांग्रेसभित्र देउवा गुटबाट असहमतिका अलि चर्का स्वरहरू आएका छन् । यी स्वरहरू बन्द गरिनुपर्छ । किनकि शेरबहादुर देउवा पटकपटक प्रधानमन्त्री भए तापनि देशको आर्थिक र सामाजिक विकासको लागि पूर्णत असफल भएका छन् । अब कांग्रेसले कांग्रेसको मात्रै नभएर आम नेपाली युवा पुस्ताको आक्रोशलाई साम्य गर्न पनि युवा पुस्ताको प्रतिनिधित्व गर्न सक्ने गगन थापालाई प्रधानमन्त्री बनाउनु पर्छ । गगन थापालाई प्रधानमन्त्री बनाउने हो भने रवि लामिछाने र ज्ञानेन्द्र शाहीलाई मतदान गर्ने मतदाताकोसमेत भावना कदर हुने देखिन्छ । 

देशमा सुशासन, समृद्धि र नयाँ आयाम ल्याउन यतिबेला कांग्रेसले पार्टीभन्दा  माथि उठेर अत्यन्तै गहन र सूक्ष्म तरिकाले सोच्नु पर्ने देखिन्छ । कांग्रेसले गगन थापाको नेतृत्वमा नै अहिलेको गठबन्धनलाई निरन्तरता दिन सक्ने हो भने अहिलेको यो जनमतको कदर हुने पनि देखिन्छ । गगन थापा नेपाली कांग्रेसको महामन्त्री भएको हुँदा उनले पनि गुटको नेतृत्व गर्नतिर होइन सिंगो पार्टी एकजुट बनाई अरु पार्टीलाई विश्वास दिलाएर योजना र प्रतिबद्धतासहित नेतृत्व गर्ने आँट गर्नुपर्छ । 

पार्टीको महामन्त्री जस्तो जिम्मेवार पदमा बसेर अब सभापति  देउवा वा कुनै व्यक्ति विशेषलाई दोष लगाएर काम गर्न दिइएन भनेर उम्कने र भाग्ने ठाउँ छैन । गगन थापा कांग्रेसको महामन्त्री बन्न सक्नुपर्छ नकि कुनै गुटको नेतामात्र । उनी नेपाली कांग्रेसलाई एक ढिक्का बनाएर अरु पार्टीलाई साथ र विश्वास दिलाई  देशको प्रधानमन्त्री बन्नुपर्छ । अब कांग्रेसमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, डा. शेखर कोइराला, डा. शशांक कोइरालासहितका ण्नाम गरेका पात्रहरू प्रधानमन्त्रीको सूचीमा राखिनु नै हुन्न ।
 
अबको प्रमुख प्रतिपक्षमा पनि एमाले नै ठीक

प्रमुख प्रतिपक्ष भनेको वैकल्पिक सरकार हो । प्रतिपक्ष जति बलियो भयो सरकार त्यति नै सजग र सचेत हुन्छ र गलत बाटो लाग्न सक्दैन । अहिलेको मत परिणामलाई नियाल्दा पनि नेकपा एमालेले प्रमुख प्रतिपक्षकै भूमिकामा रही सरकारको निगरानी र रचनात्मक सहयोग गर्नुपर्छ । एमाले अध्यक्ष ओली निर्वाचनमा जाँदा नै भावी प्रधानमन्त्री भनेर गए पनि चुनावी परिणाम उनले सोचे जस्तो आएन । 

ओलीले आफ्नै अहंकार र दम्भका कारणले आफ्नो पार्टीको दुईतिहाईको संसद नै भङ्ग गरेका थिए । आफ्नो पार्टी चलाउन नसकेको र संसदलाई भङ्ग गरेकै कारण एमालेले यस निर्वाचनमा यति ठूलो हार बेहोर्नु पर्यो र एमालेका धेरै हेभिवेट नेताले हार बेहोर्नु पर्यो । एमालेले प्राविधिक रुपमा जनमत र अरु पार्टीका तुलनामा धेरै नै सिट जिते पनि पुनः ओलीले नै प्रधानमन्त्री बन्न खोज्नु जनमत अपमान गरिनु हो । 

अहिले एमालेले आफ्नो पुरानो गल्तीलाई स्वीकारी पाँच वर्ष प्रमुख प्रतिपक्षकै भूमिकामा बस्नुपर्छ । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकार बाहिर नै बसेर वाच डगको काम गर्नुपर्छ । अहिले सरकार बनाउनका लागि एमाले, माओवादी र एकीकृत समाजवादी हामपन्थी वा वामपन्थीको नाममा सरकारमा जानुहुँदैन । 

त्यो सरकार बने पनि लामो समय टिक्न सक्दैन । किनकि कम्युनिष्टहरू एकापसमा मिल्न नै सक्दैनन् भन्ने कुरा धेरै तथ्यबाट पुष्टि भइसकेको छ । वामपन्थीका नाममा ओली वा प्रचण्डको नेतृत्वमा सरकार बन्यो भने फेरि देशले ठूलो राजनीति संकट भोग्नु पर्ने हुन्छ । अहिलेको सरकारको नेतृत्वमा परिवर्तन गरी यही गठबन्धनलाई रचनात्मक सहयोग गर्दा एमालेलाई फाइदा हुन्छ र जनमतको कदर पनि हुन्छ । रास्वपा र राप्रपा पनि पाँच वर्ष सरकारमा नगई आफ्नो संगठन थप बलियो बनाई वैकल्पिक शक्तिका रुपमा तयार हुनुपर्छ । माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि गगनको नेतृत्वलाई स्वीकारी सरकारमा जानुपर्छ । अब प्रचण्ड र माधव नेपाल प्रधानमन्त्रीको रेसमा रहनु हुन्न ।

पुराना पार्टीमा कार्यकर्ताको विद्रोह
भर्खरको निर्वाचनको परिणामलाई हेर्दा अब दलका कार्यकर्ताहरू नेतृत्वले जे भने पनि मान्ने अवस्था छैनन् । सधैभरि पार्टीको अन्धभक्त र पुच्छर बनेर हिँड्दा नेता मात्र बने देश बन्न नसकेको जनताले महशुस गरेका छन् । अब  राजनीतिक पार्टीहरू कुनै खास व्यक्तिका निजी कम्पनीजस्ता हुने वाला छैनन् । नेपाली राजनीतिमा देखिएको यो पार्टी बनाउने र चलाउने विकृत संस्कारलाई जनताले चिर्दै गएका छन् । 

नेतृत्वमा भित्रिएको टीके प्रणालीलाई जनताले सहजै अनुमोदन गरेका छैनन् । आज नेपालका पार्टीहरू इमान्दार र लोकतान्त्रिक नभएकै कारण वैकल्पिक पार्टीहरू जन्मिए र पुराना पार्टीका गढ र किल्लाहरू भत्काइदिए । पार्टीका अत्याचारका विरुद्धमा आक्रोश र विद्रोह शुरु गरे । देशको नेतृत्व गर्नको लागि अहिलेका मुख्य राजनीतिक दलका नेतृत्व असक्षम सावित भएका छन् भनेर प्रमाणित नै गरिदिए । नेपाली कांग्रेस र एमालेका पकेट एरियाका भोटहरू स्वतन्त्रमा पुगे ।

देशको रुपान्तरणको लागि असल नेतृत्व र भिजन
कुनै एउटा व्यक्तिको नेतृत्व र भिजनले देश रुपान्तरणमा महत्वपूर्ण भूमिका हुन्छ । दृष्टिविहीन बनेर पटक पटक असक्षम भएको व्यक्तिलाई प्रधानमन्त्री बनाउने परिपाटीले देशले कहिल्यै पनि काँचुली फेर्न सकेन । जहिले पनि सत्ताको भागबन्डाले नेपाल राजनीतिक अस्थिरताले थला परेको छ । यस्तो परिस्थितिमा नेपालका दलहरू पनि अब सच्चिनु पर्छ । हामी बारम्बार पुस्ता हस्तान्तरण र रुपान्तरणको कुरा गरिरहँदा अहिले कांग्रेसमा नयाँ अनुहार र पुस्तालाई जनताले अनुमोदन गरेका छन् । नेपाली कांग्रेस र देउवा कांग्रेस पनि गुट र उपगुटमा नलागी र कुनै कुराको संकोच नगरी आगामी सरकार नेतृत्वको लागि गगन थापालाई सर्वसम्मत अनुमोदन गरिनुपर्छ । यसबेला नेपाली कांग्रेस पार्टीका झिनामसिना कुरा र आन्तरिक कलहलाई एकातिर पन्छाई एकजुट भएर गगनको पक्षमा सहमति जुटाउन लाग्नुपर्छ ।

आधुनिक नेपालको निर्माण भएपछि पनि परिवर्तनका नाममा नेपाली राजनीतिमा धेरै उथलपुथल भए । पछिल्लो चरणमा प्रजातन्त्रको पुनः बहाली भएको करिब बत्तीस वर्ष बितिसक्दा देशमा आशालाग्दो र उल्लेखनीय उपलब्धि केही हुन सकेको छैन । व्यवस्था परिवर्तनले जनताको अवस्था परिवर्तन हुन सकेन । 

नेपाली जनताहरूलाई धेरै पटक झुक्याइयो । अब पनि नेपाली जनताहरूले हामी  झुक्कियौँ भनेर धर पाउने अवस्था छैन । अब कति झुक्किने ? समय धेरै ढिलो भइसकेको छ । अब गुट वा पार्टी वा देश के बचाउने भनेर गहन निर्णय गर्नुपर्छ । कुनै व्यक्ति वा गुटको फाइदाको लागि आँखा चिम्लेर अहिलेको जनमतको अपमान गरियो भने देशले ठूलो क्षति बेहोर्नु पर्ने हुन्छ ।

अवस्था परिवर्तनको लागि राजनीतिक नेतृत्वमा परिवर्तन
पछिल्लो समयको नेपालको राजनैतिक परिवर्तन र देश विकासको रुपरेखालाई नियाल्दा वि.सं.२०४६ को परिवर्तनपछि केही वर्ष नेपाली कांग्रेसको एकलौटी शासन चल्यो । सत्ता र शक्तिको मातले सांसदको किनबेच हुँदै कांग्रेसमा गुट उपगुट भई पार्टी नै फुट्यो र अन्ततः शेरबहादुरले शासन सत्ता नै राजालाई बुझाएको इतिहास छ । 

उनी पाँचौं पटक प्रधानमन्त्री हुँदा पनि अझै ज्योतिषीलाई चिना हेराउँदै छन् भने नेपाली कांग्रेस खुम्चदै गएर चुनावमा एक्लै प्रतिस्पर्धा गर्न नसक्ने अवस्था पुगेको छ । ज्योतिषीले आफूलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेर भनेको कम्युनिष्टको सरकार हेर्दा मनमोहन अधिकारीको नौ महिने छोटो कार्यकालमा केही प्रचारमुखी र प्रसादमुखी काम भए । तर ती कामले निरन्तरता पाउन सकेनन् । 

जनयुद्धको समयमा नेपालले सामाजिक र आर्थिक लगायतका ठूलो  क्षति व्यहोर्नु पर्यो । संविधान निर्माणको नाममा आठ वर्ष बिते । देशको सामाजिक, आर्थिक, शैक्षिक, प्रशासनिक कुनै उपलब्धि हुन सकेन । राजनीतिलाई माग्ने र ठगी खाने भाडो बनाउँदा देशमा विकृति र विसंगतिले जरो गाड्दा केही सीमित वर्ग र नेताले प्रजातन्त्र र लोकतन्त्रको नाममा ब्रम्हलुट गर्दै बत्तीस वर्ष बिते । 

अझै गरिब, दीनदुःखी, अशिक्षित जनतालाई गुमराहमा पारी देशलाई लुटिएको अवस्था छ । आज नेपालको राजनीति लाजनीतिमा परिणत भएको छ । राज्यको हरेक अङ्गमा फोहरी राजनीतिको दुर्गन्ध फैलिएको छ । कुनै पनि अङ्ग चुस्त र दुरुस्त छैनन् । कानूनको कार्यान्वयन सम्बन्धित निकायले गराउन नसक्दा देश अस्तव्यस्त भएको छ र जिम्मेवार दलहरूको अनुत्तरदायी र असक्षमताले पनि नेपाली जनताहरू आजित भएका छन् । देशको अर्थतन्त्र धराशायी अवस्थामा पुगेको छ । 

नेपालको मौलिक खानेकुरा गुन्द्रुकसमेत आयात गर्नुपर्ने अवस्था छ भने देश कुन अवस्थामा पुगेको छ आफंै अनुमान गर्न सकिन्छ । यस्तो अवस्थासम्म पुर्याउने वर्तमान नेतृत्वदायी पंक्तिलाई फेर्नु पर्ने अहिलेको प्रमुख आवश्यकता नै हो ।

०७२ सालमा नयाँ सङ्घीय गणतन्त्रात्मक संविधान आएपछि पनि जनताका कुनै समस्या सम्बोधन हुन सकेनन् । कम्युनिष्टले दुईतिहाई मत लिएर पनि आन्तरिक कलहले संविधानलाई च्यातच्युत पारी व्यवस्थाकै अन्त्य गर्न लागेको परिस्थिति देखियो । अन्तत पुनः देशलाई नै बन्धक बनाई झन् दलहरू सत्ताको लुछाचुडीमा चुर्लुम्म डुबे । विश्वव्यापी फैलिएको कोरोनाको महामारीमासमेत दलहरू एकजुट भई जनतालाई राहत दिने कार्यमा जुट्न सकेनन् । नेपाली राजनीतिलाई दुर्गन्धित बनाई यसैको आडमा दलका नेता र कार्यकर्ता पालिने परिपाटीको निरन्तरताले भ्रष्टाचारले जरो गाडिरह्यो । 

राजनीतिको आडमा भ्रष्टाचारको जरो मौलाएका कारण राज्यका सबै अङ्गहरू झन् दुर्गन्धित हुँदै गएका छन् । आज देशका प्रशासनिक, शैक्षिक, न्यायिक जस्ता प्रमुख निकाय अस्तव्यस्त भएकै कारण अहिलेका युवा पुस्ताहरू आफ्नै पार्टीका विरुद्धमा विद्रोह गरेका छन् । 

कुनै पनि वर्षको बजेटले रोजगारी सिर्जना, आयात प्रतिस्थापन र उद्योग स्थापना गर्ने जस्ता पूँजीगत काम हुन सकेका छैनन् । शिक्षा र स्वास्थ्य क्षेत्रमा नागरिकले परिवर्तनको अनुभूति हुन लायक कुनै उपलब्धि छैन । अहिले पनि करिब १७ प्रतिशत नेपाली गरिबीको रेखामुनी रहेका छन् । दैनिक २५ सय युवा विदेशिएका छन् । 

आन्तरिक उत्पादन घढ्दो छ भने विदेशी अनुदान घढ्दो र ऋण बढ्दो छ । वर्षांैदेखि अर्थतन्त्रका कुनै पनि सूचकहरू सकारात्मक छैनन् । दुर्गन्धित राजनीतिको भूमरीमा नेपालको अर्थतन्त्र फसेको छ । देशको विकास र समृद्धिको लागि  राजनीतिक दलहरूमा विश्वास, सहमति र सहकार्य हुन सक्दैन । नेपाली जनतामा निराशा छाएको छ । 

यस्तो अवस्था एउटा सशक्त देशको समृद्धि र जनताको आशालाई पूरा गर्न पनि युवा प्रधानमन्त्री हुनुपर्छ । लोकतन्त्रको एउटा सुन्दर पक्ष भनेको आवधिक निर्वाचन नै हो । निर्वाचनको परिणामलाई सबैले स्वीकार्नु पर्छ र जनमतको कदर गरिनुपर्छ ।

विश्वसनीय छ गगनको योग्यता र परिपक्वता
गगन थापा नेपाली राजनीतिमा नयाँ नाम होइन । गगन आक्रोश र विद्रोहको झिल्को मात्र पनि होइन । गगन एउटा लामो राजनीतिक यात्रा पार गरेर अनुभव गर्दै र सिक्दै आएको परिपक्व राजनीतिज्ञ हो । गगन योग्यता, उमेर, विचार, अनुभव परिपक्वता, क्षमता, योगदान, सोच र विकल्प आदि हरेक दृष्टिकोणले प्रधानमन्त्रीको लागि योग्य छन् जस्तो लाग्छ । 

प्रधानमन्त्री भनेको देशको नेतृत्व र देशलाई अग्रगतिमा डोहोर्याउने मुख्य नायक नै हो । यति धेरै वर्ष राजनीतिमा होमिएको व्यक्ति अब देशको नायक हुन सक्दैन भन्न सक्ने आधार र तथ्य छैन । देशले एउटा राम्रो नेतृत्व पाउन सकेमा देशका आमूल परिवर्तनका ढोकाहरू खोलिन्छन् । 

प्रधानमन्त्रीमा जोश, जाँगर दृढ सङ्कल्प, सपना र योजना हुनुपर्छ । राज्य सञ्चालनको मुटु भनेको प्रधानमन्त्री हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश बुझेको र बुझ्न सक्ने क्षमतावान व्यक्ति प्रधानमन्त्री हुनुपर्ने हुनाले त्यो तागत गगनमा छ जस्तो लाग्छ । अहिलेको समसामयिक राजनीतिक परिवेश र निर्वाचन परिणामलाई नियाल्दा देश र जनताको विकास र समृद्धिको लागि निष्ठावान र जनउत्तदायी बन्न सक्ने विश्वासलायक सर्वोपयुक्त पात्र भनेको गगन नै देखिन्छन् । नेपालका दल र यिनै नेताबाट विकल्प रोज्नु पर्ने अवस्था भएकाले  एउटा आशाको त्यान्द्रो उनमा देखिन्छ ।

दलको दृष्टिले पनि नेपालको प्रजातन्त्र स्थापनाको महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेस र नेतृत्वको दृष्टिकोणले पनि नेपालमा बहुदलीय प्रजातन्त्रको पुनः स्थापनादेखि अहिलेसम्म निरन्तर लोकतन्त्रको रक्षाको लागि लडिरहेको युवापुस्ताको आशावादी नेता गगन थापा हुन् । गगन थापाको नेपाली राजनीतिक इतिहासमा व्यवस्था परिवर्तन र लोकतन्त्रको रक्षाका लागि तुलनात्मक रुपमा महत्वपूर्ण योगदान रहेको देखिन्छ । गगन थापा आफ्नो दलमा मात्र नभएर आम नेपाली जनताका बीचमा लोकप्रिय नेताको रुपमा स्थापित छन् । गगन थापाले छोटो समय स्वास्थ्य मन्त्री भएर केही लोकप्रिय कामहरू पनि गरेका थिए । उनले केही तत्काल गर्न सकिने र केही दीर्घकालीन नीतिगत, कानूनी र संस्थागत संरचनाका सुधारात्मक कार्यहरूको थालनी गरेका थिए । उनकै कार्यकालमा राष्ट्रिय स्वास्थ्य बिमा विधेयक आएको थियो र त्यो अहिले कार्यान्वयनको चरणमा छ ।

कमजोर पनि छैन गगनको राजनीतिक यात्रा
गगन थापाको राजनीतिक पृष्ठभूमि हेर्दा २०४६ को राजनीतिक परिवर्तनपछि पनि लगातार नेपाली राजनीतिमा अग्रपंक्तिमा जोडिएको नाम हो । २०३३ सालमा काठमाडौंमा जन्मिएका गगन २०४६ मा कक्षा ९ मै पढ्दा राजनीतिमा जोडिएको देखिन्छ । 

२०५१ सालमा त्रिचन्द्र क्याम्पसको स्ववियु सदस्य, २०५३ मा सचिव र २०५५ मा स्ववियु सभापति भएका थिए । गगन थापा २०५७ मा नेविसंघको उपाध्यक्ष र २०५९ मा महामन्त्री भएका थिए । त्यसैबेला गगन थापाले गणतन्त्रको मुद्दा बोकेको भनेर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले सभापति बनाउन चाहेनन् भन्ने चर्चा पनि चलेको सुनिन्थ्यो । 

२०६२–०६३ को आन्दोलनमा प्रखर वक्ता भई नेतृत्व गरेका गगन थापा विद्यार्थी आन्दोलनका क्रममा पनि पटक पटक हिरासत र जेलमा बसेका थिए । उनी २०६४ मा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सभासद बनेका थिए भने दोस्रो सविधान सभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट सभासद्मा निर्वाचित भएका थिए । त्यसयता निरन्तर सोही क्षेत्रबाट उनले चुनाव जित्दै आएका छन् । 

उनी २०७३ सालमा छोटो समयका लागि स्वास्थ्य मन्त्री बनेका थिए । समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गगन थापा २०६७ मा सम्पन्न नेपाली कांग्रेसको १२ औं महाधिवेशनमा सर्वाधिक मत लिएर केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा महामन्त्रीको प्रतिस्पर्धामा पराजित भएका थिए भने १४ औं महाधिवेशनमा अत्यन्तै लोकप्रिय मतसहित नेपाली कांग्रेसको महामन्त्रीमा विजयी भएका थिए ।

गगनको शुद्धताप्रति उठेका प्रश्न र उत्तर 
नेपाली राजनीतिलाई नै ठगी र मागी खाने भाँडो बनाइएको हुनाले कुनै पनि  दलभित्र दूधले नै नुहाएको शुद्ध नेता पाउन गाह्रो छ । हामीले यिनै दलहरूबाट रोज्नु पर्ने हुनाले तुलनात्मक रुपमा कम अशुद्ध रोज्नुको विकल्प छैन । नेपालका प्रायः नेताहरू कहिँ र कतैबाट हिलो छ्यापिएका छन् । गगन थापामाथि पनि केही आरोपहरू लगाइएका छन् । 

उनी बिग्रिएका छन् भने अब आत्मसात् गरी सच्चिनु पर्छ । विरोधी वा आफ्नो गुटको होइन भनेर कसैमाथि एकोहोरो बिना आधार आक्षेप लगाउनु पनि हुँदैन । स्ववियु सभापति हुँदादेखि लिएर एमसीसी पास गराउन्जेलसम्म उनीमाथि धेरै भ्रष्टाचार र राष्ट्रघातका आरोप लागेका छन् । खासगरी गगन थापा स्वास्थ्य मन्त्री हुँदा उपकुलपति नियुक्तिमा ठूलो रकम भ्रष्टाचार गरेको आरोप लागेको छ भने बाख्रा पाल्ने भनेर सरकारी अनुदान लिएको आरोप पनि छ । 

गगन थापालाई पछिल्लो पटक संसदमा एमसीसी पास गराउने अमेरिकी डलरबाट पालिएको एजेन्ट भन्ने आरोप लागेको सुनिन्छ । यी कति सत्य वा निराधार हुन् समयले प्रमाणित गर्दै जाला । यी प्रश्नको उत्तर गगनले जनताका अगाडि पटक पटक दिएका छन् र फेरि उठ्दा पनि दिनुपर्छ । गगन पूर्ण शुद्ध छन् भनेर अन्धभक्त बन्न खोजिएको हैन । तर गगनभन्दा चोखा अरु कोही छन् त प्रधानमन्त्रीका लागि योग्य पात्र ? फेरि उनीमाथि लगाइएका आरोपमात्र हुन् जुन निराधार भएको भनेर जवाफ दिइसकेका छन् । गगन प्रधानमन्त्रीको रुपमा जाँचिन नपाएको हुनाले उनीमाथि काम गर्न सक्षम हुँदैनन् कि भन्ने आरोप लगाउने अवस्था पनि छैन ।

नेपाली कांग्रेसले आम नेपाली युवा पुस्ताको चाहना, देशको आवश्यकता  र कांग्रेसको मूलमन्त्र वीपी कोइरालाको प्रजातान्त्रिक समाजवादको सपनालाई पनि साकार पार्न एकजुट भई कम्युनिष्टहरूलाई पनि साथ लिई पार्टीको महामन्त्री गगन थापालाई अबको नेपालको ४१ औं प्रधानमन्त्री बनाउनुपर्छ । गगन जस्ता युवालाई कांग्रेसले अगाडि सारेन भने कांग्रेस आगामी पाँच वर्षमा निकै अस्तव्यस्त हुन सक्छ । त्यो बेलाको चुनावमा गगन, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलजस्ता युवाले पनि मत पाउनेमा शंका गर्नुपर्ने हुन सक्छ । तसर्थ यो शाख जोगाउनका लागि पनि शेरबहादुर देउवाले त्याग गर्नु जरुरी छ । (लेखक अमेरिकाको भर्जिनियामा कर्मशील छन्) 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ