arrow

नेतृत्व नै विकृत राजनीतिको मूल समस्या

logo
 राजेन्द्र पन्थी,
प्रकाशित २०७९ पुष ५ मंगलबार
rajendra-panthi-article-56.jpg

आज नेपालका राजनीतिक पार्टीका शीर्षस्थ नेताहरू सम्मानित र अभिभावकीय भूमिकामा रहनुपर्नेमा जनताको नजरमा कसिङ्गर र घृणित पात्रको रुपमा चिनिएका छन् । नेपालको हरेक कुराको मूल समस्या भनेकै आजका शीर्षस्थ नेताहरू बन्न पुगेका छन् । यी शीर्षस्थ नेताहरूको सत्तालिप्साको चरम स्वार्थ, अविवेकीपन र लाचार प्रवृत्तिले देश चौपट हुन लागेको देखिन्छ ।

आमनिर्वाचनमा पनि एकथरी युवा जमातले देशलाई यो हविगत अवस्थामा पुर्याउने यी शीर्षस्थ नेतालाई नो नट अगेन अभियान चलाएका थिए । तर यिनीहरूको सत्ता दुरुपयोग र वर्षौंदेखिको शासकीय जंजिरका कारण पुनः प्राविधिक रुपमा विजयी भए । साँच्चै नै स्वच्छ र स्वस्थ्य प्रतिस्पर्धात्मक निर्वाचन हुने हो भने नेपाली जनताबाट यिनीहरू कुनै हालतमा अनुमोदन हुन सक्दैनन् ।

बहुदलीय प्रजातन्त्रको पुनः बहालीपछि कुनै न कुनै रुपमा यिनैको रजगज चलेको छ । यी नेताले सत्तालाई आलोपालो गरी बाँडचुँड गरी अत्यन्तै दुरुपयोग गरे । नेपालको राजनीतिलाई यतिसम्म विकृत गराए कि राज्यका कुनै पनि संरचना विकृत राजनीतिबाट मुक्त छैनन् ।

विश्वविद्यालय, न्यायालय, प्रशासनिक निकाय, अख्तियार, सुरक्षा, प्रहरी, परराष्ट्र सम्बन्ध आदि कुनै अङ्ग चरम राजनीति विकृतबाट धराशायी बनेका छन् । सबै अङ्गहरूमा राजनीतिक हस्तक्षेप गरेर संरचना नै अत्यन्तै कमजोर र शिथिल बनाइएका छन् । कुनै पनि सरकारी अङ्ग वा निकायमा कानूनले काम गर्दैनन् । ऐन, नियम, कानून भनेका हात्तीका देखाउने दाँतजस्ता भएका छन् । कुनै पनि सरकारी वा गैरसरकारी अङ्गमा क्षमता, अनुभव, योग्यता, इमान्दारिता, नैतिकताले काम गर्दैन । राजनीतिक पहुँचका आधारमा प्रायःजसो कामहरू गरिएका हुन्छन् ।

अहिलेको नेपालको आर्थिक अवस्था यति कमजोर भएको छ कि अब छिट्टै श्रीलंका नबन्ला भन्न सकिन्न । आयातको अवस्था दिन दुई गुना रात चौ गुना बढेको बढै छ । नेपाली युवा जनशक्ति बेरोजगारीका कारण देश बाहिरिएको बाहिरै छन् । यतिसम्म लाजमर्दो छ कि नेपालको आफ्नै मौलिक उपज मानिने सिन्कीसमेत आयात गर्नुपरेको छ । 

नयाँ उद्योग कलकारखाना खोल्ने कुनै सम्भावना छैन र भएकासमेत धमाधम बन्द हुँदैछन् । सरकारको वार्षिक बजेटको एक चौथाइ पनि विकास खर्चमा छुट्याइएको हुँदैन । देश रेमिट्यान्सबाट बल्लबल्ल धानिएको छ । यसरी आज देशलाई आर्थिक रुपमा टाट पल्टाइएको छ । यो हुनु यिनै अविवेकी शीर्षस्थ नेताकै कारण हो । 

राजनीतिक पार्टीका असक्षम र अविवेकी शीर्षस्थ नेताको दम्भ, अहंकार र घमण्डका कारण देशले यति ठूलो सास्ती भोग्नुपरेको छ । बारम्बार नेपाली जनताबाट नेपालको राजनीतिमा पुस्तान्तरण र रुपान्तरण हुनुपर्छ भनेर आवाज र आक्रोश उठिरहँदा नेतृत्व पंक्ति अडिग भइ सुनेको नसुनी चुप बसेको छ । लामो समयसम्म देशको शासन सत्ता चलाएर असक्षम सावित भएका पुरानो नेतृत्वलाई जसरी पनि बिदा गरी अबको नेतृत्वमा नयाँ आउनुपर्छ भनेर जनादेश र मतादेश आउँदा पनि पुराना नेताहरू अटेर गरी जबर्जस्त सत्तामा घिस्रिरहेका छन् ।

यति ठूलो आवाज र आक्रोश आउँदा पनि अझै सुनेनन् भने छिमेकी मुलुक श्रीलंकामा जस्तो जनविद्रोह र हस्तक्षेप नहोला भन्न सकिन्न । अबको राज्य सञ्चालन र पार्टी सञ्चालनको नेतृत्वमा नयाँ पुस्ता आउनु पर्छ भनेर जनआवाज र जनमत घन्काउँदै र थर्काउँदै जाँदा पनि कानमा कपास कोचेर बसेको देखिन्छ ।

आजको पुस्तान्तरण आवाज र आक्रोश भनेको केवल उमेरको दृष्टिकोणले मात्र व्यक्ति परिवर्तन गर्न खोजिएको होइन सक्रियता र परिणामको मापनलाई पनि आधार बनाइएको छ । मानिसको उमेर बढ्दै जाँदा स्वाभाविक रुपमा उसमा शारीरिक र मानसिक स्थिति कमजोर हुँदै जान्छ तर पनि उमेरको दृष्टिकोणले मात्र कसैलाई तन्नेरी र बुढो भनिहाल्नु पर्दैन । 

संसारमा शासनसत्ता चलाउने कुरामा कतिपय तन्नेरी असफल भएका छन् भने वृद्ध पूर्ण सफल भएका प्रशस्त उदाहरण छन् । तर नेपालको सन्दर्भमा अहिलेको नेतृत्वलाई दोष लगाउन खोजेको उमेरले मात्र होइन उनीहरूको योग्यता, सक्रियता र विगतको कामको परिणामले हो । 

प्रजातन्त्र पुनः बहाली भएको ३३ वर्ष हुँदासम्म एउटै व्यक्ति वा एउटै शक्ति विभिन्न पार्टीका नाममा सत्ताको वरिपरि घुमिरहेको छ । ऊ कुनै हालतमा राज्यको यो वा त्यो पद चाहन्छ, उसले कुनै हालतमा सत्ता छोड्न पनि सक्दैन र देश र जनताको लागि केही गर्न पनि सक्दैन । राजनीतिक पार्टीका रुपमा विभिन्न नाम दिएर सत्तालाई बिला लगाई बाँडिचुँडि खाने प्रयत्न गरिरहेको हुन्छ । आफ्नो निजी सम्पत्ति जस्तो यो पद मलाई र त्यो पद तँलाई भन्दै बाँड्ने गरिएको छ । पार्टीभित्र गुट बलियो बनाउने र जहिले पनि आफू नै नेतृत्वमा रहने प्रवृत्तिले नयाँ पुस्ताले मौका पाउन सकेका छैनन् ।

नेपालका धेरैजसो राजनीतिक दलहरू निश्चित व्यक्तिका निजी कम्पनी जस्ता पनि बनेका छन् । ती दलहरूमा आन्तरिक लोकतन्त्र भन्ने नै छैन । सबै झोले र टीके प्रणालीबाट चलेका छन् । दलहरू राजनीतिक चिन्तन र विचारभन्दा पनि गुटवाद, परिवारवाद, नातावाद, कृपावाद, चाकरी र चाप्लुसीवादबाट परिचालित भएका छन् । 

यस्तै सोच र चिन्तनले गर्दा नेपालका दलहरू दलजस्ता हुन सकेका छैनन् भने नेता नेताजस्ता हुन सकेनन् । आज समाजमा सबैभन्दा घृणित पात्र नेता बनेका छन् । कुनै बेला राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले यसलाई सहज रुपमा स्वीकारेकै थिए । उनले अहिलेका नेतालाई जनताले चोरको संज्ञा दिन्छन् भनेर भनेकै थिए । धेरैले यसलाई पचाउन सकेनन् । जसरी पनि कुर्सी चाहिने र देश लुट्ने प्रवृत्तिले गर्दा केही पार्टीका शीर्षस्थ नेताहरू आज जनताको नजरमा चोर जस्तै भएका छन् ।

नेपालका यी शीर्षस्थ नेतामा राजनीतिक संस्कार र चिन्तन नै छैन । यिनलाई नेपाल र नेपाली जनताको बारेमा कुनै दिन पनि सोच्न समय छैन । नेपाली जनताहरूले जतिसुकै ठूलो समस्या भोगुन् यिनलाई मतलब नै छैन । यिनीहरूमा चौबीसै घन्टा, सातै दिन र बाह्रै महिना सत्ताको लडाइँ चलिरहेको हुन्छ । एउटालाई पछार्ने र अर्कालाई उकास्नेको सत्ताखेल चलिरहेको हुन्छ । सत्तामा अरु जानै हुँदैन, बाँचुन्जेल म नै हुनुपर्छ भन्ने सोचाइ अहिलेका शीर्षस्थ नेतामा छ । यी नेताले सत्ता प्राप्तिको लागि जस्तोसुकै मूल्य चुकाउन तयार हुन्छन् । यिनलाई कुनै किसिमको लाज, शरम र  घृणा भन्ने नै छैन । कुनै बेला एकापसमा धुमधामसित आरोप प्रत्यारोप, गालीगलौज बेइज्जत गरे पनि सत्ता प्राप्ति हुन्छ भने पुनः जिब्रो चाटाचाट गर्न पनि तयार हुन्छन् ।

अहिले नै पनि नयाँ सरकार गठन प्रक्रिया चलिरहँदा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख आदि जस्ता सर्वोच्च पदमा पनि यिनैको दाउ र भागबण्डाको खेल चलिरहेको छ । नेपालमा वर्षौँदेखि पटकपटक कुनै न कुनै पार्टीका नामबाट सत्ता र शक्तिको नेतृत्व गरिरहेका र असफल प्रमाणित भएका तिनै  शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, खड्गप्रसाद ओली, माधवकुमार नेपालका बीचमा नै बार्गेनिङ चलिरहेको छ । 

जनताको यति ठूलो आक्रोश र खबरदारी हुँदाहुँदै यी पात्रहरू पुनः जागिरहेका छन् । यिनले विगतमा कहिँ न कतैबाट आफ्नो कार्यकालमा देशको समृद्धिभन्दा पनि व्यक्तिगत स्वार्थ, आफ्नो गुट र आफन्तको समृद्धिमा समय खर्चिए र देशलाई झन्पछि झन कंगाल बनाउँदै गए । यिनीहरूको प्रमुख उद्देश्य भनेको आफू र पार्टीभित्रको गुट बलियो बनाउने र जसरी हुन्छ सत्ताको स्वाद लिने भन्दा अरु केही देखिएन । 

यिनीहरू सत्ता स्वार्थको लागि जे हुन र जे गर्न पनि तयार हुन्छन् । यिनीहरूमा राजनीतिक विचार र सिद्धान्त र जवाफदेहिता केही पनि छैन । शीर्षस्थ नेता नै कुन पार्टी हो भनेर छुट्टाउन गार्हो हुन्छ । सत्ताकै लागि कांग्रेस–कम्युनिष्ट र कम्युनिष्ट–कांग्रेस मात्र होइन कि जे बन्दा सत्ता मिल्छ त्यही बनिदिन्छन् । सत्ताकै लागि मिलेमतोमा अप्राकृतिक गठबन्धन नै गरी चुनावमा गए तर यिनीहरूमा राजनीतिक विचार, सिद्धान्त, नैतिकता, इमान्दारिता, जवाफदेहिता र उत्तरदायित्वपन नहुनाले त्यो तथाकथित गठबन्धन तोड्न पनि तयार भएको देखिन्छ । यो नेतृत्वपङ्ति रहेसम्म  देशले कुनै किसिमको निकास र विकास पाउन सक्दैन । जतिसुकै ठूला गफ गरेपनि अब देउवा, प्रचण्ड, ओली, माधवकुमार नेपाल लगायतका शीर्षस्थ नेताबाट देशले केही पाउन सक्दैन । देशले धेरै कुरा गुमाउने देखिन्छ ।

आजको नेपालको महत्त्वपूर्ण आवश्यकता भनेको समाज रुपान्तरणको हो । आज २१ औ शताब्दीमा आउँदा पनि नेपाली जनताका मूल समस्या भनेका आधारभूत आवश्यकताहरू गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार नै हुन् । अहिले कुनै वाद वा सिद्धान्तका कुरा गरेर नेपाली जनताको भोको पेट र नाङ्गो शरीर भरिँदैन र  ढाकिँदैन ।

जनताको सुख, शान्ति र समृद्धि भनेर पटक पटक  व्यवस्था परिवर्तन गरिए तर जनताको अवस्था जहाँको त्यहीँ नै छ । बहुदलीय प्रजातन्त्रको पुनःबहालीकै कुरा गर्ने हो भने राजनीतिक दलका २४, तत्कालीन राजाका २, दलरहित १ गरी जम्मा २७ सरकार बने । अहिले २८ औं सरकार बनाउन कसरत र बार्गेनिङ चलिरहेको छ ।

आजसम्म कुनै पनि सरकारले आफ्नो पाँचवर्षे कार्यकाल पूरा गर्न सकेनन् । पहिले मिलेमतोमा सत्तामा जाने अनि केही महिना नबित्दै खुट्टा तान्ने प्रवृत्तिले सरकार चल्न सकेनन् । आज गणतन्त्र घोषणाको १३ वर्ष भइसक्यो तर समाज जहाँको त्यही छ । सरकार जति फेरिए पनि देश र जनताको अवस्थामा रुपान्तरण हुन सकेन । 

न देशमा उद्योग कलकारखाना खोलिए न जनताको जीवन स्तरमा सुधार भयो।नेता धनी र  सम्पन्नशाली बन्दै गए भने जनता गरिब हुँदै गए । व्यवस्था परिवर्तनबाट जनताले जे आशा गरेका थिए, त्यो पाउन सकेनन् । देश सिंगापुर र स्वीट्जरल्याण्ड बन्ला भन्दा पछिल्लो अवस्थाको श्रीलंका हुन लाग्दैछ । 

जहिले पनि राजनीति भनेको सत्ता केन्द्रित मात्रै छ । राजनीतिलाई अत्यन्तै दुर्गन्धित र फोहोरो बनाइएको छ । दलमा जहिले पनि आफूलाई सर्वेसर्वा ठान्ने टाउकेहरूले न आफूले परिवर्तन गर्न चाहे न अरुलाई मौका दिएका छन् । 

यसले गर्दा रगतको खोलो बगाएर ल्याएको परिवर्तनबाट जनता सधैं निराश हुनुपरेको छ । संघीयताका नाममा भुरेटाकुरे राज्य जस्तै बनाई देशको सम्पत्ति लुट्ने काम भएको छ।देशको बजेटभरि चालू खर्चमा नै सकिन्छ भने पूँजीगत खर्च आर्थिक वर्षको अन्त्य असारमा शुरु भएर असारैमा सिद्धिन्छ । उपलब्धि शुन्यप्रायः नै हुन्छ । 

लगातार तीस वर्ष सत्ताको रजाइँ गर्दा पनि उनै शेरबहादुरलाई पुगेको छैन । उनी अझै सत्ताको माखे दाउमा आन्तरिक र बाह्य शक्तिको आशीर्वाद र सहयोगको लागि दौडधुप गरिरहेका छन् । माओवादी अध्यक्ष प्रचण्ड म प्रधानमन्त्री नहुने हो भने त आकाशै खस्छ वा पृथ्वी नै डुब्छ भने झैँ गरेर हाताहातीको दाउमा लागेका छन् भने एमाले अध्यक्ष ओलीले गठबन्धनलाई कुन कार्ड फालेर टुक्र्याउन सकिन्छ भनी पर्ख र हेरको नीतिमा रहेका छन् । 

सत्ता चाख्न आतुर भएर पार्टी नै फुटाएका माधवकुमार नेपाल भने बखितम होइन लिखितम हुनुपर्छ भनी यो वा त्यो पदमा आफू नै हुनैपर्छ भनी बार्गेनिङ गरेका छन् । यसरी नै यी शीर्षस्थ नेताको सत्ताको लडाइँमा देशले राजनीतिक निकास पाउन सकेको छैन ।

यी शीर्षस्थ नेताकै कारण आज इतिहास बनाएका केही राजनीतिक दलहरूसमेत जनताको नजरबाट गिरेका छन् । दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास र प्रयोग नहुनु, टीके र झोले प्रणालीलाई ग्राह्यता दिनु, नेतृत्वमा बा संस्कृतिको विकास गरिनु, गुटबन्दी, चाकरी, चाप्लुसी, नातावाद, कृपावाद, परिवारवादलाई महत्त्व दिनु, राजनीतिलाई पूरै कमाउने पेशाको रुपमा स्थापित गरिनु, कुर्सीमा वर्षौँसम्म जरा गाडेर बस्नु, नयाँ पिँढी र पुस्तालाई अवसर नै नदिनु आदि जस्ता थुप्रै कारणले राजनीतिक दलहरू असफल भएका छन् । 

शीर्षस्थ नेता नै पार्टीभित्रै एउटा बलियो गुट बनाएर बसेका हुन्छन् । तिनैका चम्चे, टीके, हुक्के र झोलेहरूले आफ्नो व्यक्तिगत फाइदाका लागि उनीहरूकै भजन गाउनाले पनि तिनीहरूमा अत्यन्त उन्माद पैदा भएको हो । नेताले देश लुटेर उनकै मुखबाट झरेको र्याल चुस्न पाइने हुनाले बाँच्नकै लागि बारम्बार भजन गाइरहेका हुन्छन् । 

एउटा नेताका पछाडि सयौं कार्यकर्ता पालिएका हुन्छन् । ती कार्यकर्ताको आम्दानीको देखावटी श्रोत केही छैन तर झन् शानदार जीवन बिताइरहेका हुन्छन् । उनीहरूको बाँच्ने आधार र आश्रयदाता नै ती शीर्षस्थ नेता भएका हुन्छन् । हिजो सुकुम्बासी बनेर र हवाई चप्पल लाएर राजधानी छिरेका प्रायः नेताहरूका आज काठमाडौंमा ठूला आलिशान महल छन् । 

उनीहरूको जीवनस्तर अति उच्च वर्गीय बनेको छ भने जनताको जीवन स्तर झन्पछि झन् गिर्दो छ । यी शीर्षस्थ नेताले जबसम्म राजनीतिबाट संन्यास लिदैनन् वा यिनलाई जबर्जस्त बहिर्गमन गर्न सकिँदैन तबसम्म यो देशले यही विकृत राजनीतिक भुमरीबाट निकास पाउन सक्दैन ।

अहिलेको जनमत भनेको सरकारमा युवा पुस्ताले नेतृत्व गरी लामो समयसम्म रहेको नेपालको राजनीतिक विकृतिलाई सदाको  लागि अन्त्य गर्नुपर्छ र पुराना पुस्ताले पनि यसरी नयाँ विचार र सपना बोकी आएका यस्ता युवालाई अवसर दिनुपर्छ भन्ने नै हो । २१ औं  शताब्दीको युग अनुकूल र लोकतन्त्रलाई मलिलो र बलियो बनाएर देश हाँक्ने एउटा सक्षम नेतृत्व नेपाली जनताले खोजिरहेको अवस्थामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले जस्ता ठूला पार्टीका इमान्दार नेता र कार्यकर्ताले अत्यन्तै गम्भीर भएर सोच्ने बेला आएको छ ।
 



नयाँ